जुनेली आज निकै खुसी देखिन्छिन्। उनको अनुहारको छवि नै बदलिएको छ। अरू दिनभन्दा आजको उनको हिँडाइमा बेग्लै जोस छ। पिठ्युँमा बोकिएको एक भारी पिठोले उनको ओठमा सुखद मुस्कान सलबलाएको छ। पिठोको भारीले पछाडिको मेरुदण्डमा थिचिरहेको सुखले उनी भित्रभित्रै मुस्काउँछिन्।
उनलाई बेतोड घरको सम्झना आउँछ। उनका आँखामा भोकले व्याकुल भई कोठाको एक छेउमा ढलिरहेको सानुको तस्बिर आई बिलाई जान्छ। दिदीको पर्खाइमा देउरालीको चौतारीमा उभिरहेको ठुलेको आकृति पनि आउँछ, जान्छ। उनलाई छटपट हुन्छ, घर पुग्न।
एक जोडी परेवा आकाशमा उडिरहेको देखेर उनलाई पनि उडेरै घर पुगूँ कि जस्तो हुन्छ। घरमा पुगी भाइहरूलाई धेरै दिनपछि आज भरपेट खुवाउने अभिलाषाले उनको मन प्रफुल्ल भएर आउँछ।
उनी पिठ्युँको भारीलाई एकै क्षण बारीको डिलमा बिसाएर सन्तोषको सास फेर्छिन्। खुइय सुस्केरा हाल्दै टाढाको गोरेटोसम्म एक चोटि दृष्टि लगाउँछिन्। सामु खिचमिक्क परी उभिरहेको हजार गजे तेस्रो पहाडको विशाल छाती चिरेर बगिरहेकी राघिनी नदीको एकाध वर्षअघि असारको एक दिनको घटनाले उनको कलेजी चिसिँदै आउँछ। आमाको बचन नमानी हठ गरी पछि लाग्नाले छोरीलाई बचाउँदा आफ्नी आमालाई राघिनी नदीको भेलले बगाएको सम्झनाले उनका आँखा रसिएर आउँछन्।
भेलले खुट्टामा हान्दा सारीको छेउ मास्तिर उचाली कहाल्दै गरेकी आमाको तस्बिर उनलाई झलझली आइरहन्छ। उनी औँलाले आँसु पुछ्छिन् र भारी उचाली उकालो लाग्ने तयारी गर्छिन्। हिँड्दा हिँड्दै कन्चटबाट भलभली पसिना छुट्न थाल्छ। नाडीले पसिना पुछी डाँडाको पाखोमा नागबेली धारण गरी लम्पसार सुतिरहेको गोरेटो बाटोमा आफूले छाडिएका पाइलाहरू दृष्टिगोचर गर्दै आइरहेकी हुन्छिन्।
सायद उनी आफ्ना मन–मस्तिष्कलाई बिथोलिरहेका पिर बेथालाई भुल्न यस्तो गरिरहेकी छिन्। तर उनी मुक्त हुन सक्दिनन्। उनलाई असह्य भएर आउँछ। उनको भाग्यमा मात्र त्यस्तो बज्रपात किन? सम्झेर उनी एक चोटि बनै रिँगिने गरी धुरुधुरु रुन्छिन्। आफ्ना बचेराहरूलाई चारा खोज्न उडेका चराहरू, टाढा–टाढा आकाशमा उडिरहेका पक्षीहरू पनि जुनेलीको करुण बेथा बुझेर होस् कि नबुझेर, रुखमा झरेर चुपचाप जुनेलीतिर हेरेर बस्दछन्।
बिचरीको मन थामोस् पनि कसरी, सातै दिन त भएको हुन्छ नि; ध्रुवे साहूकहाँ ऋण लिन जान्छु भनी हिँड्या आफ्नो बाउको भीरबाट खसेर मृत्यु भएको। उनी सोच्नै सक्दिनन्। सम्झनाले पनि कहाली लागेर उनी थक्क-थक्क बन्छिन्। उनी एकाएक झस्किन्छिन्। पछाडिको मेरुदण्डमा केही बोझ नभए जस्तो हलुको महसुस गर्छिन्। उनी पछाडि हात बटारी छोई हेर्छिन्। पिठोको स्पर्शले फेरि निर्धक्क बन्छिन्।
