झोङ गुफाको पाँचौँ तलाको दाहिने पट्टिको पल्लो छेउको होचो कोठामा पूरै चार महिना एक्काइस दिनका दिन उसले आँखा खोली। आँखाका परेली त छुट्टिएर दुई तले बने तर परेलीले सपक्क पारेर काखमा सुताएका नानीले आफू अगाडि अन्धकार बाहेक केही देखेनन्। उसलाई पहिलो पटक अनुभव भयो– अँध्यारो पनि त देखिँदो रहेछ।
तन्द्राबाट मात्रै होइन ऊ आफूदेखि नै ब्युँझिई। आफू कहाँ छु भन्ने नै ठम्याउन सकिन। त्यति लामो समय निदाएका आँखा र दिमागले उसलाई बताउनै सकेनन्– उसको ज्यान कहाँ छ भनेर। जुरुक्क उठ्न खोजी, टाउको ठोक्कियो। पूरै संसार उसकै टाउकोमा घुमेजस्तै भयो। अनि थचक्क बसी।
घाँटीले पानी खोज्यो, खुट्टाले बाटो खोजे, ज्यानले सहारा खोज्यो। तर ती केही थिएनन् ऊसँग। बल्ल सम्झी उसले– ऊ खै कहिले हो यो गुफामा आएर बसेकी थिई। संसार यस्तै रहेछ भन्दै गुफा छिरेकी ऊ, बाहिर संसार कस्तो होला भन्ने सोचमा परी त्यो बेला। संसार हेर्नै मन नलागेर अँध्यारोमा छिरेकी उसलाई एक पटक उज्यालो संसार हेर्ने रहर लाग्यो। त्यही रहरको मूल उमार्दै गर्दा फेरि निदाई। त्यसको तीन दिनपछि एउटा उज्यालो दिनमा ऊ फेरि ब्युँझी।
त्यति लामो समयसम्म हिमाली हावाको भरमा मात्रै बाँचेको उसको ज्यानमा तागतको कुनै थोपा नरहनु पर्ने हो। तर ब्युँझँदा छुट्टै उत्साह थियो ज्यानमा, तागत थियो खुट्टामा, रहरका लहलहाउँदा बाला झुलेका थिए आँखामा, संसार हेर्ने माया थियो मनमा।
बिस्तारै गुफाको छेउतिर गई। सानो छिँडीबाट बाहिरको उज्यालो हेरी। आँखा ठोक्किने पारिको भित्तोले घाम पिइरहेको देखी, चराहरूको उडान देखी, पानी नसहने माटोमा उम्रेका काँडे पोथ्राका झाङ देखी, अझै माथि आँखा उचालेर हेर्दा च्याङ्ग्राको एक हूल चर्दै गरेको देखी। त्यसमाथि निलो आकाशमा केही थान बादलका भुल्का देखी। आँखा तलतिर बिछ्याएर हेर्दा एउटा खोलो जस्तो केही देखियो, अलि पर छोसेर गाउँका केही घर देखिए, दाहिने उत्तरतिर तिब्बतको सिमानामा उभिएका अजङका पहाड देखिए। हरियालीविहीन नाङ्गा डाँडा देखेर ऊ चिच्याई।
चिच्याएरै भनी– जिन्दगी तेरो माया अझै रहेछ।
उसले चिच्याएका ती शब्दहरू जोड–जोडले बहँदै गरेको हावाले बोकेर गयो। सायद लोमान्थाङ पारिपट्टिको युरेनियम डाँडामै लगेर थपक्क राखिदियो ती शब्दहरू, जसरी मान्छेहरू पाती चढाउँछन् देउरालीमा पुगेपछि।
फेरि कोठाजस्तो त्यो ठाउँमा आँखा घुमाई। हजारौँ वर्ष आगो बालेर छोडेजस्ता काला भित्ताहरू हेरी, भित्तामा कोरिएका केही नबुझिने चित्रहरू हेरी, तिब्बती अक्षरहरू बाँचेकै थिए– ती अक्षरलाई सुमसुम्याई। अनि फनक्क दाहिने घुमेर बाहिर निस्कने बाटो पछ्याई। पाँचौँ तलाबाट तल झर्नुभन्दा पहिले सबै तलाका सबै कोठामा घुमी। सबै कोठामा ज्यानलाई घुमाएपछि काठको भर्याङ हुँदै ऊ बाहिर निस्की।
निस्कँदै गर्दा सोची– तिब्बतबाट भागेर आएका खम्पाहरू घरजस्तै तलै तला भएको गुफाभित्रका यी साना मसिना कोठाहरूमा कसरी वर्षौँ बसे होलान्? कस्ता थिए होलान् खम्पाका सरदार बनेका गे वाङ्दी? बिचरा ती वाङ्दी, नेपाली फौजले आक्रमण सुरु गरेपछि ज्यान जोगाउन भारतको धर्मशाला हिँडेका उनी कहाँ पुगेर कसरी मारिए होलान्? उनी हिँडेको हिमाली बाटो कस्तो होला?
