नेपाल वायुसेवा निगमका सञ्चालक समिति सदस्य अमृत मान श्रेष्ठले महाप्रबन्धकको पदभार ग्रहण गरेका छन्।
श्रेष्ठले बिहीबार निगममा पदबहालि गरी औपचारिक रूपमा कामकाज सुरू गरेका हुन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई महाप्रबन्धक नियुक्ति नभएसम्मका लागि महाप्रबन्धकको काम गर्ने गरी नेपाल निगमको कार्यकारी सञ्चालकको रूपमा नियुक्त गरेको थियो। यससगै श्रेष्ठले बिहीबार पदभार ग्रहण गरेका हुन्।
पदबहालीपछि श्रेष्ठले निगमको कार्यकारी समितिको बैठक आह्वान गर्दै विभागीय प्रमुखहरूबाट निगमको समग्र अवस्थाबारे जानकारी लिएका छन्।
बैठकमा सम्बोधन गर्दै उनले निगमको हित र सुधारका लागि सबै कर्मचारी एकजुट भएर लाग्न निर्देशन दिए।
उनले इजरायलस्थित आइएआइमा मर्मतका लागि पठाइएको निगमको इन्जिनलाई आफ्नो जहाजमा जडान गरी, हाल लिजमा प्रयोग भइरहेको इन्जिन फिर्ता गर्ने कार्य तत्काल टुंग्याइने बताउँदै सो सम्बन्धी प्रक्रियालाई तीव्र गतिमा अघि बढाइसकेको जानकारी पनि दिए।
श्रेष्ठले सम्बन्धित कर्मचारीलाई उक्त कार्य छिट्टै सम्पन्न गर्न आवश्यक निर्देशनसमेत दिएका छन्।