बलिउडमा दुई दशकभन्दा बढी समय बिताएकी अभिनेत्री श्रीदेवीले फिल्म उद्योगमा अहिले आएको परिवर्तन राम्रो भएको बताएकी छन्।
आफ्नो समयमा फिल्ममा काम गर्दा कपडा फेर्ने गोप्य ठाँउ नहुँदा झाडीमा लुकेर फेर्नुपर्ने अवस्था भएको उनले अनुभव सुनाइन् ।
उनले भनिन्, ‘हामी फिल्मको सुटिङमा कपडा फेर्ने ठाँउ नहुँदा झाडीको पछाडि वा बसको पछाडि लुकेर कपडा फेर्नुपर्थ्यो।’
बिबिसी हिन्दीसँगको कुराकानीमा श्रीदेवीले अहिले अभिनेत्रीहरुले कपडा फेर्न, मेकअप गर्न, ट्वाइलेट जान गाडीको व्यवस्था हुनु राम्रो भएको प्रतिक्रिया दिइन्। उनले त्यो समय सुटिङ गर्नुपर्ने भएपछि ट्वाइलेटको अभावको कारण दिनभर पानी नै नपिई बस्नुपर्ने बाध्यता भएको बताइन्।
प्रविधिको हिसाबले पनि अहिलेको फिल्म उद्योग निकै अगाडि आएको बताउँदै श्रीदेवीले त्यो समय कुनै सिन १० पटक सम्म रिटेक गर्नुपर्यो भने निर्माता रिल सकिन्छ भन्ने डरले तनावमा हुने बताइन्। अहिले भने भारतको फिल्म उद्योग व्यावसायिक र प्राविधिक रुपमा निकै अगाडि छ।
श्रीदेवीले पाँच वर्ष अघि फिल्म ‘इंग्लिस भिंग्लिस’ खेलेकि थिइन्। अब उनी फिल्म ‘मम’ मा देखिँदैछिन् । जहाँ उनी शक्तिशाली आमाको भूमिकामा देखिनेछिन्। उनीसँगै फिल्ममा कलाकार अक्षय खन्ना र नवाज़ुद्दीन सिद्दीकी पनि मुख्य भूमिकामा देखिँदैछन्।
श्रीदेवीको फिल्म ‘मम’ ७ जुलाईमा रिलिज हुँदैछ।