नेपाल विद्युत प्राधिकरणलाई ज्ञापनपत्र बुझाउँदै पोखराका पर्यटन व्यवसायीले विद्युत सेवा नियमित गरिदिन माग राखेका छन्।
प्राधिकरणको पोखरा वितरण केन्द्रमा शुक्रबार ज्ञापनपत्र बुझाउँदै व्यवसायीले विद्युत आपूर्ति नियमित नहुँदा पर्यटकलाई प्रदान गर्ने सेवामा असर परेको बताएको छ।
उनीहरूले बिजुली झ्याप्पझ्याप्प जाँदा विद्युतीय उपकरण बिग्रिएको र होटल, रेष्टुरेण्ट लगायत व्यवसायमा प्रत्यक्ष असर परेको उल्लेख गरेका छन्।
क्षेत्रीय होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बिजुली नियमित नहुँदा व्यवसाय मारमा परेको बताए।
‘बिजुली दिनमै दर्जनौं पटक झ्याप्प झ्याप्प जान्छ, यसले हाम्रा विद्युतीय सामग्री बिग्रिएको छ,’ उनले भने, ‘पर्यटन क्षेत्रलाई नियमित बिजुली दिनुपर्यो।’
अन्तर्राष्ट्रिय पर्यटनको गन्तव्यका रूपमा स्थापित पोखरामा बिजुलीको नियमित र भरपर्दो उपलब्ध गराउन पनि उनीहरूले माग राखेका छन्।
बिजुलीका तार भूमिगत गर्न खनिएका खाल्डा लामो समयसम्म नपुर्दा दुर्घटनाको जोखिम बढेको र बर्खामा परेको पानीले खाल्डा नदेखिँदा पर्यटकलाई समस्या परेको पनि उनीहरूले ज्ञापन पत्रमा भनेका छन्।
पुरिएका खाल्डा पनि गुणस्तरीय नभएको भन्दै उनीहरूले बिजुलीका पोलमा झुण्डिएका तारका गुजुल्टा चाँडै हटाउन पनि उनीहरूले माग गरेका छन्।
बिजुलीका तार भूमिगत गर्ने कार्य तीव्र गतिमा अघि बढाउन र हटाइएका ठाउँमा थुप्रिएका विद्युतीय फोहोर व्यवस्थापन गर्न पनि माग राखेको सुवेदीले बताए।
पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले विद्युत जस्तो अत्यावश्यक सेवामा पनि प्राधिकरणको ढिलासुस्तीले व्यवसायी मारमा परेको बताए।
प्राधिकरणले छिटो छरितो काम नगर्दा खाल्डाखुल्डी परेको र अनावश्यक बिजुली जाने समस्या भइरहेको जानकारी गराएका थिए।
ज्ञापनपत्र बुझ्दै प्राधिकरण पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले हावाहुरीका बेला केही ठाउँमा समस्या आउने गरेको बताए। देशभर सिस्टम नै गएका बेला आफूहरूले केही गर्न नसक्ने भन्दै उनले अरू समस्या आउँदा छिटो छरितो लाइन सुचारू गरेको बताए।
‘सिस्टम गएका बेला हामीले यहाँबाट केही गर्न सकिँदैन, अरू बेला हामीले तत्काल लाइन उपलब्ध गराउन कोसिस गरेका छौं,’ उनले भने, ‘हावाहुरीले रूखका हाँगाबिँगा भाँचिएर तार चुडिने, पोल भाचिने जस्तो समस्याको पनि सकेसम्म छिटो समाधान गरेका छौं।’
बिजुलीको लाइन भूमिगत गर्ने कार्य पनि छिटो गर्न आफूले निरन्तर दबाब दिएको यादवले बताए।
ठेकेदार पक्षलाई तार भूमिगत गर्न आवश्यक मेसिन र कामदार धेरै परिचालन गर्न बारम्बार दबाब दिएको जबाफ उनले व्यवसायीलाई दिएका थिए।