खुकुलो हुँदै गएको पिठोको बन्धनलाई नाम्लोले दह्रो गरी कसी फेरि उकालो लाग्छिन्। उनी सम्झनालाई टाढा भगाउन गीतको भाका निकाली गुनगुनाउन थाल्छिन्। उनको मसिनो रुद्रघण्टीबाट निक्लेको करुण स्वर भीरका पाखा, पखेरु र गोरेटो पनि शान्त भएर सुनिरहेका हुन्छन्।
गीत गाउँदै हिँड्न उनको दुखी मनले मान्दैन। आखिरी उनी यात्राको थकाइपन बिर्सन सम्झेर हिँड्नु नै उचित ठान्छिन्। उनको अगाडि हिजोको दिन चलचित्रझैँ फन्का मार्न आउँछ।
‘दिदी भोक लाग्यो’– डेढ वर्षको सानु पेटमा हात राखी जुनेलीतिर हेरी टुक्रुक्क बसिरहन्छ। जुनेलीलाई असह्य हुन्छ। उनी गएर लुगाका मैलोहरू थुपारिरहेको कोठाको एक कुनाको बोरामा हात घुसार्छिन्। एउटा अजङको मुसो खुटुटुटु गर्दै दलिनतिर भाग्छ। खोपिल्टोबाट डाँडातिर हेरिरहेको ठुलेले कोठाभित्र मुसा दुगुरेको देखे देखेनन् तर पेटभित्र कुदिरहेको मुसोलाई भने हातले छामी समाउने कोसिस गरिरहेको जस्तो देखिन्छ।
जुनेली हात घुसार्दै जान्छिन्। चारैतिर घुमाउँछन्। आखिर बोराभित्र छिरेका हातले भेट्टाउने बस्तु केही पाउँदैन। युद्ध भूमिबाट मैदान छाडी भागेको सैनिकझैँ हावामा फरफराउन आउँछ। जुनेलीलाई विश्वास हुँदैन। अझै ऊभित्र विजयको झिनो आशा बाँकी छ। बोराको कुना काप्चामा अझै शत्रुलाई पराजित गर्ने अस्त्र शस्त्र छ कि भन्ने आशङ्काले बोराको दुई छेउ समाइ उचालेर थ्याच्च बिसाउँछिन् र खेल सुरु गर्छिन्। चारै कुनाबाट सोरसार गरी जेनतेनले एक मुठी कनिका भेटाउन सफल हुन्छिन्। उनमा विजयको हाँसो स्पष्ट देखा पर्दछ।
रमाउने र हाँस्ने खेल्ने कुरालाई चटक्कै भुलिसकेकी जुनेलीको यो महिनौँ पछिको हाँसो हो। उनी थोरै मुस्काउँछिन् र सानुतिर बढ्छिन्। दुई पाइला अघि सर्न नपाई उनको नजर ठुलेमा पर्छ। उनको हाँसो क्षणभरमै खत्तम हुन्छ। जहाँ डर र भोकको मारीले केही बोल्न नसकेको ठुले खिस्रिक्क परी सानुतिर हेरिरहेको हुन्छ।
साँझ पर्न लागिसकेको हुन्छ। पर पश्चिमतिर अस्ताउन लागिरहेको सूर्यको किरण तालमा पोखिएर सिन्दुरी पानीले वातावरण मनमोहक देखिन्छ। जुनेली डिलमाथि कान्लामा चढी सिस्नुको मुन्टाहरू खोज्छिन्। कतै भेट्टाउँदिनन्। सधैँ सापटी दिइरहने काइँला सार्कीलाई झल्याँस्स सम्झिन्छिन्। उसले पनि अघिल्लो दिन गाउँ छाडेको सम्झनाले दुखी हुँदै जुनेली खुइय गरेर लामो सास तान्छिन्।
आफ्ना छरछिमेकी, साथीसङ्गीहरू सबै गाउँ छोडेर अन्यत्रै लागिसकेका, आफू मात्र विडम्बनाले गाउँ छोड्न नसकिरहेको कारण उनलाई भक्कानो छुटेर आउँछ। एक मनले झोक पनि चलेर आउँछ। उनलाई आफ्नो जुनी नै भारी लाग्न थाल्छ। ‘हुने हार, दैव नटार’ भाग्यमै यस्तो लेखिएको रहेछ त। उनी मनमनै धैर्य गर्छिन्।
