यो लेखलाई तपाईंहरू समीक्षा वा निबन्ध जे पनि भन्न सक्नुहुन्छ। मेरो प्रयास चाहिँ पछिल्ला महिना हेरेका केही नेपाली फिल्ममा नेपालको सत्तरी दशक कसरी झल्कियो भन्नेबारे थोरै प्रकाश पार्नु हो।
यो एउटै दशकको मात्र कुरा होइन। जसरी देवघाटमा मिसिएर नारायणी बन्नुअघि सातै गण्डकीहरू धेरैवटा पाखापर्वत, फाँट र जंगल यात्रा गरेर आइपुगेका हुन्छन्, त्यसैगरी एउटा दशक पनि त्यसअघिका वर्षहरूको लामो र दुष्कर यात्रा पार गरेर आइपुगेको हुन्छ। पचास र साठी पार नगरी सत्तरी आइपुग्दैन।
यो लेखमा यी फिल्मको व्यापारबारे चर्चा गरिने छैन। किनभने, व्यापार खासमा उद्योग, निर्माता र वितरकसँग बढी सम्बन्धित कुरा हो, दर्शकसँग होइन। दर्शकलाई फिल्मको स्वाद र त्यसले आफूसँग गर्ने संवादको बढी अर्थ हुन्छ, त्यो फिल्म कति जनाले हेरे वा हेरेनन् भन्ने होइन।
म यो लेखमा यी फिल्मले नेपाली फिल्मको कस्तो बाटो बनाइरहेका छन् वा यी कुन दिशामा जानुपर्ने थियो तर यी गए कता भन्नेमा पनि जाने छैन। त्यो कुनै अर्कोपटक छलफलको विषय बन्ला।
नेपाली समाजको यथार्थलाई कुनै न कुनै अंश वा भागमा देखाउने प्रयास फिल्महरूले गर्दै आएका छन्। नेपालमै निर्माण भएको नेपाली भाषाको पहिलो फिल्म 'आमा' देखि अहिले हलमा लागिरहेको 'झिँगेदाउ' सम्मले त्यो प्रयास गरेकै छन्।
हरेक फिल्म निर्माणको उद्देश्य, फिल्मले उठाउने विषय, त्यसमा प्रयुक्त मसला वा गीत-संगीत फरक हुनसक्छ। जस्तै, 'आमा' को उद्देश्य थियो– भर्खरै देशमा स्थापना गरिएको पञ्चायती व्यवस्था किन उपयुक्त छ भनेर जनतालाई सन्देश दिनु। यादव खरेलको 'भानुभक्त' को उद्देश्य थियो– आदिकवि भानुभक्तको जीवनबारे प्रकाश पार्नु। र, किशोर रानाको 'सीमारेखा' को उद्देश्य थियो– गोर्खामा द्रव्य शाहले दौड जितेर होइन, षड्यन्त्रको बलमा सत्ता कब्जा गरेका थिए भन्ने 'वैकल्पिक सत्य' स्थापित गर्नु।
प्रत्येक फिल्मले आफ्नो कथा, तर्क र पक्षलाई कुन स्तरको अतिरञ्जनाका साथ प्रस्तुत गर्छ भन्ने पनि फरक हुन्छ। यहाँ मैले उदाहरणका लागि लिएका फिल्महरूलाई कम अतिरञ्जित गरिएका फिल्म मान्न सकिन्छ। यिनले आफ्नो कथा यथार्थपरक शैलीमा दर्शाउने प्रयास गरेका छन्। 'लार्जर देन लाइफ' शैलीमा जाने फिल्महरूले अतिरञ्जनाको पहाड खडा गरिदिन्छन् जसले यथार्थको मैदान छेकिदिन सक्छ। कथा भन्ने त्यो पनि एउटा शैली हो, धेरै मानिसले रूचाएको शैली। यी सिनेमाले यथार्थको पुनःप्रस्तुति गर्ने भएकाले यो यथार्थ नै त होइन तर यथार्थ नजिक भन्न सकिन्छ।
दुई–दुईपटकको लकडाउन र 'सिनेमाबन्दी' पछि आएका फिल्महरू 'चिसो मान्छे', 'दोख', 'पानीफोटो', 'प्रकाश', 'राधा' र 'ऐना झ्यालको पुतली' हेर्ने मौका पाइयो। हुन त यसबीच 'प्रेमगञ्ज' र 'झिंगेदाउ' पनि हेरियो। यी दुई फिल्मलाई शैलीगत र विषयगत भिन्नताका कारण यसमा सामेल गरिएको छैन।
अघिल्ला छ फिल्मका माध्यमबाट वर्तमान नेपाली समाज कस्तो देखिँदो रहेछ? समाजको मुख्य प्रश्न के रहेछ र हाम्रा कलाकारहरू कुन विषयमा घोत्लिएका रहेछन् भन्ने बुझ्ने प्रयास म यो लेखमार्फत् गर्दैछु।
यो न सम्पूर्ण नेपाली फिल्मको व्याख्या हो न नेपाली समाजको। एउटा निश्चित अवधिभित्र आएका केही फिल्मलाई आधार मानेर त्यसको दर्पणमा मात्रै समाजलाई हेर्ने प्रयास गरिएको हो। यो लेख त्यसभित्र सीमाबद्ध छ। नेपालमा लोकप्रिय भएका फिल्म श्रृंखलाहरू 'कबड्डी', 'लुट', 'जात्रा' र 'छक्कापञ्जा' बारे चाहिँ अर्कोपटक।
यहाँनेर तपाईंहरूलाई सम्झाइहालौं, यो लेखमा मैले हेरेका फिल्मका विषय, चरित्र, अंश र प्रस्तुतिबारे चर्चा हुने भएकाले यदि तपाईंले यी फिल्म हेर्नुभएको छैन र यसबारे थाहा नदिइयोस् भन्ने चाहनुहुन्छ भने सावधान हुनुहोला– यो लेखमा त्यो गल्ती गरिएको छ।
पचासको दशकको एउटा बालक। ब्राह्मण–क्षत्री परिवारको। रक्सीको लतमा फसेर आफ्नो पारिवारिक जिम्मेवारीबाट विमुख भएको बाउ। बाउको पनि काम आफैंले सम्हालिरहेकी आमा। माध्यमिक शिक्षाका लागि घर छाडेर जाने तयारीमा रहेकी दिदी। दिदीको पढाइका लागि खर्च उठाउन जद्दोजेहाद गरिरहेकी आमाको संघर्ष। आफ्नो प्रतिभा संसारलाई देखाएर केही नाम कमाउने लालसामा रहेकी छोरी। र, यी सबबीच चकचक गर्दै, रमाउँदै, घुर्क्याउँदै, साथीसँग नयाँ नयाँ क्षेत्र (कहिले फिल्म हेर्न जाने त कहिले भागेर काठमान्डू गएर पैसा कमाउने चाहना) मा डुलिरहेको केटा। नेपालको पहाडी इलाकाका प्रायः गाउँका बालकहरूको जीवन यो कथासँग मिल्न सक्छ (बाबुको चरित्र चाहिँ अपवाद हुनसक्छ)।
यी पात्र धेरैका स्मृतिमा थिए। किनभने, यी पात्रको जीवन धेरैले आफैं जिएर आएका हुन्। यिनलाई टपक्क टिपेर सुजित बिडारीले बनाइदिए, 'ऐना झ्यालको पुतली'। यो फिल्म हेर्दा मलाई आफ्नै बाल्यकालमा पुगेर फर्किएजस्तो लाग्यो।
यो फिल्मले मोटामोटी पचास–साठीको दशकमा औसत पहाडी ब्राह्मण-क्षत्री परिवारको चित्रण गर्छ। यो फिल्मको ऐनाबाट हेर्दा देखिन्छ– कहिले समाज त कहिले आर्थिक अवस्था र कतै अभिभावकमा रहेको न्यूनआत्मविश्वासका कारण कति 'दिदी' हरूका इच्छा अकालमै बलि चढे। कति आमाहरूले बाबु बनेर छोराछोरी हुर्काए, बढाए। यसका लागि श्रम मात्र होइन, गहना पनि बेचे।
पाठ्यपुस्तकबाहेकका सूचना र मनोरञ्जनका स्रोतसम्म पुग्न कति सकस थियो। फिल्म हेर्न र मुना पत्रिकाका लागि उनीहरूले गरेको संघर्षले त्यसलाई देखाउँछ।
पचासको दशकको यही बालक मकवानपुर–चित्लाङतिरको रहेछ भने ठूलो भएपछि उसको जीवन कस्तो होला? अथवा स्याङ्जामा हाइस्कुलमा पुग्दा उसको जीवनमा के-के आइपर्ला? ऊ सिन्धुपाल्चोकतिरको रहेछ र राजनीतिको चक्करमा परेर भोजपुरतिर उकालो लाग्यो भने कस्तो घनचक्करमा फस्ला? यी सबैभन्दा अलग त्यो युवक जुम्लाको रहेछ भने? र, उसले कोरोना कालमा लकडाउनसम्म झेल्नुपरेछ भने उसको जीवनमा कस्ता कस्ता मोड आउलान्? यो कल्पनाको ऐनामा हेर्दा त्यो बालकको युवावस्था कस्तो देखिएला?
