प्रिय योषा,
दुर्गा कार्कीको पहिलो कथा संग्रह - कुमारी प्रश्नहरू - भित्रका तेह्र कथा एकपछि अर्को पढ्दा मलाई तिमी धेरै याद आयौ, त्यसैले यो पत्र लेख्दैछु। अन्तिमसम्म पढ्नेछौ भन्ने आशा छ।
तिम्री कोमा, आमा, देमा, नानाले पढेका, देखेका कथाकी पात्रहरूको छोरी-नातिनी पुस्ताको कथा हो कुमारी प्रश्न।
कोमाभन्दा अगाडिको समयका महिलाहरूको कथा बुझिने नेपाली गद्य संग्रहका कथाहरू देमा, आमा र छुना हुँदै नानाको समयसम्म कहिले पाठ्यक्रम त कहिले मधुपर्क, गरिमा लगायत साहित्यहरूमा आए। म – तिम्री नानालाई – भने आफ्नो समयको कथा पढेको याद छैन। किनकि ती कथाहरूले मलाई सधैं बितेका समयबोध गराउँदै आफ्नो वर्तमानमा भविष्यको रेखा कोर्न प्रेरित गर्यो। तर वर्तमानमा समकालीनहरूले कोर्ने रेखा कस्तो हुन्छ, त्यसको बोध मैले सायदै साहित्यमा गरेँ।
मैले आफ्नो अघिल्लो पुस्ताको पीडा, अभाव, चाहना र संघर्षको कथा पढेँ र तिनले मलाई जुझारू बनायो। तर तिनले मैले बाँचेको समयको बोध गराएन। त्यसैले पनि दुर्गाका पात्रहरूले मलाई तिम्रो याद दिलाएको हुनुपर्छ। किनकि यी कथा तिम्रो समयको हो।
उहिले समाजले कोमालाई कोरिदिएको रेखालाई आजको समयमा तिमीले कसरी बुझ्छौ र के गर्छौ भन्ने स्वनिर्णयको चित्र यी कथाका पात्रहरूले दिन्छन्। यी कथाका पात्र अर्थात् संघारका अनुराधा र नयनतारा, मनमायाकी मनमाया र पोइलकी सुनिता।
समाजमा ‘इज्जतिलो’, ‘सोझी’ केटीको पारखी ठहरिने ठेकेदारहरू जस्ता ब्वाइफ्रेन्डले वा ब्वाइफ्रेन्ड हुन चाहनेले मिठा-चिप्ला कुरा गर्दा जसरी संघारकी अनुराधा, निर्दिष्टा पार्ट-टु-की ‘राजकुमारी’ (मैले त उसको नाम पत्ता लगाइन, तिमीले पढ्दा थाहा हुन्छ कि?), कुमारी प्रश्नहरूकी मञ्जु सरह तिमी पनि मख्ख पर्छौ होला भन्ने सोचसँगै तिमीलाई पनि कसैले त्यसरी डोरो लगाउँदैछ कि भन्ने चिन्तामा पनि परेँ।
सम्बन्धहरू बिग्रँदै जाँदा पाँच सेकेन्डकी निधी या पोइलकी सुनिता हुन्छौ? भौंतारिन्छौ कि कुनै अहम् निर्णय लिन्छौ? यसै यसै यी सोच्न पुगेँ र म निकैबेर गमेँ यस विषयमा।
तिमी हाँस्दै छौ सायद, किनकि मैले किशोरी उमेरको अन्तिम वर्षमा रहेकी तिमीलाई तिम्रो निजी सम्बन्धबारे त सोधेकी पनि छैन। मलाई त तिम्रो यौनिक झुकाव कतातिर छ भनेर पनि थाहा छैन। तिमीले मलाई भनिरहनु आवश्यक छैन, तर जुन दिन हामीमध्ये एकलाई यो विषयमा कुराकानी गर्नु जरूरी हुन्छ, त्यो दिन, हामीले तिम्रो अनुकूलतामा यसबारे कुरा गर्नेछौं।
तर नाना, तपाईंलाई सबभन्दा मनपरेको कथा कुन हो भनेर सोध्न सक्छौ तिमीले। मलाई सबभन्दा मनपरेको भन्दा पनि मैले धेरैपटक पढेको कथा चाउमिन हो। यो कथाले मलाई मेरो पहिलो जागिरको सहकर्मीको याद दिलायो। तिम्री देमाकी उमेरकी तर मेरी सहकर्मी मिनुले ‘त्यो हिन्दी फिल्ममा बच्चाले वा हिरोले माँ मेरा बाप कौन है भन्दै रूने र आफूलाई दुखजिलो र अपमान सहेर हुर्काउने आमाको अपहेलना गर्दै बेवास्ता गरेर हिँडेको बेटुंगे बाउलाई दिनरात सम्झेको देख्दा त्यसको गाला चड्काउनु मन लाग्दैन तिमीलाई?' भनेर सोध्नुभएको थियो।
