सेतोपाटी आत्मकथा शृंखलाबाट
मेरो बिहे भएको ८२ वर्ष भयो। यति लामो समयको जीवनसाथीसँग लगनगाँठो कसरी जोडिएको थियो भन्ने सायद हिजोआजका पुस्तालाई पत्याउन गाह्रो पर्छ।
१७ वर्ष पूरा भएर १८ मा टेकेकै बेला मेरो बिहे भएको थियो। त्यति बेला मेरी श्रीमती अर्थात् राधा पात्रवंश केवल १४ वर्षकी थिइन्। पात्रवंशहरूले हिजोआज सजिलोका लागि श्रेष्ठ नै लेख्न थालेकाले अहिले यो थर उति सुनिँदैन।
१९९४ साल, फागुन महिनामा हाम्रो बिहे भएको थियो। ससुराली पाटनकै कृष्णमन्दिर पछाडि अर्थात् मेरो घरनजिकै थियो। तै पनि मैले मेरी श्रीमतीलाई बिहे अगाडि कहिल्यै देखेको थिइनँ। देख्नु त परको कुरा, उनका बारे कुनै जानकारीसम्म पनि पाएको थिइनँ। आमाबुबाले नै सबैथोक गरिदिनुभएको हो। त्यो समयमा 'केटीले काम जानेको छ' भनेपछि कुरा पुगिहाल्थ्यो।
सुरूमा त म बिहे नै गर्दिनँ भनेर अडेको थिएँ। दरबार हाइस्कुलमा पढिरहेको थिएँ। एसएलसी पास पनि भएको थिइनँ। जतिसुकै बिहे गर्दिनँ भने पनि आफ्नो अडान लामो समय कायम राख्न सकिनँ।
पहिले बहिनीको बिहेका निम्ति ठहिँटीको राम्रै हुनेखाने जोशी परिवारबाट प्रस्ताव आएको थियो। बहिनीका हुनेवाला ससुराहरू आएर हेरेपछि पक्कापक्की गरेर गए। दाजुको बिहे पनि एकैसाथ गरिदिनु उचित हुन्छ भन्ने कुरा निस्क्यो।
एक त घरको जेठोबाठो म अविवाहितै थिएँ, त्यसमाथि हामी नेवारहरूको 'एउटै पातले दुइटा काम गर्ने' भन्ने चलन छ। अर्थात् एउटै भोजले दुई जनाको बिहे सकिने।
बहिनीको कुराकानीसँगै ममाथि आइपरेको दबाब मैले नमानिदिँदा पिताजीलाई आपत पर्न थाल्यो। पिताजी मोहनशम्शेरको महाराजगंजस्थित दरबारमा 'खर्च अड्डा'को काम गर्ने सानै दर्जाको कारिन्दा हुनुहुन्थ्यो। दरबारमा काम गर्नेहरूलाई दर्जापिच्छे छोरीको बिहेमा यति र छोराको बिहेमा यति भनेर तोकेरै पैसा दिन्थे। त्यो पैसा डेढ सयदेखि दुई सय रुपैयाँको बीचमा थियो जस्तो लाग्छ।
यस्तो अवस्थामा दुइटै बिहे एकैचोटि गर्दा दरबारबाट दोब्बर पैसा आउने भएकाले खर्चमा धेरै भरथेग हुन्थ्यो। मैले मञ्जुरी नदिँदा चारैतिरबाट दबाब आउन थाल्यो।
'तिमीले गर्दा बहिनीलाई समेत असर पर्ने भयो' भन्न थाले। त्यसपछि मैले अडिरहन सकिनँ र मागी बिहेको प्रक्रिया अघि बढ्यो। यसरी बिहे गर्दा महिना दिन पहिलेदेखि नै प्रक्रिया अघि बढिसकेको हुन्थ्यो। जबकि मेरो बिहेमा सात-आठ दिनअघि मात्र प्रक्रिया सुरू भयो। बल्लतल्ल केटो मानेपछि परिवारलाई केटी खोज्ने 'प्रेसर' आएको थियो।
