कक्षा ८ मा पढ्दै गरेकी अञ्जली प्रायः सबै विषयमा अनुत्तीर्ण हुन्थिन्। यो शृंखला कक्षा ४ देखि चलेको थियो।
स्कुलमा अञ्जली पढ्ने स्वभाव नभएकी वा ढिला पनि भनिन्थ्यो। अभिभावक दिक्क थिए। शिक्षक र स्कुलले यो अवस्थालाई कसरी समाधान गर्ने भनेर छलफल पनि गरे। तर समस्या ज्युँकात्युँ रह्यो।
अभिभावकले स्कुल फेर्ने निर्णय गरे। उनीहरूको खोज गुणस्तरीय स्कुल थियो जहाँ अञ्जलीको सबैथोक प्रगति होस्।
तर एक प्रश्न तेर्सियो — कस्तो होला त्यस्तो आदर्श स्कुल? कसरी थाहा हुन्छ स्कुल स्तरीय छ वा छैन भनेर?
यो एक प्रतिनिधि प्रश्न मात्र हो। धेरैले स्कुलको गुणस्तरलाई अमूर्त मान्छन् र यसको लेखाजोखा गर्न नसकिने भन्छन्।
तर के साँच्चै स्कुलको स्तर नाप्न वा जोख्न नमिल्ने हो र?
यो लेखमा यसैको विश्लेषण गर्नेछु। आशा छ, यसका तथ्यगत बुँदाहरूले स्कुल आफैलाई पनि मूल्यांकन गर्ने आधार दिनेछ र अन्यलाई स्कुलको स्तर आकलन गर्न सघाउ पुग्नेछ। र, अन्त्यमा अञ्जलीको यस अवस्थालाई के गर्नुपर्ने हो, त्यसको आधार दिनेछु।
स्कुलको स्तर हुन्छ र यो विभिन्न मानदण्ड प्रयोग गरेर लेखाजोखा गर्न सकिन्छ। तसर्थ यो पूरै अमूर्त होइन, यो गुणात्मक अध्ययनको भाग हो। तर स्तरीय स्कुलमा सबै विद्यार्थी सफल हुन्छन् भन्ने छैन।
यहाँ अर्को प्रश्न फेरि तेर्सिन्छ, स्तरीय स्कुलमा सबै विद्यार्थीको सफलताको सुनिश्चितता छैन भने कसरी स्कुल स्तरीय भयो त?
ओइसिडी र पिसाको अध्ययनले स्कुलको गुणस्तर र विद्यार्थी सफलताको सहसम्बन्ध तथ्यांक विन्दु ०.५ देखाउँछ। यो भनेको मध्यम तर अर्थपूर्ण सहसम्बन्ध हो। तथ्यांकशास्त्र अनुसार विन्दु १ ले पूर्ण सहसम्बन्ध देखाउँछ भने ० ले सहसम्बन्ध नभएको इंगित गर्छ।
तसर्थ स्कुलको स्तरले मात्रै विद्यार्थी सफलताको पूर्ण प्रत्याभूति दिँदैन। विद्यार्थी सफलताको अर्को महत्त्वपूर्ण पक्ष छ, त्यसलाई विद्यार्थीको शैक्षिक अनुभव भनिन्छ। यो भनेको विद्यार्थीको व्यक्तिगत सिकाइ अनुभव हो।
यहाँ दुई तत्वहरू रहे, पहिलो स्कुलको स्तरीयता र दोस्रो त्यहाँ विद्यार्थीको व्यक्तिगत सिकाइ अनुभव।
पहिला हेरौं गुणस्तरीय स्कुल नापजोखका मानदण्डहरू।
स्तरीय स्कुलका मानकहरूलाई सामान्यीकरण गर्दा यसका तीन आयामहरू अनुसन्धानले पहिल्याउँछ।
एक, शैक्षिक प्रणाली।
दुई, सिकाइको वातावरण।
तीन, खाका वा शैक्षिक रूपरेखा।
यसलाई यसरी बुझौं — यदि शैक्षिक प्रणाली इन्जिन हो भने सिकाइ वातावरण त्यस गाडीभित्रको इन्धन र हावाको सन्तुलन हो। खाका वा शैक्षिक ढाँचा भनेको च्यासिस, गियर इत्यादिको बनावट र गाडीको नियन्त्रणहरू हुन्। यी सबैको समन्वयमा गाडीले हामीलाई गन्तव्यमा पुर्याउँछ।
प्रणाली भन्ने शब्दले त्यस स्कुलको नीति, स्रोत र अभ्यासहरूलाई समेट्ने समग्र संरचनालाई जनाउँछ। यसले प्रभावकारी शिक्षण र सिकाइलाई सहज बनाउँछ।
