सुडानको घोटालामा सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वआइजीपीसहित चार जना जेल चलान भएका छन्। पूर्वआईजीपी ओमविक्रम राणा, हेमवहादुर गुरुङ, पूर्व एआईजीपी दिपकसिंह थाङ्देन र पूर्वडीआईजी दिपक श्रेष्ठलाई डिल्लीबजार कारगार चलान गरिएको हो।
पूर्व आईजीपी हेमबहादुर गुरुङ र ओमविक्रम राणाले अदालतमा आत्मसमर्पण गरेका हुन्। यस्तै, एआईजी दीपक छ्याङदेन र डीआईजी दीपक श्रेष्ठले पनि आत्मसमर्पण गरेका छन्।
सर्वोच्च अदालतले वैशाख १७ गते सुडान घोटाला काण्डको अन्तिम फैसला सुनाउँदै नेपाल प्रहरीका तीन पूर्वआईजीपीसहित अन्य अधिकारीहरुलाई सजाय सुनाएको थियो।
सर्वोच्च अदालतका तत्कालिन प्रधान्यायाधीश सुशीला कार्कीको इजलालसले सुडानको डार्फरमा पठाइने एपिसी खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै जेल सजाय र बिगो असुल गर्ने फैसला सुनाएको थियो।
सर्वोच्चले नेपाल प्रहरीका पूर्व आईजी ओमबिक्रम राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना, हेमबहादुर गुरुङलाई १ वर्ष कैद र ४० हजार जरिवाना तथा रमेशचन्द्र ठकुरीलाई १ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको थियो। एआईजी छ्याङदेनलाई ५० हजार जरिवाना एक वर्ष कैद र डीआईजी श्रेष्ठलाई ३० हजार जरिवाना र ६ महिना कैद सजाए तोकिएको छ ।
उनीहरूले आफैं आत्मसमर्पण गरेकाले जरीवाना र कैदमा २० प्रतिशत छुट पाउने सर्वोच्च अदालतका सह-प्रवक्ता विश्वराज पौडेलले बताए।