टीकाराम नगरपालिकामा कार्यालय सहयोगीको रूपमा काम गर्थ्यो। ऊ रिसाहा स्वभावको थियो।
अफिसमा सबैसँग झगडा गर्थ्यो। उसको यो बानीले अफिसका सबै कर्मचारी दिक्क भए पनि ऊ गरिब छ, जागिरबाट हटाइयो भने उसको परिवारमा समस्या पर्नेछ भन्ने सोचेर सहन्थे।
टीकाराम मादक पदार्थ सेवन गरेर धेरै पटक काममा आउथ्यो। मानिसहरू उसको व्यवहार देखेर चिन्तित थिए।
उसको परिवारमा श्रीमती शान्ति र सात वर्षीय छोरा कुलानन्द छन्।
शान्ति नामजस्तै शान्त थिइन्। प्राय:टीकारामले उनलाई गाली गरिरहन्थ्यो, कुटपिट गर्थ्यो तर उनले सबै सहन्थिन्।
टीकारामको छोरा कुलानन्द तेस्रो कक्षामा पढ्थ्यो। ऊ पढाइमा अब्बल भए पनि टीकारामले एक्लो छोरासँग कहिल्यै राम्रो व्यवहार गरेन। जहिले पनि छोरामाथि रिस पोखिरहन्थ्यो।
‘कुलानन्द, के गर्दैछस्? यता आइजा,’ टीकाराम चिच्यायो।
कुलानन्दलेले जवाफ दियो ‘म पढ्दै छु बुवा’
‘तेरो बाउले कहिल्यै पढेको थियो र तँ पढ्छस्। छिट्टै यता आइजा।’
‘हुन्छ बुवा, आएँ। भन्नुस् बुवा, के काम पर्यो?’
‘ला यो २० रुपियाँ, पसलबाट सोडा लिएर आइजा।’
‘अफिस जाने बेला भएन र , बुवा आज तपाईं अफिस नजाने ?’
‘तँलाई सोधेर जान्छु?’ यति भन्दै टीकारामले कुलानन्दलाई एक थप्पड हान्यो।
कुलानन्द रूँदै पैसा लिएर सोडा लिन गयो। टीकाराम सोडा खाएर रक्सीमा सोडा मिसाएर पिउन बस्यो।
‘ए ! कुलानन्द यता आइजा।’
‘अब के भयो बुबा?’ डराउँदै कुलानन्दले सोध्यो।
‘ए यता आइजा न अनि पो भन्छु।’ कुलानन्द नजिक आएपछि टीकारामले भन्यो ‘तेरो आमालाई छिटो एउटा प्याज काटेर ले भन्।’
‘आमा मन्दिर जानु भएको छ ...।’
‘त्यसो भए तैंले काटेर ले।’
कुलानन्दले प्याज काटेर ल्यायो। प्याज काट्दा आँखाभरी आँसु आयो तर बवाको डरले सक्दिनँ भन्न पनि सकेन। प्याज चपाउँदै टीकारामले रक्सीको स्वाद लिन थाल्यो। साँझको चार बजिसकेको थियो। आज टीकारामको साँझको सिफ्टमा ड्युटी थियो। ऊ लड्खडाउँदै अफिसतिर लाग्यो।
यो दिनहुँ भइरहने कुरा थियो। टीकारामले आफ्नो छोरासँग नराम्रो व्यवहार गर्थ्यो। उसले कुलानन्दलाई पसल पठाइरहन्थ्यो। गाली गर्नु त सामान्य कुरा भइसकेको थियो। यदि शान्तिले केही भनी हाली भने पनि तथानाम गाली गर्थ्यो। छोरा कुलानन्दको मनमा बुवाको डरको गहिरो असर परेको थियो। राति सुतेको बेलामा पनि कयौंपटक ‘बुवा मलाई नपिट्नु’ भनेर कराउँथ्यो।
कुलानन्दले एक दिन आफ्नी आमालाई भन्यो ‘आमा, बुवालाई अंग्रेजी लेख्ने कापी ल्याइदिन भन्नु न।’
आमाले भनिन्, ‘तँ आफैं किन भन्दैनस् छोरा?’