सुवर्ण थापा निर्देशित सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने र सौगात मल्लद्वारा मुख्य भूमिकामा अभिनित 'राधा' मकवानपुरको ग्रामीण पहाडमा आफ्नो पतिको सम्झना समेटेर घर धानी बसेकी युवती राधाको कथा हो।
यो कथामा पचासको दशकको बालक ठूलो भएर गाडी चालक भएर युवतीको जीवनमा आएको छ। त्यसपछि ऊ गायब हुन्छ। यो गायब युवकले आफ्ना पछाडि गर्भवती श्रीमतीलाई ठूलो दु:खमा छाडेर गएको छ। कतै रोजगारी त कतै राजनीतिका लागि घरबाट गायब हुने युवाका पत्नीहरूको अवस्था, तिनको संघर्ष, साहस र हिम्मतलाई 'राधा' ले सुन्दर ढंगले प्रस्तुत गर्छ।
यो फिल्मको ऐनाबाट हेर्दा नेपाली समाज धेरै सहयोगी देखिँदैन। युट्युब च्यानल चलाउने एक दलित युवाले मात्रै ती युवतीको खोजमा साथ दिन्छ। बाँकी उनको नजिकको दाबी गर्नेले नै पैसाको मामला आएपछि उनलाई आक्षेप लगाउन पछि पर्दैन।
यसबाट हेर्दा नेपाली समाज समृद्ध पनि देखिँदैन। थोरै पैसाले मानिसको जीवनमा ठूलो असर पारेको देखिन्छ, जुन पैसा काठमाडौंजस्ता सहरका कामकाजी मानिसहरूका लागि नगन्य हुनसक्छ। यसले गुजारा खेती नै आममानिसको जीवन धान्ने मुख्य आधार हो भन्ने पनि देखाउँछ। साथै युवाहरू यसबाट उम्किएर नयाँ भुंग्रोको खोजीमा भौंतारिइरहेका छन् भन्ने पनि देखाउँछ।
यसै प्रसंगमा फिल्ममा प्रवेश पाउँछ, वैदेशिक रोजगारीले। फिल्मको एउटा दृश्यमा दुई युवतीहरू (सृष्टि श्रेष्ठ र मेनुका प्रधान) छन्। यसमा तपाईं श्रीमान बेपत्ता भएकी युवतीको भेषभुषा, दसा–अवस्था र हाउभाउ हेर्नुहोला। साथै वैदेशिक रोजगारीमा गएर पतिले पैसा पनि पठाउन थालेकी युवतीको आत्मविश्वास हेर्नुहोला। धन र प्रेम दुवै नहुँदा र एउटा मात्रै भए पनि हुँदा जीवनमा कति फरक पर्छ भन्ने त्यहीँबाट थाहा पाउन सकिन्छ।
गाडी चालकका रूपमा पहाडी बाटोमा स्कुले भुराहरूलाई लिफ्ट दिने यो युवकलाई पाखोबारीको कमाइले पुगेन। परिवार पाल्नैको सास्तीले ऊ अनायासै यस्तो बाटो समाउन पुग्छ जसले उसलाई जीवनको अकल्पनीय मोडमा पुर्याइदिन्छ। धन कमाउने वा आर्थिक उन्नतिका अवसरहरूले डोर्याउँदै लगेर धेरै युवालाई यस्तो सकसपूर्ण जिन्दगी बाँच्न विवश बनाएका छन्। युवा महिलाका लागि जीवन दुष्कर छ तर आशा समाप्त भएको छैन। यसमा कुनै सरकार वा राजनीतिक दलहरूको प्रत्यक्ष भूमिका देखिँदैन तर अप्रत्यक्ष रूपमा यसको कति महत्वपूर्ण भूमिका छ भनेर बुझ्न बृहत् अध्ययनको आवश्यकता हुन्छ।
त्यस्तै बालक यदि स्याङ्जाको हुन्थ्यो भने? पचासको दशकमा सुरु भएर साठीको सुरूआतमा 'निभेको' माओवादी द्वन्द्वको डढेलोमा पर्ने सम्भावना कत्तिको हुन्थ्यो? नेपालका मध्यपश्चिम र पश्चिम पहाडका निम्न मध्यम वर्ग र निम्न वर्गका धेरै परिवारलाई यो आगोले पोल्यो। डढेलो जसले लगाए पनि आगोले कसैलाई विभेद नगरी जलाउने काम गर्छ। यो फरक कुरा हो, कसैले यही आगोमा हात सेक्ने कला जानेका हुन्छन्, कोही पोलिन्छन्।
'पानीफोटो' को कृष्ण यो आगोमा पोलियो र त्यसको जलन उसका आमाबाबुले सत्तरीको दशकसम्म महशुस गरिरहेका छन्।
कृष्ण, हाइस्कुलको विद्यार्थी। स्कुलमै ऊ प्रेममा परेको छ। साथीसंगाती छन्। लाहुरे पिता र गृहिणी आमा। घरको एक्लो सन्तान। निम्न मध्यम/मध्यमवर्गीय परिवारको सुखी भन्न सकिने परिवार। यस्तोमा प्रवेश हुन्छ, राजनीतिको। वर्गीकरणको। तँ कुन पक्ष, म कुन पक्ष? किनभने, अधिकांश जनसंख्याले बुझ्न नपाउँदै देश युद्धमा गइसकेको छ। भनाइ नै छन्– युद्ध सिपाहीले लड्छन् तर हार्छन् नागरिकले।
'पानीफोटो' युद्धमा संलग्न नभएर पनि पराजित भएका एक दम्पतीको कथा हो। तथ्य, प्रमाण र दिमागले एउटा कुरा भने पनि मनले नमानेका मातापिताको कथा। यो कथामा हाम्रो समाज दु:खी मात्रै होइन, 'हराएको केटाको आत्माले मलाई रोगी बनाइदियो' भन्ने रूग्ण पनि देखिन्छ।
यस समयका फिल्महरू हेर्दा माओवादी आन्दोलन यो समयको पनि सबभन्दा ठूलो विषयका रूपमा देखियो। वैदेशिक रोजगारी र माओवादी द्वन्द्वका बाछिटाले हाम्रो समाजलाई बेसरी हिर्काएका छन् भनेर बुझ्न सकिन्छ।
कृष्णको कथा कृष्णमा मात्रै सीमित छैन। त्यही युद्धका कारण बर्दियादेखि रोल्पासम्मका मानिसको जीवन बदलिएको छ। कतै कोही विदेश भासिएका छन्, कोही मानसिक रूपमा विक्षिप्त भएका छन्। युद्ध सकियो। युद्धमा दुवै पक्षका सेनापति पालैपालो सत्तामा रहे। टाउकोको मूल्य तोक्ने र तोकिने अहिले घाँटी जोडेर सरकारमा छन्। तर त्यसको मूल्य निरीह जनताले चुकाइरहेका छन्।
'पानीफोटो' का चन्दन र मैयाँजसरी कति बाबुआमा अहिले पनि काग कराउँदासमेत आफ्ना बेपत्ता सन्तानको खबर आएको ठानेर बस्दैछन्। बतासले झ्यालका खपटा बजाउँदा कोही आइपुगेझैं जुरूक्क उठ्ने बानी भएको छ। कति प्रेमिल राधाहरू भाँचिएको मन लिएर अर्कैसँग घरजम गर्दै होलान्– परिवारका लागि, समाजका लागि। यसको हिसाब कुन युद्धले राखेको छ?
