पनौती कथा शृंखला: आमन्त्रित लेख
सम्पादकीय नोट: हामीले सहरको कथा शृंखलाअन्तर्गत काठमाडौंबाट ३२ किलोमिटर दुरीको पनौतीबारे अहिलेसम्म ११ वटा स्टोरी प्रकाशन गरिसकेका छौं। यो शृंखलाको अन्तिम स्टोरीका रूपमा फ्रान्सेली मानवशास्त्री जेरार्ड तोफाँलाई आफ्नो अनुभव बाँड्न हामीले आग्रह गरेका थियौं। पनौतीमाथि लामो अनुसन्धान गरेका तोफाँ हाल फ्रान्सेली राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्र (सिएनआरएस) मा एमेरिटस रिसर्च डाइरेक्टर छन्। उनले अंग्रेजीमा लेखेर पठाएको लेख नेपालीमा अनुवाद गरी प्रकाशन गरेका छौं।
...
पनौती सहरसँग मेरो पहिलो परिचय बेलायती संरक्षण वास्तुविद् जोन स्यान्डेले गराएका थिए।
सन् सत्तरी दशकमा युनेस्कोले काठमाडौंको हनुमानढोका दरबार जिर्णोद्धार गर्दै थियो। त्यसको जिम्मेवारी जोन स्यान्डेले सम्हालेका थिए। उनी त्यति बेला काठमाडौंमै बसोबास गर्थे।
यो सन् १९७६ को कुरा हो। म नेपाल र काठमाडौं उपत्यकासँग परिचित भइसकेको थिएँ। सन् १९७०–७१ मा म फ्रान्सेली दूतावासमा आबद्ध थिएँ। त्यसपछि करिब एक वर्ष मैले ललितपुरको दुर्गम नेवार बस्ती प्याङ गाउँमा बिताएँ।
त्यो गाउँमा धान खेती गर्ने ज्यापु समुदायको बसोबास थियो। उनीहरू धान, चामल लगायत अन्न नापतौल गर्न बाँसको डालो पनि बनाउँथे। जाडो याममा काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा गएर अन्नको बदलामा त्यस्ता डालो साट्ने गर्थे। त्यो गाउँको नाउँ नै त्यही डालोका आधारमा राखिएको थियो। नेपाल भाषामा त्यसरी अन्न मापन गरिने बाँसको भाँडोलाई 'प्याङ' भनिन्छ।
मैले प्याङ गाउँमै बसेर फ्रान्सको पेरिस विश्वविद्यालयबाट सामाजिक मानवशास्त्रमा विद्यावारिधिको शोधपत्र तयार गरेँ। त्यसपछि सन् १९७५ मा फ्रान्सेली राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्रमा सामेल भएँ।
प्याङ गाउँमा बसेर स्थानीय जनजीवन अध्ययन गर्ने क्रममा मैले मेरा विद्यार्थी र शिक्षकहरूबाट नेपाली र नेपाल भाषा पनि सिकेँ। म त्यो बेला नेपाल भाषा खररै बोल्थेँ।
जोन स्यान्डेसँग पहिलोपटक पनौती पुग्दाको घटना मलाई राम्ररी याद छ। हामी पनौतीमा भाडामा बस्न घर खोज्दै थियौं। त्यहाँका एक स्थानीयले हामीलाई सहरको तल्लो भाग (रोशी र पुण्यमती नदीको संगमस्थल नजिकै) मा कर्माचार्य परिवारको घर देखाउन लगे।
त्यो घरकी घरबेटी र उनकी छोरीबाट हामीले भव्य स्वागत पायौं। उनीहरूले हामीलाई थरीथरीका नेवार परिकार र एकदमै कडा ऐला (चामलको रक्सी) खुवाए र घर भाडामा दिन पनि राजी भए।
