स्थानीय तहको निर्वाचनमा प्रमुख राजनीतिक दलका आ-आफ्नै चुनावी एजेन्डा अघि सारेका छन्। विकास निर्माणका एजेन्डादेखि स्मार्ट सिटी तथा -औंद्योगिक क्षेत्रको विकास विभिन्न राजनीतिक दलका चुनावी प्राथमिकता हुन्। लामो समयदेखि विराटनगरलाई आधारक्षेत्र बनाएर गतिविधि गरिरहेका अमलेश कर्ण नयाँ चुनावी मुद्दा लिएर स्वतन्त्र तवरले अगाडि बढेका छन्।
बन्द हडतालविरुद्धको अभियानदेखि चिकित्साक्षेत्र सुधार अभियानमा उनको सक्रियता देखिँदै आएको छ। हातको मुठी चुनाव चिन्ह लिएका उनको चुनावी नारा नै रहेको छ, ‘उफ् भ्रष्टाचार।’ विराटनगर महानगरको वडा नम्बर १० मा विभिन्न दलका पाँचसहित आठ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएका छन्। तीमध्ये उनी एक हुन्। ६१८० मतदाता रहेको सो वडामा उनी चुनाव जित्ने दाबीसाथ प्रचारप्रसारमा जुटिरहेका छन्।
सुरूमा खेल जीवनबाट अघि बढेका अमलेशले आफ्नो ४० वर्षे जीवनमा विविध पाटोमा हात हालेका छन्। उनी सुरुमा क्रिकेट खेलाडी थिए। शारीरिक सुगठनदेखि लिएर विज्ञापनको बजार, कार्यक्रम व्यवस्थापनमा सक्रिय कर्ण सचेत नागरिक अभियानका अध्यक्ष, पब्लिक फोरमका उपाध्यक्ष र कायस्थ समाज मोरङका अध्यक्ष पनि हुन्।
पब्लिक फोरमले उपभोक्ता हितका लागि वर्षौंदेखि अभियान चलाइरहेको छ। उपभोक्ता ठगी गर्नेहरूविरूद्ध फोरम जहिले पनि एक कदम अगाडि रहने गरेको छ। ‘हामीले सर्वसाधारण जनता नठगिउन् भनेर लड्दा धेरैतिरबाट दबाब आउँछ,’ उनले भने।
कहिले डा. गोविन्द केसीको अभियानमा विराटनगरबाट साथ दिने कर्ण सकारात्मक सोच र परिवर्तनको संवाहकको रुपमा आफूलाई उभ्याउन चाहन्छन्। ‘विराटनगरका विकास निर्माणका कुराहरू सबैले उठाएका छन्, तर त्यसभित्र हुने भ्रष्टाचारको विषयमा सबै मौन छन्,’ उनी भन्छन्, ‘भ्रष्टाचारबिरोधी अभियन्ताको रुपमा मैले जति काम गरेँ, त्यो पर्याप्त भएन। त्यसैले आफ्नै वडाबाट भ्रष्टाचारलाई निर्मूल गर्न वडाअध्यक्षमा उम्मेदवारी दिएको हुँ।’
महिला हिंसाविरुद्धको अभियान, मैथिली भाषाको जगेर्ना कार्यमा पनि उनी सक्रिय छन्। उनी स्वतन्त्र ढंगबाट पनि परिवर्तन सम्भव छ भन्ने पुष्टि गर्न चाहन्छन्। यो अभियानमा कुनै दलले खुलेर साथ नदिए पनि सबै पक्षबाट सहानुभूति पाएको उनी सम्झन्छन्। ‘समाज परिवर्तन र विकृति विसंगति अन्त्यको मेरो अभियानमा सबै पक्षले मलाई सहयोग गरेका छन्,’ उनले भने, ‘उनीहरू सबै मेरो उम्मेदवारीप्रति सकारात्मक छन्, अत्यधिक भोट पाउँछु भन्ने आशा राखेको छु।’
उनका धेरैजसो सहकर्मी कोही विदेश त कोही आफ्नै व्यापार व्यवसायमा सक्रिय भए। विराटनगरमै जन्मेहुर्केको र यहाँको रहनसहन बुझेको हुनाले उनले सामाजिक क्षेत्र रोजे। सहकारीको माध्यमबाट पनि उनी आम जनताकहाँ जोडिन पुगेका छन्।
सन् १९९७ बाट उनले मोडलिङ क्षेत्रमा काम गरे। उनले शारीरिक सुगठनमा मिस्टर कोसी र विराटनगरको आयोजना गरे। पछिल्लो समय उनी मिस कोसीको सौन्दर्य प्रतियोगिताको आयोजक पनि हुन्।
उनको पहिलो चुनावी मुद्दा भ्रष्टाचार अन्त्य हो। भ्रष्टाचार अन्त्य भए समाजको आधा विकास त्यतिकै हुने उनी दाबी गर्छन्। अहिले विराटनगरमा जति पनि विकास निर्माणका कार्य हुन्छन्, त्यहाँ पचहत्तर प्रतिशत भ्रष्टाचार भएको उनको दाबी छ। ‘म वडाध्यक्ष भएँ भने कम्तीमा मैले जित्ने वडाबाट भ्रष्टाचार हटाएर देखाउँछु, त्यसले अन्य क्षेत्रका जननिर्वाचित प्रतिनिधिलाई पनि मेरो अभियानले डोर्याउने छ,’ उनी आत्मविश्वासी बने।