बर्मेली नेपाली
बर्माको बाक्लो बस्ती दक्षिणी भागमा छ, जुन समथर तराईजस्तो भूमि हो। एक सय ४० वर्ष अघिदेखि यहाँ आएका धेरै नेपाली भने पहाड खोज्दै उत्तरी बर्मातिर पुगेका छन्।
चीनसँग सीमा जोडिएको बर्माको उत्तरी प्रदेश कचिनमा सबैभन्दा धेरै नेपालीभाषीको बसोबास छ। वन-जंगल फाँडेर, खेतीपाती गरेर बसेका र सेनामा भर्ती भएका नेपालीभाषीका सन्तान कचिनका विभिन्न गाउँमा भेटिन्छन्।
कचिन प्रदेशका केही ठाउँ त नेपाली नामका छन्। त्यसैमध्ये एक रामपुरमा केही महिनाअघि सय वर्ष उमेर पार भएकी हजुरआमा भेटिनुभएको थियो। बुटवल हुँदै सात वर्ष उमेरमा बर्मा छिर्दा उहाँले सुनाउनुभएको अनुभव कुनै दिन लेखौंला। आज भने सैनिक परिवारमा जन्मेका गणेश बस्नेतको कुरा गरौं।
कचिन प्रदेशको राजधानी हो, मेचिना। मेचिनाको छेवैमा ऐरावती नदी बग्छ। बर्माको सबैभन्दा ठूलो ऐरावती नदी यो देशको सिंचाइ, जल यातायात, साहित्य र सभ्यता सबैको मुहान हो।
त्यही ऐरावती नदी किनारमा छ, गणेशको घर जो पेसाले वकिल हुन्।
संसारभर अल्पसंख्यक भएर बाँच्नुको पीडा बल्लबल्ल सुनिन थालेका छन्। चाहे अमेरिकाका काला जाति हुन् वा चीनका मुस्लिम, बंगालादेशका हिन्दु हुन् वा अफगानिस्तानका बौद्धमार्गी वा ब्रुनाईका समलिङ्गी।
धर्म, जाति, भाषा, लिंग, पहिचान र राजनीतिक आस्थाका आधारमा अल्पसंख्यकमा परेका करोडौं आवाज अझ पनि सुनिँदैनन्, भनिँदैनन् वा दबाइन्छन्।
गणेशलाई कानुन थाहा छ। अल्पसंख्यकहरू कानुनी हिसाबले नै कहाँ-कहाँ विभेदमा परेका छन्, त्यसको हिसाबकिताब छ। कानुनले दिएका अधिकार पनि राज्य संरचनाले कसरी अल्पसंख्यकलाई उपभोग गर्न दिँदैन, उनी त्यसका जानकार छन्।
सुरूमा त उनले बर्माका अल्पसंख्यकहरूले नपाएको नागरिकताबारे आवाज उठाए। अदालतमा दर्जनौं मुद्दामा बहस पैरवी गरे। एक सय ३५ जनजातिको बसोबास भएको बर्मामा नागरिकता नपाउने यहाँका रोहिंज्या मुसलमान जाति मात्र होइन। गोर्खालीसँगै अन्य थुप्रै जातिको पनि नागरिकतामा समान पहुँच छैन।
जग्गा-जमिनको हकदाबीमा त्यस्तै अप्ठ्यारो छ। पुर्खाले वर्षौंदेखि खाईखेली गरेको खेतबारी र घरजग्गा कुनै पनि दिन सेनाले हडप्न सक्छ। ठूला कम्पनी र व्यापारीले उठाइदिन सक्छन्।
'जग्गा दर्ता गर्नुपर्छ, आफ्नो नाममा बनाउनुपर्छ भन्ने धेरैलाई जानकारी नै भएन, अझै छैन। त्यसैले जग्गा दर्तासम्बन्धी मुद्दामामिला धेरै हेर्नुपर्छ,' गणेशले भने।
