भर्खर विद्यालय जान लागेको बच्चा पनि रमाइरहेको छ, गाउँमा हुने भिडभाडमा जाने गर्छ, उसको यस्तो खाले भिड पहिलो हो। उसले कोभिडको कारणले यत्रो र यस्तो जमघट, घरमा आवतजावत हुने मान्छेहरू देखेकै थिएन।
कोभिडको कारणले उसले परिवारमा बुवालगायत छिमेकमा धेरै अभिभावक गुमाएको छ। बुवा बिरामी हुँदा र बुवाको मृत्यु हुँदा उसको घरमा कोही सहयोग गर्ने र सद्भाव राख्ने किसिमले आएको थाहा पाएन, जसरी अहिले चुनावमा नेता र कार्यकर्ताहरू आएका छन्। उसलाई अनौठो लागेको छ। बिहान आमाले दिएको नास्ता खाएर नजिकको छिमेकमा हुने जमघटमा रमाइलो मानी मानी पुग्ने गर्छ। उसलाई धेरै कुरा थाहा भएको छ। अहिले बिरामी हुँदा पनि फलफूल र औषधीमूलो र एम्बुलेन्स लिएर पुग्ने नेता देखेको छ, थोरै अनुभव र जान्ने भएको उसले महसुस गर्ने भएको छ।
अहिले हाम्रो देशमा स्थानीय निकायको चुनाव घोषणासँगै चुनावी सरगर्मी बढेको छ। विगत ३ वर्ष कोभिड-१९ को कारणले विक्रान्त बनेको हाम्रो जमघट कोभिड नियन्त्रणसँगै स्थानीय चुनावको सरगर्मीले भेटघाट, सभा, सम्मेलनको आयोजना भइरहेका छन्।
भारतबाट रोजगारी गुमाएर आउनेहरूलाई न सहज किसिमले घर आउने व्यवस्था थियो न त व्यवस्थित क्वारेन्टिन नै। थियो त स्थानीय तहले संयोजन गरेका आधारभूत मापदण्ड समेत नभएका क्वारेन्टिन। कोभिडको पहिलो लहरले जनतालाई धेरै नै आक्रान्त पारेको थियो। उतिबेला जनताहरू काठमाडौं तथा सहरदेखि सुदूर पश्चिमका गाउँ-गाउँमा पैदल हिँडेर घर फर्कन बाध्य भएका थिए भने काठमाडौंको टुँडिखेलमा भेला भएर खानाको लागि लाइन बस्नुपर्ने बाध्यता थियो।
थोरै स्थानीय तह र धेरै मनकारी समाजसेवीहरूले रासन पानी बाँडेर जनतालाई बचाएका थिए। पैदल हिँडेर घर पुग्दा होओस् वा खाना थाप्न लाइन लाग्दा होओस् जनताहरूलाई कुनै पनि राजनीतिक दलका नेता तथा कार्यकर्ताले न त सहयोग गरे न समन्वयन नै गरे, गरे त देख्दा पनि नदेखे झैं।
सहयोग गरे त सामाजिक मन भएका समाजसेवीहरूले। ऊ बेला उपचारको लागि न सिफारिस गरे, न त सहयोग नै गरे, गरे त तिरस्कार असहयोग। जनतालाई सामान्य सान्त्वना समेत भएन। प्रदेश तथा केन्द्रमा प्रतिनिधित्व गर्ने माननीयहरूले सामान्य मास्क र सेनिटाजरको समेत व्यवस्था गर्न सकेनन्।
कहिल्यै गाउँ फर्केनन्, जनताले औषधी मूलो किन्न पाएनन् तर उनका परिवारहरू भने सरकारी साधनमा घर माइत समेत गरे।
स्थानीय जनप्रतिनिधीहरू भने थोरैले मात्र जनउत्तरदायी कार्य गरे तर अधिकांश भने तर्किन मात्रै खोजेर जसमात्रै लिन तल्लीन भए।
अहिले चुनावको समयमा घर खेत बारी तथा हरेक स्थानमा हरेक दलका नेता तथा कार्यकर्ताहरूले जनतालाई भेटघाट गरिरहेका छन्। आफ्नो पोल्टामा कसरी पार्न सकिन्छ भनेर अनेकौं तिकडम गरेको देख्न, सुन्न र भोग्न पाइएको छ।
जनताहरू अक्सिजन, एम्बुलेन्स, औषधी उपचार नपाएर दिनहुँ डोजरले पुर्ने अवस्था थियो। त्यो अवस्थामा कहीँकतै नेता तथा नेतृत्वले शवलाई गाड्नसम्म नदिएको तीतो यथार्थ हाम्रो सामु छ।
