नयाँ वर्ष २०८२ आउँदैछ। यो अवसरमा मिठो खाने, साथी वा आफन्त भेट्ने, नयाँ ठाउँ घुम्न जानेहरू धेरै हुन्छन्। नयाँ वर्षको पहिलो दिन प्रायः धेरैको इच्छा घुमघाम गर्ने पनि हुन्छ।
धेरैलाई काठमाडौं नजिक त्यस्ता ठाउँ कहाँ होलान् भनेर अलमल पनि हुन सक्छ।
हामीले पर्यटन व्यवसायीहरूले दिएको जानकारीका आधारमा १० ठाउँ सुझाएका छौं जहाँ नयाँ वर्षको अवसरमा घुम्न जान सकिन्छ।
१. कालिञ्चोक
पछिल्लो समय दोलखाको कालिञ्चोक पर्यटकीय गन्तव्यका रूपमा चिनिएको छ। धर्ममा आस्था राख्ने र घुमफिर गर्न चाहनेका लागि यो एउटा आकर्षक गन्तव्य हो। जाडोयाममा हिउँ खेल्न र गर्मीयाममा खुलेको मौसममा आधा दर्जन बढी हिमाल हेर्न थुप्रै पर्यटकहरू यहाँ पुग्छन्।
काठमाडौंबाट चरिकोट १३३ किलोमिटर टाढा र चरिकोटबाट १७ किलोमिटरमै कालिञ्चोक पुग्न सकिन्छ। यो ठाउँ पुग्न दुई दिन समय छुट्ट्याउनुपर्छ। यहाँबाट लाङटाङ, गणेश, गौरीशंकर लगायत हिमालहरू हेर्न पाइन्छ।
कालिञ्चोकको कुरी बजार पनि आकर्षणको केन्द्र हो।
२. शैलुङ
दोलखाकै अर्को पर्यटकीय गन्तव्य हो शैलुङ। पछिल्लो समय मिनी ग्रेटवाल बनेसँगै यो ठाउँ धेरैको रोजाइमा छ। यहाँको मुख्य विशेषता भनेको एकै ठाउँबाट दर्जनभन्दा बढी हिमाल देखिनु हो। शैलुङबाट अन्नपूर्ण, मनास्लु, लाङटाङ, गौरीशंकर, सगरमाथा लगायत हिमाल देखिन्छ।
यहाँको अर्को विशेषता सय वटा थुम्का पनि हो।
काठमाडौंबाट अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकको मुडे र त्यहाँबाट केही समयमै दोलखा पुगिन्छ। शैलुङको फेदसम्म गाडीमै जान सकिन्छ। वा, देउरालीबाट पैदल हुँदै जान सकिन्छ। खानबस्नका लागि पर्याप्त होटल छन्। यो गन्तव्यका लागि पनि दुई दिनको समय मिलाए पुग्छ।
३. सुकुटे
काठमाडौंबाट ६५ किलोमिटर दुरीमा रहेको सिन्धुपाल्चोकको सुकुटे पर्यटकीय गन्तव्य हो। यो ठाउँ विशेषगरी र्याफ्टिङका लागि स्वदेशी र विदेशी पर्यटकको रोजाइमा पर्छ। अहिले सुकुटे एड्भेन्चर हबकै रूपमा विकास भइसकेको छ।
र्याफटिङसँगै बन्जी, क्यानोनिङ, रक क्लाइम्बिङ, जंगल सफारी, जिपलाइन, ह्याम्मक केबलकार, ३६० डिग्री स्विङ र स्काई साइक्लिङ सुकुटेका आकर्षण हुन्।
एक दिनमै धेरै एड्भेन्चरको मजा लिन सकिन्छ र काठमाडौं फर्किन सकिन्छ। बस्न र खान सुनकोशी र भोटेकोशीको बगरभरि रेस्टुरेन्टहरू छन्।
खोलाको बगरमा टेन्टमा बस्न पनि पाइन्छ।
४. धुलिखेल
काठमाडौं उपत्यकामा बस्नेहरूका लागि धुलिखेल पहिलो नम्बरमै पर्ने पर्यटकीय गन्तव्य हो भन्दा फरक पर्दैन। काठमाडौंबाट ३१ किलोमिटर दुरीमा रहेको धुलिखेलमा पिकनिक जानेहरू पनि धेरै हुन्छन्।
यहाँ नमोबुद्ध, हजार सिँढी घुम्न र जिपलाइनमा रमाउन जान सकिन्छ। त्यस्तै गणेश, लाङटाङ, ल्होत्से, गौरीशंकर लगायत हिमाल देख्न सकिन्छ।
एक दिन बस्ने हो भने यहाँ सानाठूला सबै खाले होटल पर्याप्त छन्। बिहान हाइकिङ गर्न सकिने ठाउँ पनि छन्। धुलिखेल परिवारिक घुमघामका लागि राम्रो मानिन्छ।
