थाइल्याण्डबाट भारत उडेको एयर इन्डियाको जहाज पुनः थाइल्याण्ड नै फर्किएको छ।
शुक्रबार थाइल्याण्डको फुकेत अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली उडेको एयर इन्डियाको जहाज २ घन्टापछि सोही विमानस्थलमा अवतरण गरेको हो।
१५६ यात्रु बोकेको एयर इन्डियाको उडान एआई ३७९ जहाजले बिहान ९:३० बजे फुकेतबाट उडान भरेको थियो।
तर विमानमा बम रहेको भन्ने धम्कीपूर्ण सूचना आएपछि अन्डमान क्षेत्रमा एक चक्कर लगाएर ११:३८ बजे फुकेतमा फर्किएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
फुकेतमा फर्काइएपछि यात्रुहरूलाई बाहिर निकालेर विमानको खानतलासी गरिएको थियो। यद्यपि विमानमा त्यस्तो शंकास्पद वस्तु केही नभेटिएको बताइएको छ।
यसअघि गत डिसेम्बर महिनामा पनि भारतका विभिन्न एयरलाइन्सद्वारा सञ्चालित आन्तरिक र अन्तर्राष्ट्रिय उडानका जहाजमा बम रहेको भनेर सूचना दिइएको र खानतलासी गर्दा केही नभेटिएका कैयौं घटना भएका थिए।
त्यसरी भ्रामक सूचना दिनेलाई खोजी गरेपनि त्यसबारेमा पछि कुनै जानकारी सार्वजनिक भएको थिएन।
बिहीबार एयर इन्डियाको जहाज दुर्घटना भएपछि पुनः त्यस्तो सूचना प्राप्त हुनुले विमानमा माहोल केही त्रासदीपूर्ण बनाएको थियो। पछि यात्रुहरुलाई वैकल्पिक विमानको प्रबन्ध गरिएको बताइएको छ।