चाउमिन कथा पढ्दा मलाई झलझली त्यही याद आयो।
नदेखेको बाउ भेट्ने विनिताको तिर्सनाले उनको हेराइलाई यस्तरी बाँध्छ, उसले आफू निरीह बन्दै गएको पनि पत्तो पाउँदिन। यस कथाले मलाई फेरि पनि हाम्रा ती आमाहरू याद दिलाए जसले आफ्ना नानीहरूलाई उनीहरूको बाउका कारण नागरिकता दिन सकेका छैनन्। विनितालाई पनि यो दु:ख आउला भोलिपर्सि भनेजस्तो भयो। किनकि बाउले वा मृत बाउको सन्तान हो भनी बाउका परिवारले सनाखत नगरून्जेल यो देशमा नागरिकता लिन त गाह्रो छ।
विनिताजस्तै अगतिला बाउका छोरीहरूले कति संघर्ष गर्नुपर्ने होला भन्ने अनुमान त तिमी सायदै गर्नसक्छौ होली। अनि फेरि, लोग्नेले छोडेको, लोग्नेले अस्वीकार गरेको, लोग्ने बेपत्ता भएका महिलाहरूले हुर्काएका छोराछोरीहरूले पनि आमालाई बाउ चिनाइदिने जिकिर गरिरहँदा, बाउको खोजखबर गर्दा ती महिलाहरूलाई आफू हुनु र नहुनुको अर्थ, आफुले सन्तान हुर्काउनु र नहुर्काउनुको निर्णयले चिमोट्छ कि चिमोट्दैन होला?
अलिअलि त मैले प्रणिलको नाबालिग परिचयपत्र बनाउन जाँदा बुझिसकेको छु। त्यसैले पनि होला सायद, मलाई चाउमिन कथाले बढी छोयो।
लौ, सबै कथा यही चिठ्ठीमा भन्नुभयो भने मैले किन ती कथाहरू पढिरहनु भन्ने सोच्दैछौ होली, होइन? त्यसैले म तिमीलाई छोटोमा भन्छु बाँकी कुरा।
तिमीलाई यति पढ्न पनि धौ-धौ हुनसक्छ, त्यसैले एक हरफमा भन्नुपर्दा यो कथा संग्रह तिम्रो समयको तिमीजस्ता किशोरी वा युवाहरूको कथा हो जहाँ मानविय संवेदनालाई सुमसुमाउने आर्थिक-सामाजिक-राजनीतिक पाटाहरूमा यौनिकताको रंग पनि छ, र यो रंग सायद अझै पनि हाम्रो जस्तो दुई-जिब्रे समाजमा सजिलैसँग स्वीकार गरिँदैन।
अरूको कुरा छोड, हामीले नै कहिल्यै कुरा गरेका छौं त? ल भन!
त्यसैले यो कथामा उनले यौन वा सेक्सको कुरा उठाउँदा तिमीलाई कस्तो महशुस हुन्छ, मलाई जान्न मन लागेको छ। नलजाईकन नानालाई भन्छौ होली भन्ने सोचेकी छु।
मलाई कस्तो पनि लाग्यो भन्छौ भने यत्ति बुझ मलाई 'पब्लिक डिस्प्ले अफ एफेक्सन' अर्थात् सार्वजनिक रूपमा मायाको कुरा गरेको, देखाएको मन पर्दैन। तिम्री नाना अनुदार रहेको थोरै विषयहरूमध्ये यो एउटा विषय हो। त्यसैले पनि, यस कथामा स्वाभाविक रूपमा चित्रण गरिएका मायाका रूपहरूलाई तिमीले आफ्नो जीवनमा कसरी ठाउँ दिन्छौ, जान्न मन लागेको छ।
के जीवन जिउन तिमीलाई पुरुषको साथ चाहिन्छ नै त? या तिमीले लोग्ने मरेको वर्ष दिन नबित्दै अर्को पुरुषसँग बिहा गर्यौ वा आफ्ना शारीरिक र भावानात्मक आवश्यकता पूरा गर्न नसक्ने लोग्ने नमर्दाको अवस्थामा अर्को पुरूषसँग यौन सम्बन्ध राख्नु समाजलाई चुनौती दिएको हो?