कतिसम्म भएको थियो भने, बहिनीलाई बिहे गरेर लैजाने परिवारले नै पनि मेरो निम्ति केटी खोज्न थालेका थिए। यता मेरो पिताजीलाई पनि बुहारी खोज्न दौडधुप चल्यो। यस्तो अवस्थामा बहिनी लैजाने परिवार र मेरो घरकाहरूलाई पनि चित्त बुझेपछि केटीको निर्क्यौल भएको थियो।
तय भएपछि सुरूमा त गुभाजु लगाएर 'कल्याणह्याकी' सम्पन्न भयो। आजभोलि कल्याणह्याकीको चलन हराइसक्यो। बिहेको तयारीसँगै घरमा चिउरा कुट्नेदेखि लिएर रक्सी पार्नेसम्मका काम अघि बढे।
आमाबुबाले केटी हेरिसकेपछि लाखामरी दिइयो। साइपाटाजस्तो गरेर लमीका साथ लाखामरी पठाएपछि छिनोफानो हुन्थ्यो। त्यो बेला लमीको असाध्यै महत्व थियो।
लाखामरी आइसकेपछि बेहुलीको घरमा बिहेको तयारी सुरू हुन्छ। कुन-कुन परिवारबाट कस-कसलाई बोलाउने भन्ने हिसाब किताब गरिन्छ। त्यहीअनुसार बेहुलाको घरबाट पठाएका रोटीहरू टुक्रा-टुक्रा पारेर बाँडेपछि 'फलानाको छोरीको बिहे हुने भयो' भनेर आफन्तले थाहा पाउँथे। सँगै दाइजो के दिने भन्ने तयारी पनि सुरू हुन्थ्यो।
यसरी अघि बढेको प्रक्रिया पछ्याउँदै पहिले बहिनीको जन्ती आयो। जन्ती 'क्यारोनेड' बाजा बजाएर धुमधामसँग आएको थियो। त्यो बाजा सितिमिति जसको पायो उसको बिहेमा बज्दैन थियो। सदर पुलिस अड्डामा गएर जर्नेलको तालुकवाला कसैलाई बक्साएर मात्रै क्यारोनेड बाजा ल्याउन पाइन्थ्यो। अघिअघि ब्याण्ड मास्टरले बजाउने त्यो बाजासहित जन्ती आउनेहरूको फूर्तिफार्ति नै अर्को हुन्थ्यो।
मेरा पिता स्वयं मोहनशम्शेरको दरबारकै जागिरे भए पनि जर्नेललाई बक्साउन सक्ने क्षमता थिएन। त्यसैले मेरो जन्ती पञ्चे बाजा बजाएरै गएको थियो।
आजभोलि हामी नेवारको बिहेमा बेहुला नै जन्ती जाने चलन चलिसकेको छ। त्यो बेला मुन्सी खलकबाहेक अरुका बिहेमा बेहुला जाने सोच्न पनि सकिँदैन थियो। मुन्सी खलक भनेको त्यो बेला परराष्ट्र सम्हाल्ने नेवार खलक। मुन्सीखानाका बडा काजीहरूले राणा परिवारसँग आफूलाई नजिक्याएका थिए। त्यसैले उनीहरूले जम्मै सिको पनि राणाहरूकै गर्थे।
बाँकी नेवारहरूका बेहुला जन्ती जान मिल्दैन थियो। म जाने कुरै आएन। घरमूली अर्थात् बाले नै उहाँका दाजुभाइहरू लिएर जानुभएको थियो। जन्तीमा ६०-७० जना गएका थिए जस्तो लाग्छ।
बेहुलीको घरमा जन्ती स्वागत गरिएपछि दुवैतिरबाट मसला र पान बाँडियो। एक-एकवटा चुरोट पनि दिने चलन थियो। ठूला बिहेहरूमा महँगो चुरोट 'क्राभेन' को चल्ती हुन्थ्यो। हामी जस्ताकोमा 'फूलमार' चुरोटले काम चल्थ्यो।
त्यसपछि राती नबस्ने मान्छेहरू फर्किए। बासहित पाँच-छ जना बिहेका प्रक्रिया पूरा गर्न उतै बस्नुभयो। बाको टोलीलाई रातभर खुवाइ पियाइ गरेर सम्मान गरे। भोलिपल्ट पूजाआजा सिध्याएपछि बेहुलीको बिदाइ सुरू भयो।
