४५ वर्ष अगाडिसम्म यातायात, विद्युत्, खानेपानी, सञ्चार, विद्यालयको सहज सुविधा थिएन मेरो गाउँमा। कृषि जीवन निर्वाहको प्रमुख माध्यम थियो। त्यो परम्परागत थियो। खेतबारी र गाईबस्तु पर्याप्त हुनेलाई सम्पन्न मानिन्थ्यो। पल्ला घरे दाइ र उनको परिवार हुनेखानेमा गनिन्थे टोलमा।
दसैँ-तिहार जस्ता चाडपर्वमा धान पैँचो लिन लाइन लाग्थ्यो त्यही पल्ला घरमा। मङ्सिरमा २५ प्रतिशत थपेर दिनु पर्थ्यो। धान दिनेले सित्तैमा दिए जस्तो गर्थे। मेरी आमा उनीहरूप्रति अनुग्रहित हुनुहुन्थ्यो। दसैँमा मासु भात खान पाउनुलाई ठुलो भाग्य मानिन्थ्यो।
यातायातको पहुँच बढ्दै जाँदा चामल, दाल, तेल सहज रूपमा उपलब्ध हुन थाल्यो। ज्याला मजदुरी गरेर पनि मानिसहरूले कमाइ गर्न थाले। बस्तु विनिमय प्रणाली मौद्रिक प्रणालीमा परिणत भयो। मानिसको पहुँच सहर र विदेशसम्म पुग्न थाल्यो।
कुटानी पिसानीको लागि घन्टौँ टाढा पानी घट्टमा जानु पर्थ्यो। नजानेले ढिकी-जाँतो गर्थे। महिलाका कार्यभार थिए ती। गाउँ नजिकै कुटानी पिसानीका मिल स्थापना भए। पानीको धारो नजिक आयो। उन्नत मल-बीउ र कृषि औजार गाउँ-गाउँ पुग्दा खान नपुग्नेहरूलाई पनि पुग्ने भयो। घरकै नजिक स्कुल बन्यो। सानोतिनो बिमारका लागि स्वास्थ्य चौकी स्थापना भए। तुलनात्मक रूपमा गाउँ विगतभन्दा सहज भयो।
मट्टितेलको टुकी बत्तीलाई बिजुलीले विस्थापन गर्यो। एक हिसाबले गाउँमा उज्यालो क्रान्ति भयो। बाटो नपुग्दा नुन लिन लामोसाँघु र बनेपा गएको कथा अझै दाइ र बाबाले सुनाउनु हुन्छ। त्यो बेलासम्म गाउँघरमा मानिसको घनत्व बढी नै थियो। जग्गा जमिन गाउँमा महँगो थियो। जग्गा जमिन मुख्य सम्पत्ति थिए।
विभिन्न जात र वर्गको सम्मिश्रण थियो गाउँ। सबै मिलेर बसेका थिए। हार्दिकता थियो।
उस बेला जीवन जिउन मेरो परिवारले गरेको संघर्ष कम्तीको थिएन रे। दाइ, म र भाइ पनि जिम्मेवारीले थिचिएका थियौँ। सानैदेखि खेतीपाती, गाई बाख्रा चराउने र घाँस काट्ने काम नगरी सुख थिएन। दाइले गाउँभन्दा टाढाको स्कुलबाट एसएलसी पास गर्यो। अरूभन्दा अलि फरक थियो मेरो दाइ। परिवर्तनको हुटहुटी थियो उसमा।
बस नपुगुन्जेल भारी बोकेर जीविकोपार्जन गरेर बसेको परिवार पोका पुन्तुरा बोकेर मधेस झर्यो। गाउँको जग्गा जमिन बेच्दा १ लाख ५० हजार आयो। गाउँमा आएको बस चढेर मधेस झर्दा छिमेकीहरूले अँध्यारो मुख लगाए। कति त रोए। नजानू भने।
पाँच कक्षामा पढ्थेँ म। टोलकै अनिताले ‘कहिले आउँछौ?’ भनेर सोधी मलाई। स्कुल जाने र सँगै खेल्ने साथी थिई ऊ। भुटेका मकै गोजीमा स्कुल लान्थी र मलाई पनि दिन्थी। हाम्रो परिवारको बिदाइमा रोई ऊ। नरमाइलो लाग्यो मलाई। दाइलाई ‘कहिले फर्किन्छौँ?’ भनेर सोधेँ मैले। अनितालाई उत्तर दिन चाहन्थेँ म। दाइले दसैँमा आउने भन्न भन्यो। त्यही बताएँ अनितालाई। ऊ रुँदा मेरो आँसु थामिएन। रोएँ म। नरमाइलो लाग्यो।
