संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
उपभोक्ताहरूको अधिकार हनन् नहुने गरी न्यायोचित रकम मात्रै लिन वायुसेवा कम्पनीहरूलाई उनले निर्देशन दिए।
गत शुक्रबारदेखि दैनिक १० घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर निर्माणको काम सुरू भएदेखि वायुसेवा कम्पनीहरूले मनपरी हवाई भाडा वृद्धि गरेको गुनासो यात्रुहरूको छ।
‘टिकटको मूल्य बढेपछि परराष्ट्र मन्त्री, श्रममन्त्री र सरोकारवाला साथीहरू बसेर हाम्रो मन्त्रालयको समन्वयमा क्यानमा विमान सञ्चालकहरू र तिनीहरूका प्रतिनिधिहरूलाई राख्यौं। टिकट बढेका विषयमा उहाँहरूलाई पाँच बुँदे निर्णय गरेका छौं। उहाँहरू त्यो निर्णयमा सहभागी हुनुहुन्छ। ट्राभल एजेन्सीहरूले टिकटहरू होल्ड गर्ने भनेर महँगोमा बेचिएको कुरा आयो, त्यो रोक्नुस् भनेका छौं। त्यो प्याकेजमै होल्ड गर्ने प्रवृत्ति रोक्नुस् भनेका छौं,’ उनले भने, ‘त्यसमा उहाँहरू सहमत हुनुहुन्छ।’
उपभोक्ताहरूको अधिकार हनन् नहुने गरी न्यायोचित र तर्कपूर्ण मूल्यमा मात्रै टिकटको भाडा लिनुस् भनेको उनले बताए।
‘पछिल्ला केही कम्प्लेन भएको भए क्यानको उच्चपदस्थ कर्मचारीको नम्बरसहित निर्णय सार्वजनिक गरेका छौँ। त्यो कम्प्लेन त्यहाँ गएका छौँ। त्यो विपरित उहाँहरू जानुभएको छ भने कडा कारबाही गर्ने प्रतिवद्धता जनाएका छौँ। टिकटको मूल्य बढेको कुरा केही दिन यता बिस्तारै कम हुँदै गएको छ। केही गुनासो भए सम्बोधन गर्न तत्पर छौँ,’ उनले भने।
मन्त्री पाण्डेले भैरहवामा उडानको चाप बढाउन र पोखरामा पनि उडान बिस्तार गर्न मन्त्रालयले योजनाबद्ध रुपमा काम अघि बढाइरहेको बताए।
भैरहवामा अहिले ५ वटा एयरलाइन्सले उडान गरिरहेको र यसलाई १० वटासम्म कसरी पुर्याउने भन्ने योजनामा मन्त्रालय रहेको उनले बताए।
पोखरामा पनि उडानका गतिविधि बढाउने गरी आफू अघि बढिरहेको उनले बताए। निजी क्षेत्रहरूसँग पनि उडान बिस्तारका लागि आवश्यक छलफल अघि बढाएको उनको भनाइ छ।
(न्युज एजेन्सी नेपाल)