अल्पसंख्यकका वकिल गणेशले सयौं परिवारका नाममा जग्गा दर्ता गराइदिएका छन्। उनलाई कहिले लागुऔषध प्रयोगकर्ता त कहिले लैंगिक अल्पसंख्यकहरूले पनि आफ्ना आवाज उठाइदिन्छ कि भनेर हेर्छन्। वर्षमा सयभन्दा बढी मुद्दा त गणेशले लागुऔषध प्रयोगकर्ताका तर्फबाट लड्छन्।
'देशमा रोजगारी छैन, सशस्त्र लडाइँ भइरहेका छन्। व्यापारीहरू पैसाका लागि युवाहरूलाई लागुऔषधमा भुलाउँछन्,' गणेश भन्दै थिए, 'लागुऔषध प्रयोगकर्ता जेलमा पर्छन् तर व्यापारी एउटै पर्दैनन्। त्यसैले जेलमा भन्दा लागुऔषध प्रयोगकर्तालाई सुधारगृहमा राखौं भनेर लडिराखेको छु।'
गत वर्षको एक अनुसन्धानले बर्मेली जेलमा ९२ हजार कैदी भएको देखाउँछ। त्यसमा आधाजसो लागुपदार्थ सेवनको आरोपमा परेका हुन्।
समलिङ्गी, तेस्रोलिङ्गी र कतिपय अवस्थामा यौनकर्मीहरू पनि गणेशले आफ्ना मुद्दा हेरिदिन्छन् कि भनेर उनको मुख ताकेर बस्छन्। पत्रपत्रिका, टेलिभिजन, रेडियोबाट तिनका आवाज बोल्दिनु गणेशको अर्को काम हो।
गणेशकहाँ म पुगेको चाहिँ बर्मेली नेतालाई भेट्न हो। राजनीतिमा लागेका नेपालीभाषीहरू यहाँ औंलामा गन्न सकिने छन्। अझ संसदको चुनावमा उम्मेदवारी दिएका नेपालीभाषी त गणेश मात्र हुन्।
साठी वर्ष सेनाले राज गरेको बर्मामा प्रजातान्त्रिक राजनीतिमा लाग्दा लिनुपर्ने जोखिम नेपालीभाषीले लिएको देखिँदैन। आंशिक प्रजातन्त्रपछि सन् २०१५ मा भएको चुनावमा गणेशले कचिन प्रदेशबाट सांसदका लागि उम्मेदवारी दिए।
अल्पसंख्यकका पक्षमा बोल्दाबोल्दै गणेशलाई लाग्यो, भएका कानुनले हाम्रा समस्या हल गर्दैनन्। कानुन बनाउने ठाउँमा नै जानुपर्छ।
बर्मेली प्रजातन्त्रको पर्याय बनेकी आङ साङ सू चीको पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) बाट उम्मेदवार बन्ने आशा उनले लिए। पटक-पटक निवेदन हाल्दा पनि उनको सुनुवाइ भएन।
'जनताको साथ मलाई थियो। तर, एनएलडी पार्टीमा वर्षौंदेखि प्रजातन्त्रका लागि लडेका सयौं उम्मेदवारको दाबेदारी थियो। मैले टिकट नपाउने निश्चित भो,' गणेश त्यो बेला निराश भएछन्।
उनको लोकप्रिय छवि देखेर अन्य पार्टीका नेताहरू उनलाई आफ्नो तर्फबाट उम्मेदवार बनाउन कुरिरहेका थिए। दोधारमा रहेका गणेशले उम्मेदवारी दर्ता गर्ने केही दिनअघि एनएलडी छाडे र ‘रेड टाइगर्स’ नामको शान जातिको बाहुल्य रहेको क्षेत्रीय राजनीतिक दलमा प्रवेश गरे।
'मेरो नाम सुनेका, तर मलाई नदेखेका शीर्षनेताहरू मलाई देखेपछि एकछिन त अलमलिए,' गणेश चार वर्षअघि पुगे, 'मेरो अनुहार मुसलमानको जस्तो देखिन्छ। मुसलमानलाई यहाँकाले भोट नदिने निश्चितै थियो, अझै छ।'
उनलाई कता टिकट फुत्किने हो कि भन्ने डर भो। त्यसो हुन चाहिँ पाएन। उनले उम्मेदवारी दर्ता गराइछाडे।