पचासको दशकमा पहाड छोड्यो घिमिरे परिवारले। गाउँभन्दा केही टाढा पुगेर बस चढ्यौँ। हात हल्लाएर बिदा गरेँ छिमेकीहरूले। धुलो उडाउँदै बस अगाडि बढ्यो। दाइले बर्दिबास जाने कुरा सुनायो। बस्ने र खाने ठाउँ यकिन थिएन। दाइले सानो टुक्रा जग्गा बैना गरेर आएछ। त्यसैमा टहरा बनाएर बस्ने सल्लाह गरेको सुनेँ मैले। घर छोडेर हिँडेको दोस्रो बेलुका नौलो ठाउँ बर्दिबास पुग्यो परिवार। बाबा र दाइले बास गाडेर टहरा बनाउनु भयो। भाइ र मैले सकेको सघायौँ। त्यो अघिल्लो रात त्रिपाल मुनिको बास भयो। छुट्टै एउटा अनुभव।
गाउँका मानिससँग सम्पर्क विच्छेद भयो। अहिले जस्तो हात-हातमा फोन र सामाजिक सञ्जाल थिएन। केही दिन पहाड र छिमेकीहरूको सम्झना आइरह्यो। बिस्तारै मधेस रमाइलो लाग्न थाल्यो।
हामी पहाडमा हुँदै माओवादी द्वन्द्व बढ्ने क्रममा थियो। एकातिर माओवादीले युद्धमा हिँड्न दबाब दिने अर्कोतिर सेनाले सुराकी भनेर दुःख दिने। सर्वसाधारण चेपुवामा परे। हाम्रो परिवार पनि अछुतो हुन सकेन। दाइले तराई झर्न हतार त्यसै कारण गरेको रहेछ।
तराई झरेको केही वर्षपछि पहाडीलाई लखेट्ने रे भन्ने सुनाए मान्छेहरूले। दाइ र बाबा बेस्सरी डराउनु भयो। तर हाम्रो बसोबास पहाडी बाहुल्यता भएको ठाउँमा भएकोले त्यति धेरै समस्या परेन। सुकुम्वासी हुनबाट बच्यो परिवार।
दाइले क्याम्पसको पढाइलाई निरन्तरता दियो। बाले राजमार्गको छेउमा बसेर केरा बेच्नु भयो। केही पछि बाले राजमार्ग छेउ पसल सुरु गर्नु भयो। पसल राम्ररी चल्यो। नजिकको स्कुलमा जान थाल्यौँ भाइ र म। नयाँ स्कुलमा जाँदा अनितालाई धेरै सम्झेँ मैले। अनिता जस्तो खाजा दिने साथी रहेनछन् त्यहाँ।
गाउँको भन्दा जीविकोपार्जन अझ सहज भयो तराईमा। दाइले सरकारी जागिर भेट्यो। एसएलसी पास गरेँ मैले पनि। पढ्न चाहिँ तराईबाट काठमाडौँ आएँ।
काठमाडौँमा बसेर व्यवस्थापनमा स्नातक गरेपछि सानोतिनो प्राइभेट कम्पनीमा एकाउन्टेन्टको काम पाएँ। पढ्दै मास्टर्स डिग्री गरेपछि लोक सेवाको तयारी गरेँ। तयारी गरेको दोस्रो वर्ष सुब्बामा नाम निस्कियो।
तराईमा बसे पनि पहाडी मूलका मानिससँगको संगत बढी हुन्थ्यो। दसैँमा घर जाँदा माइला छोराको विवाह गर्ने कुरा जोडतोडले चल्यो। केटीको समेत चर्चा भयो। कुनै सवाल जवाफ गरिनँ। सुनेर बसेँ म।
तराईबाट काठमाडौँ फिर्ता आएको केही दिनपछि अचानक बिरामी परेँ म। थामी नसक्नु पेट दुखाइ भयो। वीर अस्पताल भर्ना भएँ। डाक्टरलाई दुखाइ बढी भएको बताएँ। डाक्टरले नर्सलाई दुखाइ कम गर्ने औषधि दिन भनेँ। खै किन हो नर्सले मेरो व्यक्तिगत विवरण पढिछे।
‘कहाँको घिमिरे हो?’ भनेर सोधी मलाई।
‘बर्दिबास बस्छु। पहिलेको पहाड घर दोलखा हो। दोलखाबाट तराई झरेको,’ भनेँ मैले, ‘पहाडको याद अलिअलि मात्र छ।’
दोलखा भनेपछि अलि धेरै निहाली मलाई। तर केही भनिन।
उसले मलाई हस्पिटलमा धेरै केयर गरी। पटक पटक मेरो बेडमा आएर कस्तो छ सोधिरहन्थी ऊ। अचम्मित भएँ म। किन यसले यति धेरै केयर गर्दै छ?