गाउँका परिवारमा कमाउनेहरू कसैको रोजगारी गुमेको छ त कैयन् परिवारमा कोभिडको कारणले गर्दा कमाउने परिवारको मृत्यु भएर बिचल्लीमा कष्ट र दुखपूर्ण वर्षहरू व्यतित गरिरहेका छन्। तर त्यो कहालीलाग्दो अवस्थामा तपाईं हाम्रा जनप्रतिनिधीहरू र माननीयहरू कमै मात्रमा घरमा पुगे, न सहयोग गरे, न समन्वय गरे, न सदभाव नै राखे। राखे त सामाजिक सञ्जालमा श्रद्धाञ्जली र समवेदना त्यो पनि आफ्ना मान्छे र ठूलाबडाको मात्रै।
गाउँ घरमा कामको सिजन छ, बजारबाट गाउँ फर्केकाहरू पनि पुन: बजार छिरेका छन्। गाउँ शून्यप्राय: छ, मर्दा मलामी नपाइने अवस्था छ, वृद्धा, अपांग, असहायलाई अस्पतालसम्म पुर्याउने मान्छे छैन।
गाउँमा विकास निर्माण भ्रष्टाचार गर्न मात्रै भएको छ, गाउँ घर अहिले सरकारी विद्यालय र अस्पतालजस्तै छ। जहाँ विपन्न र असहायहरू मात्रै बस्ने गर्छन् भन्दा नै हुने भएको छ।
खेतबारी बाँझो भएको छ, पशु चौपायविहीन गोठहरू छन्। बालबालिकाविहीन आँगन छन्। वनजंगल बाँदर र अन्य वन्यजन्तुको अखडा बनेको छ। कृषकले जेनतेन गर्ने खेती पनि यिनैको आहारा बनेको छ।
गाउँको अवस्था अत्यन्तै दुखदायी र असहनीय बनेको छ। यो ५ वर्षमा पनि कुनै पनि स्थानीय तहले गाउँको दीर्घकालीन र दीगो विकास गर्ने कुनै ठोस योजना र विकासको परिणामले गाउँ फर्कने वातावरणमा कुनै ध्यान दिएका छैनन्। बरू जनप्रतिनिधीहरूले नै कसरी हुन्छ कमाएर सहर बजारमा घर घडेरी जोडेका छन्।
बिरामी भएकाहरूलाई भेट्न पुग्छन्। बिहे पूजा सामान्य कार्जेमा पनि बोलाउँदा मन फुकाएर पुगेका छन्, जनता यस मानेमा भने बडो खुसी छन्। चुनाव त वर्षैभरि भए हुन्थ्यो जस्तो लागेको छ। ५ वर्ष हराउने नेता, बोलाउँदा नबोल्ने नेता, विशेष काम पर्दा पनि सम्पर्कमा नआउने नेता अहिले घर दैलो, खेत आली, बारी कुन्ला जता सुकै भेटिँदा जनता खुसी छन्। बालबच्चा पनि खुसी छन्। आफ्ना सन्तान पनि नदेख्न नपाउने बुढापाका रमाइरहेका छन्।
गाउँ रमाइलो र भरिलो भएको छ। गाउँमा अहिले सबै थोक पुगेको छ, किनकि पुर्याउने नेता अहिले गाउँमा छन्, त्यो पनि योजना लिएर।
ऊ बुझ्ने भएको छ। उसका बुवा र गाउँका अभिभावक कोही अस्पताल जान नपाएर, कोही अक्सिजन नपाएर, कोही उपचार खर्च नभएर, अक्सिजन र औषधी मूलो नपाएर गुमाएको खबरबारे जानकार छ।
उसले परिवारको दु:खको समेत महसुस गर्ने भएको छ। उसलाई समय र परिस्थितिले ज्ञानी र समझदार मात्रै होइन समाज र परिवार बुझ्ने बनाएको छ।
उसले आमामा दु:खको आँसु पुछ्ने संकल्प लिएको छ। उसको दिनचार्य घर, विद्यालय र छरछिमेकमा हुने जमघटमा भेला भएर रमाइलो गरी बितेको छ।
साँझ ऊ आमाले नबोलाउँदै नखोज्दै आफ्नो ड्युटी पूरा गर्दै घर पुग्छ।
आमालाई खोज्ने झन्झटबाट मुक्त गराउँदै आमासँग यही भेटघाटको बारेमा कुरा गर्छ, अनुभव सुनाउँछ। आमाका विगतका दु:ख सुन्छ, अन्धकार भविष्यको कल्पना सुन्छ तर पनि विचलित हुँदैन उसले गाउँमा हुने जमघट र भेटघाटमा नेताले गरेका नैतिकता र सदाचारका र समन्वयका कुरा सुनेर ऊ आशावादी हुँदै आमालाई सम्झाउँछ।