खगेन्द्र लामिछानेले निर्देशन गरेको अनुप बराल, मेनुका प्रधानद्वारा अभिनित 'पानीफोटो' धुलाएर हेर्दा समाजले न आर्थिक रूपमा ठूलो उन्नति गरेको देखिन्छ न यत्रो युद्धपछि समाजले ठूलो फड्को मारेको देखिन्छ। विदेश जान रातो टीका लगाएर गाउँबाट निस्किने युवा र क्यारेमबोर्ड हानेर बस्नेहरूले उसलाई इष्यापूर्वक हेर्ने दृश्यले आर्थिक विकासका सबै गफ हावामा उडाइदिन्छ। आफ्नो खण्डहर भइरहेको घर हेर्दै खसी डोर्याउने बुद्धि तामाङको उदासी होस् वा अयोग्यको बिल्ला भिरेर विदेश गएको छोराका सन्तान हुर्काइरहेका माओत्से गुरूङको विवशता, यो तस्बिरमा नागरिकको खुसीको रंग बेपत्ता देखिन्छ।
करिब त्यस्तै समयतिरको सिन्धुपाल्चोकको एक युवा भने भोजपुर पुगेको छ। मनमा बदलाको भावना र मष्तिष्कमा योजना बोकेर पुगेको यो छद्म युवाको पनि अन्त्य दुखद छ। 'राधा' र 'पानीफोटो' मा जस्तै अनुप बराल निर्देशित मनिष निरौला, दिया मास्के, सुरज मल्ल अभिनित 'दोख' को युवाको पनि न जीवन सुखी छ, न मृत्यु।
यो फिल्म चाहिँ माओवादी द्वन्द्व चरमतिर गइरहेका बेलाको हो। एउटा सार्वजनिक वन उपभोगका विषयमा दुई गाउँको झगडा छ। 'जंगली' हरूले यसमा हस्तक्षेप गर्छन् र फुटबल म्याचमार्फत् विवाद टुंग्याउने फैसला सुनाउँछन्– जो जिता वही सिकन्दर!
गाउँको एउटा आफ्नै अर्थशास्त्र छ, समाजशास्त्र छ। एकतिर भट्टी पसलमा भीड छ, अर्कातिर फुटबल मैदानमा हानाहान छ। यो गाउँमा प्रशस्त युवा छन् र ती हेर्दै बेरोजगार छन्। यस्तो लाग्छ, आफ्नो बेरोजगारीको नदीमा बग्दै जानु नै यिनको रोजगारी हो। यिनको झुन्डमा आइपुगेको यो नवयुवकले गाउँको राजनीति बिस्तारै परिवर्तन गर्न थाल्छ। खेलमा पुराना खेलाडी हराउँदै जान्छन्। र, अन्त्यमा आइपुग्छ शाही नेपाली सेना।
'दोख' ले राज्यसत्ता कब्जा गर्न उद्धत र त्यसलाई जोगाउन अभिशप्तहरूबीचको लडाइँमा फोकटमा कसरी ज्यान गए भन्नेमा आफ्नो विषयको किलो गाडेको छ। मिहिन ढंगले हेर्ने हो भने 'पानीफोटो' को किलो पनि यही हो। र, यसबीच बनेको/बन्नेवाला धेरै फिल्म यही किलोलाई मियो मानेर यसकै वरिपरि फनफनी घुम्ने देखिन्छ। किनभने, माओवादी द्वन्द्व हाम्रो निकट विगतको एउटा भयंकर ठूलो घटना हो। यसलाई बाँचेर आएका, लडेर आएका र यसबाट जोगिएकाहरूको स्मृतिमा यसले अमिट छाप छाडेको छ।
स्मृतिदंश समाजको एउटा विशेषता हो। समाज जहिले पनि विरोधाभाषहरूमा रहन्छ, यसमै हुर्कन्छ/बढ्छ। एकै व्यक्तिका मनभित्र भिन्न विचारको टक्कर चल्छ भने समाज वा देशमा सबै विषयमा मतैक्य हुने कुरै भएन। 'दोख' मा हाम्रो समाजमा राजनीति र विचारधारालाई लिएर भएको फरक मतको झलक पाइन्छ। एकतिर माओत्से गुरूङको अध्यक्ष पात्र छ भने अर्कातिर लोकमणि सापकोटाको पत्रे बूढा। यो कथा खासमा यी दुई फरक विचारधाराका मानिसका कारण अघि बढेको हो। एउटाका तर्फबाट माओवादी सेना आउँछ भने अर्कातर्फबाट शाही सेना। यस्ता दृश्य नेपालका धेरै गाउँले देखे-भोगेकै कुरा हो। 'दोख' मा आउँदा पनि हाम्रो समयको प्रधान घटना 'जनयुद्ध' नै थियो भन्ने देखिन्छ।
भारतीय फिल्म निर्देशक अनुराग कश्यप भन्छन्, 'फिल्ममा तपाईंले जुन क्षण आफ्नो पात्रलाई कुनै स्थान, भाषा, क्षेत्र वा जातिमा आरोपित गर्नुहुन्छ, तत्क्षण तपाईंको कला राजनीति बन्न पुग्छ।'
यस हिसाबले हेर्दा अराजनीतिक हुनलाई यो समाज र पृथ्वीको कथै भन्नु हुँदैन। हो, कलामा राजनीति हुन्छ। खालि त्यो कुन नियत र उद्देश्यका साथ गरिएको छ भन्नेमा फरक पर्छ। यस्तै किसिमको एउटा राजनीति देखियो, 'प्रकाश' मा।
रोचक त के छ भने यसमा पनि कथाको केन्द्रमा माओवादी आन्दोलन नै छ। यो कथामा हाम्रो बालक युवा भएको छ र जुम्लामा शिक्षक बन्ने सपना बोकेर साहुको हलो जोतिरहेको छ। शिरमाथि झुन्ड्याएको राजाको फोटोलाई सत्ताच्यूत गरेर जनसत्ताको लाइनमा उभिएका पुराना जमिन्दारको राजनीतिको भुमरीमा हाम्रो युवा नायक घुमिरहेको छ।
उसका माओवादी बुवा बेपत्ता छन्। जनयुद्धका घाइते छिमेकी उपेक्षित छन्। उसलाई मार्गनिर्देश गर्ने प्रधानाध्यापक सरूवा भएर तराई झर्छन्। आमासँग पैसा छैन, गाउँलेसँग सद्भाव छैन, उसकी प्रेमिकासँग ऊसँग मिल्दो जात छैन। यस्तो अँध्यारोमा प्रकाश 'आफैं मुस्काऊ मुसुक्क' भन्ने स्थितिमा पनि छैन।
फिल्ममा राजनीति पनि हुन्छ, एजेन्डा पनि हुन्छ। यो हुन नहुने कुरा पनि होइन। समाजमा त्यो छ भने कलामा पनि त्यसले स्थान पाउनु स्वाभाविक हुन आउँछ। तर ती एजेन्डालाई पूर्ण तर्क, तथ्य र भावनाका साथ पेस गरियो भने ती दमदार हुन्छन्। प्रदीप खड्का र दिया मास्केले मुख्य भूमिकामा अभिनय गरेको 'प्रकाश' ले आवरणमा हेर्दा जुम्लामा जन्मिएर त्यहीँ शिक्षक बन्न चाहने एक युवाको संघर्ष, पीडा र वियोग देखाएको छ। तर फिल्मले सँगसँगै परिवर्तनको एजेन्डा बोकेको माओवादी कसरी आफैं परिवर्तन भइरहेको छ, कसरी यसमा पुराना सामन्तहरूले नै कब्जा जमाएर गरिबगुरूवामाथि हैकम चलाइरहेका छन्, उनीहरूको शोषण गरिरहेका छन् भन्ने पनि देखाउँछ।
यो फिल्मको दर्पणमा हेर्दा परिवर्तनकारीहरूमा घोर पतन देखिन्छ। यसमा सबैको चित्त नबुझ्न सक्छ। कलाकारको काम सबैको चित्त बुझाउने पनि होइन, आफ्नो कुरा भन्ने हो।
फिल्म हेर्न गएका माओवादी नेता शिक्षामन्त्री देवेन्द्र पौडेलले यसमा आपत्ति जनाएको समाचारबाट थाहा भयो। माओवादी आन्दोलनले नेपाली समाजमा ल्याएका अन्य परिवर्तन, बहस र विचारबारे फिल्मले आँखा चिम्लिएका कारण पनि यो आन्दोलन र यसप्रति सहानुभूति राख्ने समूहबाट यस खाले प्रतिक्रिया आउनु स्वाभाविक हो। अझै पनि आन्दोलनमै छौं भन्ने मान्यता राख्नेहरूले त्यसको रक्षा गर्ने प्रयास गर्छन् नै। सवाल त स्रष्टाले के देखेको छ र जनसमूहले के ठान्छ भन्ने हो।
