पछिल्लो पाँच वर्षमा देशभर एक सय १० वटा तारे होटल सञ्चालनमा आएका छन्। पर्यटन विभागका अनुसार यो अवधिमा ६ हजार ६४२ वटा कोठा र नौ हजार ८२१ वटा बेड सहितका होटल थपिएका हुन्।
आर्थिक वर्ष २०७७/७८ मा देशभरबाट विभागमा १६ वटा तारे होटल दर्ता भएका थिए। त्यस्तै २०७८/२०७९ मा ३० वटा, २०७९/२०८० मा २२ वटा, २०८०/२०८१ मा २२ वटा र २०८१/२०८२ मा २६ वटा होटल दर्ता भएका छन्।
यी होटलमा ६ हजार २३५ जनाभन्दा बढीले रोजगारी पाएका छन्।
गत आर्थिक वर्ष मात्र एउटा पाँचतारे डिलक्स, ६ वटा पाँचतारे होटल, चार वटा चारतारे होटल र एक–एक वटा दुईतारे र एकतारे होटल खुलेका छन्। यसैगरी सो वर्ष चार वटा साधारण रिसोर्ट र तीन वटा डिलक्स रिसोर्ट सञ्चालनमा आएका हुन्।
गत वर्ष काठमाडौं उपत्यकामा मात्र ६ वटा पाँचतारे होटल सञ्चालनमा आएका छन्।
नेपालका विभिन्न प्रमुख सहरमा रिसोर्टदेखि तारे होटलको संख्या थपिने क्रम बढ्दो छ।
हालसम्म विभागमा तीन सय ४७ वटा तारे होटल तथा रिसोर्टहरू दर्ता भएका छन्। जसमा १५ हजार ५९१ वटा कोठा र २४ हजार ७३६ वटा बेड पुगेको छ।
होटल व्यवसायमा लगानीकर्ता आकर्षित भएसँगै अर्बौं लगानीमा एकपछि अर्को होटल खुलिरहेको होटल संघका अध्यक्ष विनायक शाह बताउँछन्।
उनका अनुसार व्यवसायीले होटलमा लगानी थपिरहँदा पर्यटक आगमन बढाउन सबै क्षेत्र लाग्नुपर्छ।
'होटलमा लगानी बढेको बढ्यै छ। संरचना थपिरहेका छन्,' उनले भने, 'पूर्वाधार मात्र तयार गरेर हुँदैन। पर्यटक बढाउनुपर्छ।'
कुन प्रदेशमा कति?
विभागको तथ्यांक अनुसार हालसम्म देशभर तीन सय ४७ वटा तारे होटल छन्। यीमध्ये सबभन्दा बढी बागमती प्रदेशमा २३९ वटा तारे होटल दर्ता भएका छन्।
त्यस्तै गण्डकीमा ४४ वटा, लुम्बिनीमा ३४ वटा, कोशीमा १२ वटा, मधेसमा १२ वटा, सुदूरपश्चिममा ४ वटा र कर्णालीमा एउटा होटल दर्ता भएका छन्।
होटल निर्माणको काम सकिएपछि सञ्चालकले पर्यटन विभागमा दर्ता (स्तर वर्गीकरण) गर्छन्। होटलको क्षेत्रफल, भौतिक सेवा सुविधा लगायतका आधारमा विभागले अनुगमन गरेर स्तर वर्गीकरण गर्छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक तारेदेखि पाँचतारे डिलक्ससम्मका होटलको वर्गीकरणका लागि मापदण्ड तोकेको छ। विभिन्न तारे होटल सञ्चालन गर्न छुट्टाछुट्टै प्रावधान छन्।
सामान्य होटलमा भौतिक सुविधा र सेवा, स्वास्थ्य सेवा, खाना, कोठा, पार्किङ क्षमता लगायत अन्य सुविधा हुनुपर्ने मापदण्ड छ। चारतारे वा सोभन्दा माथिल्लो स्तरको होटलमा मौलिक नेपाली खानाका लागि छुट्टै रेस्टुरेन्टसहित विभिन्न देशका खानाको स्वाद दिनुपर्छ।
त्यस्तै चारतारे भन्दा माथिल्ला स्तरका होटलमा अनिवार्य स्विमिङ पुल, अन्तर्राष्ट्रिय स्तरको ब्युटी सैलुन र सवारीसाधन पार्किङको क्षमता तोकिएको छ।
सामान्यतया काठमाडौं उपत्यकाभित्र एकतारेमा २० वटा, दुईतारेमा ४०, तीनतारेमा ६०, चारतारेमा ८०, पाँचतारेमा सय वटा र पाँचतारे डिलक्स होटलमा एक सय पचास वटा कोठा हुनुपर्छ।
उपत्यका बाहिरको हकमा हरेक तारे होटलमा काठमाडौंको भन्दा पाँच वटा कम भए पुग्नेछ।
होटल अनुसार डबल बेड रूम, स्विट, क्लब, इन्टर कनेक्टिङ, बेबी सिटिङ, अपांगतामैत्री लगायत कोठा हुनुपर्ने प्रावधान छ।