विभिन्न मुलुकका कूटनीतिक प्रतिनिधिहरूलाई नेपालको पूर्वी पर्यटकीय गन्तव्य इलामको भ्रमण गराइएको छ।
परराष्ट्र मन्त्रालयको समन्वयमा नेपाल पर्यटन बोर्डद्वारा आयोजित उक्त भ्रमणमार्फत इलामको प्राकृतिक, सांस्कृतिक र पर्यटन सम्भावनाको प्रवर्द्धन गरिएको हो।
परराष्ट्रमन्त्री आरजु राणाको नेतृत्वमा भ्रमणमा सहभागी भएका विभिन्न देशका राजदूत तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूले इलामको शान्त वातावरण, पहाडी जीवनशैली तथा प्राकृतिक र सांस्कृतिक विविधता नजिकबाट अनुभव गरेका हुन्।
भ्रमणले स्थानीय संस्कृति र पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय समुदायसामु प्रस्तुत गर्न अवसर दिएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए।
आइतबार काठमाडौंबाट भद्रपुर विमानस्थल हुँदै सुरू भएको भ्रमण स्थलमार्गमार्फत कन्याम पुगेको थियो। कूटनीतिक प्रतिनिधिले स्थानीय सांस्कृतिक नृत्य, लोकसंगीत तथा आतिथ्य कार्यक्रममा भाग लिएका थिए।
त्यसपछि टोली घोडचढी (हर्स राइडिङ) को अनुभव लिएर श्रीअन्तु प्रस्थान गरेको थियो।
सोमबार बिहान श्रीअन्तुबाट सूर्योदयको दृश्य अवलोकन गराइएको थियो। अन्तु पोखरीमा माछा मार्ने तथा डुंगा सयरजस्ता गतिविधिहरू सञ्चालन गरिए।
त्यसदिन चिया टिप्ने प्रतियोगिता र 'टि टेस्टिङ' कार्यक्रम समेत आयोजना गरियो, जसले पाहुनालाई इलामको प्रसिद्ध चिया संस्कृतिको प्रत्यक्ष अनुभव गराइएको नेपाल पर्यटन बोर्डले जनाएको छ।
स्थानीय उत्पादनहरूको 'चिज टेस्टिङ' कार्यक्रम र साँझको सांस्कृतिक कार्यक्रममा पनि अतिथिहरू सहभागी भए।
मंगलबार भ्रमण टोली इलामसँग बिदा लिँदै भद्रपुर हुँदै काठमाडौं फर्किएको थियो।
यो कूटनीतिक भ्रमणले इलामलाई अन्तर्राष्ट्रिय स्तरमा पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्न उल्लेखनीय सहयोग पुर्याउने नेपाल पर्यटन बोर्डको बुझाइ छ।