अहिले लघुवित्त संस्थाहरूविरूद्ध चौतर्फी घेराबन्दी बढेको छ। त्यो घेराबन्दीबीच समस्या समाधानका उपाय खोज्ने र त्यसको कार्यान्वयन गर्ने चुनौती छ।
यही सन्दर्भमा सम्बन्धित सरोकारवालाको अनुभव र सुझाव समेटिएका छोटाछोटा सर्भेहरूका साथ लघुवित्तको वर्तमान अवस्थाको चित्रण गर्ने प्रयास गरेको छु।
सबभन्दा पहिले कर्जाको कुरा गरौं।
लघुवित्त संस्थाहरूले कर्जा लिन, कर्जा सदुपयोग गर्न र कर्जा तिर्न अभिप्रेरित गर्छन्। तर ऋण लिन जबर्जस्ती गरे, त्यसैले मानिसहरू ऋण लिन बाध्य भए भन्ने जुन आरोप छ, त्यसको प्रमाण छैन। लघुवित्तले ऋण नदिएको भए गरिब तथा सिमान्तकृतहरू ऋणी नै हुने थिएनन् भन्ने जस्तो भाष्यमा पनि सत्यता छैन। लघुवित्त संस्था नहुँदा पनि ऋण लिनुपर्ने कारणहरू थिए। यो कुरा मिटरब्याज पीडितको आन्दोलनले अझ छर्लंग पारेको छ।
अहिले अधिकांशले परिवारका सदस्यलाई वैदेशिक रोजगारीमा पठाउन, लघु उद्यम, लघु व्यवसाय, आयआर्जनका गतिविधि सुरूआत वा विस्तार गर्न लगायतका लागि लघुवित्तबाट ऋण लिएको देखिन्छ। त्यसैगरी साहुको चर्को ब्याजको ऋण तिर्न, शिक्षा, उपचार र घरायसी खर्चमा समेत लघु कर्जा प्रयोग भएको हुन्छ।
लक्षित वर्गको वित्तीय समावेशिताका लागि लघुवित्त सेवा प्रमुख उपाय हो। यो तथ्य तथ्यांकले पनि पुष्टि गर्छ। २०७९ फागुन मसान्तसम्म 'घ' वर्गको लघुवित्त वित्तीय संस्थाहरूबाट ३२ लाख वटा लघुकर्जा बक्यौता भएको र 'क', 'ख' र 'ग' वर्गबाट जम्मा साढे १८ लाख वटा कर्जा बक्यौता थियो। त्यसैगरी करिब ७२ लाख सदस्य भएका देशभरका सहकारी संस्थामा कम्तिमा १० प्रतिशत लघुकर्जाका ऋणी सदस्य छन्।
आयआर्जनका गतिविधि र अरू जरूरतका निम्ति लिएको ऋण सदुपयोग भएमा ऋण तिर्ने आधार तयार हुन्छ। उपभोगका लागि लिएको ऋण तिर्न वैकल्पिक आयस्रोत आवश्यक पर्छ। ऋणीले कर्जा दुरूपयोग गर्ने, ऋण तिर्न फेरि ऋण माग्ने, फजुल खर्चमा कर्जा प्रयोग गर्ने, क्षमताभन्दा बढी ऋण लिने हुन थाल्यो भने चाहिँ अन्तमा 'दुःख पाइस् मंगले आफ्नै ढंगले' हुन्छ। ऋणको चक्रमा पर्दा अरूलाई दोष लगाउन सजिलो हुन्छ।
लघुवित्तका ऋणीले कर्जा सदुपयोग गर्न सकेनन्, जानेनन् या सिकाइएन?
लघुवित्तका सदस्य या ग्राहकले कर्जा लिएपछि भावनामा आएर गरिबी न्यूनीकरण नभएको र कर्जा लिएकै कारण उसको यस्तो अवस्था भएको भन्न पनि थालेका छन्। तर लघुवित्तविरूद्धको विष वमन मौखिक छ। लघुवित्तविरूद्ध प्रमाणसहित लिखित उजुरी राष्ट्र बैंकमा दिन भनिएकामा सार्वजनिक रूपमा प्रचारप्रसार गरिएजस्तो प्रमाणसहितको लिखित उजुरी आउन सकेको छैन।
कर्जा दुरूपयोग गरेका, कर्जा मिनाहा हुन्छ भन्ने भ्रम पालेका, राजनीतिक रूपमा सक्रिय, पहुँचवाला साथै टाठाबाठा ऋणीहरू समेत लघुवित्तविरूद्धको आन्दोलनमा लागेका छन्। उनीहरू बढाइचढाइ गरिएका र अपवादमा भएका लघुवित्तका कर्मचारीहरूका व्यक्तिगत कमीकमजोरीलाई सबै लघुवित्त संस्था र सबै कर्मचारीको व्यवहार हो भनेर प्रचार गरिरहेका छन्।
लघुवित्तविरूद्ध आन्दोलनमा लागेकाहरू कर्जा सदुपयोग गर्नुपर्छ भन्ने थाहा नभएका नाबालकजस्ता छैनन्। तीमध्ये टाठाबाठा त राष्ट्र बैंकको निर्देशन खरर भन्न सक्ने छन्। ती सबै इमानदार र विगतमा समेत इमानदारिताको आचरण गर्ने नै हुन् भन्ने प्रमाण छैन। कसैले एकपक्षीय र मौखिक रूपमा भन्दैमा तिनका कथा र आरोपहरू सत्य हुन् भन्ने पुष्टि भइसकेको छैन।