उसलाई एकाएक खम्पा विद्रोहीका सरदारको माया लागेर आयो। उसले कतै पढेकी थिई खम्पाको कथा। झलझली सम्झी ती कथा। मुस्ताङको छोसेरदेखि तल कैसाङसम्म नै गुफा र क्याम्पमा बसेका खम्पाको इतिहास पढेकी उसलाई उनीहरूको माया लाग्यो। अनि फिस्स हाँसी, गे वाङ्दीको चलाखीपन सम्झेर। ऊ घोडाको टापको निसाना मेटियोस् र आफूलाई सेनाले नभेटोस् भनेर घोडाको पुच्छरमा ठुलो झाङ झुन्डाएर लागेको थियो– डोल्पाको बाटो हुँदै पश्चिमतिर।
आफू चार महिना चौबिस दिन बसेको गुफा हेर्दै गर्दा खम्पाकालमा पुगी ऊ। अनि अनुमान गरी– आफू पनि खम्पा नै पो थिई कि त त्यो बेला? त्यही लडाइँमा मरेर पुनर्जन्म पाएकी पो हो कि त? यस्तै यस्तै सोची धेरै बेर। अनि फेरि झल्याँस्स ब्युँझी कल्पनाको निद्राबाट। एकाएक हाँसी। ठुलो अट्टहास हाँसो हाँसी र एक पटक निस्फिक्री बनेर नाची गुफा अगाडि। यस्तो लाग्यो– उसले उसको दुई बिसे उमेरमा पहिलो पटक संसारलाई प्रेम गरेकी छ। औधी रमाएकी छे।
मात्तिँदै बाहिर निस्किएर सरासर खोलामा गई र एक अञ्जली पानी पिई। बासी भइसकेको अनुहारलाई चिसो पानीले धोई र साजी बनाई। गुजुल्टो परेको कपाल फुकाएर कपडा सुकाएजस्तै गरी सुकाई घाममा। अनि सरासर हिँडी– कुनै गन्तव्य नबनाई। चिसो सिरेटोको कुनै पर्बाह भए जस्तो देखिन्थेन उसको अनुहारमा। जोड जोडले बहेको हिमाली हावाले उसले लगाएको चिवरको कपडाका छेउछेउलाई बत्ताउँदै थियो, लामो कपाललाई फुरफुर पारेर उडाउँदै थियो, भुइँका ढुङ्गाले खाली पैतालालाई घरीघरी च्वास्स पार्थे। तर यी केही कुराको पर्बाह नगरी ऊ सरासर छोसेर गाउँ तिरै हिँडिरही।
***
जिन्दगीसँग बिरक्तिएर चीवर लगाउँदै हिमाली भेगतिर चढेकी ऊ, त्यही चीवरमै फेरि ओराली बग्दै थिई। झोङ गुफाको महिनौँ लामो बसाइँले उसको मन पुरानै दुनियाँतिर ढल्कन लागेको थियो। त्यो ढल्काई यति मिहिन तरिकाले बढिरहेको थियो कि त्यसको कुनै मापन एकाइ उसको आफ्नै मनलाई थाहा थिएन। ज्यानको चिवरको रङ उसको मनबाट बिस्तारै खुइलिँदै गइरहेको थियो।
