म, 'म' नै हुँ
मेरा तरिका 'मेरा नै' हुन्
आपत्ति छ भने आओ सडकमा
सक्छौ भने बोल धावा ममाथि
पक्कै यही नै भन्दैछ
सतिसालझैं सग्लो अग्लो उभेको मान्छे।
अनि हामी
निरीह प्राणी आफ्नै (अ)साहसको
यहाँ सुस्केरा, त्यहाँ क्रन्दन
केही पर छटपट
अनि अलि वर विषाद,
र वरिपरि दिपावली महाव्याधीको।
यस्तै भित्ता रंगाउँदै
केही छापामा गर्दै बान्ता
देखाउँदैछौं सपना स्वाभिमानको
सिकाउँदैछौं बाँच्न कु्ण्ठित मनोकांक्षा
सुमसुमाउँदै, हुर्काउँदै एक भ्रम,
कि हामी जिउँदो छौं,
कि हामी मान्छे हौं।
यस्तै हामीभित्रकी एक, म भन्दैछु-
ए 'म' भित्रको तिमी अर्थात् सतिसालझैं अग्लो मान्छे
प्रार्थना गर तिम्रो ईश्वरसँग
कि नउडोस् नतमस्तक हामीभित्रको उफान
कि दनदनाएर हामीभित्रको अंगार नआओस् जलाउन
तिम्रो उधारको सत्ता!