माओवादी आन्दोलन चौतर्फी रूपमै यसरी पतन भइसकेको हो कि फिल्मले देखाएजस्तो कुनै एक-दुई स्थान विशेषका पात्र त्यस्ता हुन् वा यो कोरा काल्पनिक कुरा मात्रै हो भन्नेमा बहस हुनसक्छ। यसअघि प्रकाश सपुतको एउटा म्युजिक भिडिओमा पनि भयंकर बहस भएको थियो। उनले दबाबका कारण भिडियो सम्पादन गरेका थिए। यसबाट के देखिन्छ भने युद्ध लडेका वास्तविक लडाकूको उपेक्षा भएको र 'तरमारा' वर्ग यसमा हाबी भएको बुझाइ अन्य कलाकारमा पनि रहेछ! यो ठिक हो कि होइन, राजनीतिशास्त्री र समाजशास्त्रीले व्याख्या गर्न सक्लान्।
'प्रकाश' मा बहस गर्न सकिने अर्को पाटो छ– आरक्षणको। फिल्मले सरकारी सेवामा दिइएको आरक्षणमाथि प्रश्न उठाउँछ। यो विषय यसै पनि विवादरहित छैन। फिल्मले त्यसलाई जुम्लाको भूगोलमा टेकेर उठाउँछ। त्यसका लागि प्रशस्त तथ्य र तर्क फिल्मले जम्मा गरेजस्तो लाग्दैन। यस्तो किन भनेको भने फिल्मले त्यस क्षेत्रमा रहेका दलित र अन्य समुदायभित्र छिर्ने प्रयास गर्दैन। फिल्ममा क्षत्री युवा र दलित युवतीबीचको प्रेम प्रसंग छ। उनीहरूबीच केही रोचक संवाद पनि छन्, प्रेमलाई गणितमा व्यक्त गर्ने। उनीहरूबीच जातीय पर्खाल त छ तर त्यसलाई ढाल्ने कुनै ठोस प्रयास छैन। सायद जातीयभन्दा वर्गीय कुरा ठूलो हो भनी स्थापित गर्ने उद्देश्यले हुनुपर्छ, दलितको घरमा क्षत्रीले माग्न गएको दृश्य पनि फिल्ममा देखिन्छ। जबकि, नेपालजस्तो समाजमा जात नै मोटामोटी वर्गको आधार रहँदै आएको छ।
जातीय आधारमा कानुनसमेत बनाएर एउटा वर्गलाई पूरै पछाडि धकेलिएको समाज (जंगबहादुर राणाले जारी गरेको मुलुकी ऐनमा एउटै कसुरमा पनि जातीय आधारमा फरक सजाय व्यवस्था गरिएको थियो) मा वर्गलाई पानीमाथि तैरिएको तेलजसरी अलग राखेर हेर्नु निकै गाह्रो काम हो। 'प्रकाश' का निर्देशक दिनेश राउतले त्यो प्रयास गरेका छन्।
यो फिल्मका निर्देशकले देखेको यथार्थ यस्तो हुनसक्ला। तर आमसञ्चार माध्यममा सम्प्रेषित हुने समाचार, अनुसन्धान र अध्ययनहरूका तथ्यांक फरक छन्। नेपालको जनसंख्याको झन्डै १३.८ प्रतिशत (२०६८ को जनगणनाअनुसार) रहेका दलितको सरकारी सेवामा जम्मा एक प्रतिशत सहभागिता छ। शिक्षा र जमिनको स्वामित्वमा पनि दलित सबभन्दा पछाडि रहेको तथ्यांक छ। यस्तो अवस्थामा आरक्षणजस्तो विषय उठाउँदा फिल्मले दलितको कोणलाई प्राथमिकताका साथ नउठाउँदा सायद समाजको चित्र दुरूस्त आएन कि भन्ने मलाई लाग्यो।
यो सामाजिकका साथै राजनीतिक मुद्दा पनि भएकाले निर्देशकको सोच मेरो सोचसँग मिल्नुपर्छ भन्ने जरूरी छैन। यसलाई यो सिंगो समुदायको नभएर एउटा चरित्र र गाउँको कथा मान्न पनि सकिन्छ। फेरि पनि अघि भनेजस्तो बहस त हुन्छ, हुन्छ।
'प्रकाश' ले नेपाली आमाहरूले छोरालाई सक्षम बनाउन कसरी त्याग र बलिदान गरेका छन् भन्ने पनि देखाउँछ। समाजको उपल्लो स्थानमा बसेकाले कसरी आफ्नै समुदायका पनि आर्थिक रूपमा विपन्नलाई तल्लो स्तरको व्यवहार गर्छन् भन्ने पनि देखाउँछ। सबभन्दा बढी चाहिँ टपरट्युइयाँ राजनीतिले कसरी युवाहरूको भविष्यमाथि खेलवाड गरिरहेको छ भन्ने देखाउँछ।
'प्रकाश' को ऐनाबाट हेर्दा कर्णालीमा युवाहरूको अवस्था अझै दयनीय देखियो। सत्तरीको यो अग्रगामी दशकमा न राजनीति अग्रगामी देखियो न युवाहरूले अवसर पाएको देखियो। न प्रेमले प्रष्फुटित हुने अवसर पाएको देखियो न जातीय भेदभाव निर्मूल भएको देखियो। समग्रमा यसले देखाएको चित्रमा यो समयमा गर्व गर्नलायक कुरा खासै केही देखिएनन्। समाज यस्तो अवस्थामा कसरी रहन पुग्यो? यसबारे देश चलाउनेहरूले अवश्य चिन्तन गर्नु आवश्यक छ। यदि सात्ताबाहेक जनता र समाजको पनि चासो छ भने!
र, पचासको दशकको त्यो बालक जेनतेन जीवन चलाएर कोरोना कालसम्म आइपुग्दा कस्तो होला?
कुनै वित्तीय संस्थाबाट ऋण लिएर कुखुरापालन गरिरहेको युवालाई लकडाउनले ढाडमै हान्यो। अब उसको टाउकोमा ऋण मात्रै छ। कुखुरा बिक्री हुन छाडेपछि फार्म उजाडियो। कोरोनाले श्रीमतीलाई लग्यो। छ महिनाकी छोरी बहिनीलाई जिम्मा लगाएर केटो अब कुखुरा बोक्ने गाडीमा लकडाउनमा अप्ठ्यारोमा परेका यात्री बोक्छ। जब उसको गाडीमा प्यासेन्जर बनेर बाजुराकी युवती, उनका ससुरा र बाकसमा बन्द उनको पति आइपुग्छन्, यो 'चिसो मान्छे' बन्न पुग्छ।
दीपेन्द्र के खनाल निर्देशित 'चिसो मान्छे' ले महामारीको डरले आफैं निष्प्राण हुन थालेको समाजको कथा भन्छ। वैदेशिक रोजगारीमा ज्यान गुमाएको जवान छोरा लिन आएको बाउ मात्र होइन, आफ्नो कत्ति पनि प्रेमभाव नभएको पतिका लागि अर्पित जीवनदेखि वाक्क भएकी बुहारीहरूको यात्रामा आउने अवरोधका माध्यमबाट फिल्मले समाजको चिसोपनाको व्याख्या गर्ने प्रयास गरेको छ।
'चिसो मान्छे' को ऐनामा हेर्दा कोरोना कालमा नेपाली समाजले हार्दिकता गुमाएछ। तर फिल्मको हाम्रो युवा नायकजस्ता केही पात्रले आफ्नो पीडाका बाबजुद अरूलाई सहयोग गर्न छाडेका थिएनन् भन्ने पनि दर्शाउँछ।
...
हामी सत्तरी दशकको अन्तिम वर्षमा चलिरहेका छौं। साठीको दशकले हामीलाई गणतन्त्र दियो, सत्तरीले संघीयतासहितको नयाँ संविधान। सत्तरीमै हामीले नाकाबन्दी देख्यौं, भूकम्पको झट्का भोग्यौं, कोरोना महामारीको त्रास र अर्थतन्त्रको ढाडै भाँच्ने निर्मम लकडाउन भोग्यौं।
त्यसो भए के सत्तरी दशकको केन्द्रीय तत्व समस्या, पीडा, आतंक र डर हो?
