पोर्चुगलबाट तेस्रो सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी बनेका नानीका लागि विहिबार विहान रुसको कजानमा सम्पन्न भएको कन्फिडरेशन कपको सेमिफाइनल दूर्भाग्यपूर्ण बन्न पुग्यो।
भेलेन्सियाका ३० वर्षीय विङ्गर ७६ मिनेटमा आन्द्रे सिल्भालाई पदस्थापन गर्दै चिलीविरुद्ध मैदान भित्र प्रवेश गरेका थिए। यो उनको १ सय ११ औं अन्तर्राष्ट्रिय खेल थियो। उनीभन्दा माथि पोर्चुगलबाट क्रिस्टियानो रोनाल्डो १ सय ४३ र लुइस फिगो १ सय २७ ले मात्र सर्वाधिक खेल खेलेका छन्।
निर्धारित र अतिरिक्त गरि कूल १ सय २० मिनेटको खेल बराबरीमा रोकिएको थियो। पेनाल्टी सुटआउटबाट निर्धारण भएको यस खेलमा नानी अतिमहत्वपूर्ण मानिने तेस्रो नम्बरमा पेनाल्टी हान्न उत्रिँएका थिए। तर, उनको पेनाल्टी म्यानचेस्टर सिटीका गोलरक्षक क्लाउडियो ब्राभोले रोकेर स्तब्ध तुल्याए। ब्राभोले पोर्चुगलको लगातार तीन पेनाल्टी रोक्दै चिलीलाई ३–० ले विजय दिलाउन महत्वपूर्ण योगदान गरे।