महिनावारी सहज बनाउन निःशुल्क प्याड दिने, छाउगोठ भत्काउने वा सफा बनाउने काम राम्रो हो, तर यी दीगो समाधानका उपाय होइनन्।
जबसम्म महिनावारीको चर्चा गर्दा मर्यादाको कुरा गरिँदैन तबसम्म यो अभियान अपूरो हुन्छ। नेपालमा सामान्यतया पाँच–सात वर्ष उमेर पुगेपछि केटीहरूले महिनावारीबारे थाहा पाउँछन्। उनीहरूको बुझाइ सकारात्मक हुँदैन। आफ्नी आमा वा दिदीहरू महिनावारी हुँदा घर-भान्साबाट टाढै बसेको, छोइछाइ बारेको उनीहरू देख्छन्। यसले महिनावारी हुनु भनेको पाप हो भन्ने उनीहरूको दिमागमा पर्छ।
धेरैजसो केटीहरू यस्तै सोचाइ बोकेर हुर्किन्छन् र जब आफू महिनावारी हुन्छन्, उनीहरू स्वत: महिनावारी बार्ने परम्पराको परिबन्धमा पर्छन्। यसले उनीहरू सानैदेखि आफूलाई पुरुषभन्दा सानो वा कमजोर ठान्न थाल्छन्।
जिन्दगीको एक चरणमा पुगेपछि यो सबै गलत हो भन्ने बुझ्न पनि सक्छन्। तर त्यति बेलासम्म उनीहरू यसबाट कहिल्यै नउम्किने गरी मानसिक रूपले बाँधिइसकेका हुन्छन्। उनीहरू चाहेर पनि आफ्नो व्यवहार फेर्न सक्दैनन्। यो कुरीति हो भन्ने थाहा हुँदाहुँदै लड्ने क्षमता उनीहरूसँग हुँदैन। ‘नाइँ म बार्दिनँ, यो गलत हो’ भनेर आवाज उठाउन सक्दैनन्।
यी सबैको कारण महिनावारीलाई मर्यादासँग जोडेर नहेरेकाले हो।
हाम्रा आमा–हजुरआमाले महिनावारी हुँदा प्याड पाएनन्। यसले समस्या निम्त्यायो होला, तर यो नै अहिलेको महिनावारी समस्याको समाधान होइन।
महिनावारी जैविक प्रक्रिया हो। यही कारण सृष्टि चलेको छ। हामीलाई भने दोष वा पापका रूपमा बुझाइन्छ। यस्तो सोच फेर्न शक्ति संरचनामै फेरबदल हुनुपर्छ। हिंसा र दुर्व्यवहार बढ्ने यस्तै सोचले हो।
मैले यसबारे धेरै अध्ययन गरेँ। देश–विदेशमा गएर कुरा गरेँ। यसबाट के थाहा भयो भने मर्यादित महिनावारी नभएसम्म कुनै समस्या सल्टिँदैन।
संसारमै सन् २०१४ सम्म कसैले महिनावारीबारे गम्भीर रूपले कुरा उठाएनन्। सन् २०१४ मा जेनेभामा मानवअधिकार परिषदले बल्ल यसबारे बहस सुरू गर्यो। त्यसमा पनि महिनावारी पहिलो मुद्दा थिएन। महिनावारी हुँदा महिलाले सुविधायुक्त चर्पी प्रयोग गर्न नपाएकाले सरसफाइको लक्ष्य हासिल हुन सकेन भनेर उक्त मुद्दा उठाइएको थियो।
जब विस्तारै महिनावारीको कुरा संवेदनशील रूपले उठ्न थाल्यो, त्यति बेला पनि यसलाई मर्यादित बनाउनेभन्दा प्याड दिने र गोठ भत्काउने कुरा मात्र चले। फोहोरसँग मात्र जोडेर हेरे, जुन आफैंमा गलत बुझाइ थियो।
गाउँतिर हाम्रा घर र छाउगोठको बनावट उस्तै छ। सफाइ पनि लगभग उस्तै हो। त्यसैले छाउगोठको सरसफाइको कुरा उठ्दासम्म महिनावारी मर्यादित हुँदैन। हाम्रो ध्यान छाउगोठमा बस्ने चलनै बन्द गराउनुमा केन्द्रित हुनुपर्छ। महिनावारी अशुद्ध हो भन्ने मान्यता नै गलत छ। त्यसलै उनीहरूलाई गोठमा राख्नुपर्छ, कुनामा बसाल्नुपर्छ, ओछ्यान छुट्याउनुपर्छ भन्ने मान्यता रहेसम्म महिलाको मर्यादा कायम रहँदैन।
महिलाहरूको निम्ति महिनावारीका पाँच दिन भनेर भाग लगाउनु पनि गलत हो। हामी सबैका लागि महिना भनेको तीस दिन नै हो। फेरि यो धर्म हो भन्नेहरू पनि छन्, वेद र गीतामा महिनावारी लेखेकै छैन। संस्कार भनेको फेरिन सक्छ। समाजलाई असर गरिररहेको संस्कार फेरिनैपर्छ।
हाम्रो समुदायमा महिनावारी सबैले बार्छन्, कसैले धेरै कसैले थोरै। कुनै जातमा खाना पकाउँछन् भने कुनैमा घरबाहिरै पठाइन्छ। कोही बारी छुँदैनन्, कोही भगवानबाट भाग्छन्। जबसम्म सबै जातजाति वा समुदायबाट यो प्रथा हट्दैन, तबसम्म सुदूरपश्चिमका दुर्गम गाउँबाट छाउगोठ भत्काएर मात्र केही हुँदैन। हामीले गलत संस्कारै भत्काउनुपर्छ।
दुई वर्षअघि बल्ल नेपाल सरकारले मर्यादित महिनावारीको कुरा उठायो। संसदबाट पास नभए पनि कुरा भने उठ्यो। महिनावारी दिवस पनि मनाइन थाल्यो। तर यसको विस्तार भएन। अझै पनि विदेशमा हामी छाउपडीकै देश भनेर चिनिन्छौं। अब हामी मर्यादित महिनावारीको देशका रूपमा चिनिनुपर्छ।
त्यही भएर हामीले मर्यादित महिनावारीबारे दक्षिण गोलार्द्धिय अभियान सुरू गर्ने भएका छौं। आगामी मे महिनाको २६, २७ र २८ मा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेका छौं। नेपालमा महिनावारीसम्बन्धी कार्यशाला नभएका होइनन्। तर विदेशी दातृ निकायको सहयोगमा मात्र गरेका छौं। के हाम्रो सरकार, संघसंस्था र हामी सबै मिलेर आफ्नै बलबुतामा यस्तो अन्तर्राष्ट्रिय सम्मेलन गर्न सक्दैनौं?