त्यो घरको एउटा विशेषता के भने, त्यहाँबाट तीनतले इन्द्रेश्वर महादेव मन्दिर र मन्दिरका पुजारीहरू बस्ने जंगम मठको दृश्य प्रस्टै देखिन्थ्यो।
हाम्रो घरको भुइँतलामा स्वास्थ्य चौकी थियो। सँगै तरकारीको बगैंचा थियो। मलाई अध्ययन, अनुसन्धान गर्न त्यो ठाउँ एकदमै उपयुक्त थियो। पनौतीको आधारभूत अध्ययन गर्न तीन जना युवा फ्रान्सेली वास्तुविद् मसँग जोडिने भइसकेका थिए।
घरको चाँजो मिलाएपछि हामी पनौतीका विभिन्न ठाउँ र त्यहाँका विभिन्न संरचनाको वास्तु अध्ययनमा केन्द्रित भयौं। भिन्सेट ब्यारे नामका एक जना वास्तुकार मेरा पुराना साथी थिए। केही वर्षअघि उनी प्याङ गाउँको नक्सा बनाउने काममा मलाई सहयोग गर्न आएका थिए।
म पनौती सर्दा बर्खाको बेला थियो। गोदावरीबाट एक जना खाना पकाउने मान्छे र एक जना भरियाको साथमा म उकालो-ओरालो बाटो हिँडेर पनौती पुगेको थिएँ। हामीलाई त्यहाँसम्म पुग्ने बाटो ठ्याक्कै थाहा नभएकाले बीचमै हराएका थियौं।
त्यस दिन झमझम पानी पर्दै थियो। हामीले बाटोमा पर्ने तामाङ घरमा एक रात काट्यौं र भोलिपल्ट बिहान मात्र आफ्नो गन्तव्यमा पुग्यौं। काठमाडौंबाट बसमा गएका तीन जना साथीहरू अघिल्लो दिन नै पनौती पुगिसकेका थिए। उनीहरूलाई भेटेपछि हामीले तत्काल आफ्नो काम सुरू गर्यौं।
त्यति बेला पनौतीको नक्सा बनेको थिएन। केही स्थानीयले हामीलाई त्यहाँका ठाउँहरूको विस्तृत नक्सा बनाउन मद्दत गरे। त्यसनिम्ति आधारभूत काम गर्न हामीलाई जम्माजम्मी १० दिन लाग्यो। यस क्रममा हामीले सहरका हरेक कुना नाप्यौं।
म यो भन्न जरूरी ठान्छु, उक्त अनुसन्धानमा सुरूआतदेखि नै पनौतीका बासिन्दाले हामीसँग निकै सहयोगी र मैत्रीपूर्ण व्यवहार गरे। उनीहरूको सहयोग हाम्रो अनुसन्धानका सबै चरणमा जारी रह्यो। सायद त्यो अनुसन्धानबाट आफ्नो ठाउँलाई केही फाइदा पुग्छ भन्ने अनुमान उनीहरूले गरिसकेका थिए।
उनीहरूको अनुमान साँचो भयो। हामीले अनुसन्धान गरेको केही समयपछि सन् १९९० दशकमा फ्रान्सेली परराष्ट्र मन्त्रालयको सांस्कृतिक शाखाले नेपालको पुरातत्व विभागको सहयोगमा नाजुक अवस्थामा पुगेका पनौतीका मन्दिरहरू जिर्णोद्धार गर्न थाले। त्यसबाहेक स्कुल, सडकका पेटीहरूको निर्माण, भूमिगत पाइपलाइन जडान र कार्यान्वयन लगायत विभिन्न काम उनीहरूले गरे। स्थानीय युवालाई प्राविधिक क्षेत्रका लागि अनुदान पनि दिइयो।
फ्रान्सका पूर्वसांसद रोबर्ट ले फल यो काममा निकै सक्रिय थिए। उनको सक्रियताले पनौती फ्रान्स र नेपाल सहयोगको प्रतीक बन्यो।
