नागरिक लगानी कोषले नेपाल वायु सेवा निगमलाई जहाज किन्न १२ अर्ब ऋण दिने भएको छ। दुई कम्पनीबीच ऋण सम्झौतामा आज हस्ताक्षर भएको छ।
हिजो मात्रै सञ्चय कोषसँग १२ अर्ब ऋण लिने सम्झौता गरेको निगमले आज नागरिक लगानी कोषसँग त्यत्ति नै रकमको सम्झौता गरेको हो। कोषको कार्यालयमा आयोजित कार्यक्रममा कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले सम्झौतामा हस्ताक्षर गरे।
जसअनुसार एउटा जहाज खरिद गर्न कोषले १२ अर्ब ऋण दिने भएको छ।
नागरिक लगानी कोषले ऋण दिएवापत नौ प्रतिशत वार्षिक व्याजदर पाउने छ। व्याजदर पहिलो व्यावसायिक उडान नभएसम्मका लागि परिवर्तन नहुने व्यवस्था छ। उक्त ऋणको भुक्तानी अवधि १५ वर्ष तोकिएको छ।
कोषले उपलब्ध गराएको रकमबाट निगमले एयर बस कम्पनीको वाइड बडी ९ए ३३०–२००० सिरिजको जहाज खरिद गर्नेछ। लगानी कोष र निगमबीच ऋण उपलब्ध गराउने विषयमा गत वैशाख अन्तिम साता सहमति भएको थियो।
सो अवसरमा कार्यकारी निर्देशक पोखरेलले ऋण सम्झौताले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि मद्दत पुगको बताए। साथै उनले ५० जहाज जरुरी पर्ने भन्दै निगमलाई प्रगतिको लागि शुभकामना दिए। कोषका अध्यक्ष महाश्रम शर्माले मुलुकको आर्थिक क्षेत्रको विकास र प्रगतिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
त्यस्तै निगमका महाप्रबन्धक कंसाकारले अब राष्ट्रिय ध्वजावाहकको उपस्थिति संसारका धेरै मुलुकमा हुने र पर्यटन उद्योगको विकासमा टेवा पुग्ने बताए।
निगमले अमेरिकी कम्पनी एएआरसँग २४ अर्ब लगानीमा दुई जहाज खरिद गर्दैछ। जसको फागुन ४ गते एएआरलाई १० लाख अमेरिकी डलर बैनाबापतको रकम उसले उपलब्ध गराइसकेको छ।