आइएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिका–१, मौलाकालिकामा इला होटल तथा रिसोर्ट सञ्चालनमा ल्याइएको छ।
आज (सोमबार) बाट होटल तथा रिसोर्ट सञ्चालनमा ल्याइएको आइएमई समूहले जानकारी गराएको छ।
मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा सुइट तथा डिलक्स रुमसहित ६५ वटा रुम, एक हजार जना क्षमताको ब्यांक्वेट तथा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्विमिङपुल, स्पा र जिमलगायत विभिन्न सुविधाहरू उपलब्ध रहेको बताइएको छ।
केबलकारसहितको इला होटल तथा रिसोर्टको पर्यटकीय पूर्वाधारले नारायणी, देवघाट, त्रिवेणीलगायतका देवभूमिसहितका सम्पदाहरूका अवलोकनमा सहयोग पुर्याउने विश्वास आइएमई समूहको छ।
यो समूहले सात वटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको पर्यटकीय पूर्वाधार निर्माण गरिरहेको छ।
हालसम्म तीन वटा प्रदेशमा केबलकार निर्माण भई सञ्चालनमा आइसकेका छन् भने यस होटल सञ्चालनसँगै दुई वटामा होटलसहितका आयोजना नै सञ्चालनमा आइसकेका छन्।
लुम्बिनी केबलकारको टप स्टेसन बसन्तपुरमा होटल निर्माण प्रक्रिया अघि बढेको छ भने सुदूरपश्चिमको कैलालीमा होटल, रिसोर्ट र केबलकार निर्माणको काम एकसाथ अघि बढिरहेको आइएमई समूहले जनाएको छ।
अबको एक वर्षभित्र केबलकार सञ्चालनमा आउनेछ भने त्यसको केही समयपछि नै होटल र रिसोर्ट पनि सञ्चालनमा आउने उल्लेख छ।
त्यस्तै, ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण प्रक्रियामा छ।