यहाँका केही मान्छेले पनि हामीसँग महत्वपूर्ण र फलदायी सहकार्य गरे। म अनन्त मधिकर्मी, चन्द्रेश्वरी बुद्धाचार्य (शाक्य), इन्द्रेश्वर महादेव मन्दिरका तत्कालीन पुजारी शिव जंगम र विश्वनाथ ताम्राकारलाई सम्झन चाहन्छु।
मलाई अझै याद छ, अनन्त मधिकर्मीसँग मैले यो सानो सहरका सबै घर सर्वेक्षण गरेको थिएँ। हामीले पनौतीको जनसंख्या र प्रत्येक परिवारको आर्थिक तथ्यांक संकलन गरेका थियौं। उनीहरूको धान खेतीको क्षेत्रफल (रोपनीमा) कति हो, जग्गा आफ्नै स्वामित्वको हो कि भाडामा लिइएको हो भन्ने हाम्रो सर्वेक्षणमा समावेश थियो।
मैले त्यसपछिका धेरै वर्ष पूर्ण रूपले पनौती सहरको अध्ययन अनुसन्धानमै बिताएँ। आफूलाई त्यहाँको सामाजिक र धार्मिक संरचनामा केन्द्रित गरेँ। मैले भाडामा लिएको घर निकै सहज थियो। घरबेटीहरू आफ्नै परिवारको सदस्यजस्ता थिए। काठमाडौंका केही पाहुना वा साथीहरूलाई म खाना खान वा सप्ताहन्तको छुट्टी बिताउन त्यहाँ बोलाउन सक्थेँ। हामीलाई पनौतीबारे जानकारी दिने विभिन्न स्थानीयसँग काम गर्न र उनीहरूलाई चिया खुवाउन पनि यो ठाउँ उपयुक्त थियो।
दिउँसोको समय म त्यहाँका विभिन्न चिया पसलमा मान्छेसँग विभिन्न विषयमा कुराकानी गरेर बिताउँथेँ। हरेक रात म खोला किनार र बजार क्षेत्रभित्रको सहर घुम्न निस्कन्थेँ। मैले अनन्तसँग वरपरका गाउँ र धार्मिक स्थलहरूमा निकै स्मरणीय यात्राहरू गरेँ।
सन् १९७७ देखि १९८० सम्मको नेपाल बसाइमा मैले यो ठाउँमा लगभग एक वर्ष बिताए। अन्त्यमा समुदायमा काम गर्ने सबै व्यक्ति, स्थानीय नेवार र विशेष गरी जंगमहरूलाई मैले भोज खुवाएँ। उक्त अवसरमा मैले नजिकैको गणेश भगवानलाई बोका बलि दिनुपरेको थियो।
यसअघि ललितपुरस्थित प्याङ गाउँको मेरो अध्ययनले निकै प्रशंसा पाएको थियो। पनौती अध्ययनपछि सन् १९८२ मा मैले पेरिस विश्वविद्यालयमा प्रस्तुत गरेको मानव विज्ञानसम्बन्धी सामग्रीबाट दोस्रो विस्तृत विद्यावारिधि हासिल गरेँ। यो उत्कृष्ट खालको 'डक्टरेट'लाई हामी फ्रेन्च भाषामा 'डक्टरेटेड'इटाट' भन्छौं। (यस्तो खालको डक्टरेट केही समयपछि पाठ्यक्रमबाटै हटाइयो)।
फ्रान्सेली वास्तुकारहरूसँग मिलेर फ्रान्सेली भाषामा लेखिएको हाम्रो साझा किताब 'पनौती: युनेभिल औ नेपाल' (पनौती: अ टाउन इन नेपाल) सन् १९८१ मा पेरिसमा प्रकाशन भयो। यो किताब पनौतीको इतिहास, सामाजिक संगठन, ठाउँको प्रयोग, घरेलु र धार्मिक वास्तुकलामा केन्द्रित छ। बज्र पब्लिकेसनले हालै यसको प्रतिकृति संस्करण प्रकाशित गरेको छ। दुर्भाग्यवश, यो किताब अझै अंग्रेजी वा नेपालीमा अनुवाद गरिएको छैन।