महाभूकम्पपछिका हरेक झट्काले अहिले पनि हामीलाई कहिले एकाबिहानै त कहिले सम्साँझै झस्काउने गरेको छ। के यो दशकमा हाम्रो मनोदशाको केन्द्रमा यही डर छ? कि कोरोना महामारीका कारण भएका दुखद् मृत्युहरू, अस्पतालमा मृत्युसँग जुधेका मानिस र तिनका आफन्तको संघर्ष अनि संक्रमणको डरसँगै आएका मास्क, स्यानिटाइजर र सामाजिक दूरीले यो समयलाई आफ्नो वशमा लिए?
भारतीय नाकाबन्दीका कारण उत्पन्न पेट्रोल र डिजेल हाहाकार होस् वा आधा सिलिन्डर ग्यासका लागि मध्यरातसम्मका लाइन हुन् वा लकडाउनको समय पसलबाट अचानकै गायब भएका सामग्री र मानिसहरूबाट सुइँकुच्चा ठोकेको आत्मीयता! के यस्तै अभाव यो समयको मुख्य भाव हो?
वैदेशिक रोजगारीबाट बाकसमा फर्किएका युवाहरूको बलिदान मुख्य हो कि तिनको परिवारको चित्कार प्रमुख हो? वा तिनले पठाएको रेमिटेन्स केन्द्रीय तत्व हो? कुनै पनि समाजको केन्द्रीय तत्व त्यसले अंगीकार गरेको राजनीति वा त्यसलाई चलायमान बनाउने अर्थतन्त्र हो कि मानिसका सपना र आकांक्षा?
भ्रष्टाचार र कुशासनमा जकडिनु यो समयको मुख्य दुर्दशा हो भन्न सकिन्छ। साथै गाउँगाउँमा विस्तार भएका ग्रामीण सडक, खानेपानी आयोजना, सार्वजनिक र निजी स्कुल, स्वास्थ्य चौकी र क्लिनिकहरू अनि तीव्र सहरीकरणपछि सुविधाको खोजीमा एकैठाउँ जम्मा भएका मानिसले निर्माण गरेको नयाँ किसिमका 'फ्युजन' सहरहरू! खानाका परिकारको देशव्यापी विस्तार र ठूला होटलहरूको विस्तारले बढाएको आन्तरिक पर्यटन (यसमा भ्यूटावर पनि पर्छ)। बाल र मातृ-शिशु मृत्युदरमा आएको कमी, जनसंख्या नियन्त्रण, स्वास्थ्य र शिक्षामा बढेको पहुँच, बिजुली, पानी र मोटरबाटोको पहुँचमा आइपुगेको ठूलो जनसंख्या, टेलिफोन र इन्टरनेटको पकडमा पुगेको पुस्ता! यसलाई पनि यो दशकले आफ्नै आँखाले देख्यो।
प्रतिव्यक्ति आय र अर्थतन्त्रको आकार कछुवा गतिमा हिँडे पनि पुस्तक, फिल्म, संगीत, मिडिया र खेलकुदजस्ता क्षेत्रको विस्तार यो दशकमा एउटा विन्दुमा पुगेको मान्न सकिन्छ। यिनलाई एक हिसाबले तथ्य मान्न सकिन्छ। तथ्यबाट सत्य निकाल्न सही दृष्टिकोण चाहिन्छ। त्यही सही दृष्टिकोणको खोजीमा विभिन्न सिद्धान्त, वाद र आन्दोलनहरू हुने गरेका छन्।
तथ्यसँगै समाजको काखमा कल्पनाले पनि लडिबुडी खेलिरहेको हुन्छ। कल्पना, आख्यान, मिथक वा समग्रमा भन्दा– 'कथा' लाई समानान्तर इतिहास मान्नेहरू पनि छन्। यो विचारको तर्क छ– इतिहासले जुन कुरालाई बीच नदीमा पुगेर बग्न छोडिदिएको हुन्छ, कथाले त्यसको उद्दार गर्छ। त्यसैले खास इतिहास त साहित्य, आख्यान वा जनश्रुतिहरूमा पाइन्छ!
त्यसो हो भने कुनै समयका उपन्यास, कथा, निबन्ध वा फिल्मका माध्यमबाट त्यो समयको चित्र कोर्न सकिन्छ? सरकारी साहित्य वा पाठ्यक्रमले देखाएको चित्रभन्दा भिन्न रंग र स्वरूपमा देखिने यो चित्रलाई पनि समाजको वास्तविकता वा त्यसको अंश मान्न सकिन्छ?
सिनेमा र साहित्यको उपादेयता मुख्यतः यिनै प्रश्नसँग जोडिएर आउँछ।
मैले पछिल्लो समय हेरेका छवटा नेपाली फिल्ममार्फत् समाज चिहाउँदा यो दशक वा यो समयमा पारिवारिक सम्बन्धका केही पाटाको झलक देखिन्छ।
प्रायः किशोर र बालक पात्रहरूको जीवन संघर्षमा बितेको छ। आफ्नो लक्ष्य र सपना पछ्याउने मात्र होइन, 'ऐना झ्यालको पुतली' को भाइजस्ता कुनै खास लक्ष्य नभएका पात्रको पनि जीवनमा संघर्ष नै देखिन्छ।
यी फिल्मबाट हेर्दा हाम्रा आमाहरू दु:ख र पीडामा देखिन्छन्। 'प्रकाश', 'राधा', 'पानीफोटो', र 'चिसो मान्छे' मा आमाहरू दु:खी छन् र संघर्षशील पनि छन्। चाहे ती 'प्रकाश' की दिया मास्के हुन्, 'ऐना झ्याल...' की सिरू विष्ट हुन् वा 'राधा' की सृष्टि। उनीहरूका आफ्ना खास कुनै इच्छा वा योजना छैनन्। उनीहरूको जीवन सन्तानमै समर्पित छन्।
'प्रकाश' मा आमाछोराबीच संवादहिनतापछि गाईसँग संवादको एउटा प्रसंग छ। यहाँ असफलता र अपमानको आँसु पिएर बसेको छोरा एकातिर छ भने अर्कातिर छोरामै सम्पूर्ण सत्य देखेर बसेकी आमाको विवशता छ। आमाछोरा सम्बन्धको एउटा नयाँखाले आयाममा 'प्रकाश' प्रवेश गर्छ।
'ऐना झ्याल...' की आमा जिजीविषाले भरिपूर्ण छिन्। बिहान उठेदेखि बेलुकीसम्म, घरदेखि खेतसम्मका सबै काम यिनले एक्लै गर्छिन्। आफ्ना छोराछोरीप्रति यिनमा अपार स्नेह छ। तर उनी यस्तो समाजको चक्रमा छिन् जसले सन्तानको खास भलो केमा हुन्छ भन्ने निर्णय आफैं लिन सक्दिनन्। यो पहिले मात्र होइन, अहिले पनि धेरै आमाहरूको कथा हो।
बाहरू भने टर्रा देखिने रहेछन्। 'पानीफोटो', 'चिसो मान्छे' र 'ऐना झ्याल...' का बाहरू टर्रा छन्। यिनलाई आफ्नो कर्तव्यबोध, असफलता र लाचारीले टर्रो बनाएको बुझ्न सकिन्छ।
'दोख' मा फ्ल्यासब्याकमा आउने बा भने बडा प्रेमिल छन्। पात्रको दुर्भाग्य के छ भने यिनै प्रेमिल बा जीवित छैनन्!
