प्रसंग जाडो याम सकिएर न्यानो दिन सुरू हुने तथा रात र दिन बरोबर जस्तै हुने बिहानको हो। त्यो बिहान आजभोलि कै बिहान हो। मध्यरातमा घडीको सुई घुमाइने हप्ताको बिहानको हो।
उज्यालो भयो भनेर विस्तराको सिरक फालेर जुरूक्क उठ्ने मन बनाउँदै थिएँ। पिसाबको दबाबले चर्पी जानै पर्ने बाध्यता बनेको थियो। तर, शरीरले आलस्यता दर्शाइरहेको थियो।
दिमागले ‘मोबाइलको अलार्म त अझै बजेको छैन, एकछिन अल्छी मान्दै गरेपनि हुन्छ’ भन्दै थियो।
त्यत्तिकैमा छिमेकीको धुपीको रूखमा बसेको चरो चीँ..चीँ.. गरेको धुन कानमा ठोक्कियो। आफ्नै बारीको चेरीको हाँगामा बसेको ढुकुर ‘ढुकर..कुर..कुर’ गर्दै रहेछ। त्यो मधुर स्वरले शरीरमा रमाइलो तरंग छर्दै थियो।
त्यत्तिकैमा बाटा तिरको रूखमा बसेको कागले तिखो स्वरमा ‘का..का..’ गरेर चिरवेरेको मधुर ध्वनिमा कर्कस उदास छरिदियो। आफ्नै घरको मझेरीमा दुई परेवा गुटुर गुटुर गर्दै पिरती गाँसिरहेका र चोचो जोड्दै गरेका रहेछन्।
उठ्नै थियो, दिमागले अलि दरिलो आदेश दिएपछि शरीर विस्तरा छाड्न बाध्य भयो। चेन अफ कमान्डको नियम अनुसार माथि परेको दिमागको आदेश नमाने त शरीरले पनि कोर्ट मार्सलमा परिएला भन्ने डर मान्नै पर्यो।
अनि, जर्फराउँदै उठेँ। दिमाग र शरीर बीचको अन्तर्विरोधलाई चिर्दै विस्तरा छाड्नै पर्ने बाध्यताको मारमा विचरा सिरक पर्यो। फर्लक्कै पल्टियो र उता तिर हुत्तियो।
चर्पीबाट फर्किएर पर्दा हटाउँदै पारदर्शी डबल ग्लेजिङको सिसा बाहिर हेरेको त बाहिर जगल्टा फैलाएर ठुस्स परेर बसेकी पो रहिछन्। भित्र ग्याँस डढाइवरि ब्वाइलरले पानी तताएर रेडिएटरमा धकेलेकोले पो न्यानो छ त।
बाहिर त बेलायती कठाङ्ग्रिने चिसो नै छ नि। फ्रिजभित्रको चिसोभन्दा बाहिरको तापक्रम अझै कम थियो। त्यस्तो चिसोमा कठाङ्ग्रिएर बसेकी! विचरीलाई देखेर दया जाग्यो।
ठुस्सिएको मुहार देख्दा ‘ला हिजो साँझको बेसुरमा बित्यासै पारिएछ कि’ भन्ने डर पनि लाग्यो। ‘खुसी’ नामको पुस्तकका लेखक बिजयकुमार पाण्डेले जस्तो छाद्ने गरी पिउने बानीले गर्दा बेसुर भएको पनि त थिइन्। त्यसरी दारू नै कहाँ खान्छु र म?
औषधिका रूपमा एक/दुई ढक्कन मिसिएर घाँटीबाट तल छिरेको भए अर्कै कुरा। आखिर त्यस्तो केही गल्ती मैले गरेकै छैन भन्नेमा म त ढुक्क नै थिएँ। दिमागले हिजो साँझका घटनाक्रमलाई एक-एक गरेर केलाएर निचोडका रूपमा ठहर खण्ड पढेर सुनायो। निश्चित भएँ, मैले त्यस्तो कुनै गल्ती गरेकै छैन।
यसै उसै अब यी ठुस्सिएर कठाङ्ग्रिँदै बाहिर कक्रक्किएकीलाई फकाउन त परिहाल्यो भन्ने मन बनाएँ। जाडो त्यसैमाथि बिहानको सिरेटोमा लट्टिएका जगल्टाका रौ फरफर गर्दै हल्लिरहेका।
दायाँ–बायाँका कानका लोती पनि कहिले ढाक्ने तर कहिले उड्ने गरिरहेका भुत्लाको ताल देख्दा झनै दया जागेर आयो। ती कानका लोतीको घुमाउरो आर्क परेको बनोट देख्दा उहिले माइजूका कानमा सर्लक्कै सुनका मुन्द्रा झुन्डिएका हुन्थे भन्ने सम्झेँ।
उति बेला चलन नै त्यस्तै थियो क्यारे। अलि हुने खानेका घरका महिलाका कानमा सर्लक्कै सुनका सुत्ला झुन्डिएका हुने। आजभोलिका बजार तिर भेटिने पङ्क्स पनि के कम र जिब्रो, नाक, कान, नाइटो जता ततै छेँडेका र मुन्द्रा र बुलाकी झुन्डाएकै हुन्छन्।