बिहे सकिएपछि बेहुलाको तर्फबाट बेहुलीलाई 'द्वैँपो' देखाउने चलन थियो। विशेष प्रकारको बुट्टेदार कपडामा पानी ढिकी गरेको टक्सारको डबल (सिक्का), सिंगो सुपारी, सिन्दुर र विशेष प्रकारको फूल राखेर देखाउनुलाई 'द्वैँपो' भनिन्छ। यसरी देखाउनु भनेको बेहुला पक्षले आफ्नो सामर्थ्य प्रस्तुत गर्नु हो।
द्वैँपोमा राखिने दस वटा पानी ढिकी गरेको डबल ज्यादै राम्रो देखिन्थ्यो। त्यस्तो डबल तयार पार्ने पानी ढिकी नख्खुमा थियो। नख्खु खोलाको पानीबाटै घट्ट चलाएर मारेको टक बिहे प्रयोग गरिन्थ्यो। बेहुली घरका पूजारीले सबै काम सिध्याएपछि अन्तिममा बेहुलीलाई 'द्वैँपो हीँ' भन्दै देखाउनु पर्थ्यो।
त्यसपछि बाले मेरी श्रीमतीलाई खुट्टामा लगाउनुपर्ने एउटा गहना लगाइदिनु भयो। त्यसो गरिसकेपछि बेहुलीको आमाबुबा आएर आरसी (धातुले बनेको सूर्यको मूर्ति) दिनुभएको थियो। अन्तिममा सासूले छोरीलाई सिन्दुर दान गर्नुभयो। त्यसरी आमाले प्रदान गर्ने सिन्दुर नै छोरीले पाउने अन्तिम उपहार हुन्थ्यो। त्यसपछि 'अब छोरी लगे हुन्छ' भन्ने अनुमति जन्तीलाई मिल्यो।
बा अघिअघि लागेर बाजा बजाउँदै मेरी श्रीमती बोकाएर ल्याउनुभएको थियो। यो सारा प्रक्रिया चलुन्जेल म घरैमा थिएँ र पछि सविस्तार सुनेको हुँ।
करिब नौ बजेतिर बिहानै बेहुली लिएर बाहरू आइपुग्नुभएको थियो। तर, त्यसपछि पनि बेहुली घरमा भित्रिन पाइनन्।
दाजुबहिनीको बिहे एकैसाथ भएकाले बहिनीको बिदाइ सम्पन्न नहुन्जेल बुहारी भित्र्याउन नमिल्ने रहेछ। त्यसलाई 'शिशि राख्ने' भनिन्थ्यो। उता माइतीबाट बिदा भएर आइसकेको छ, यता चार दिन घरमा पस्न नमिल्ने भयो। यस्तोमा टोलमै मेरो घरकै अगाडितिर छिमेकमा उनलाई राखियो।
बहिनी बिदाइका काम सकिएपछि बल्ल उनलाई भित्र्याइयो। घरका महिला मूलीहरू (थकालीनीहरू)ले गहना र वस्त्र लगाइदिएपछि पूजारीको निर्देशनमा पूजा गरे। त्यो सबै सकिएपछि आमाले मेरी श्रीमतीलाई घरको साँचो सुम्पनुभएको थियो। साँचो दिएसँगै घर भित्र्याउने काम भयो।
यसपछि सहभोजन भयो। बेहुला बेहुली दुवैलाई साथै राखेर सँगै खाना खुवाउने काम। त्यसअघि खान बसेकै ठाउँमा टाउको जोडाइदिने, सगुन खुवाउने र पूजाआजा पनि भयो। त्यही हो 'सहवरण'। हिजोआज त नेवारहरूले पनि अरूको सिको गरेर स्वयंवर गर्न थालिसके।
जे होस्, सहभोजकै बेलामा पहिलोपटक मेरो छेउमा श्रीमतीको उपस्थिति पाएको थिएँ। अनुहार भने अझै देखेको थिइनँ। घुम्टो ओढेकी थिइन्। पूजारीहरूले 'आजदेखि तिमीहरू जोइ पोइ भयौ' भनेर सम्झाए।