'चिसो मान्छे' का बामाथि पहिले पनि समीक्षाहरूमा 'छोराको लाशछेउ बसेर रक्सी खाने' बा भनेर टिप्पणीहरू भएका थिए। यसको जवाफ पनि त्यही पात्रले दिन्छ, 'खुसीमा होइन, दु:ख भुलाउन रक्सी खाएको हुँ।' कमाउन विदेश गएको आफ्नो जवान छोराको लाश बुझ्न आएको वृद्ध बाउको मनोदशा चित्रण गर्दा टर्रिने सम्भावना हुन्छ। आमाहरू खुलेर रून्छन् तर बाहरू भित्रै दमित हुन्छन्। त्यसैले उनीहरू झर्कोफर्को गर्ने टर्रा हुँदा रहेछन्। उनीहरूको पीडा र वेदना त्यही चर्को स्वर र अतार्किक व्यवहारमा प्रकट हुँदो रहेछ।
'पानीफोटो' को बा, चन्दन (अनुप बराल) पनि यस्तै छन्। सायद भावना पानीजस्तो हुन्छ होला। सिधा बाटो बग्न नपाए पनि बग्नलाई घुमाउरो बाटो खोज्ने! आफूलाई सिधै व्यक्त गर्न नसकेपछि मानिस पनि त्यस्तै 'अडबांगे' बन्दो हो।
'ऐना झ्याल...' को बा भने अलि गैरजिम्मेवार पनि छ। तर आफ्ना कारण परिवारले भोगिरहेको दु:ख उसले नजरअन्दाज गर्न सक्दैन। यसै कारण होला ऊ मौन रहन्छ। उसको दुर्गुण चाहिँ त्यति बोध भएर पनि यसले गल्ती दोहोर्याइरहन्छ।
'प्रकाश' मा भित्तामा टाँगिएको बाउको एउटा तस्बिर छ। संवादहरूबाट थाहा हुन्छ– उनी कमरेड थिए र राज्यद्वारा बेपत्ता बनाइएका थिए। आफू नभएर पनि छोरालाई चाहिएको बेला उनी काम आउँछन्। तर सन्तानका लागि आफ्ना बाआमाको अभाव भनेको कहिल्यै नपुरिने खाडल हो।
'राधा' मा पनि बा गायब छन्। हाम्रो युवा नायकको पिताको खासै प्रसंग छैन। तर जब ऊ आफैं पिता बन्छ, त्यसपछिको सम्बन्धसम्म फिल्म पुग्दैन।
एउटा अर्को पनि नेपाली समाजको झल्को आउने कुरा यी फिल्महरूमा मैले भेटेँ– त्यो हो, दाजुभाइ दिदीबहिनी।
'ऐना झ्याल...' बाहेक सबै फिल्ममा हाम्रा चरित्रका एउटा मात्रै सन्तान छन् र ती सबै छोरा छन्। 'ऐना झ्याल...' पचासको दशकतिरको कथा भएकाले होला, यसमा चाहिँ 'दुई सन्तान, ईश्वरका वरदान' छन्। त्यसपछि कतै द्वन्द्वका कारण, कतै सहरी जीवनका अन्य कठिनाइका कारण, कतै पतिपत्नी दुवै कामकाजी (घरबाहिर गएर कमाउने अर्थमा) भएका कारण, कतै वैदेशिक वा आन्तरिक रोजगारीका कारण लामो समय छुट्टिएर बस्नुपरेका कारण, कतै आर्थिक अक्षमताका कारण त कतै सानो परिवारको इच्छाका कारण युवाहरू एक सन्तानको नीतिमा रहेको पाइन्छ।
'ऐना झ्याल...' ले चाहिँ 'सिबलिङ्स' सँगको बाल्यकालको झल्को आजका दर्शकलाई पनि दिनेछ। त्यो नोकझोंक र प्रेमको बोध गराउनेछ।
'चिसोमान्छे' मा बाकसमा आउने एक्लो सन्तान भए पनि गाडी चालक (अर्पण थापा) की बहिनी छन्। आफ्नी छ महिनाकी छोरी तिनै बहिनीलाई जिम्मा लगाएर ऊ राजमार्गमा निस्किन पाएको छ।
यी फिल्म हेर्दा हाम्रो जीवनमा परिवारदेखि बाहिर 'साथी' सबभन्दा महत्वपूर्ण रहेछ/रहेछन् भन्ने पनि देखिन्छ। चाहे त्यो 'पानीफोटो' मा सँगै हराउने साथी होस् वा 'ऐना झ्याल...' मा 'सँगै भागेर काठमान्डू जाउँ न' भन्ने साथी होस्।
'ऐना झ्याल...' मा पढाइको बीचमै विवाह गर्ने/हुने साथी पनि छन्। फिल्मको सुरूमा यी साथीहरूको नियति फरक देखिए पनि अन्त्यमा एउटै बतासले सबैलाई हान्छ।
'दोख' मा त साथीहरुको फौज नै छ। 'राधा' मा मितको एउटा प्रसंग छ जो धेरै उत्साहप्रद छैन।
साथीभन्दा बाहिरी घेरोमा छ– गाउँसमाज। यी कथाहरूमा हाम्रा गाउँसमाज धेरै हार्दिक र सहयोगी भने देखिँदैनन्।
'दोख' मा दुई गाउँको झगडा भए पनि आ-आफ्नो गाउँबीच हार्दिकता र एकता देखिन्छ। कुनै एउटा पात्र कुनै एउटा कारणले भड्किए पनि समग्र गाउँका लागि ऊ पनि एउटै लाइनमा उभिन्छ। तर त्यही गाउँले बाहिरिया आएर हस्तक्षेप गरी आफ्ना 'अध्यक्ष' लाई जुत्ताको माला लगाउँदा प्रतिकार गर्न सक्दैन।
'पानीफोटो' मा त्यही गाउँसमाज बाबुलाई बेपत्ता छोराको किरिया गर्न दबाब दिन्छ।
'चिसो मान्छे' मा त पूरै समाज असंवेदनशील देखिन्छ जसले अन्ततः रूढीग्रस्त बाबुलाई विद्रोही बनाइदिन्छ। त्यही परिवार र समाजको व्यवहारले निस्साएिकी बुहारीलाई पनि बोल्ने आँट दिन्छ।
'राधा' मा समाज विभक्त छ। यो समाजमा सबैखाले विचार भएका मान्छेको मिश्रण देखिन्छ। मानिसहरू सहयोगी पनि छन् र स्वार्थी पनि।
'प्रकाश' को समाज धेरै समस्याग्रस्त देखिन्छ। यहाँ जाति प्रथा पनि छ, ठालू प्रथा पनि छ। यहाँ राजनीति सफा छैन। यो समाज सोझासाझाको फाइदा उठाउने समाज देखिन्छ।
'ऐना झ्याल...' को कथा परिवार र बच्चाहरूका साथीमा बढी केन्द्रित भएकाले यसमा बृहत् समाजको चित्र छैन। तर साथीहरूको समूह र स्कुलका माध्यमबाट यहाँ अर्को किसिमको समाज भने देखिन्छ जुन मिश्रित छ।
धुम्म आकाश र उदास मनहरू यो समयका मुख्य चरित्र हुन् भन्दा हुने रहेछ। उद्वेलित हुने मन र छचल्किने आँखा भएका पात्रको पर्दामा भरमार छ। यस्तो किन पनि छ भने प्रायःजसो फिल्मको अन्त्य दुखद् छ। कि आत्मीय व्यक्तिको मृत्यु छ कि सपना र आशाको मृत्यु छ। अन्त्य सुखद् नभए पनि 'राधा' र 'पानीफोटो' ले रेजुलुसनमा आशालाई कायम छाडेका छन्।
अर्को रोचक कुरा चाहिँ 'राधा' को तीज गीतबाहेक कुनै पनि फिल्ममा रंगीचंगी गीत छैनन्। प्रेमगीत वा आइटम गीत छैनन्।