हिँड्दाहिँड्दै ऊ आफ्नै विगतमा पुगी। ज्यान उपल्लो मुस्ताङको हावासँग लट्ठिँदै थियो त मन भने ऊ जन्मे हुर्केको भेगतिर कुदिरहेको थियो। मनमा विगत बोकेर एक्लै गुनगुन गर्दै हिँडिरहँदा उसले छोसेर गाउँ पस्ने बाटो भुलेको पत्तै पाइन। नेचुङ निस्कने र लोमान्थाङ झर्ने दोबाटोमा पुगेपछि भने ऊ अलमल्ल परी। मन दोधारमा पर्यो– कुन बाटो रोज्ने अब? जिन्दगीमा कति बेला रोजेको कुन बाटोले कहाँ पुर्याउँछ भनेर कसले पो अनुमान लगाउन सक्छ र? सोची– सत्र वर्ष सात महिना पहिले उसले रोजेको बाटोले अहिले यो ठाउँमा ल्याइपुर्याएको छ। त्यति बेला नरोज्दी हो त त्यो बाटो, नखोज्दी हो त त्यो मान्छे– अहिले जिन्दगी सयपत्रीजस्तै हुँदो हो।
त्यही बेला उसलाई ठेस लाग्यो। फेरि सोची– बाटो हिँड्दा किन बुढी औँलामै लाग्छ होला ठेस? जिन्दगीमा किन स्वास्नी मान्छेलाई मात्रै लाग्छ होला ठेस?
सोचेका प्रश्नहरूको जवाफ न उसको मनमा थियो, न मस्तिष्कमै।
त्यही बेला, खाली दिमागले उसलाई लोमान्थाङ झर्ने बाटोमा बगाउँदै लग्यो।
***
लोमान्थाङको बस्ती नपुग्दै देब्रेतिर बाँझा बारी देखिए। बारीमा देखिए केही मान्छेहरू। उसले जस्तै चीवर लगाएको मान्छे पनि देखी त्यहाँ। भोटे बाजा बजिरहेका थिए। बिच बिचमा शंखको आवाज पनि सुनी उसले। ऊ बाटो छेउमै खुइय्य गर्दै टक्क रोकिई र हेरिरही तिनै मान्छे भएका बारीतिर। देखी, मान्छेहरू उत्तरको आकाशतिर हेर्दै थिए बेलाबेलामा।
आकाश हेरी– कञ्चन निलो भुइँमा घाम मस्तसँग पाउरी मार्दै थियो। कताकति बादलका भुल्का अझै पनि थिए। अलि पारिपट्टि एउटा रातो पहेँलो रङ मिसिएजस्तो डाँडाको ढिस्का देखी। सोची– यहाँ त माटोले पनि लगाउँदो रहेछ चीवर। त्यही डाँडाको रङ र आफ्नो चीवरलाई पालैपालो हेरिरही। अनि आफ्नो चिवरको एक टुप्पोलाई दाँतले टोक्दै भनी– किन होला मलाई तेरो माया मर्दै गएको छ नि चीवर!