भाइलाई पिठ्युँमा बोकेर फाँटभरि डुलिसक्दा पनि खानयोग्य बस्तु केही नदेख्दा अन्तमा उनी थकित भएर तालनेर पुग्छिन्। अञ्जुली भरी पानी उठाई हेर्छिन्। उनी हत्केलाको तालमा आफ्नो डुबिएको अनुहार देखेर एक क्षण टोलाउँछिन्। हेर्दाहेर्दै त्यो खिरमा परिणत हुन्छ। उनका प्रत्येक पसरबाट भाइको भोक मेटिँदै गएकोले उनी प्रसन्न बन्छिन् र बन्दै जान्छिन्।
बिहानपछि दिन, दिनपछि साँझझैँ साँझको पुछारमा लुकिछिप्दै आएको रातले साँझलाई विस्थापित गरी आफ्नो साम्राज्य फैलाइसकेको हुन्छ। सानु जुनेलीको काखमा सुतिरहेको हुन्छ। ठुलेले कपास कोरिरहेको हुन्छ। चर्खा कातिरहेकी जुनेली एक क्षण गरिबीलाई सम्झेर मुसुक्क हाँस्छिन्।
रात छिप्पिँदै गएको हुन्छ। निद्राले च्यापिँदै गएको ठुले झुक्क के गर्छ, डरले पुलुक्क जुनेलीतिर हेर्छ। जुनेलीका तिखा कड्के नजरले त्रसित भई ऊ आँखा औँलाको मद्दतले चौडा गर्छ र ध्यान दिएर कपास कोर्न थाल्छ।
‘आज जसरी भए पनि सकाउनु पर्छ। अनि साहुले दिएको पैसाले भोलि म तिमीहरूलाई खानेकुरा बोकी ल्याउँला।’ जुनेलीको उक्त आश्वासनलाई मनभित्र दरिलो बनाई ठुले यन्त्रवत् मेसिन जस्तो छिटो छिटो हात चलाउँछ। जसै ऊ छिटो छिटो हात चाल्दछ, उसको आँखाबाट निद्राको सहर पनि त्यसै टाढिँदै जान्छ। पलेटी कसिरहेको उसको अगाडि भोलिको रमाइलो क्षण, अर्थात् मिठो-मिठो खानेकुरा टक्रक्क अगाडि पडिरहन्छ। य
सरी सबैले माया मारी छाडिएको यो गाउँमा अचेल जताततै शून्यता फैलिँदै गएको छ। बाहिर झ्याउँकिरीहरूको झ्याउँ–झ्याउँ आवाज, मधुरो एकनासले बगिरहने नदीका कलकल साङ्गीतिक आवाजको अलावा एउटा झुपडीको स्यानो खोपिल्टोबाट आइरहेको मधुरो प्रकाश र टुर टुर आवाजले मात्र गाउँ गाउँ जस्तो लाग्न सक्छ। नत्र तुलनात्मक रूपमा आफ्नो अस्तित्व नासिँदै गएको यो गाउँ र मसानघाटमा त्यति भिन्नता नै नरहँदा हुन्।
भोलिपल्ट भालेको प्रथम डाकसँगको झिसमिसे उज्यालोमा जुनेली बोरामा लत्तैहरू हाली डर्फिङ गाउँको बाटो लागिसकेको हुन्छिन्। साहुले आज पैसा दिन्छ। भाइ-बहिनीहरूलाई खानेकुरो ल्याइदिने दृढ संकल्प लिएकी जुनेलीलाई एकातिर वन जाने, गाईबस्तुहरू भोकाइरहनेको चिन्ता छ भने अर्कोतिर भाइहरूको झन् ठुलो पिर छ।
दिनहुँ डर्फिङ गाउँबाट आउनु जानुको छ घण्टा लामो बाटोमा उनी कहिल्यै थाक्दिनन्। बरु उनलाई भाइहरूको भोक मेटिने सुखद क्षणको आभासले पछाडिबाट पिठोको बोराले अगाडि धकेलिरहेको महसुस गराउँछ। जे होस्, यति बुझौँ, जुनेली एक भारी पिठो बोकी आफू जन्मेको प्यारो गाउँ, आफ्नो झुपडी सम्झेर भाइहरू भएतर्फ फर्कँदै छिन्।
जुनेली चौतारीमा पुगेर पुनः एक चोटि भारी बिसाउँछिन्। पसिनाले निथ्रुक्कै भइसकेकी जुनेली यात्राको थकाइले न्यानो अनुभव गरिरहेकी छन्। परबाट आएको च्यार्रक–च्युर्रक आवाजले जुनेली त्यतैतिर कान दिन्छिन्। तल बेसी गाउँमा बस्ने हर्के तामाङ आफ्नी सानी छोरीलाई काँधमा बोकी लखर लखर ओरालो झर्दै गरेको हुन्छ।