यसभित्र स्पष्ट शैक्षिक उद्देश्यहरू, त्यसका मापदण्डहरू र जबाफदेयिता पर्छन्।
स्कुल प्रशासनको मूलभूत स्वरूप यसैमा रहन्छ। शैक्षिक लक्ष्यहरू र तिनका कार्यान्वयनका रणनीतिबीच समन्वय यसले गर्छ।
अर्को भाषामा भन्दा प्रणालीले प्रशासनको गन्तव्यको निर्धारण गर्छ वा स्तरीय स्कुलमा शैक्षिक स्तरका लागि प्रशासन उद्देश्यपूर्ण र परिभाषित लक्ष्यतर्फ उन्मुख हुन्छ। यसलाई स्कुलको मान्यता र शैक्षिक नीति हेरेर पहिल्याउन सकिन्छ।
प्रणाली भित्र पाठ्यक्रम र मूल्यांकन रहन्छन्। पाठ्यक्रमले विद्यार्थीले प्राप्त गर्न पर्ने ज्ञान, सीप र चरित्र निर्माणलाई निर्दिष्ट गर्छ र मूल्यांकनले विद्यार्थीका प्रगति निगरानी र शिक्षण प्रक्रियालाई मार्गदर्शन गर्छ। पाठ्यक्रमको स्तर र मूल्यांकनका सूचक हेरेर स्कुलको स्तरीयताको पहिचान गर्न सकिन्छ।
शिक्षक विकास र शिक्षकलाई दिइने टेवा पनि प्रणाली भित्र पर्छ। यसको अर्थ योग्य शिक्षकको भर्ना, निरन्तरको व्यावसायिक विकास र शिक्षण अभ्यासलाई सशक्त बनाउन परिचालन गरिने स्रोत र त्यस्ता कार्यको व्यवस्थापन हो।
भौतिक पूर्वाधारलाई पनि प्रणाली अन्तर्गत समेटिन्छ। यसमा कक्षाकोठाका आवश्यक संसाधन र सिकाइ अनुकूलको संरचना, कार्यगत बनावट, विद्यार्थी सुरक्षा पर्छन् जसलाई अवलोकन गरेर स्तरीयता आकलन गर्न सकिन्छ।
यस्तै गरी प्रणालीमा समुदाय र सरोकारवालासँगको सहकार्य जसमा विद्यार्थीको सिकाइलाई सहयोग दिने विद्यालय, परिवार र समग्र समुदाय बीचको सम्बन्ध रहन्छ।
यी सबै पक्षहरू एक अर्कासँग अन्तरसम्बन्धित छन् र प्रणालीको प्रभावकारिता यिनको समन्वयमा निर्भर गर्छ। उल्लेख्य के छ भने राम्रोसँग निर्माण गरिएको पाठ्यक्रम कार्यान्वयन गर्न सक्षम शिक्षक, आवश्यक स्रोतहरू र प्रभावकारी मूल्यांकन पद्धति चाहिन्छ। त्यस्तो समन्वय भएकालाई गुणस्तरीय स्कुल भनिन्छ।
गुणस्तरीय स्कुलहरूको अति नै महत्त्वपूर्ण अर्को मानक हो— सिकाइ वातावरण।
घाम, ठिक्क पानी, पोषणयुक्त माटो भएमा फूल आफै फक्रिन्छ। तिनको सन्तुलन नभए परिणाम अर्कै आउँछ। यही उदाहरणलाई सिकाइको वातावरणसँग दाँज्न मिल्छ।
शैक्षिक वातावरण भनेको सही बाह्य वातावरण सहितको भावनात्मक, सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक परिवेशको समग्रता हो, जसले सिकाइ र अध्यापनलाई स्वरूप दिन्छ।
शिक्षाविद जी. अर्थम्यानको अध्ययनले सुरक्षित, सफा, उज्याला कक्षाकोठा, सजिलै बस्न र दायाँबायाँ चल्न मिल्ने ठाउँ, पुस्तक, सिकाइ सामग्री उपलब्धता, शिक्षकको ध्यान पुग्न सक्ने कक्षा बनावट, प्रविधिको पहुँच र २० देखि २५ सम्म विद्यार्थी संख्या भएका कक्षाहरूमा विद्यार्थीहरूको शैक्षिक प्रदर्शन उच्च भएको देखाएको छ।
