सरकारले दुई नम्बर प्रदेसको निर्वाचन सारेपछिको परिस्थतिबारे नयाँ रणनीति बनाउन राष्ट्रिय जनता पार्टी नेपालको बैठक केही बेरमा बस्दैछ । अपरान्ह साढे एक बस्ने बैठकले आन्दोलनलाई नयाँ तरिकाले अघि बढाउने विषयमा छलफल हुने राजपा अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले सेतोपाटीलाई बताए ।
‘सरकारसँग सहमति भएको भनेर चर्चा चलाइएको छ। निर्वाचन सार्ने विषयमा हाम्रो कुनै सहमति भएको छैन,’ यादवले भने, ‘लिम्बुवान, मधेस र थरुहट सबैतिरको निर्वाचन सारेर मात्रै समस्याको समाधान हुन्छ।’
राजपाको माग निर्वाचनको मिति सार्ने नभइकन संविधान संशोधन र स्थानीय तहको संख्या वृद्धि गर्ने रहेको उनले दाबी गरे।
राजपा अध्यक्ष मण्डलको बैठक बसेपछि संघीय गठबन्धनको बैठक बसेर संघर्षका नयाँ कार्यक्रहरु सार्वजनिक गरिने अर्का नेता केशब झाले सेतोपाटीलाई बताए ।
सरकारले राजपाका कुनै पनि माग पुरा नगरेकोले तत्कालै निर्वाचनमा जाने वातावरण नबनेको उनले बताए ।
एक, पाँच र सात नम्बर प्रदेशमा आन्दोलन चर्काउने र दुई नम्बर प्रदेशमा थोरै खुकुले हुने उनले बताए।