‘आमा, मलाई बुबासँग डर लाग्छ। कापी मागेमा कुटपिट गर्छन्’ कुलानन्दले डराउँदै भन्यो ।
समय मिलाएर शान्तिले लोग्नेलाई भनिन् ‘सुन्नु त, भोलि छोरालाई लागि अंग्रेजी लेख्ने कापी ल्याइदिनु।’
‘तेरो बाउले पैसा दिएको छ र! मैले कापी ल्याऊँ? तेरो प्यारो छोरालाई यता पठा।’
कुलानन्द डराउँदै बुवाको छेउमा गयो। टीकारामले कुलानन्दको समातेर थप्पड हान्यो र कराएर भन्यो ‘किन, तेरो आमाले कमाउँछ र मैले कापी ल्याइदिनु ? रूखमा पैसा फल्दैन। जब आफैं कमाउने हुन्छस् अनि बल्ल थाहा हुन्छ कापी कसरी आउँछ ? आइजा, यो बीस रुपैयाँको पसलबाट सोडा लिएर आइजा।’
‘बुवा, आज बिनासोडा रक्सी पिउनु, यो पैसाबाट मेरो कापी आउँछ...।’
‘ए! बाउलाई उपदेश दिन्छस्। तेरो कापी नकिने पनि काम त चल्छ, तर मेरो खुराक नआए कसले कमाउने ? मैले कमाइँन भने तेरो कापी आउँदैन…’ टीकाराम घिनलाग्दो किसिमले हाँस्यो र छोरालाई धकेल्दै भन्यो, ‘ए मोरा, मेरो अनुहार के हेर्छस्। जा, सोडा लिएर आइजा।’
यो टीकारामको दिनहुँ गर्ने बानी थियो। कहिले किताब कापीको लागि छोरालाई दिक्क पार्थ्यो, कहिले पसल पठाउँथ्यो। छोरो पढ्न बस्यो भने कुटपिट गर्थ्यो। घरको वातावरण यस्तै थियो। यसरी रातको समयमा शान्तिले छोरालाई काखमा च्यापेर रून्थिन्।
टीकारामले छोरालाई कहिल्यै बाबुबाट उसले पाउने माया दिएन। छोरा सधैं डराएर बस्थ्यो। यस्तो परिवेशमा पनि उसले पढ्थ्यो र आफ्नो कक्षामा सधैं पहिलो हुन्थ्यो।
आमाले कुलानन्दलाई भन्थ्यो, ‘छोरा, तिम्रो बुवा यस्तो भए पनि तिमीले आफूलाई आफैंले केही गरेर देखाउनुपर्छ।’
आमाले घर खर्चबाट कहिलेकाहीँ पैसा बचाउथिन् र छोराको आवश्यकताहरू पूरा गरिदिन्थिन्।
बुवा टीकारामको डरले छोरा कुलानन्दको बाल मष्तिष्कमा यस्तो डर बसेको थियो कि ऊ जहिले पनि डराइरहन्थ्यो। समय बित्दै गयो। अहिले कुलानन्द २१ वर्ष भयो।
उसले जागिरको खोजीमा बैंकको परीक्षा दियो। नतिजा आएपछि ऊ प्रशिक्षार्थीमध्येमा उत्कृष्ट भयो। अन्तर्वार्तापछि, उसको भरतपुरमा दरबन्दी भयो। उता झगडा गर्ने बानीका कारण टीकारामलाई नगरपालिका कार्यालयबाट निकालिएको थियो।
घरमा खुसीको वातावरण थियो। छोराले आमाको खुट्टा छोएर आशीर्वाद लियो। बुवा घरको कुनै कुनामा बसेर रोइरहेको थियो। एकातिर जागिर गुमाएकोमा दुखी थियो भने अर्कोतिर छोराले आफूमाथि प्रतिशोधको भावना लिन्छ कि भन्ने चिन्ता थियो, किनकि विगतमा उसलई कुनै सुख दिएको थिएन।
आमाले कुलानन्दलाई भनिन्, ‘छोरा, अब हामी दुवै भरतपुर जानेछौं। हामी बुबासँग बस्दैनौं। हामीलाई तिम्रो बुबाले जनावरलाई जस्तै व्यवहार गर्यो ... ।’
‘अब तिमी आफ्नो खुट्टामा उभिँदै छौं। तिम्रो जीवनमा अब बाउको छाया पनि पर्न दिन्नँ।’
कुलानन्द केहीबेर चुपचाप बस्यो, त्यसपछि भन्यो, ‘होइन आमा, म बुवासँग बदला लिने छैन। उनले मलाई जस्तो व्यवहार गरे म त्यो व्यवहार गर्दिनँ। म मेरो छोरालाई मेरो बुवाले दिनुभएको शिक्षा दिन चाहन्नँ। कुलानन्द उठ्यो र बुवाको खुट्टा ढोग्यो र भन्यो, ‘बुबा, म अधिकृत बनेको छु, मलाई आशीर्वाद दिनुहोस्। तपाईंले आफ्नो जागिर गुमाउनु भयो, केही फरक पर्दैन, म अब मेरो खुट्टामा उभिएको छु। जाऊँ, अब हामी सबै भरतपुरमा सँगै बस्नेछौं।’
यो सुनेर टीकारामले थाम्न सकेन आँखाबाट आँसु झर्यो।
उसले भन्यो, ‘छोरा, मैले तिमीलाई धेरै सताएको छु, तर तिमीले मेरो साथ छोडेनौ। मलाई तिमीप्रति गर्व छ।’
टीकारामलाई विगतमा आफूले गरेको व्यवहारप्रति अति नै पश्चाताप महसुस गरिरहेको थियो।
कुलानन्दले बुवाको आँखाबाट आँसु पुछ्दा टीकारामले उसलाई खुसीले अँगालो हाल्यो।