प्राज्ञिक, सामाजिक र भावनात्मक शिक्षाका लागि काम गर्ने संस्था 'क्यासेल' को अनुसन्धानले भावनात्मक सुरक्षा भएका स्कुलमा विद्यार्थी सहभागिता र व्यवहारमा सुधार आउने देखाउँछ। क्यासेलको खाकाले अपनत्व, विश्वास, भावनात्मक टेवा, विद्यार्थीका प्रयासलाई सम्मान र प्रोत्साहन दिने, असफलताको डर बिना खुला सोच र जिज्ञासालाई प्रेरणा दिने वातावरणलाई छुटाउन नहुने बताउँछ।
शिक्षक विद्यार्थी र सहपाठीबीच सकारात्मक सम्बन्ध हुने, समूहमा मिलेर बस्ने, सहकार्य गर्ने, शिक्षकको सहानुभूति, निष्पक्ष व्यवहार भएको वातावरणमा विद्यार्थीहरूको सफलता उच्च हुने अध्येता बिके हम्रे भन्छन्।
यस्तै युनेस्कोको अध्ययनले समावेशिता र समानताको वातावरण, भाषा, संस्कृति इत्यादिका विविधता स्वीकार गरिने, भेदभाव नभएको परिवेशमा विद्यार्थीको विकास तीव्र हुने देखाउँछ।
उपर्युक्त पक्षहरू स्तरीय विद्यालयका सामाजिक–भावनात्मक मानकहरू हुन्। तिनका अभ्यासका आधारमा विद्यालय गुणस्तरको निष्कर्ष निकाल्न सकिन्छ।
स्पष्ट शैक्षिक खाका भएकालाई गुणस्तरीय स्कुल भनिन्छ। यो स्तरीयताको तेस्रो आयाम हो। यसलाई स्कुलको शैक्षिक कार्यक्रम भनेर पनि चिनिन्छ। शैक्षिक कार्यक्रम बिना स्कुलहरू कहिल्यै पनि स्तरीय बन्दैनन्।
यसको गुदीमा पाठ्यक्रम संरचनाले के पढाइन्छ र कसरी अध्यापन गरिन्छ भन्ने निर्धारण गर्छ। यसले विषय ज्ञान, त्यसका कौशल र विषयहरूबीच ज्ञानको विकासलाई सुनिश्चित गर्छ। उदाहरणका लागि, यस भित्र आलोचनात्मक वा मौलिक सोच, रचनात्मक सिकाइ, सहकार्य (बिना प्रतिस्पर्धाको वातावरण) र प्रभावकारी सूचना आदानप्रदान पर्छन्।
यसपछि सिकाइ नतिजा पर्छ। यस अवस्थामा शिक्षकहरूले आफ्ना विषयका दक्षता स्पष्ट निर्धारण गर्छन्। यस भित्र उमेर अनुसारको उपयुक्त बौद्धिक विकास, चुनौतीका सन्तुलन इत्यादि रहन्छन्।
विद्यार्थीका सोचमा आएका परिवर्तनलाई सिकाइ नतिजाका आधारमा परिस्कृत गरिन्छ। पढाइलाई विश्वव्यापी मापदण्डसँग मेल गराइन्छ। विद्यालयको शैक्षिक कार्यक्रमले शिक्षा प्रक्रिया र ज्ञानको समग्रतालाई जोड्छ।
हाम्रो परिप्रेक्ष्यको कुरा गर्दा नेपालको पाठ्यक्रम विश्वस्तरमा कहाँ छ त्यसको जानकारी राखिन्छ र त्यसै अनुरूप स्तरीय स्कुलले यसलाई काँटछाँट र स्तरीकृत गर्छन्।
गुणस्तरीय स्कुलको केन्द्रमा अध्यापन रणनीति वा विधिशास्त्र आउँछ। यहाँ सिकाइ उद्देश्य र विद्यार्थी आवश्यकतासँग मेल खाने रणनीतिहरूका प्रयोग पर्छन्।
उदाहरणका लागि प्रत्यक्ष शिक्षण, परियोजना आधारित सिकाइ, विभेदित शिक्षण वा अन्वेषण वा जिज्ञासा आधारित शिक्षण जस्ता पक्षहरूलाई विद्यालयको शैक्षिक कार्यक्रममा कसरी संयोजन गरिएको छ भन्ने यसमा आउँछ।
शैक्षिक खाकाको अन्तिम तर महत्त्वपूर्ण पक्ष भनेको मूल्यांकनको रूपरेखा हो। र, बुझ्नुपर्ने कुरो सिकाइ उद्देश्य र शिक्षण विधिको प्रत्यक्ष सम्बन्ध हो।