उहिले सुनका मुन्द्रा र ढुङ्ग्री, मढहरी झुन्डेका हुन्थे। अहिलेका सिल्टीका हुन् कि चाँदीका हुन् कुन्नि? सेता-सेता धेरै देख्छु।
तल झरेँ। ठूलो कपमा चियापत्तीको थैलो हालेँ। केत्लीमा भल्किएको पानी खनाएँ। त्यही चियाको कप लिएर फकाउने बहाना सोँच्दै ढोकाबाट बाहिर निस्किएँ। चुपचाप लट्टा परेका जगल्टा फिजाएर लम्पसार परिरहेकी देखेँ।
त्यो ताल देखेर अब भनसुन गरेर काम छैन भन्ने बुझेँ। ग्यारेजमा गएर भुत्ला काट्ने मेसिन झिकेँ। मेसिन त बाहिर पुर्याएँ तर छोटो तार भएकोले बिजुलीको प्लगसम्म एक्सटेन्सन तार चाहियो। ग्यारेजको कप्टेरा नभएको दराज भन्ने जस्तै तखतामा राखेको एक्सटेन्सन तारको गजुल्टो खोलेर बिजुली जडान गरेपछि भुत्ला काट्ने मेसिन तयार भयो।
कोही बोल्ने नभएपछि म पनि कानमा हेडफोन घुसारेर रेडियो सुन्न थालेँ। भुत्ला काट्ने मेसिनको कर्कस हल्लाले छिमेकीको निद बिगार्ला भन्ने सम्झेँ। छिमेकीलाई रिसाउने बहाना दिन पनि त भएन।
विकेण्ड (शनिबार-आइतबार छुट्टी) को बेला बिहानमा अलि ढिलैसम्म सुत्ने धेरै हुन्छन् भन्ने लाग्यो। त्यतिन्जेल पात झरेर कक्रक्क परेका गुलाफका हाँगा काटेर ठुटै पारिदिएँ। टिपन टापन पारेर खैरा ढोङ्गामा हालेँ।
मेसिन चलाएर हल्ला गर्दै जगल्टा काट्ने अझै समय भैसकेन कि भन्ने हुँदासम्म कैँचीले दायाँ बायाँ तिरका उनका भुत्लाका टुप्पा मिलाउन थाले। कैचीको ट्वाक ट्वाकको मधुर स्वरका विरूद्ध छिमेकीले डिस्टर्ब भएको गुनासो गर्ने गुन्जाइस पनि थिएन।
मेसिन चलाउन मिल्ने समय हुँदासम्म मेरो ठूलो कपको चिया पनि रित्तिएछ। कति स्रुपमा सकियो भन्ने गनिनँ है। गन्ने चलन नै छैन, मेरो। त्यो हल्का टर्रो स्वादले जीउ भने फूर्तिलो पार्छ।
आज पनि त्यसैको प्रभावले हो कि कैचीले उनका दयाँ बायाँ कानतिरका जगल्टा मिलाउँदा शरीरमा उर्जा जलन पो भएर हो कि अलि फूर्ति बढ्दै गएको भान भयो।
रूप राम्रै भए पनि कोरीबाटी चुलठी गर्यो भने उज्याली देखिन्छ। नत्र, जगल्टा परेका, नकोरेको कपालले गर्दा जिंग्रिंग देखिन्छ। रंगरोगन गरेर पाउडर दलेर लिपिस्टिक लर्काएपछि झलक्क बल्ने त हो नि।
नबोली बसेकी उसको भुत्लाका छेउ टुप्पा कैचिले नै मिलाएपछि सर्लक्क मेसिन चलाएर एकनासको सर्लक्कको दुवे चौर पारेँ। दायाँ बायाँका कानका लोती पनि आर्क आकारमा प्रष्ट नै देखिन थाले।
नोभेम्बर महिनादेखि कठाङ्ग्रिएका जगल्टा पनि थुप्रै पो रहेछ त। बिजुलीले चल्ने मेसिनको पुच्छर तिर बसेको ढोङ्गो पनि पाँच पटक खैरो ढोङ्गामा खनाउन पर्यो।
त्यति गरेपछि बल्ल बाहिर जाडोमा कठाङ्ग्रिएर भुल्ली भएर बसेकी मेरी गार्डेन (बारी) गजब सुन्दरी देखिइन्। अब दिन प्रतिदिन रात छोटिँदै जानेछ। घाम न्यानो हुँदै जानेछ।
दायाँ बायाँ लोतीपारिको भागमा खनी खोस्री टमारका बेर्नामा राता दाना झुन्डिँदा यी भुल्लीको पनि बैँस चढ्ने छ। पल्लो पट्टिको छेउमा हरियो भएर ढर्लक्क ढल्किएको धनियाको पातले बास्ना छर्ने छ।
गुलाबको फूलको थुङ्गाले यी भुल्लीको शिरै ढलक्क हुनेछ र रमाइलो दिनको पर्खाइरमा यो सप्तान्तको बारी श्रृंगार्ने फूर्तिको अनुभूति सुखदायी हुने छ।