‘जुनेली नानी, गाउँतिर लाग्या? आ, केलाई फर्कनु पर्या। हामीसित काठमाडौँ लागौँ।’
‘होइन काका। भाइहरू उता मलाई पर्खँदै होलान्।’
‘लौ हामी लाग्यौँ है त।’
जुनेली उनीहरू हिँडेको निकै बेरसम्म टोलाएर हेरी बस्छिन्। हेर्दाहेर्दै उनी पनि कता-कता बाउको स्नेहको स्पर्शले विगतलाई सम्झन पुग्छन्। जुनेली एउटा लत्तै सकाएर चर्खाको बिडमा अर्को लत्तै हाल्छिन्।
‘आ, अब केलाई काम गर्नु पर्या। बाँचिरहनलाई पो काम गर्नु। अब मनै बेला केको झन्झट! जाऊ गएर सुत। पर्खी, बरु तमाखु बनाइदेऊ न लु’– जुनेलीको बाबु सुर्खे बोल्छ। जुनेली उठेर गई अगेनाको डिलबाट कागतको पोको झिकी तमाखु बनाउन थाल्छिन्। एक हातले चिलिम समाएर दोस्रो हात खोकिलाभित्र घुसार्छिन्। दुई/तीन वटा सलाईका काँटी झिक्छिन्। त्यसपछि चिलिममा रहेको गोलमा कागत बाली आगो फुक्न थाल्छिन्, घाँटीका नसाहरू तन्कने तवरले।
जुनेली सुत्ने तरखरमा हुन्छिन्। बसेर सुर्खे तमाखु तानिरहेको हुन्छ।
‘माथ्ला घरे ध्रुवे साहुकहाँ भोलि एकपल्ट जानै पर्ला। न दया गरेर ऋण दिई पो हाल्नु हुन्छ कि। उहाँ पनि त्यति नजाती त कहाँ हुनु हुन्छ। फेरि पोहोर साल जुनेलीकी आमाको क्रिया गर्दा लिएको ऋण नै तिर्न सक्या छैन। घरबारी धिता राख्नलाई पनि अब कुनै मोलै रहेन। अरूले त त्यतिकै चटक्क माया मारेर छाडेर गएका छन्। कसको आँखा फुट्या होला र हामीलाई मात्र ऋण देला। तैपनि एक चोटि जानु बेस नै होला कि। न कतै तिरबाट भए पनि दुनो सोझिन्छ कि।’ सुर्खे मसिनो स्वरमा एक्लै भुनभुनाइरहेको हुन्छ।
जिन्दगीदेखि विरक्त लागिसकेको सुर्खेमा आफ्नोभन्दा परिवारको बढ्ता माया भएको देखिन्छ। सन्तानको मायाले उसले कैयौँ रात ताल फुटी आउने भयले अनिदो बिताउँदै आएको छ। लहरै सुतिरहेका छोराछोरीहरूको मुख हेर्दा उसको मुटु झन् गाँठो परेर आउँछ। ऊ कान्छोलाई हेर्छ, जेठोलाई हेर्छ, मस्त निद्रामा देख्छन्। फेरि छोरीको कपाल छाम्छ। उनीहरूलाई मस्त निन्द्रामा देख्दा उसलाई एक किसिमको आनन्द मिल्छ।
कतै ताल फुटेर आए पनि छोराछोरीहरूको विचलित नहेरीकन मर्न पाइने कुरामा ऊ सन्तोषै देखिन्छ। तर आज उसलाई खपी नसक्नु भएको छ। निद्राले च्याँठिँदै गएको उसलाई अनिद्रामा कुरेर बस्नु पनि व्यर्थ लागेर आउँछ। ऊ टुकी बत्ती निभाउँछ। मनमा अनेक तर्कनाहरू खेलाउँदा खेलाउँदै धेरै दिनको अनिद्राले लखतरान सुर्खे निद्राको सहरमा सुस्तरी हराउन पुग्छ।
तर जुनेली त्यतिन्जेलसम्म पनि निदाएकी हुन्न। बिस्तारै उठेर गई खोपिल्टोबाट बाहिर चियाउँछिन्। अँध्यारो सिवाय अरू केही देख्दिनन्। ताल रहेको डाँडातिर उनी कान थापेर सुन्छिन्। केही भिन्नता पाउँदिनन्। मन्द गतिमा बगिरहेको नदीको आवाज, झ्याउँकिरीको आवाज सुनिँदै बाह्र वसन्त गुजारिसकेकी जुनेली नजिकैको ओखलमा टुक्रुक्क बस्छिन् र बिहानीको लामो प्रतीक्षामा तालतिर ध्यानाकर्षण गरी बसिरहन्छिन्।
