झापाको मेचीनगर नगरपालिकाको मतगणना रोचक बन्दै गएको छ। हिजोसम्म अग्रता लिइरहेको नेकपा एमालेलाई बिहीबार नेपाली कांग्रेसले उछिनेको छ। हिजोसम्मको मत परिणाममा मेयरमा एमाले उम्मेदवार बिष्णु प्रसाईँ करिब ७ सय मतले अगाडि थिए। तर बिहीबार नेपाली कांग्रेसका उम्मेदवार बिमल आचार्य उनलाई उछिनेर ४ सय २५ मतले अग्रता लिएका छन्।
१५ वडा रहेको मेचीनगरमा ५३ हजार ३ सय ६७ मत खसेको थियो। बिहीबार दिउँसोसम्म ४१ हजार ४ सय ६४ मत गणना भएको छ। त्यसमा आचार्यले १५५०९ मत पाएका छन् भने प्रसाईँले १५०६३ मत ल्याएर उनलाई पछ्याइरहेका छन्।
अहिले ६, ७, ८, ९ र १० वडाको मतगणना जारी छ। मेचीनगर पनि पर्ने झापा क्षेत्र नम्बर १ मा गत संविधान सभा चुनावमा नेकपा एमालेका रवीन कोइरालाले कांग्रेसका विश्वप्रकाश शर्मालाई हराएर चुनाव जितेका थिए।
एमालेको प्रभाव क्षेत्र मानिने मेची नगरमा यसपालिको परिणाम आफ्नो पक्षमा कांग्रेस नेता शर्माको दावी छ।
‘यो दुई वर्षमा हामीले संगठन राम्रो बनायौं, मतदाताको मन जित्ने धेरै काम पनि गर्यौं’, झापामै रहेका कांग्रेस नेता शर्माले भने, ‘त्यही भएर यसपालिको चुनावमा जितिन्छ भन्ने मेरोआत्मविश्वास अब वास्तविकतामा बदलिन थालेको छ।’
साविकको मेची नगरमा अहिले आसपासका गाविसहरु धाइजन, दुवागढी, ज्यामिरगढी मिसाइएको छ। यी सबै गाविसमा २०५४ को स्थानीय निवार्चनमा नेकपा एमालेले जित हात पारेको थियो। पहिलो संविधान सभामा यो निर्वाचन क्षेत्रबाट माओवादीले जितेको थियो भने २०७० को चुनावमा एमालेका कोइराला विजयी भएका थिए। ‘मैले हारे पनि घरघरमा गएर मतदातालाई धन्यवाद दिएँ त्यसपछि पनि यहीँ निरन्तर खटेर काम गरे’, शर्माले भने, ‘त्यही भएर मेचीनगरमा अहिले कांग्रेसले जित्ने अवस्था बनेको हो।’
बाँकी रहेका वडामा पहिला एमालेको प्रभाव बढी भएपनि अहिले अवस्था बदलिएकाले कांग्रेसको जित हुने विश्वस्त रहेको नेता शर्माले बताए। उपमेयरमा भने कांग्रेसले आशा मारिसकेको छ। पछिल्लो मत परिणाम कांग्रेस उम्मेदवार दुर्गा भुर्तेल एमाले उम्मेदवार मिना पोखरेलभन्दा झन्डै १५ सय मतले पछाडि परेकी छन्। पोखरेलले १५६३६ मत पाउँदा भुर्तेलले १४१४१ मत पाएकी छन्।
‘उपमेयर त हामीले आशा मारिसकेका छौं, मेयर जित्नेमा भने ढुक्क छौं’, नेता शर्माले भने।