यहाँ पुस्तान्तर भएको छ, आमाले ती सबै कुरा भोग्नु भएको छ। ऊ आमाको कुरामा सहमत हुन सक्दैन। यसरी दिनहुँ आउने सोध्ने, खोज्ने नेता तथा कार्यकर्तालाई आफ्नै घर आँगनमा पनि भेट्ने गर्छ। ऊ रमाउँछ, उनीहरूले दिएका आश्वासन र गुलियो बोलीमा मोहित हुन्छ। आमाले सुनाएको अँध्यारो भविष्यलाई उनैको आश्वासनले चिर्ने कोसिस गर्छ, आमालाई झूट सावित गर्छ, मख्ख पर्छ।
आमालाई सोध्छ, खोज्छ 'आमा पहिले पहिले यसरी नेता आएका भए हाम्रा बुवाको उपचार हुँदो हो है, अहिले जस्तो उति बेला आउँदैनथे र आमा? यस्ता नेताहरूलाई हजुरले किन गाली गर्नुहुन्छ? यिनीहरू त कति जाति रहेछन्, पल्लो घरको हजुर आवैलाई औषधी लिएर आएका थिए, अंकललाई पैसा दिन्छौं भन्दै छन्, माथिल्लो घरका बालाई एम्बुलेन्स बोलाएर अस्पताल लगे। अंकल र आन्टीलाई बाटो खन्ने काममा लगाउँछौं भनेका छन्।
आन्टीलाई पढे अनुसार जागिर दिने हुन रे, आमा हाम्रो घरमा पनि पानीको धारो र हाम्रो घर छाउने टिना दिने भनेका छन्, हाम्रा बाका पनि कुरा गर्थे, मलाई पनि फ्रीमा पढाउने हुन रे। अब त हाम्रो पढाइ पनि राम्रो हुन्छ रे हाम्रो गाउँमै डाक्टर सहितको अस्पताल हुन्छ रे। आमा अब हजुरले काम पाउनु हुन्छ रे हामीले बिहानै साँझ खान चामल दाल दिन्छन रे।
हिजो कति धेरैलाई दाल चामल, नुन तेल बाँडेका छन्। हाम्रोमा पनि ल्याइदिन्छन् भनेको सुने थिएँ। ठूला-ठूला दाइहरूलाई त होटलमा लगेर मासु रक्सी खान दिए मलाई एउटा सानो बिस्कुट पनि दिए। आमा यस्ता गतिला नेतालाई किन गाली गरेका होलान् हँ? कति मायालु रहेछन्, मलाई पनि बुवा-आमालाई सन्चै छ भन्दै सोध्दै थिए। कस्ता सोध खोज गर्ने रहेछन् मलाई त मनपर्यो।
आमा हाम्रा बा पनि यही बेलामा बिरामी हुनुपर्ने नि, हाम्रा बालाई पनि एम्बुलेन्समा अस्पताल पुर्याउने थिएँ, उपचार हुने थियो, भाँउ दबै पो लिएर घर आउँथे कि त्यही दबाईले मेरा बालाई सन्चो हुने हुन्थ्यो होला। किन परारै बिरामी भएका होलान् है आमा हाम्रा बा र अन्य गाउँका मान्छे कम्तीमा यो बेला बिरामी भएका भए त बाँच्थे होला नि। तपाईंले त सधैं भन्नुहुन्छ, बा अस्पताल जान नपाएर, सहयोग नपाएर, औषधी मूलो नपाएर बितेको भनेर, तर खै म त यस्तो देख्दिनँ, नेताहरू त कस्ता दयालु र मायालु पो छन् त आमा! यिनले त यसो गरे होलान् जस्तो त लाग्दैन नि आमा।
आमा हाम्रा बा किन ऊ बेला बिरामी हुनु भएको होला है, यो बेला भएको भए त सहयोग र उपचारले बाँच्नु हुन्थ्यो होला नि है आमा', भन्दै गर्दा आमाका आँखामा बलिन्द्राधारा आँसु छ।
उसले आमाको आँसु पुछ्दै भन्छ- आमा अब हामीलाई कुनै दु:ख हुँदैन रे! तपाईंले पनि उनीहरूलाई नै भोट राख्नु रे है, जसले गाउँमा सबै थोक दिने भन्दै हाम्रो घरमा आउँछन् तिनीहरू त कस्तो राम्रा रहेछन् सबै राम्रो गर्छन् रे त अब, आमा भोट त तिनैलाई दिनु है!