शिक्षण एकतर्फ र मूल्यांकन अर्कोतर्फ भएमा शिक्षा प्रक्रिया अस्वाभाविक हुन्छ र उद्देश्यपूर्ण बन्दैन। उल्लेख्य के छ भने, धेरै स्कुलहरू शिक्षण एक तरिकाले गर्छन् तर त्यस सिकाइ अनुसारका मूल्यांकन प्रक्रिया पाखा लगाउँछन्। यस अवस्थामा ती स्कुलले सोचेको जस्तो परिणाम ल्याउन सक्दैनन् र असफल बन्छन्। स्तरीय स्कुलले यो पक्षलाई उपेक्षा गर्दैनन्।
स्तरीय स्कुलले पाठ्यक्रम, शिक्षण सिकाइ र मूल्यांकन बीचको सम्बन्ध सुनिश्चित गर्छन्। यो भनेको सिकाइका उद्देश्य, प्रक्रिया र मूल्यांकनको तादात्म्यता हो।
उपर्युक्त तत्वहरू केलाउँदा स्कुलको स्तर थाहा पाउन सकिन्छ। स्मरण रहोस्, तिनले विद्यार्थीको सफलता जनाउँदैनन्। विद्यार्थी सफलता भनेको स्कुलको स्तरीयताको समग्रताले उनीहरूको सिकाइ अनुभवमा पार्ने प्रभाव हो।
या यसरी बुझौं, स्तरीय स्कुलले विद्यार्थीहरूलाई सही मञ्च प्रदान गर्ने मात्र हो। स्तरीय स्कुलको मानदण्डको उद्देश्य विद्यार्थीको सिकाइ अनुभवलाई सुदृढ गर्नु हो।
स्तरीय सिकाइ अनुभवका लागि स्कुलको अहम भूमिका रहन्छ। तर अञ्जलीजस्ता संघर्षरत विद्यार्थीका लागि उनको सिकाइ अनुभव नै सफलताको मुख्य कारक हुन्छ।
स्तरीय सिकाइका धेरै पक्षहरू छन्, तीमध्ये प्रमुख दुई हुन् —
पहिलो, स्वयं विद्यार्थीको क्रियाशील सिकाइ र सहभागिता।
दोस्रो, शिक्षकको प्रभावकारी भूमिका।
क्रियाशील सिकाइले विद्यार्थीलाई शिक्षा प्रक्रियामा ल्याउँछ र ती प्रक्रियालाई कुशल शिक्षकले प्रभावकारी कार्यान्वयन गर्न सक्छन्। यसका लागि अञ्जलीको आवश्यकता अनुसार स्कुलले शिक्षण रणनीतिको परिवर्तन, शिक्षकको समानुभूतिपूर्ण व्यवहार र अञ्जलीको नियमित अभ्यास प्रमुख छन्।
सहसम्बन्धको तथ्यांक केलाउँदा प्रभावकारी शिक्षक र विद्यार्थी सफलताको विन्दु ०.७ सम्म हुने अध्येता हन्सेक बताउँछन्। त्यस्तै स्कुलको स्तरीय परिवेशको विन्दु ०.६ सम्म रहेको तथ्यांकले देखाउँछ।
र, अन्त्यमा स्कुलको शैक्षिक नेतृत्व (शैक्षिक प्रशासन) र विद्यार्थी सफलताको विन्दु स्वरेसको अध्ययनमा ०.८ सम्म पाइएको छ।
पुनश्चः तथ्यांकशास्त्र अनुसार विन्दु १ ले पूर्ण सहसम्बन्ध देखाउँछ भने ० ले सहसम्बन्ध नभएको संकेत गर्छ।
समग्रतामा अनुसन्धान भन्छ, स्कुलको स्तरLयता र विद्यार्थीको सिकाइको स्तर नै स्कुल र विद्यार्थी सफलताका कारण हुन्। तिनलाई तीन प्रमुख तत्वहरूले मूर्त रूपमा निर्धारण गर्छन्— प्रभावकारी शिक्षक, स्कुलमा सिकाइको वातावरण र स्कुलको शैक्षिक नेतृत्व जसले शिक्षा प्रणाली र यसको रूपरेखा जीवन्त बनाउँछ।
***
(लेखक प्रविज्ञ रेग्मी एजुकेसन फर द नेक्स्टजेन र न्यू मिलेनियम स्कुल इमाडोल, ललितपुरका संस्थापक अध्यक्ष हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)