सन् १९७६ मा पनौती एक बहुजातीय समुदाय थियो जहाँ लगभग २ हजार ९ सय बासिन्दाको गणना हामीले गरेका थियौं। तीमध्ये ठूलो जमात (९७ प्रतिशत) नेवार समुदाय थिए। यो एउटा महत्वपूर्ण बजार केन्द्र र धेरै संख्यामा पसलहरू भएको सानो ऐतिहासिक सहर थियो। वरपरका गाउँलेले उनीहरूलाई आवश्यक पर्ने लगभग सबै सामग्री यहाँ किन्न सक्थे।
सहरको प्रवेशद्वार अर्थात् मानेश्वरी (बाराही) मन्दिर नजिकैको बजार पहिले नै प्राथमिक स्वरूपमा थियो। त्यसपछिका वर्षहरूमा बजार गतिविधिलाई केन्द्रबाट परिधिमा पुनर्निर्देशित गर्दै यो सहर नाटकीय रूपमा विकसित भयो।
मेरो विचारमा पनौती सहरलाई दुई मुख्य आधारमा विश्लेषण गर्न सकिन्छ- मण्डल संरचना (ब्रह्माण्डीय आकार) र सामाजिक–आर्थिक परिवर्तन।
पनौतीको सामाजिक-आर्थिक परिवर्तन झल्काउने गरी मैले भर्खरै प्रशस्त फोटोहरू समावेश भएको किताब 'पनौतीः पास्ट एन्ड प्रिजेन्ट (१९७६–२०२०)' अर्थात् 'पनौतीः विगत र वर्तमान (१९७६–२०२०)' प्रकाशित गरिसकेको छु।
यो लेखमा म पनौतीको मण्डल संरचनामा केन्द्रित हुन चाहन्छु।
सहरको त्रिकोणीय आकार त स्पष्टै छ। पनौती दुई नदीको संगममा अवस्थित छ- उत्तरमा पुण्यमती र दक्षिणमा रोशी। त्रिभुजको माथिल्लो भाग पूर्वतिर फर्किएको छ। तीनतले ब्रह्मायणी मन्दिरमुनि उत्तरबाट बग्ने तेस्रो नदी (भूमिगत र अदृश्य) भेटिन्छ भन्ने विश्वास गरिन्छ। यो लुकेको तेस्रो नदीले यो स्थानलाई झन् पवित्र बनाएको छ।
त्रिवेणी (तीन नदीको संगम) भनिने धार्मिक स्थल यो ठाउँमा पाइन्छ। यहाँ धेरै धार्मिक स्मारकहरू पनि भेटिन्छन्। यस महत्वपूर्ण धार्मिक संगममा हरेक बिहान र साँझ मानिसहरू पूजापाठ गर्न आउँछन्। वरपर गाउँका बासिन्दा दाहसंस्कार गर्न पनि आउँछन्।
त्रिवेणी संगमले पनौतीलाई एक पवित्र तीर्थस्थल बनाएको छ, जुन मध्य–नेपाल र उत्तरी भारतमा समेत परिचित छ। प्रत्येक बाह्र वर्षमा यहाँ माघ महिनामा मकर मेला लाग्छ। यस अवसरमा हजारौं तीर्थारूले तीन नदीको संगममा नुहाएर पाप पखाल्छन्। मैले दस वर्षअघि 'सिन एन्ड सिनर्स' (ब्रिल, २०१२) किताबमा यो पर्वबारे वर्णन गरेर लामो लेख लेखेको थिएँ।
स्थानीय बासिन्दाका अनुसार यो सहर माछा आकारमा बसेको छ। तेह्रौं शताब्दीमा नेवार राजकुमारी बिरमा देवीले बनाएको र जंगम पुजारीहरूले सञ्चालन गरेको इन्द्रेश्वर महादेवको मुख्य मन्दिर यही धार्मिक संगमसँग सम्बन्धित छ। मन्दिरबाहिर हिन्दु पौराणिक कथाका पात्रहरूको धार्मिक आकृति भएका प्रभावशाली टुँडालहरू छन् जसले यो मन्दिर निकै पुरानो हो भन्ने प्रमाण दिन्छ।