५. बेथानचोक
काभ्रेको बेथानचोक पछिल्लो समय रूचाइएको ठाउँ हो। काठमाडौंबाट ४४ किलोमिटर दुरीमा रहेको बेथानचोक एक दिन बसेर फर्किँदा उपयुक्त हुन्छ। तीन घन्टा गाडीमा यात्रा गरेर पाँच घन्टा पदयात्रा गरेपछि बेथानचोक पुगिन्छ।
यहाँबाट सगरमाथा, धौलागिरि, मकालु, मनास्लु, गणेश, लाङटाङ, दोर्जे लाक्पा लगायत हिमाल नजिकबाट देखिन्छ।
यहाँ जानेहरूले क्याम्पिङको मजा लिन सक्नेछन्। सूर्योदय र सूर्यास्त हेर्न पनि यो ठाउँ रमाइलो छ।
६. नगरकोट
काठमाडौंबाट ३२ किलोमिटर उत्तरपूर्व र भक्तपुरबाट २० किलोमिटर पूर्वमा रहेको नगरकोट सूर्योदय हेर्ने ठाउँका रूपमा प्रख्यात छ। नगरकोटबाट धौलागिरि, कञ्चनजंघा, मनास्लु, गणेश, लाङटाङ, गौरीशंकर, ल्होत्से लगायत हिमाल देखिन्छ।
आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्ने नगरकोटमा सानाठूला सबै खाले होटल छन्। यहाँ एक वा दुई दिनसम्म बिताउन सकिन्छ।
अहिले नगरकोटमा साहसिक खेल जिपलाइन पनि चल्न थालेको छ।
७. ककनी
नुवाकोटको ककनी पनि काठमाडौं नजिकैको चर्चित पर्यटकीय स्थल हो।
काठमाडौंबाट २२ किलोमिटर दुरीमा रहेको ककनीको आकर्षण भ्यूटावर, ट्राउट माछा र स्ट्रबेरी खेती हुन्। यहाँबाट लाङटाङ, अन्नपूर्ण, मनास्लु, गणेश, गौरीशंकर, जुगल लगायत हिमाल देखिन्छ।
यहाँ गएर एक दिनमै फर्किन सकिन्छ। वा बस्न चाहे थुप्रै होटलहरू छन्। हाइकिङका लागि पनि ककनी प्रसिद्ध छ।
८. चिसापानी
काठमाडौंबाट २९ किलोमिटर दुरीमा रहेको चिसापानी हाइकिङका लागि प्रसिद्ध छ। सुन्दरीजलबाट शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै हाइकिङ गर्न सकिन्छ। आफ्नो सवारी साधनमा पनि पुग्न सकिन्छ।
यहाँको आकर्षण शिवपुरी राष्ट्रिय निकुञ्ज, धाप ड्याम, हैबुङ हुन्। त्यस्तै गौरीशंकर, लाङटाङ लगायत हिमाल देख्न सकिन्छ।
हाइकिङ जाने हो भने चिसापानीबाट नगरकोट हुँदै काठमाडौं फर्किने रूट पनि छ। चिसापानीबाटै फर्किने हो वा त्यहीँ रात बस्ने हो भने होटलहरू पनि छन्।
९. चित्लाङ
सहरको कोलाहलबाट पर जान यो एउटा राम्रो गन्तव्य हो। मकवानपुरको चित्लाङ चिसोको आनन्द लिने ठाउँ हो। काठमाडौंबाट २९ किलोमिटर दुरीमा रहेको चित्लाङमा बस्न होटल तथा होमस्टेको व्यवस्था छ। यहाँ अर्गानिक खानेकुरा खाँदै बस्न पाइन्छ।
अहिले चित्लाङमा साहसिक खेल पाराग्लाइडिङको पनि मजा लिन सकिन्छ। चन्द्रगिरिको जंगलबाट पाराग्लाइडिङ गर्दै चित्लाङ पुगिन्छ।
१०. मार्खु/कुलेखानी
एक दिने घुमघामका लागि मकवानपुरको कुलेखानी पनि उपयुक्त ठाउँ हो। काठमाडौंबाट ४५ किलोमिटर दुरीमा रहेको कुलेखानीमा पिकनिक जानेहरू पनि धेरै हुन्छन्।
कुलेखानीको पोखरीमा डुंगा सयर गरेर रमाउन सकिन्छ। दुई दिनको योजना बनाउने हो भने कुलेखानीबाट भोलिपल्ट बिहान हाइकिङ गर्दै मोहिनी झरना पनि जान सकिन्छ।
कुलेखानीमा बस्न र खान सुविधायुक्त होटलहरू छन्। यस्तै यहाँ माछाका परिकारको स्वाद लिन पाइन्छ।