यी फिल्म हेर्दा नेपाली भाषाभित्र रहेका फरक भाषिका र लवजको पनि बोध हुन आउँछ। 'पानीफोटो' का पात्रको लवज स्याङ्जा–पर्वतको छ भने 'चिसो मान्छे' र 'प्रकाश' मा जुम्ला र बाजुराको खस भाषा। 'दोख' मा भने दुईथरि लवज प्रयोग गरिएको छ। प्रायः पात्रले भोजपुरको लवजमा बोले पनि सुरज मल्लले अभिनय गरेको माओवादी कमान्डरको भाषा पश्चिमी लवजमा छ। 'ऐना झ्याल...' र 'राधा' मकवानपुरको सेटिङमा भएकाले होला यसमा काठमान्डू आसपास बोलिने नेपाली भाषाको प्रयोग पाइन्छ।
छमध्ये तिनटा फिल्ममा कोही न कोही गायब छन्। 'राधा' र 'पानीफोटो' को त मुख्य विषय नै हराएका प्रिय मानिसको खोजीको सास्ती र रिक्तताको हो। अनन्तः प्रतीक्षामा रहेका मानिसको सुस्केरा यिनको विषय हो।
'दोख', 'पानीफोटो' र 'प्रकाश' को कथा माओवादी आन्दोलनका कारण उत्पन्न परिस्थिति वरपर घुमेको देखिन्छ भने 'राधा' र 'चिसो मान्छे' मा वैदेशिक रोजगारीको विषय उठाइएको छ। यस हिसाबले हेर्दा हाम्रो समाजलाई सबभन्दा धेरै प्रभावित पारेका विषय यिनै दुईलाई मान्न सकिन्छ। निर्देशकको आफ्नो बालापनको स्मृतिको अंश भए पनि 'ऐना झ्याल...' ले एकैचोटि बालबिवाह र बालिका शिक्षाको कुरा गर्छ। एउटा बट्टामा कैद पुतली आकाशमा उडाउने बिम्वको माध्यमबाट फिल्मले छोरीहरूलाई आकाशमा स्वच्छन्द उड्न देऊ भन्ने कुराको पैरवी गर्छ। साथमा छोरीहरूलाई कैदमै बन्द गरिएको यथार्थ पनि प्रस्तुत गर्छ।
यी कुनै पनि फिल्ममा मायाप्रेमका रंगीन कुरा प्रमुख छैनन्। कुनैमा यी अंशमा आउँछन्, कुनैमा हंशमा मात्रै छन्।
'चिसो मान्छे' मा संकेतमा मात्रै आकर्षणको एक तह प्रकट हुन्छ। 'पानीफोटो' मा पर्खिइरहेकी प्रेमिकाको आशा र निराशा छ। साथै, बेपत्ता छोराको वेदनामा आफ्नै प्रेमलाई बिर्सिएका बाबुआमाको बेहोसी पनि छ। झल्याकझुलुक्क यिनीहरूबीचको आत्मीयता पनि देखिन्छ।
'दोख' मा मायाप्रेमको सट्टा आकर्षण र वासनाको गन्ध बढी छ। यसको पनि मुख्य पात्रको प्रमुख उद्देश्य विपरीत लिंगीको प्रेम पाउनु होइन।
कुनै समय थियो, विपरीत लिंगीप्रतिको आकर्षण र प्राप्तिको कथाले पर्दामा प्रमुखता पाउँथे। यी फिल्म फरक लिकमा छन्। 'ऐना झ्याल...' का प्रमुख पात्र त्यो उमेरमा पुगेकै छैनन्। उनीहरूका आमाबाबुबीच त्यस किसिमको आत्मीयता हराएको छ। 'प्रकाश' मा फक्रिँदै गरेको प्रेमको कोपिला समाज र परिस्थितिले कसरी निमोठिदिन्छ भन्ने नमिठो दृष्टान्त छ।
यता 'राधा' मा प्रेम र समर्पणको गाथा छ। यसका मुख्य पात्रको चाहिँ प्रमुख उद्देश्य आफ्नो प्रेमीलाई खोज्नु छ। यस हिसाबले राधालाई प्रेमको कथा भन्न सकिन्छ, भलै प्रेमिल दृश्यहरूको अकाल नै यसको मूल कथा हो।
यसको मतलब यी फिल्महरूबाट प्रेम गायब भएको भन्ने होइन। चल्तीको परिभाषाको प्रेमको अतिरञ्जना चाहिँ नभएको हो। 'म तिमीबिना मरिहाल्छु...' टाइपको प्रेम यिनमा छैन। बरू जीवन एउटा संघर्ष हो, त्यसलाई एक्लै भए पनि पार लगाउँछु भन्ने किसिमका पात्रको विकास भएर आएको देखिन्छ।
'राधा' की सृष्टि र 'चिसो मान्छे' की स्वस्तिमामा त्यो भाव पाइन्छ। प्रेमको रूमानी वर्णन होइन, त्यसले ल्याएको व्याकुलता र बेहोसीमा भौंतारिएका पात्रको मनोदशा यिनमा छ।
यी कुनैमा पनि गीत र फाइटको भरमार छैन। र, सबैजसोमा खलनायकको काम परिस्थितिले गरेको छ।
'प्रकाश' ले मात्रै तोकेर कुनै समूह र विचारलाई खलनायकको कोटीमा राखेको छ। 'ऐना झ्याल...' मा आफ्नो समाज र परिवारले नै त्यस्तो परिस्थिति निर्माण गरेको छ। अरू फिल्ममा परिस्थितिले यो भूमिका निर्वाह गरेका छन्।
खलनायकको स्थान पहिलेको 'राते काइँला' जस्तो कुनै एक व्यक्ति, उसको लोभलालच, कुटिलता वा बद्नियतको सट्टा समाज, राजनीति र परिस्थितिले लिइरहेको देखिन्छ। यो यथार्थ भए पनि खुसी हुनुपर्ने कुरा चाहिँ होइन। युवाहरूले आफ्नो क्षमतामा प्रष्फुटित हुन नपाउनु र अधिकतम खुसी बोध गर्न नपाउनु भनेको व्यक्तिको नभई त्यो समाजको दुर्बलताको द्योतक हो। किनभने, जतिसुकै चिल्लो पात भएको बिरूवालाई पनि बढेर फूल र फल दिन घामपानी र मलको आवश्यकता पर्छ। र, भनिरहनुपर्दैन– मल र घामपानी बिरूवाको बसका कुरा होइनन्!
मलाई दुई फिल्ममा त्रिभुवन विमानस्थलबाट बाकसमा शव आएका दृश्य खास लागे। दैनिक १५ सय हाराहारी युवा वैदेशिक रोजगारीमा जाने गरेका र औसतमा दिनको तीनवटा शव नेपाल आउने गरेको तथ्यांक वैदेशिक रोजगार बोर्डको छ।
'चिसो मान्छे' र 'राधा' मा मुख्य चरित्र दुवै नारीका पतिको शव विमानस्थलबाट निकालेर गाडीमा राखिएको दृश्य छ। यी दुई दृश्यमा यी नारी चरित्रको प्रतिक्रियामा आकाश-जमिनको फरक छ। एउटामा पत्नीमा कुनै शोक छैन भने अर्कोमा विलाप छ। यसको कारण पनि प्रस्ट छ– एउटामा सम्बन्ध प्रेमको जगमा खडा भएको थियो, अर्कोमा थिएन।
वैदेशिक रोजगारीले आर्थिक रूपमा मात्रै हाम्रो समाजलाई प्रभाव पारेको छैन, सम्बन्ध र संरचनामा नै यसको असर बढ्दै गइरहेको छ। फिल्मले प्रश्न गर्छन्– जीवनको खास जवानीमा युवा प्रेमीहरूको विछोडको जिम्मेवारी कसले लिन्छ? खाली घर र रित्ता मनलाई रेमिटेन्सले भर्न सक्छ?