यी सबै सकिएपछि उनी सामान्य हिसाबले घर भित्र–बाहिर गर्न थालिन्। त्यही क्रममा मैले उनको अनुहार देखेँ। बिहे भएको चार दिनपछि बल्ल मेरी जीवन संगीनी देख्ने मौका पाएको थिएँ। उनी रजस्वला पनि नभएकी बालिका थिइन्। हाम्रा लागि बेग्लै कोठाको प्रबन्ध पनि थिएन। त्यसैले उनी मेरी आमासँगै रहन्थिन्। हाम्रो देखादेख मात्र हुन्थ्यो।
पछि उनी माइत जान थालिन्। प्रायः माइतीमै हुन्थिन्। करिब एक वर्षपछि उनको रजस्वला भयो। गुफा राख्ने काम उतै भयो। त्यसका अनेक विधिविधान थिए। बेहुला ससुराली पुगेर फेरि बिहेका प्रक्रिया पूरा गर्नुपर्थ्यो। यसपटक श्रीमतीलाई लिएर फर्केपछि बल्ल घरमा हाम्रो निम्ति कोठा तयार पारिएको थियो।
हाम्रा अघिल्ला दुई सन्तान सानैमा बिते। त्यसपछिका छ वटा छन्, तीन छोरी–तीन छोरा।
वैवाहिक जीवनमा हामीले बिताएको सबभन्दा रमाइलो क्षण हामी परिवारै चीन बस्दा हो। २०१७ सालमा राजा महेन्द्रले 'कू' गरेपछि पुरातत्व विभागको निर्देशकको मेरो जागिर खोसियो। त्यसपछि मैले चीन गएर भाषा पढाउने मौका पाएको थिएँ। त्यति बेला सानी छोरी ६ वर्ष र सानो छोरा ४ वर्षका भइसकेका थिए। उनीहरूलाई सँगै लिएर गएका थियौं।
'तपाईंको जागिर खोसिएको त मेरा निम्ति कति राम्रो भयो' भनेर मेरी श्रीमती हिजोआज पनि सुनाइरहन्छिन्।
त्यो बेला उच्चपदस्थ सरकारी कर्मचारी पनि हत्तपत्त विदेश जान पाउँथेनन्। तिनका श्रीमती त झन् कुरै थिएन। यस्तोमा म चीन जाने बेला परिवारलाई पनि लैजान पाउँदा खुसी भएको थिएँ। चिनियाँहरूले हामीजस्ता विदेशी प्रशिक्षकका लागि गरिदिएका सम्पूर्ण प्रबन्ध परिवारमैत्री थियो।
हामी बसेको घरमा हरेक दिन चार जना काम गर्ने मान्छे पठाइदिन्थे। उनीहरूले नै तन्ना-तकियादेखि सबै कपडा धोइदिने, घर सफा पारिदिने गरिदिन्थे। श्रीमती खाना पकाउने गर्थिन्।
घर अघिल्तिर ठूलो मैदानमा तीस-चालिस वटा मोटर जहिल्यै लागिरहेको हुन्थ्यो। भन्नेबित्तिकै बजार वा घुम्न जान चाहेको ठाउँ लैजाने र ल्याउने गरिदिन्थे। उनीहरूकै कामका निम्ति जाँदा ती गाडी निःशुल्क हुन्थे। निजी कामका निम्ति प्रयोग गर्दा पनि थोरै शुल्क थियो।
यसरी चीन बसेकै बेला गर्मी बिदा पारेर श्रीमतीलाई उत्तर कोरिया पनि घुमाउन लगेँ। हामी रेलबाटै त्यता गएका थियौं। दुई वर्षे चीन बसाइमा दुरुस्तै चिनियाँ बच्चा जस्तै बनेको मेरो कान्छो छोरा अहिले डाक्टर छ र सपरिवार बेलायत बस्छ। कान्छी छोरीको परिवार अमेरिकामा छ।
हिजोआज विदेशमा रहेका मेरा पछिल्ला पुस्ताहरूका खबर सुनेर अचम्म लाग्छ। कसैकसैले बिहे नगरी वर्षौंदेखि श्रीमानश्रीमतीजस्तै साथ बिताइरहेको जानकारी पाइरहेको छु। 'लिभिङ टुगेदर' भन्दा रहेछन्। उनीहरू पछि विस्तारै औपचारिक हिसाबले बिहे गर्ने योजनामा छन् रे!
