बेनी नगरपालिका–२ खबरामा घाँसको स्रोत केन्द्र स्थापना भएको छ । जिल्ला पशुसेवा कार्यालयले म्याग्दीमा आवश्यक पर्ने बर्खे, हिउँदे, भुई तथा डाले घाँसको बिरुवा र बीउ आपूर्तिका लागि खबरालाई स्रोत केन्द्र बनाएको हो । खबरामा गठित राधाकृष्ण घाँस उत्पादन कृषक समूहमार्फत घाँसको बीउ र बिरुवा उत्पादन गर्न थालिएको छ ।
यस वर्ष १२ हजार किम्बुका बिरुवाका उत्पादन गर्नुका साथै राइखन्यु, नेपीयरलगायत जातका घाँसको नर्सरीसमेत स्थापना भएको कृषक सोवित शर्माले जानकारी दिए। उनका अनुसार जैघाँस र टियोसेन्टी जातको भुई घाँसको बीउ उत्पादन गरी पशु सेवा कार्यालयमार्फत व्यावसायिक कृषकलाई उपलब्ध गराउने योजना रहेको छ ।
तेह्र जना कृषकले कम्तीमा तीन रोपनीका दरले घाँसको बीउ र बिरुवा उत्पादन सुरु गरेका छन् । कृषकलाई स्थलगत तालिम, घाँसको बीउ, सिँचाइका लागि पाइपलगायतका सामग्री सहयोग गरिएको पशु विकास अधिकृत नरबहादुर बानियाँले जानकारी दिए।
गाउँमै चिकित्सक सेवा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेको नांगी सामुदायिक टेलीमेडिसीनले चिकित्सक सेवा सुरु गरेको छ ।
एक दशकदेखि इन्टरनेटको सहायताले काठमाडौँ मोडेल अस्पतालका चिकित्सकसँग बिरामीलाई प्रत्यक्ष सम्र्पक गराई सेवा दिँदै आएको टेलीमेडिसीनमा चिकित्सक उपस्थित भएर सेवा दिन थालेका हुन् ।
काठमाडौँमा रहेको स्वास्थ्य जनसरोकार ट्रस्ट नेपाल (फेस्ट)ले टेलीमेडीसीनमा दुई जना चिकित्सकको व्यवस्था गरेको छ ।
अन्नपूर्ण गाउँपालिकाको नांगी, राम्चे, काफलडाँडा, हिस्तान, जलजला गाउँपालिकाको लेकफाट, शालीजा, वनमडे, डाँडाकटेरीका बासिन्दा लाभान्वित भएका छन् । रासस