साताको दोस्रो दिन पनि सेयर बजार ओर्लिएको छ। ९ दशमलव ९ अंकले नेप्से ओर्लिएर १५ सय ८० अंकमा कायम भएको छ। यसअघि आइतबार ३२ अंकले झरेको नेप्सेमा गिरावट अंक सोमबार कम रह्यो।
यद्यपी कारोबार रकममा अघिल्लो दिनको तुलनामा निकै कमी आएको छ। अघिल्लो दिन ७१ करोड रुपैयाँको कारोबार भएकोमा यस दिन ४९ करोड ८८ लाखमा खुम्चिन पुग्यो। स्थानीय तहको चुनावविरुद्ध राजपाले आन्दोलनको घोषणा गरेपछि अन्यौलता बढ्नु, मौद्रिक नीति पर्खाईमा रहनु र तरलता अभाव र व्याजदर घट्न नसक्दा बजारमा प्रभाव परेको सम्वद्ध विश्लेषकहरु बताउँछन्।
आजको कारोबारपछि नेप्सेको पुँजीकरण १८ खर्ब ४९ अर्ब कायम भएको छ। सबै समूहहरु ओर्लिएका छन्। बिमा ८१, बैंकिङ ७, होटल २८, विकास बैंक १२, जलविद्युत २३, फाइनानस २८, उत्पादन ७ र अन्य समूह १ अंकले ओर्लिएका छन्।
कारोबार रकमका आधारमा यस दिन आरएसडिसी लघुवित्त सबैभन्दा अगाडि रह्यो। कम्पनीको ५ करोड ४४ लाखको कारोबार भयो। मूल्य प्रतिकित्ता ३ हजार ७० कायम भएको छ। कम्पनीको १ बराबर २ को अनुपातमा हकप्रद आउने भएकाले कम्पनीको सेयरमा आकर्षण बढेको हो। केही दिनअघिसम्म ९ प्रतिशत बढीले मूल्य बढ्दै गएकोमा आज भने बिक्रीकर्ताको चाप परेको छ। मूल्य उच्च भएपछि बेच्नेहरुको पनि संख्या बढ्दा कम्पनीको कारोबार उच्च हुन पुगेको हो।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ५७ लाखको कारोबार भयो। १ वर्षअघि प्रतिकित्ता ४ हजार ५ सय रुपैयाँभन्दा बढी मूल्य रहेको सो कम्पनीको अहिले २१ सयको हाराहारीमा भएकाले लगानीकर्ताको आकर्षण बढी रहेको छ।
कम्पनीको चुक्ता पुँजी पुगिसकेकाले लगानीकर्ता हकप्रद र बोनस दिने अन्य कम्पनीमा तानिँदा नेपाल लाइफको मूल्य निकै तल झरिसकेको छ। यद्यपी सबैभन्दा बढी नाफा र चुस्त व्यवस्थापन रहेकाले कम्पनीको सेयर किन्न अहिले लगानीकर्ताको चाप अत्याधिक देखिन्छ।
कारोबार उच्च रहने तेस्रो कम्पनीमा स्टाण्डर्ड चार्टड बैंक रह्यो। उसको पनि शत प्रतिशत हकप्रद आउने भएकाले घटेको मौकामा सेयर किन्नेहरु धेरै छन्। कम्पनीको मूल्य प्रतिकित्ता २२ सय ६७ रुपैयाँ छ। जवकि एक वर्षअघिसम्म उसको मूल्य ३ हजार ८ सय रुपैयाँसम्म पुगेको थियो। वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको मूल्य साढे ९ प्रतिशतले बढेको छ।
त्यस्तै नेसनल आइक्रोफाइनान्सको मूल्य ७ प्रतिशतले बढ्यो। अन्य मूल्य बढ्ने कम्पनीको भने ३ प्रतिशतमुनि रह्यो। एभरेष्ट बैंकको संस्थापकतर्फको मूल्य ९ प्रतिशतले घटेको छ। तारागाउँ रिजेन्सीको मूल्य ५. ६ प्रतिशतले घटेको छ।