नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स) का स्थायी पाइलटहरू सल्लाह गरेरै बिरामी बिदा बसेपछि अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको छ।
उनीहरू 'बिरामी परेको' वा 'अपर्झट भैपरी काम आइपरेको' जनाउँदै 'ड्युटी' नआएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको हो।
उडानको अन्तिम समयमा पाइलटहरू बिदामा बसेपछि शनिबार यता कम्तीमा आधा दर्जन उडान प्रभावित भएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।
निगमको वाणिज्य विभागका अनुसार झन्डै दर्जन पाइलट (क्याप्टेन) बिदामा बस्दा आइतबार मात्रै कम्तीमा नौ सय ६३ यात्रु काठमाडौं, मुम्बई र दुबईमा अलपत्र परेका छन्। निगमको आइतबार राति ९:३० मा काठमाडौं-दुबई उडान तालिका थियो। तर पाइलटहरू 'ड्युटी' नआएका कारण आइतबार एक सय ६७ यात्रु लिएर दुबई उड्नु पर्ने जहाज काठमाडौंमै रोकियो।
त्यस उडानका यात्रुलाई निगमले गौशालाका होटलमा कोठा खोजेर निगमकै खर्चमा राख्यो। आइतबारको काठमाडौं-दुबई उडान सोमबार बिहान मात्रै हुन सकेको निगमले जनाएको छ। नियमित उडान प्रभावित हुँदा यात्रुहरूले विमानस्थलमै नारावाजी समेत गरिरहेका छन्।
'समयमै उडान नहुँदा विमानस्थलभित्र यात्रु आक्रोशमा उत्रिएका छन्। कतिपय यात्रुलाई विमानस्थलका प्रहरीले नियन्त्रणमा लिएका छन्,' विमानस्थलका एक कर्मचारीले भने, 'यो सेवाको विषय मात्र होइन यसमा निगमको साख पनि जोडिएको छ। पहिलो पटक होइन विमानस्थलभित्र निगमको सेवाका विषयमा यात्रुको गुनासो धेरै आइरहन्छन्।'
निगमका पाइलटहरू सेवा सुविधाको माग उठाउँदै बिरामी परेको भनेर उडानमा नआएपछि केही दिन यता उडान नै प्रभावित बनेको निगमका प्रवक्ता रमेश पौडेल स्वीकार्छन्।
'अहिले उडानहरू डिले मात्र होइन रद्द गर्नुपर्ने अवस्था पनि आइसकेको छ। यो दु:खद् कुरा हो,' उनले सेतोपाटीसँग भने, 'पाइलटहरू यसरी हड्तालजस्तो प्रवृत्तिमा देखिनुभन्दा पनि व्यवस्थापन र सम्बन्धित निकायमा छलफल गर्नु पर्ने विषय हो।'
निगमसँग दुई वटा न्यारोबडी र दुई वटा वाइडबडी उडाउन ४३ जना क्याप्टेन छन्। जसमध्ये एकै साथ ८ पाइलट बिदा बसेको जानकारी अपरेसन विभागका निर्देशक दिपुराज ज्वारचनमार्फत आइतबार निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई पठाएका थिए।
अपरेसन विभाग प्रमुख ज्वारचनले भने निगमका ४३ मध्ये ८ पाइलट बिहीबारदेखि सुनियोजित शैली अपनाउँदै बिदा बसेको र त्यसले उडान प्रभावित भएको जनाएका छन्। उनले यसरी बिदा बस्दा निगमलाई आर्थिक नोक्सानी मात्र पर्न नभई निगमको साख र इज्जतमा नकारात्मक असर परेको बताए।
साथै सबै पाइलटहरूलाई आइतबार राति पत्र पठाइसकेको पनि जानकारी दिए।
'निगमले यसलाई अत्यन्तै गम्भीर रूपमा लिएको छ,' पाइलटहरूलाई पठाइएको पत्रमा लेखिएको छ, 'निगमलाई पर्ने आर्थिक लगायतका नोक्सानीका सम्बन्धमा नियमअनुसार कारबाही हुने भएकाले सम्पूर्ण पाइलटहरू उडानमा फर्किनुहोला।'
आइतबार नै विभागका प्रमुख ज्वारचनले जानकारी सहितको यो पत्र पठाए पनि पाइलटहरू आफ्नो अडानमा अडिग भएर बसेका छन्। जसले अझै पनि अन्तर्राष्ट्रिय उडान प्रभावित हुने निगमकै कर्मचारीहरू बताउँछन्।
देशकै बदनाम गराउने उद्देश्यले भएको यो हड्ताल पेसागत मर्यादा विपरीत रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक कर्मचारीले बताए।
'पाइलटहरू तत्काल हड्ताल बन्द गरेर काममा फर्कनुपर्छ,' ती कर्मचारीले भने, 'यदि बन्द नभएको खण्डमा मन्त्रालय कानुनी कारबाहीमा अघि बढ्नेछ।'
साथै, मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले पाइलटका मागका सम्बन्धमा अर्थ मन्त्रालयमा फाइल पुगिसकेको बताए। पाइलटलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धी सेवासुविधा दिनुपर्छ भन्ने नै सरकारको ध्यान रहेको समेत उनले बताए। तर, यही विषयलाई लिएर शनिबार यता केही पाइलटहरूले गरेको हड्ताललाई मन्त्रालयले गम्भीर रूपमा लिएको बताए।
'जिम्मेवार पदमा रहेका पाइलटहरूबाट राज्यले यस्तो अपेक्षा राखेको हुँदैन। त्यसकारण यो विषय सम्बन्धित निकायसँग बसेर छलफल गर्ने विषय हो,' उनले भने, 'सेवा सुविधाका नाममा उडान प्रभावित गरेर अन्तर्राष्ट्रिय बजारमा निगमको साख गिर्ने काम गर्नु भएन।'