बिचरा चीवरको कपडा, के बोलोस्। बोल्न सक्ने भए भन्थ्यो होला– हे मालिक्नी! मलाई एउटा छोर्तेनमा छोडेर जाऊ तिमी। तिमीले मलाई माया नगर्दा नै म खुसी हुन्छु। मलाई मेरो खुसी देऊ र तिम्रो जिन्दगीलाई पुरानै आकार देऊ।
ती मान्छेहरू किन त्यो बाँझो बारीमा जम्मा भएर बाजा बजाउँदै, शंख बजाउँदै उत्तरको आकाश हेरिरहेछन् भन्ने जान्न इच्छा लागेर बाटोबाट तल झर्नै लागेको बेला एउटा सेतो घोडा उसको अगाडि आएर टक्क रोकियो। घोडा आकाशको बादलजस्तै सेतो थियो। घाँटीको र्याल बाक्लो र लामो थियो। खुट्टा हेरी। गोब्रे सल्लाको ढाडजस्ता दह्रा देखिए। अनि बल्ल हेरी घोडाको ढाडमा। लगाम समाएर एउटा केटो उसैलाई हेर्दै थियो। मुस्ताङ्गी भोटे बक्खु लगाएको त्यो केटाका आँखामा उसका आँखा अडिनै सकेनन्। आकाशमा बिजुली चम्के जस्तै भयो– आँखामा र मनमा एकै चोटि।
निमा वाङ्दी। घारा गाउँमा जन्मे हुर्केको सुन्दर केटो। उपल्लो मुस्ताङमा सबै जना चाइनिज बाइक चलाउने भए पनि उसलाई कहिले तानेन बाइकको मोहले। जहिले घोडा चढ्न रुचाउँथ्यो। र उसको प्यारो थियो त्यो घोडा। आफ्नै ज्यानलाई जत्तिकै माया गर्थ्यो घोडालाई, आफैलाई जत्तिकै स्याहार गर्थ्यो घोडालाई। आफू बाहेक कसैलाई छुन पनि दिन्थेन। बेला बेला भन्थ्यो गाउँलेलाई– मेरो घोडा मेरी स्वास्नी जत्तिकै निजी हो। कसैले छोए पनि सहन सक्दिनँ।
साझा स्वास्नीको परम्परामा जन्मेको ऊ, अचेल त्यो परम्परा निको मान्दैन। हुन त अचेल सबै दाजुभाइकी एउटी साझा स्वास्नी राख्ने चलन हराएको छ। तैपनि उसलाई उसका बाउ बाजेको त्यो चलनले मनै छोएको छ, असाध्यै दुख्ने गरी। घरीघरी कल्पना गर्छ– आफू पचास वर्ष पहिले छोरी भएर जन्मेको भए कति ओटा लोग्ने एकै पटक बेहोर्न पर्दो हो अनि कसरी जिउँदो हो सबै दाजुभाइकी साझा स्वास्नी भएर? ज्यान परेको लोग्ने जिम्मु काट्न गएको बेला छोरा बराबरको लोग्नेसँग सुत्नुपर्दा कस्तो हुँदो हो उसलाई? धन्न आफू बाँचेको परिवेशमा स्वास्नी बाँड्न पर्दैन भन्ने सम्झेर बेलाबेला फिस्स हाँस्छ र जिन्दगी काट्छ।
बोल्नमा असाध्यै सिपालु केटो वाङ्दी। घोडाबाट झरेर बोलीको साइनो जोडिहाल्यो। टसि ढेलेक भन्दै अलिकति शिर निहुरायो। तर उताबाट कुनै जवाफ आएन।
उसले महिनौँपछि कुनै मान्छेको आवाज यति नजिकबाट सुनी। तल बारीबाट आएको आवाज उसले बुझेकी थिइन्। मात्र कल्याङमल्याङ जस्तो भएको थियो उसको कानमा। अब भने कानमा काउकुती लगाए जस्तो भयो उसलाई। बोल्न मन भयो। बोल्न भनेर घाँटी खोल्दा ओठ खुलेन, ओठ खोल्दा घाँटी खुलेन। अनि पुर्लुक्क वाङ्दीका आँखामा हेरेर हिँडी।
वाङ्दी कहाँ हिँडेको थियो, किन हिँडेको थियो त्यो उसैले जानोस्। असमञ्जसयतामा पर्यो ऊ। बोल्दा पनि नबोली हिँडेकी चीवर कपडाभित्रकी आइमाईले उसको मनलाई त्यत्तिकै हिँड्नै दिइन। ऊ घोडाको लगाम समाएर उसको पछिपछि फर्क्यो लोमान्थाङ तिरै।
खोला तरेर लोमान्थाङको उकालो बाटोमा हिँड्न सकिन। खुइय गर्दै खोलातिर फर्केर लामो सास फेरी। त्यही बेला वाङ्दीले उसको हात च्याप्प समात्यो। उसले हात फुत्काउन सकिन। खै कुन्नि कुन चुम्बक थियो केटोको हातमा।
अनि बल्ल सुरु भयो बोलचाल।
सुस्तरी सोधी वाङ्दीलाई– ‘किन समातेको मेरो हात?’