'हाम्रो जाति पनि राजनीतिमा घुस्न पाउँछ, सांसद हुन पाउँछ भन्ने नेपालीहरूलाई थाहा थिएन। गोर्खालीहरू त अचम्मै परे,' गणेशले उम्मेदवार हुन चाहिने न्यूनतम योग्यताबारे थपे, 'कम्तिमा तीन पुस्ता बर्मामा बसेको प्रमाणित गर्न सक्नुपर्छ। बर्माको तीनपुस्ते नागरिकता चाहियो।'
'सन् २००८ को संविधानअनुसार राष्ट्रपति, उपराष्ट्रपतिबाहेकका अन्य सबै जग्गा (पद) मा गोर्खालीहरूले उम्मेदवारी दिन पाउँछन्,' गणेशले सम्झाए।
यहाँको सरकारले मान्यता दिएको एक सय ३५ जनजाति समूहभित्र नेपालीभाषी पर्दैनन्। गोर्खालीलाई ‘अन्य समूह’ मा राखिएको छ। चार सय वर्ष अघिदेखि बर्मामा बसेकालाई मात्र यहाँ आदिवासीको मान्यता दिइएको छ। त्यसैले, राष्ट्रपति, उपराष्ट्रपति हुने अधिकार गोर्खालीलाई छैन। नेपालीभाषीहरू एक सय ५० वर्षयता मात्र बर्मा आइपुगेको इतिहास छ।
गणेशको पाँच पुस्ताअघिका पुर्खा नेपालबाट बर्मा आएका हुन्। जिजुबुबा र हजुरबुबा बर्मेली सेनामा थिए। उनका पिताले कानुनी पेसा रोजे। बाबुकै पछि लागेर गणेश पनि वकिल बन्न पुगे।
गणेश र उनका पिताले जसलाई नागरिकता दिलाएका थिए, जसलाई जग्गाका पूर्जा मिलाइदिएका थिए, उनीहरू नै गणेशका मतदाता।
गणेशको वाइमो चुनावी क्षेत्रमा भएका ४८ गाउँमध्ये ११ वटा गोर्खाली गाउँ थिए। दुईमहिने चुनावी प्रचार अभियानमा उनको पार्टी रेड टाइगर्सका साथै गोर्खालीहरूले पनि साथ दिए।
गणेशले चुनावको दिन सम्झिए।
'४८ वटै बुथबाट मतपत्र भएका बाकस आइसेकपछि मतगणना सुरु भयो। सुरूमा कचिन, शान, वर्मा बस्तीका भोट गनिए,' गणेश उत्साहित हुँदै सुनाइरहेका थिए, 'एउटा बस्तीमा तीन सय जनाले भोट हालेकोमा सतप्रतिशत मलाई हालेको रहेछ। ३५ वटा बुथको गणना गर्दासम्म म सबैभन्दा अगाडि थिएँ।'
गणेशले बधाई थाप्न थाले। बाँकी १३ वटा बुथको मत गन्न बाँकी थियो र त्यसमा ११ वटा गोर्खाली गाउँ थियो।
गणेशले त्यो बेलाको उत्साह सम्झे, 'ला म जित्नु थाल्यो। यो साल त म एमपी भयो भनेर मन घुम्न थाल्यो।'
जब ती गोर्खाली गाउँको मतगणना सुरु भयो, गणेशको उत्साह ऐरावती नदीको पानीले बगाइदियो। उनले मलाई प्रश्न सोधे, 'पाँच हजारभन्दा धेरै गोर्खाली थिए मेरो निर्वाचन क्षेत्रमा, कति मत आयो होला अनुमान गर्नुहोस्।'
पानले खाएको रातो मुखमा हाँसो छर्दै गणेशले भने, 'मलाई गोर्खालीहरूले एक सय मत पनि दिएनन्। जे भए पनि आफ्नै बस्ती हो भनेर ढुक्क भएको त झन् त्यस्तो भो।'