यी छमध्ये चारवटा फिल्ममा महिला पात्रहरू मुख्य भूमिकामा छन् भन्न सकिन्छ।
'चिसो मान्छे' मा स्वस्तिमा खड्का, 'राधा' मा सृष्टि श्रेष्ठ, 'पानीफोटो' मा मेनुका प्रधान र 'ऐना झ्याल...' मा सिरू विष्ट र कञ्चन चिमरिया मुख्य भूमिकामा छन्। 'प्रकाश' मा पनि दिया मास्केले निर्वाह गरेको आमाको भूमिका समानान्तर भूमिका हो। 'दोख' मा पनि दियाले एउटा प्रमुख भूमिका निर्वाह गरेकी छन्।
यस हिसाबले फिल्ममा महिला पात्रको स्थान बलियो हुँदै गएको मान्न सकिन्छ। सबैजसो अभिनेत्रीले आफूलाई चरित्रमा ढाल्न चरित्रको भेषभुषा र लवज ग्रहण गरेको देखिन्छ। हिरोइन भनेको ग्ल्यामरस हुनुपर्छ भन्ने मान्यताबाट माथि उठेको देखिन्छ। र, व्यावसायिक फिल्मका चल्तीका चकलेटी हिरो प्रदीप खड्काले 'प्रकाश' मा त्यो रूप र शैलीभन्दा भिन्न तरिकाले प्रस्तुत भएर 'हिरो' भन्दा चरित्र ठूलो हुन्छ भन्ने प्रदर्शन गरेको देखियो।
'पानीफोटो' मा फुलेको दाह्री भएका बाको भूमिकामा देखिएका अनुप बराल, मेनुका प्रधान, दिया मास्केलाई यसमा किन सामेल नगरेको भने रंगमञ्चका यी कलाकारका लागि यो नौलो प्रयोग होइन।
स्वस्तिमा खड्काले पनि 'बुलबुल' मा आफूलाई यस किसिमको रूपमा सिद्ध गरिसकेकी छन्। मिस नेपाल सृष्टिलाई पनि प्रदीपकै कोटीमा राख्न सकिन्छ। उनले पनि चरित्र बाँच्न निकै मिहिनेत गरेको देखिन्छ। उनले केही समयअघि रंगमञ्चमा ओर्लिएर अभिनयप्रतिको आफ्नो लगाव प्रकट गरिसकेकी थिइन्।
यी फिल्महरू रंगमञ्चबाट उदाएका कलाकारले भरिएका पनि रहेछन्। अनुप बराल, दयाहाङ राई, सौगात मल्ल, खगेन्द्र लामिछाने, दिया मास्के, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरूङ, राजन खतिवडा, देशभक्त खनालजस्ता कलाकारले आफ्नो छाप छाडेका छन्।
नुमाफुङ, मुकुन्डो, सेतो सूर्य, कालो पोथी, वधशाला, दासढुंगा, सीमारेखाजस्ता फिल्मले यसअघि नेपाली समाजले भोग्दै आएको राजनीति र संस्कृतिलाई 'अतिरञ्जना' नगरी देखाउने काम गरेका थिए। यीमध्ये कुुनै राजनीतिक कथा थिए त कुनै सामाजिक। यो क्रम यस वर्ष ह्वात्तै बढेको रहेछ। सायद लकडाउनका लागि यी फिल्मको रिलिज समय मिल्न गएको हुनसक्छ।
यी छवटै फिल्म हेर्दा पचासदेखि सत्तरीसम्मको दशकमा नेपाली घरपरिवारको आर्थिक अवस्था कस्तो भएछ र चेतनाको हिसाबले समाजले कति उन्नति गरेछ भनेर हेर्ने हो भने समाजमा दुईखाले वर्ग देखिने रहेछ। एउटा उद्दात्त र नयाँ सोचसहितको, एकथरि पुरातनपन्थी।
'चिसो मान्छे', 'प्रकाश', 'पानीफोटो' र 'राधा' मा निकै संकुचित विचार भएका पात्रहरूको उपस्थिति छ। ती समाजको प्रभावशाली स्थानमा छन्। यसबाट के देखिन्छ भने, यति धेरै युद्ध, आन्दोलन, क्रान्ति र सुधारका गफपछि पनि समाजमा तात्विक भिन्नता आइसकेको छैन।
समाजमा नयाँ 'विवेक' ले पूर्ण स्थान ग्रहण गर्न सकेको छैन भन्ने देखिन्छ। तर फेरि यिनै फिल्ममा नयाँ चेतनासहितका पात्रहरू पनि छन्।
'चिसो मान्छे' मा अर्पण थापाको चरित्र होस् वा 'राधा' मा खगेन्द्र लामिछानेको चरित्र वा 'प्रकाश' मा हेडसर- यी मानिसले मानिसलाई उसको आर्थिक-सामाजिक हैसियतअनुसार नभई एक स्वतन्त्र मानवको समान नजरले हेर्ने कुरा गर्छन्। 'ऐना झ्याल...' पचास र 'दोख' साठी दशकको कथा भएकाले पनि होला, यो विषय प्रमुखताका साथ आएको देखिँदैन।
आर्थिक अभाव र गरिबी हाम्रो समाजको मुख्य समस्या हो भन्ने यी सबै फिल्म हेर्दा थाहा हुन्छ। सबै फिल्मका मुख्य पात्रको लक्ष्य प्राप्ति या त धनार्जन नै छ या त्यसमा धन अभावको तगारो छ।
'प्रकाश' मा रोजगारी, धनअभाव, स्वास्थ्य सेवाको अभावजस्ता समस्या छन्। 'राधा' र 'चिसो मान्छे' धनकै लागि वैदेशिक रोजगारीमा जाने युवा र तिनको परिवारको कथा भइहाल्यो। 'ऐना झ्याल...' मा पनि अर्थकै अभाव छ। 'पानीफोटो' मा पैसाको अभावले ठूलो भूमिका निर्वाह गरेको छैन तर त्यसमा पनि कुनै खाले आर्थिक समृद्धिको झलक पाइँदैन। बरू 'दोख' मा भने वैदेशिक रोजगारीको सानो झलक भए पनि मूल कथामा प्राकृतिक स्रोत उपभोगको विषय छ। यो जंगल कसको भन्ने निहुँमा गाउँमा झगडा सुरू हुन्छ।
यी फिल्म हेर्दा दुई दशकमा नेपालमा सडक सञ्जाल विस्तार भएको देखिन्छ।
'ऐना झ्याल...' मा गाडीको कुनै प्रसंग छैन। विद्यार्थीहरू हिँडेर स्कुल जान्छन्। 'राधा' मा विद्यार्थीहरू गाडीमा लिफ्ट लिएर स्कुल जान्छन्। 'पानीफोटो' मा धेरैजसो खोज गाडीमै चढेर भएको छ। बर्दियादेखि रोल्पासम्मका बसदेखि आलुका बोराझैं मान्छे कोचाकोच पार्ने जिपहरू यसमा देखिन्छन्। तर सुगम भनिने तराईमै गतिलो पुल नभएर फेरी तर्नेहरू पनि यसमै देखिन्छन्। 'प्रकाश' मै प्रकाश छैन, अर्थात् बिजुली। 'ऐना झ्याल...' मा सारा लफडा आफ्नै गाउँमा हाइस्कुल नभएकाले उत्पन्न भएको छ। जुम्लाको कथामा स्वास्थ्य सेवाको अभाव पनि देखिन्छ। यी सबै कुराको अभावमा राष्ट्र कसरी समृद्ध भएको मानिन्छ?
यी फिल्म हेर्दा मलाई लाग्यो नेपाली युवाहरूसँग सामीप्यमा रहेको प्रमुख भाव रहेछ– व्याकुलता वा बेचैनी। कुनै न कुनै चिजको अभावमा यिनीहरू बेचैन छन्। शान्तसँग बस्न सक्ने अवस्था छैन। कोही आफैं समस्यामा छन्। कसैको परिवार। कोही आफू विदा भइसके तर परिवारलाई पीडामा छाडेर।
व्याकुलता र बेचैनीमा भएको समाज एक अर्थमा आफ्नो समीक्षा गरेर अघि बढ्न तयार समाज पनि हुनसक्छ। यो बेचैनीलाई त्यसमा प्रयोग गर्ने हो भने। होइन भने यसले समाजलाई निराशाको खाडलतर्फ डोर्याउन पनि सक्छ।
फिल्म 'पानीफोटो' र 'प्रकाश' मा बेपत्ता भएका दुई पात्रलाई लिएर कर्मकाण्डका दुई दृश्य छन्। 'प्रकाश' मा बेपत्तालाई मरेको प्रमाणित गरेपछि सरकारबाट केही राहत पाइने भएपछि बाबुको सट्टामा पिठोको मानिस बनाएर नदी तिरमा अन्तिम संस्कार गरिन्छ। 'पानीफोटो' मा मरेको ठानेर त्यसरी नै अन्तिम संस्कार गरिएको छोरो फर्किएर आएपछि घैंटो फोरेर उसलाई त्यसबाट निकालिन्छ, फेरि जन्माएर।
असीको दशक हाम्रो संघारमा छ। असीको दशक व्याकुलता र बेचैनीलाई नदीमा बगाएर नयाँ ऊर्जा र उत्साहलाई घैंटो फोरेर निकाल्ने दशक बनोस्। नयाँ नयाँ विषय र शैलीका फिल्महरू अन्डा फोरेर चल्ला निस्किएजसरी पर्दामा प्रकट हुन सकून्। र, यिनको मुख्य भाव व्याकुलता नबनोस्। ऊर्जा, उत्साह र प्रेम होस्!
यसका लागि देश चलाउनेहरूले आफ्नो भूमिका सही तरिकाले निर्वाह गरून्। जागरूक जनताले यिनलाई बाध्य पारून्। आउने दशकको समीक्षा गर्नेहरूले फेरि यिनै अभाव, पीडा र विछोडलाई त्यो समयको मुख्य विशेषता भनेर टिपोट गर्नुपर्ने अवस्था नहोस्।