सन् १९७७ मा हामीले पनौतीका बालबालिकालाई उनीहरूले कल्पना गरेअनुसार सहरको नक्सा बनाउन आग्रह गरेका थियौं। सबैले आफ्नो ठाउँलाई त्रिभुज आकारमा कोरेका थिए। एक जनाले त्रिकोणको चुच्चो तलतिर पारे। उनीबाहेक सबैले नक्सामा त्रिवेणीलाई माथितिर र उत्तरतिरको सहरलाई पहाडको रूप दिए।
तर संरचना मात्रै सहर बुझ्न पर्याप्त छैन।
सन् १९७० दशकमा पनौतीको बाहिरी भागमा हिन्दु–बौद्ध धार्मिक परम्पराअनुसार अष्ट (आठ) मातृकालाई समर्पित गरी आठ देवीका मन्दिर स्थापना गरिएका थिए। यी देवीको आफ्नो निश्चित ठाउँ हुन्छ। उनीहरूले सहरलाई रोग र खराब आत्माबाट बचाउँछन्। नेपाल सम्बतको पात्रोअनुसार विशेष दिनहरूमा ती आठ देवीहरूको पूजा हुन्छ। यी आठ धार्मिक सम्पदामध्ये सबभन्दा महत्वपूर्ण ब्रह्मायणी मन्दिर हो। यो मन्दिर सहरका विपरीत किनारमा नदीहरूको संगम अगाडि छ।
सहरबाहिरको धार्मिक घेराको केन्द्रमा ठूलो खुला ठाउँ छ जसलाई स्थानीयले लायकू (राजदरबार) भन्छन्। यहाँको एक भाग प्राचीन शक्ति र मल्ल राजाहरूको संरक्षक देवी मानिने तुलजा भवानीमा समर्पित छ। यहाँ हरेक दसैंमा पूजाआजा हुन्छ। हाल यो क्षेत्रमा नेपालको पुरातत्व विभागले पुरातात्विक अनुसन्धान गरिरहेको छ।
मध्यकालीन युगमा केही समय पनौती स्वतन्त्र वा अर्धस्वतन्त्र राज्य थियो। यहाँको नेवार बस्तीलाई माथिल्लो (थने) र तल्लो (क्वने) भाग भनेर नदीको दिशाअनुसार छुट्याइएको थियो। यो विभाजन सहरको दरबारलाई नै केन्द्र बनाएर गरिएको छ।
यो ज्यामितीय संरचना र ब्रह्माण्डको आठ दिशामा आठ मन्दिरहरूले घेरिएको केन्द्रले पनौतीलाई मण्डल आकारको धार्मिक रेखाचित्रको रूप दिन्छ। यसले ब्रह्माण्डको सूक्ष्म प्रतिनिधित्व गर्छ। यी आठ देवीहरूको तान्त्रिक पुजारीका रूपमा रहेका कर्माचार्यहरूसँग अझै पनि ब्रह्माण्डीय संरचनाको स्पष्ट धारणा छ।
मल्ल शासकहरूले मध्यकालीन समयमा राज्यको दायरा र ब्रह्माण्डको सूक्ष्म छवि पनौतीमा उतारेका थिए। यस आधारमा पनौतीलाई भक्तपुरको अहिलेको स्वरूपको सानो रूप मान्न सकिन्छ। जर्मन अनुसन्धाताहरू (कोल्भर र गुत्सो) ले भक्तपुर र पनौतीको धार्मिक स्वरूपसँग सम्बन्धित समान रूपरेखा पत्ता लगाएका छन्।
मैले मेरो अनुसन्धानमा देखाएअनुसार, सहरको मण्डल संरचनाले पनौतीको धार्मिक महत्व उजागर गरेको छ। यहाँ मनाइने प्रमुख धार्मिक पर्वहरू खासगरी दसैं र मुख्य जात्रा (पर्व वा यात्रा) को समयमा अझै प्रकाशमा आउँछ। त्यो मुख्य पर्व हो ज्या पुन्हि अर्थात् जेष्ठ पूर्णिमा जुन वर्षा यामको ठिक अगाडि मनाइन्छ।
पनौतीको पुरानो स्वरूप झल्काउने तस्बिरहरू। यी तस्बिर जेरार्ड तोफाँले खिचेका हुन्।