त्यस्तै गरेर, परिवारको असहमतिका बावजुद पुन:विवाह गरेकी श्रीमतीलाई म मर्नेबित्तिकै अर्को विवाह गर्नु है भन्ने लोग्नेलाई तिम्रो समयका तिमीहरूले कसरी बुझ्छौ?
सम्बन्धको रिक्तताले गाँसिएको सम्बन्धमा भनिएको यो सुझाव, आदेश वा अनुमति, के हो? यदि कुनै श्रीमानले आफ्नी श्रीमतीलाई किन यस्तो सुझाव दिन्छ तर परिवारले, समाजले यसलाई कसरी बुझ्छ? तिम्रो तर्क जान्न मन छ।
पटक-पटकको लाञ्छना र शंकाले मन भाँच्चिएपछि एक युवती लोग्नेलाई त्यागेर आफ्नो कदर गर्नेसँग जीवन बिताउने निर्णय गर्छे। तर यो निर्णयले उसलाई नमिठोसँग रुवाउँछ र ऊ यसरी जान्छे मानौं यसरी जानु उसको बाध्यता बन्यो। लोग्ने र प्रेमीको निर्णयसँग आफ्नो ‘स्व-निर्णय’ लाई गाँस्ने तर त्यसो गर्दा आफ्नो जीवनका निर्णय अरूबाट निर्देशित हुँदाको परिस्थितिसँग जुझ्ने, सम्झौता गर्ने जीवनहरूको झझल्कोमा, मसामु तिमी र तिम्रा दौंतरीहरू पनि देखापर्यौ अचम्मसँगले।
पहिलो शारीरिक सम्पर्कपछि रगत ननिस्केमा आफूमाथि आइपर्नसक्ने सम्भावित आपतको सामना गर्न जुन जुक्ति एक युवतीले लिन्छे, त्यसले त उसको विवाहको सुरूवात नै छलबाट हुन्छ। उसले निकालेको जुक्तिलाई तिमीले छोरीहरूको यौनिकतालाई नियन्त्रणमा लिएको समाजविरूद्ध गएको देख्छौ कि त्यही नियन्त्रणलाई नै निरन्तरता दिएको देख्छौ?
अनि फेरि कौमार्य, त्यो पनि योनीको ‘कौमार्य’ मा समाजले तोकेको भाउलाई दुर्गाले पनि यसबाहेकका आफ्ना कथामा कसरी प्रस्तुत गरेकी छन् र तिम्रो वास्तविकता यो पात्राको भन्दा फरक हुनसक्छ कि सक्दैन? प्रश्नैप्रश्न उब्जियो।
जिम्मेवारीदेखि पन्सेर गुमनाम बस्ने बाउकी छोरी, र आफ्नी आमालाई रातदिन कुटिराख्ने बाउकी छोरीहरूका आफ्ना-आफ्ना बाउसँगको मोहलाई कसरी हेर्छौ?
अनि, आमा मरेका छोराछोरी हुर्काउन आफू बिहा नगर्ने तर ठूली छोरीलाई सानै उमेरदेखि घर-व्यवहारको साझेदार बनाउने बाबु र त्यो जिम्मेवारीमा आफूलाई होम्ने छोरी, यी सबलाई सहरमा एकल परिवारमा हुर्केका, जीवनका यस्ता वास्तविकता नदेखेका तिमी र तिम्रा दाँवलेहरूले यी पात्रहरूलाई कसरी बुझ्लाऊ? भोग्छन् त्यस्तै तवरमा, नभोगे पनि उनका यी कथालाई गम्भीरतासाथ नलिदिन सक्छन्।
त्यो भन्नै पर्थ्यो त? त्यो लेख्नै पर्थ्यो त? जस्ता प्रश्न दुर्गाको अगाडि भन्न नसकेनि पछाडि चाहिँ तेर्साउन सक्छन्। खुब आधुनिक भएकी जस्ता भन्छन् र केही समालोचकहरूले यसलाई ठाडै अस्वीकार पनि गर्न सक्छन्। किनकि अनुपम रोशीको कुमारी आमा उपन्यासलाई त्यसै गरिएको थियो।
त्यसैले योषा, यहाँ किस र यौन सम्पर्क (सेक्स) लाई कथामा बुनिनु कुनै ठूलो कुरो होइन। त्यसलाई तिमीले कसरी बुझ्छौ, त्यो ठूलो कुरा हो र मलाई लाग्छ योभन्दा बढी भन्नु आवश्यक पनि छैन। र, म दाबीका साथ भन्न सक्छु, यी कथाका विषयहरूमा पितृसत्ताको बेढंगको शक्ति उपासकहरूका लागि यी पात्राहरू आफ्ना जस्ता लाग्न सक्छन्। किनकि यी पात्राहरूले गरेका निर्णय हाम्रो अघिल्लो पुस्ताले पनि गरे, हामीले पनि गर्यौं र तिम्रो पुस्ताले पनि गर्दैछन्।
त्यस हिसाबले यी कथाहरूको घडीले दर्शाउने समय फरक छ तर स्थिति, विषय उही छ। त्यसैले तिमीले प्रश्न गर आफैसँग, के तिमी यी कथाका पात्रले जस्तो समर्पण, अन्यौल र आत्मकेन्द्रित विद्रोह जस्तो देखिने निर्णयहरू गर्छौ?