यत्ति भन्यो वाङ्दीले– ‘कहिले नछोड्नलाई।’
सुस्तरी बोली फेरि– ‘चीवर लगाएर हिँडेकी आइमाईको हात समाउन हुँदैन भन्ने थाहा नभएको मान्छे।’
वाङ्दी बोल्यो– ‘ज्यानको चीवर र मनको फिभर राम्रोसँग चिन्छु। यी हात अब कहिले छुट्दैनन्।’
‘खै!’ भनी र ठुलै झड्का दिएर हात फुत्काई।
बजारको उत्तरछेउको छोर्तेन नजिकै दुवैले थकाइ बिसाए। आफू आएको बाटोमा आँखा पसारेर ऊ अघाउँदै अघाइन। उसले आँखा त्यही बाटोमा बिछ्याइरही।
लामो मौनता पछि सोधी उसले– ‘अघि तिमी भेटिएको ठाउँभन्दा तलतिर मान्छेहरू के गर्दै थिए?’
बल्ल सम्झ्यो उसले, ऊ त्यही मान्छे भएको ठाउँमा त जाँदै थियो।
अनि भन्यो– ‘आङ्गेल दाजुको आमाको अन्तिम संस्कार थियो।’
सोधी फेरि– ‘अनि मृत्यु संस्कारमा किन बाजा बजाएका त?’
भन्यो उसले– ‘यस्तै छ यहाँको चलन। मान्छे मरेपछि उसको अन्तिम संस्कारमा लासलाई खाल्डो खनेर पुर्ने अथवा काटेर गिद्धलाई खुवाउने भन्ने कुरा लामाले निर्णय गर्छन्। लामाले पात्रो हेरेर मान्छे मरेको तिथिअनुसार अन्तिम संस्कारको रीति तय हुन्छ।’
‘अनि गिद्धले कसरी थाहा पाएर आउँछन् त?’ फेरि सोधी उसले।
‘लासलाई काटेर सानो-सानो टुक्रा बनाएपछि लामाले मन्त्र पढ्छन्। शंख फुक्छन्। बाजा बजाउँछन्। त्यही मन्त्रको शक्तिले तिब्बततिरको आकाशमा भएका गिद्ध आउँछन् र खान्छन्। पहिले पहिले मन्त्र पढ्नासाथ गिद्धको ठुलै हुल आउँथ्यो, अचेल त गिद्ध पनि हराउन लागेछन्। कहिले कहिले त गिद्ध बोलाउन पनि हम्मे हम्मे पर्छ लामालाई,’ वाङ्दीले सविस्तार सुनायो उसलाई मृत्यु संस्कारको त्यो चलन।
अनौठो मानी। अनि सम्झी आफ्नो लोग्नेलाई। उसको लोग्नेलाई अठार वर्ष अगाडि दूधकोशीले बगाएको थियो। लास नभेटेपछि कुशको लास बनाएर अन्तिम संस्कार गरेकी थिई उसले। मनमनै भनी– यतातिरको लासलाई गिद्धले खाँदा रहेछन्, सायद मेरो लोग्नेलाई माछाले खाए होलान्।
अनि एक अञ्जली आँसु झारी।