जे होस्, यस्ता रातहरू अकेली नै थुप्रै काटिसकेकी जुनेलीलाई हिजोको रात भाइहरूलाई घरमै छाडेर सखारै गाउँ छोडी हिँडेको सम्झनाले सताउन थाल्छ। आफ्नो साथीको ढकमक्क बलेको उज्यालो अनुहार ‘जाने हैन जुनेली, हामी त जानलाई हिँड्या’ वाक्यको सम्झनाले उनी केही उदास भएर पाइला तेज गतिले चाल्छिन्।
पाइला चिप्लिएर अगाडिको हिलोमा एक चोटि थचारिन पुग्छ। शरीरमा लागेको मैलो टकटक्याउँदै बिस्तारै उठ्छिन् र भारी उचालेर अगाडि बढ्छिन्।
‘जुनेली, तिमी मसित जाने?’ गिर्खेको चोसो अनुहार पनि उसको नजिक आउँछ। गिर्खेको शंकालु र स्वार्थपूर्ण नजरप्रति उनको कति पनि मन जाँदैन र सधैँ घृणा गर्दै आएकी हुन्छिन्। गिर्खे पनि आफ्नो बाटो लाग्छ, गाउँ छाडेर अन्यत्र कतै।
घाम पूर्वको टाकुराबाट रङ्गिन छटाहरू बोकेर झुल्किसकेको हुन्छ। जुनेली चौतारीको पिपलको बोटको छहारीमा एकै क्षण भारी बिसाई खुइय सुस्केरा हाल्छिन्। पर हावामा फन्का लगाइरहेका चीलहरूतिर एक चोटि नजर कुदाउँछिन्। पिठोको सम्झनाले पुनः एक चोटि भित्रैदेखि मुस्काउँछिन्।
पिठोको सम्झना हुने बित्तिकै उनका अगाडि भोकका चपेटामा परी ढलिरहेका भाइहरूका अनुहार आँखा सामु झुमिन आउँछन्। उनलाई लाग्यो, भाइहरू आज खिर खाने दिन भन्दै बसिरहेका होलान्। उनलाई त्यहाँ बसिसक्नु हुँदैन र त्यहाँबाट भारी उचाली द्रुत गतिमा लम्कन्छिन्। कपालतिर लत्रेको नाम्लो जीउको सारले अलि माथि सार्छिन्।
उनी डाँडाको सबभन्दा अल्को भागमा पुगिसक्छिन्। जहाँबाट गाउँ राम्ररी देख्न सकिन्थ्यो। तर उनी एक चोटि झस्किन्छिन्। विस्मयको तस्बिर बनी हेरी बस्छिन्। उनलाई पत्यार हुँदैन। भ्रम हो कि भनेर आँखा मिची हेर्छिन्। तर उनको हेराइ जति फरक भए पनि दृश्यमा परिवर्तन हुँदैन। उनको अगाडिको यथार्थसित सामना गर्ने सामर्थ्य नभएर होला उनी डङ्ग्रङ्ग लडी मुर्छा पर्छिन्। केही बेरपछि होसमा आउँछिन्।
उनी सपनामा बाँचिरहेकी नभई बिपनामा बाँचिरहेकी हुनाले आफैलाई धिक्कार्छिन्। उनको मुटु थररर काम्दै गरेको हुन्छ। पाइला लड्खरिएर लड्न खोज्छन्। तालले उनको सिङ्गै गाउँ निलेको हुन्छ। ताल फुटी आएको पानीको गहिराइभित्र कुनै चित्रझैँ लाग्ने उनको गाउँ तरङ्गिरहेको हुन्छ।
उनी केहीको पर्बाह नराखी हतासिएर अगाडि बढ्छिन्। उनी र पानी बिचको दूरी झन्-झन् कम हुँदै जान्छ र आखिरमा उनको जीउले पानीसँग भेट गर्छ। उनी आफ्नो गाउँलाई लक्ष्य गरेर पानीको सतहभित्रै आफ्ना प्यारा भाइहरूलाई भेट्टाउन पस्छिन्, पस्दै जान्छिन्।
गहिराइभित्र एउटा कालो मानव छायाझैँ लाग्ने अमूर्त चित्र खस्दै गरेको हुन्छ। सतहमाथि पिठोको बोरा छताछुल्ल भएर तैरिरहेको हुन्छ।