कैलालीको टीकापुर नगरपालिकामा फोरम लोकतान्त्रिकले प्रमुख र उपप्रमुखमा अग्रता लिइरहेको छ। ६७१८ मत गणना हुँदा फोरम लोकतान्त्रिकले प्रमुखका १८१९ र उपप्रमुखमा १७३४ मत ल्याउँदै अग्रता लिएको हो।
यसैगरी नेपाली कांग्रेसले प्रमुखमा ११७१ र उपप्रमुखमा १२९७ मत ल्याएको छ। माअोवादी केन्द्रले प्रमुखमा १२७० र उपप्रमुखमा १२८७ मत ल्याएको छ।
३ र ६ को अन्तिम मतपरिणाम सार्वजनिक गरिएको छ।
सहायक निर्वाचन अधिकृत वसन्त बोहराका अनुसार वडा नं ३ मा नेपाल फोरम लोकतान्त्रिकका रामसेवक चौधरी ५४० मत ल्याएर वडा अध्यक्षमा विजयी भएका छन्।
उक्त वडाको एक सदस्य पनि नेकपा माओवादी केन्द्र र बाँकी तीन सदस्य लोकतान्त्रिक फोरमले जितेको छ।
यसैगरी वडा नं ६ मा लोकतान्त्रिक फोरमकै बलिराम चौधरी ५२१ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका छन्। उक्त वडाका सबै सदस्यमा लोकतान्त्रिक विजयी भएको छ।
टीकापुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाल लोकतान्त्रिक फोरमले सुरुदेखि नै अग्रता लिइरहेको छ। एमालेका प्रत्याशीले उनीहरुलाई पछ्याइरहेका छन्।
कैलालीको घोडाघोडी नगरपालिका–१२ को वडाध्यक्षसहित पूरै समूह माओवादी केन्द्र विजयी भएको घोषणा यसअघिनै गरिसकिएको छ। वडा अध्यक्षमा विजयी प्रनाकुमार चौधरीले ६८९ मत र उनको निकटतम काँग्रेसका रामदुलारे चौधरीले ४६५ मत प्राप्त गरेका छन्।