'हाम्रो जातिलाई बुझाउन सकिन। धेरै वर्ष सैनिक शासन भोगेका गोर्खालीहरू चुनावदेखि डराए। कतै गोर्खालीलाई मत दिइयो भने पछि गोर्खाली जातिलाई नै अप्ठ्यारो पर्ने हो कि भनेर अरूलाई भोट दिए,' उनले थपे, 'कतिपय गोर्खालीले राजनीतिमा लाग्दा मलाई असजिलो होला भनेर माया गरेर मलाई भोट दिएनन्।'
नेपालीभाषीको मनमा गडेर बसेको डरले गणेशलाई गम्भीर बनायो। गणेशलाई चार वर्षअघिको चुनाव सम्झँदा गोर्खाली एक जना संसदमा पुग्यो भने नेपालीभाषीको आवाज कसरी माथि पुग्थ्यो र अधिकारप्राप्तिका लागि कसरी सजिलो हुन्थ्यो भन्ने बुझाउन सकिएन भन्ने लाग्छ।
एक जना नेपालीले गर्दा सारा नेपालीले दुःख पाउँछन् कि भनेर गोर्खालीहरू डराएकाले आफूलाई भोट नहालेका हुन् भन्ने गणेशको तर्क छ।
आङ साङ सू चीको पार्टी एनएलडीका उम्मेदवारसँग गणेश पराजित भए। गणेशले २३ हजार ४० मत पाए भने विजयी उम्मेदवारले २४ हजार ८५ भोट ल्याए।
'मलाई भोट दिएनन् भनेर दुःख पनि छैन। मैले मेरो जातिलाई बुझाउन सकिनछु, आफ्नै कमजोरी हो,' गणेश वर्तमानमा फर्के, 'त्यही भएर अहिले पनि आफूले जानेसम्मको सहयोग गरेको छु। विस्तारै बुझाउँदै जाने हो।'
गणेशले नेपालीभाषीका लागि गर्ने आफ्ना योजना सुनाउँदै थपे, 'नागरिकता नपाउने बाँकी गोर्खालीहरूको बर्मेली नागरिकता बनाउने। पुर्खादेखि उपयोग गर्दै आएका गोर्खालीका घरजग्गाका पूर्जा तिनलाई दिलाउने। नेपाली मन्दिर, पाटीपौवाका सार्वजनिक जग्गा गोर्खाली संस्थाका नाममा ल्याउने र हजारौंको संख्यामा रहेका लागुऔषध प्रयोगकर्ता गोर्खालीको पक्षमा वकालत गर्ने।'
'म त गोर्खालीका लागि मात्र लड्ने एड्भोकेट चाहिँ होइन नि, यहाँका सबै जातजातिका लागि लड्नुपर्छ,' उनले भने।
गणेशले सानैदेखि छात्रावासमा बसेर पढे। त्यसैले आफ्नो नेपाली भाषा राम्रो नभएको उनको ठम्याइ छ।
'दस कक्षा उत्तीर्ण गरेपछि मात्र नेपाली भाषा सिकेको हुँ। त्यसैले मैले बोलेको नेपाली मिलाएर मात्र लेखिदिनुहोला है,' पटक-पटक गणेश भन्दै थिए।
उनीसँग गफिएको दिन उनी 'नागरिकता हक' सम्बन्धमा कानुन व्यवसायीहरूको सम्मेलनमा कार्यपत्र पेस गर्न रंगुन आएका थिए। तीन घन्टा लामो गफपछि छुट्टिनुअघि मैले सोधेँ, 'अब अर्को साल आमचुनाव हुँदैछ। फेरि उम्मेदवारी दिने होला नि?'
गणेश जोशिए, 'राजनीतिको नशा एकपटक लागेपछि छाड्न गाह्रो रहेछ। अर्को चुनावमा मिल्दो पार्टीबाट टिकट पाइएन भने स्वतन्त्र भए पनि उम्मेदवारी दिने हो।'
'त्यसो भए अर्कोपटक सांसद गणेश बस्नेतलाई भेट्न पाइयोस् नि त,' शुभकानमा दिँदै गणेशसँग बिदा भएँ।
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)
यो शृंखलाका अन्य लेखहरू:
भिडिओ: दीपक भट्टराई