पुरुष तिमी मैन हौ
पग्लँदै पग्लँदै तापमा आगोको
तपतप चुहिने थोपा हौ
ती थोपा, जो ठान्दछ कि उ चुहिएर त्यसरी
बुट्टा भर्छ आफू झरेर जमेका स्थानहरूमा
तर जमेका ती स्वरूप त
नंग, छुरी वा कुनै एक धारिलो वस्तुले खुर्किनु पर्ने कसिगर हो
पुरुष तिमी धुलो हौ
जो फैलन्छ सर्वत्र र सोच्छ, “म सर्वव्यापी छु
म नभए माटो कसरी होला
माटो नभए जीवन कसरी मलिलो होला”
तर बिर्सन्छ कि धुलो जमेका केही खेत होस् वा कुनाकाप्चा
पानी छर्कंदै, खरेटो र कुचो अनि टालोले पुछ्नुपर्छ
पुरुष तिमी बल हौ
त्यो बल जो मैले नखाँदा सुक्छ
त्यो बल जो म नलुक्दा लत्रन्छ
त्यो बल जो म नरुँदा तर्सन्छ
तर पनि सोच्छ यो बल कि उ हो शासक
बिर्संदै कि शासकको अन्त्य कहिल्यै ठिक हुँदैन
पुरुष तिमी छाप हौ
यत्रतत्र छापिने - शरीर र कागज त साधारण हुन्
शानका साथ जब लगाइन्छ जब तिमीलाई कहीं
तिमी सोच्छौ, ‘अरे वा! मेरो तोक नलाई तेरो काम चल्छ?’
गजक्क पर्दै जहींतहीं बजारिनु पर्ने तिमीलाई के थाहा
त्यसको नकल्ची बनिसकेको छ र त्यो मेरो मुठ्ठीमा छ
पुरुष तिमी मैन हौ
अनि म हुँ ताप
म अर्थात् महिला
म हुँ आगोको त्यो शिखा जो स्निग्ध र शान्त छे
तर पगाल्छे तिम्रो अहँलाई पलपल।