त्यसैले यो पत्र पढेपछि तिमीले ती कथाहरू पढ्नु र मलाई लागेका तलका कुराहरूमा तिम्रो विचार बताउनु ल।
यी सब भनेर तिमीलाई सुरूमा नै सोधेको प्रश्न: दुर्गा कार्कीलाई पढेकी त छौ?
मैले उनलाई पहिलोपटक सेतोपाटीमा पढेकी थिएँ। त्यो ताका सेतोपाटीमा भानुभक्तजीका कथाहरू प्राय:जसो छापिन्थे। भानुभक्तजीले लेख्नुभएको ‘मेहन्दी’ कथाकी रश्मीले आफ्नो मौनता 'भोजराजलाई रश्मीको चिठ्ठी' बाट गरिन् र उनको कुरा दुर्गाले लेखिन्। त्यही बेलादेखि नै हो मैले दुर्गालाई पढ्न थालेकी।
आमा हुन लालायित महिलाले आफूलाई बलात्कार गरेपछि रहेको गर्भलाई प्रसादको रूपमा स्वीकार गरेको देखाइएको नेपाली चलचित्र ‘प्रसाद’ को समीक्षा पनि दुर्गाले लेखेकी छन्। ‘प्रसाद: प्रसाद होइन अभिशाप' समीक्षा पनि तिमीले पढ्नै पर्ने लेख हो। अनि त्यस्ता कथा-लेख लेख्ने दुर्गाले कसरी आफ्नो कथा संग्रहको नाम ‘कुमारी प्रश्नहरू’ राखिन्? किन राखिन्? तिमीलाई कौतूहल लाग्न सक्छ। म लगायत धेरैले उनलाई विभिन्न माध्यमबाट सोधेको प्रश्न हो यो।
संग्रहमा समेटिएका तेह्र प्रश्नहरूमध्ये एक यो कथालाई नै किन संग्रहको नाम पनि दिइयो? जबकि यो कथा रोमाञ्चक र दुखद दुवै छ तर यो भन्दा अन्य कथाहरू पनि त कम छैनन् नि। उनका पात्राहरूको यौनप्रतिको दृष्टिकोण र भोगाइ के हो जसले प्राय: सबै कुरामा बुनिन पुगेको यौनिकतालाई आवरण सज्जामा कमल (हुनुपर्छ सायद) को दुई कोपिलाले प्रतिनिधित्व गरे? र, किन कुमारी प्रश्नहरू नै संग्रहको नाम रहन गयो?
यस विषयमा तिमी र हामी पाठकले अब दुर्गालाई मात्र नभएर प्रकाशक नेपालयलाई पनि सोध्नुपर्छ। यो शीर्षक, आवरण सज्जा र बजारको तारतम्य के हो र दुर्गाले किन यसलाई स्वीकार गरिन् सोध्नुपर्छ। किनकि दुर्गाका आफ्नै प्रशंसकहरू छन् जसले बजारको तिकडमबिना नै उनका लेखन पढ्छन्, तर फेरि किन यस्तो हुन जान्छ भन्ने सोच्न पनि तिमीलाई जोड दिएँ।
तिमी नरिसाउनू वा मलाई नाना तपाईंले किन मलाई खाली के के सोधिराख्नुहुन्छ मात्र नभन्नू। किनकि मलाई थाहा छ तिमीमा आलोचनात्मक चेत छ। त्यसै तिमी आफ्नो क्याम्पसमा लेखन केन्द्रकी पियर ट्युटर (समकक्षीलाई सहयोग गर्ने सह-शिक्षकको भूमिका) बन्न सक्दिनौ, होइन त?
जे होस् नाना तपाईंले कत्ति धेरै लेख्नुभएको, झ्याउ लागिसक्यो पनि भन्न सक्छौ, त्यसैले मैले अहिलेलाई, आजलाई लेख्न बन्द गरेँ। बाँकी कुरा अर्को भेट वा यसरी नै पत्रमा।
तिमीलाई माया गर्ने
नाना-प्रणिका