मैले पनि ‘तपाईंको नाम भन्न मिल्छ?’ सोधेँ उसलाई। ‘अनिता हो’ भनी उसले।
‘जिल्ला कहाँ हो त?’
उसले जिल्ला सहित गाउँको नामै बताई। ‘तर अहिले परिवारसहित काठमाडौँ बस्छौँ।’
‘त्यसो भए तपाईं मसँगै कक्षा ५ मा पढेको अनिता हो त?’ प्रश्न गरेँ मैले।
साँच्चिकै उहीँ मेरो बालसखा अनिता रहिछे ऊ। बसाइसराइले अनिता र मेरो बालापनको निश्चल प्रेम टुटाएको थियो। धन्न जुरेछ भेट्न उनलाई। दुवैका हर्षले आँसु झरे।
दुई दिनको बसाइपछि अस्पतालबाट डिस्चार्ज भएँ म। आफ्नो कोठामा गएँ। अनिताले फोन गरेर स्वास्थ्य कस्तो छ? औषधि नियमित सेवन गरे नगरेको सोधी मलाई।
नियमित फोन र अनलाइनमा कुरा हुन थाल्यो। गाउँका कुरा हुन्थे। कूल पूजामा मात्र गाउँ जान्छन् रे उनीहरू। खेतीपाती बाँझै छ रे। बेचबिखन गर्न कसैले किन्दैन रे। सुनाई मलाई।
किन किन जन्मथलो जाने हुटहुटी जाग्यो। जग्गा जमिन सबै बेचे पनि जन्म गाउँको याद आयो। स्कुल पढ्दाको याद आयो। बालापनका साथीको याद आयो। अनितालाई पहाड गाउँ जान मनाएँ मैले। बिदा मिलाएर गाउँ गयौँ हामी। मभन्दा अलि पढी परिचित रहिछे ऊ। धेरैले गाउँमा चिनेनन् मलाई। बाको नाम बताएपछि मात्र चिने।
गाउँमा जाँदा अर्कै चित्र देखेँ मैले। बुट्यान र हरियाली बढेछ। घरकै नजिक मयूर, तित्रा, मिर्ग देख्न पाइने भएछ। बाक्लो जनसङ्ख्या पातलिएछ। दुई चार घरमा मात्र मानिस रहेछन्; त्यो पनि बुढाबुढी मात्र। युवा विहीन भएछ गाउँ। बाँझै भएछ खेतबारी। स्कुल भवन ठुलो र सुविधा सम्पन्न बनेछ तर विद्यार्थी न्यून भएछन्। सडकहरू धेरैजसो पक्की र ग्राभेल बनेछन्। विकासले मानिसलाई गाउँमा रोकेनछ। खुसीले रमेको गाउँले जीवन अहिले भने निराशामा गुज्रेछ।
घोरिएँ म! आखिर किन खाली भयो होला गाउँ? बिजुली, पानी, सडक, विद्यालय नहुँदा मानिस खचाखच थिए। विकास गाउँ पस्दा कोही तराई/मधेस झरेछन्। कोही राजधानी पसेछन्। नसक्नेहरू जिल्लाका सदरमुकाम गएछन्। नव-युवाहरूलाई ती सहरले पनि थेगेनछ। युरोप, अमेरिका र अस्ट्रेलिया पुगेछन्। उतै रमाएछन्।
भारी बोकेर नुन तेल गाउँमा लानेहरू गाडी चढेर सहर पसेछन्। मेरो जन्म गाउँको रूप रेखा परिवर्तन भएछ। गाउँ निर्जन भएछ। पैँचो धान दिने पल्ला घरे दाइमा व्यापक निराशा रहेछ। गाउँ छोड्न नसकेकोमा पछुताए। केही भन्न सकिनँ मैले। न उत्तर भए।
अनितासँग बालापनको कुरा गर्दै सहर फर्किएँ म।