त्यस्तो बेलामा म मेरो बिहेका क्षण सम्झिन्छु।
दुनियाँ कहाँबाट कहाँ पुग्यो, मैले मेरो जीवनकालमै कति धेरै परिवर्तन देखेँ!
अहिलेका मान्छेले हेर्दा जतिसुकै अचम्म माने पनि हाम्रो किसिमको बिहेका पनि आफ्नै खाले विशेषता देख्छु। मागी बिहे गरेपछि मलाई श्रीमतीको र श्रीमतीलाई मेरो बढी माया लाग्दो रहेछ। दुवै केटाकेटी हुँदै बिहे गरेको। कसले कसलाई किन गुनासो गर्नु? सामान्य झोंकाझोंकबाहेक ठूलो झगडा पनि कहिल्यै भएन। त्यस्तो नोकझोंक हुँदा पनि मलाई उल्टो उनैको माया लागेर आउँथ्यो। यस्तो बिहेमा आकर्षणभन्दा एकअर्काप्रति दायित्वको भावना बढी हुँदो रहेछ।
अहिले हामीले सन्तानप्रतिको सबै व्यवहार पूरा गरिसकेका छौं। उनीहरू आ-आफ्नो बन्दोबस्तीमा रमाएका छन्। छोराछोरीले आमालाई 'पाकेट खर्च' दिए पनि म मेरो सम्पूर्ण खर्च स्वयं जुटाइरहेको छु। सरकारी पेन्सन, एकेडेमीको आजीवन सदस्यका नाताले पाउने वृत्तिबाहेक लेख-रचनाहरूबाट पनि पैसा आइरहेकै हुन्छ। कार्यक्रमहरूमा बोलाउनेले कहिलेकाहिँ खाममा राखेर दिन्छन्। अस्ति एकपटक त एउटा अखवारले एउटा समारोहकै बीचमा एक लाख रुपैयाँ दिएको थियो।
घरमा हामी दुई जना मात्र बस्छौं। घरायसी कामका लागि दुई जना सहयोगी व्यवस्था गरेको छु। उनीहरू बिहानदेखि रातीसम्म काम गर्न आउँछन्। त्यसबाहेकको समय उही दुई जना।
बिहान उठ्नेबित्तिकै म चिया पकाएर उनलाई दिन्छु। यसरी हामी दुई अहिले झनै नजिक भएका छौं। म सय वर्ष लागिसकेको छु, उनी पनि ९५ भइसकिन्।
म अहिले पनि व्यस्त जीवनमै रमाइरहेको छु। उनलाई पनि व्यस्त राख्न 'प्रज्ञापारमिता'को नामसंगती पाठ गर्न सक्रिय गराएको थिएँ। पछिल्लो समय उनी हिँड्न नसक्ने भएपछि त्यो थामियो।
मेरो साथबाहेक घरमा काम गर्न आउनेहरू र बेलाबखत भेट्न आउने छोराछोरी तथा आफन्तबाट उनको मन बहलिन्छ।
(सेतोपाटीमा लामो समय शृंखलाबद्ध प्रकाशित 'सत्यमोहन जोशीको आत्मकथा शृंखला' बाट। उक्त शृंखला गिरीश गिरीले लेखेका हुन्।)
यी पनि पढ्नुहोस्: