‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत उहिया, सिर्दिवास क्षेत्रका भूकम्प प्रभावितलाई बाटो बनाएबापत उपलब्ध गराइने खाद्यान्न कुहिएको फेला परेको छ ।
विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले गोरेटो गोरखासँगको साझेदारीमा ती गाउँमा खाद्यान्न (दाल र चामल) वितरणका लागि पुर्याएको थियो । खच्चरमार्फत खाद्यान्न ढुवानी गर्दा पानीले भिजेको र सुरक्षित ठाउँमा खाद्यान्न भण्डारण गर्न नसक्दा उहिया र सिर्दिवासका बासिन्दाले तोकिएको परिमाणानुसार खाद्यान्न पाउन सकेका छैनन् ।
सोमबार उहिया र सिर्दिवासमा खाद्यान्न वितरण गर्ने क्रममा केही बोरा खाद्यान्न कुहिएको, डल्लो परेको र कीरा लागेको फेला परेपछि थोरै परिमाणमा मात्रै खाद्यान्न वितरण गरिएको स्थानीयवासीले बताएका छन् । भण्डारण गरिएको मध्ये आधाजसो परिमाणमा दालचामल कुहिएको उहिया खोर्लाका जीतबहादुर गुरुङले बताए । प्रत्येक घरधुरीलाई १५० केजी चामल र २७ केजी दाल दिनुपर्नेमा सोमबार ७५ किलो चामल र नौ किलो दाल मात्रै दिइएको भन्दै गुरुङले बाँकी खाद्यान्न पछि दिने भनी गोरेटोका कर्मचारीले बताएको जानकारी दिए ।
सिर्दिवासको जगतमा पनि सोमबार नै खाद्यान्न वितरण गर्ने क्रममा कुहिएको दाल र चामल भेटिएको थियो । दालमा ढुसी लागेको, डल्लो परेको र कीरा भेटिएको सिर्दिवासका वडाध्यक्ष रामकुमार गुरुङले बताए। खच्चरबाट ढुवानी गर्दा पानीले भिजाएको खाद्यान्न उचित हेरचाह नगरिँदा कुहिएको हो ।
‘खच्चडबाट ढुवानी गर्दैमा २० बोरा चामल बिग्रिएको थियो । त्यहीमाथि चिसो कोठामा भण्डारण गरेछन्, थप १५ बोरा बिग्रिएछ’ उनले भने । उहिया गाउँमा २०० घरलाई खाद्यान्न बाँडेको डब्लुएफपीले सिर्दिवासका ६९ घरधुरीमा पनि बाँडिसकेको छ । सिर्दिवासकै ६०० घरधुरी र उहियाका ४०० घरधुरीलाई पनि बाँड्न बाँकी छ । चालीस दिन काम गरेका व्यक्तिले प्रतिव्यक्ति एक सय ५० केजी चामल र २७ केजी दाल पाउने बताइएको छ । जेठको दोस्रो साता काम सकिए पनि खाद्यान्न नपाएको भन्दै स्थानीयवासीले गुनासो गर्दैआएका थिए ।
कुहिएको चामल बाँडिएको छैन
कुहिएको र राम्रोे खाद्यान्न अलग्याएर राम्रो दाल, चामल मात्रै वितरण गरेको गोरेटो गोरखाले बताएको छ । डब्लुएफपी, गोरेटो गोरखाका कर्मचारी र गाउँका वुद्धिजीवी मिलेर राम्रो दाल, चामल मात्रै बाँडेको स्थानीयवासीले बताए । अपुग खाद्यान्न दोस्रो चरणमा बाँड्ने बताइएको छ । यसअघि लाप्राकमा ठूलो परिमाणमा कुहिएको चामल फेला परेपछि डब्लुएफपीले खाल्डो खनेर चामल नष्ट गरेको थियो । रासस