नेपालको आवश्यकता पुरा गर्न सक्ने उत्पादन क्षमता हुँदाहुँदै पनि विदेशबाट सिमेन्ट आयात गर्नुपर्ने वाध्यात्मक अवस्था अब हट्ने भएको छ। ठूला आयोजना निर्माणको लागि ४३ र ५३ ग्रेडको सिमेन्ट आवश्यक पर्ने सरकारी व्यवस्था छ तर नेपाली उद्योगीहरुले त्यस्तो ग्रेड राखेर उत्पादन गर्ने मापदण्ड नभएकोले सिमेन्ट आयात गर्नुपर्ने बाध्यता रहेको थियो।
गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर मापदण्डमा संसोधन गर्दै ४३ र ५३ ग्रेडमा सिमेन्टको गुणस्तर कायम गर्ने व्यवस्था थालेसँगै सो ग्रेडको सिमेन्ट आयात गर्नैपर्ने बाध्यता हट्ने भएको हो।
लामो समयदेखि नेपाली उद्योगीहरुले सोही व्यवस्थाको लागि सरकारलाई दबाब दिँदै आएको भए पनि अहिले आएर ४३ र ५३ ग्रेडको व्यवस्था हुन लागेको हो। पुरानो व्यवस्थामा संसोधनको लागि ड्राफ्ट तयार भएर पनि केही समय सरोकारवालासँग छलफल गरिएकाले ढिलाई भएको हो।
असारभित्र उक्त ड्राफ्ट नेपाल गुणस्तर परिषद्बाट पारित हुने र साउनदेखि लागू गर्ने तयारीमा रहेको नापतौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए।
‘सम्बन्धित विभाग हेर्ने अधिकारीहरुको फेरबदलले केही समय ढिला भएको हो’ उनले भने, ‘तर अब सबै तयारी भइसकेको परिषदको बैठक बस्नेवित्तिकै पारित हुन्छ।’
तर केही समय पहिले विभागले तयार पारेको ड्राफ्टमा व्यवसायीहरुले आपत्ति जनाएपछि बीचमा रोकिएको थियो। फरक ग्रेडका सिमेन्टको नियमन गर्न एउटै कानुन बनाउने कि नबनाउने भन्ने विषयमा सरकारी अधिकारी र व्यवसायीबीच विवाद भएको थियो। त्यस्तै निश्चित प्रतिशतको ‘पर्फमेन्स इन्ह्यान्सर’ राखेर मात्र नयाँ ग्रेडको मापदण्ड स्वीकृत गर्नुपर्ने पक्षमा सरकारी अधिकारीहरु देखिएका थिए।
ग्रेड थप गरेर नेपालका उद्योगहरुले पनि उत्पादन गर्न पाउने आफूहरुको पहिलेदेखिको माग भए पनि सरकारले ढिला गरिरहेको व्यवसायीहरुको आरोप छ। हाल ड्राफ्ट तयार भए पनि धेरै समय भइसक्दा पारित गर्नेतिर सरकारी तदारुकता नदेखिएको अर्घाखाँची सिमेन्टका अध्यक्ष पशुपति मुरारकाले आरोप लगाए।
‘हामी यसबारेमा बोल्दा बोल्दा थकित भइसकेका छौँ’ मुरारकाले भने, ‘तत्काल भइसक्नुपर्ने काम पनि यति ढिला भइसकेको छ, स्वदेशी उत्पादनलाई प्राथमिकता दिने कसैको सोच नै छैन।’
नयाँ मापदण्ड आएपछि नेपाललमा ग्रेडकै कारणले विदेशबाट सिमेन्ट आयात गर्नुपर्ने बाध्यताको अन्त्य हुने व्यवासयीहरुको अनुमान छ। प्रत्येक वर्ष सिमेन्टको आयात घट्दै गएको र जति आयात भइरहेको छ त्यो पनि ग्रेडकै कारण आयात गर्नुपर्ने अवस्था रहेको उद्योगीहरुको भनाइ छ।
गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा भारतबाट आयात हुने सिमेन्टमा कमी आएको छ। आर्थिक वर्ष २०७२/७३ मा लामो नाकाबन्दीको समयमा आयात भएको सिमेन्टको तुलनामा यो वर्ष १३ प्रतिशतले आयात घटेको छ। गत वर्षको १० महिनामा १ अर्ब २५ करोडको सिमेन्ट भारतबाट आयात भएकोमा चालु वर्षको यही अवधिमा जम्मा ९३ करोेडको सिमेन्ट आयात भएको छ।
देशभित्र पुनर्निमानको काम अगाडि बढेको समयमा सिमेन्टको माग बढे पनि स्वदेशीले नै धानेको कारण आयात खुम्चिदै आएको व्यवसायीहरु बताउँछन्। अहिले जति पनि आयात भएको छ त्यो पनि बढी भाग ४३ र ५३ ग्रेडको सिमेन्ट रहेको उनीहरुको भनाइ छ।
अहिलेसम्म नेपालमा जतिसुकै गुणस्तरको सिमेन्ट उत्पादन गरेपनि त्यसको ग्रेड भने ३३ मात्र हुने व्यवस्था रहेको छ। सरकारी उदयपुर र हेटौडा सिमेन्ट उद्योगका उत्पादन पनि ५३ ग्रेडभन्दा कम नरहेपनि नेपालमा मापदण्ड नभएकोले ३३ नै लेख्नुपर्ने बाध्यता रहेको व्यवसायीको भनाइ छ।
त्यस्तै अधिकांश निजी कम्पनीहरुले पनि ४३ र ५३ ग्रेडको सिमेन्ट उत्पादन गरिरहेको बताउँदै आएका छन्। तर नापतौल विभागका महानिर्देशक पुडासैनी भने एकपटक उत्पादन गर्दैमा त्यसको निरन्तरता छ कि छैन भन्ने कुरा मुख्य भएको र ग्रेड दिने भनेको कुनै खेलाची नभएको बताउँछन्।
नयाँ मापदण्ड आएपछि मापदण्डअनुसार सबैले नियमित उत्पादन गर्नुपर्ने उनको भनाइ छ।
के हो ग्रेड ?सिमेन्टको ग्रेड निर्धारण भनेको उक्त सिमेन्टको भारबहन क्षमता हो। कति अवधिमा कति लोड बहन गर्नसक्छ भन्ने मापन नै ग्रेड हो। सिमेन्टको ‘कम्प्रेसिभ स्ट्रेन्थ’ नै ग्रेड हो। जसले भार बहन गर्नसक्ने बल र समयको आधारमा ग्रेड मापन गरिने अभ्यास रहेको छ।