करिब ६-७ प्रतिशत भाखा नाघेका ऋणीहरूले विभिन्न कारणले कर्जा तिर्न नसकेका हुन्। उनीहरूले अहिले पनि कर्जा नियमित राख्ने ९३-९४ प्रतिशतलाई प्रतिनिधित्व गर्दैनन्। तिर्न सक्ने क्षमता हुँदाहुँदै नतिर्ने र कर्जा मिनाहा हुन्छ भनेर कर्जा तिर्न अटेरी गर्नेसँग कर्जा असुली सम्बन्धमा के गर्ने भनेर शाखा प्रबन्धकहरूको राय सम्बन्धी एक सानो सर्भेक्षण गरिएको थियो।
उनीहरूमध्ये ४३ प्रतिशतले थप कर्जा लगानी वा नवीकरण रोक्ने, २७ प्रतिशतले केही नगर्ने वा के गर्ने थाहा छैन, १६ प्रतिशतले असुली र कालो सूचीको प्रक्रियामा जाने, १४ प्रतिशतले उजुरी गर्ने तथा कानुनी कारबाहीमा जाने भन्ने राय व्यक्त गरेका छन्।
लघुकर्जा र मिटरब्याजको सम्बन्ध
मिटरब्याजीले लघुवित्तको नाम लिएर लघुवित्तलाई बदनाम गरेको समेत सुन्नमा आएको छ। कतिपय ठाउँमा लघुवित्त सदस्यलाई 'खेताला' बनाएर वा अन्य तरिकाले मिटरब्याजीहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लघुकर्जाको पैसा प्रयोग गरेको समेत सुनिन्छ।
मिटरब्याज पीडितविरूद्ध बारम्बार लाठी चार्ज र बल प्रयोग भएको छ। तर लघुवित्तविरूद्धको आन्दोलन निर्वाध चलेको छ। यो देख्दा राज्य संयन्त्र समेत दुरूपयोग भएको शंका गर्ने ठाउँ छ। अनि मिटरब्याजी सरहको दोष लघुवित्तलाई पनि लगाइँदैछ। कुनै न कुनै अन्तर सम्बन्ध लुकेको देखिन्छ।
लघुवित्त सदस्य सबै इमानदार, नरिसाउने, झैझगडा नगर्ने, लघुवित्तकर्मीलाई आक्रमण नगर्ने बरू आफ्नो हकहितका लागि आवाज उठाउन नसकेकाले अराजक समूहको पछाडि लाग्न परेको झैं पारिएको छ। यो एक पक्षीय वर्णनले सबै पक्ष समेट्न सकेको छैन। बरू अहिले लघुवित्तको विरोध गर्नेहरूले अरू मानिसहरूलाई मिटरब्याजमा कर्जा दिने स्रोतक रूपमा लघुवित्त समूह र केन्द्र चलाएर लघुवित्तका सदस्यहरूलाई शोषण गरेको छन्। लघुवित्त संस्थाहरूले ती र त्यस्ता व्यक्तिहरूविरूद्ध तत्काल कारबाही चलाउनुपर्छ।
बैंकिङ तथा लघुवित्तका समस्याहरू
आर्थिक रूपले सक्रिय समुदायसँग एक संक्षिप्त अनलाइन सर्भेक्षण गरिएको थियो। सर्भेक्षणमा सहभागीमध्ये ५५ प्रतिशतले कर्जाको पूर्ण सदुपयोग नहुनु, २० प्रतिशतले ऋणीको भुक्तानी क्षमता खस्किनु, १४ प्रतिशतले ब्याजदर र अन्य जोखिम बढ्नु, ११ प्रतिशतले तीव्र तथा अस्वस्थ प्रतिस्पर्धा बढ्नु बैंकिङ क्षेत्रका मुख्य समस्या हुन् भन्ने राय व्यक्त गरेका थिए। यो समग्र बैंकिङ क्षेत्रको समस्या लघुवित्तको समस्यासँग मिल्दोजुल्दो पाइएको छ।
लघुवित्त क्षेत्रका विज्ञहरू र विशिष्ट व्यक्तित्वहरू सम्मिलित एक सेमिनारमा लघुवित्तका अहिलेका समस्याहरू पहिचान गरिएको थियो।
पहिचान गरिएका मुख्य मुख्य समस्याहरू; समुदायको विश्वास जित्ने काम गर्न नसक्नु, धेरै ठाउँमा ऋण माफियाको प्रभाव अधिक हुनु, तीव्र प्रतिस्पर्धाका कारण कर्जा अत्यधिक प्रवाह भई जोखिम बढ्नु, माइक्रोफाइनान्स विरोधाभासको चक्करमा पर्नु, अनेक स्वार्थका उद्देश्यहरू लिएका लघुवित्तका विरोधीहरू सक्रिय हुनु लगायत हुन्।
लघुवित्तका कर्मचारी र सरोकारवालाहरू सम्मिलित ११२ जनामा गरिएको अर्को एक संक्षिप्त सर्भेक्षणबाट ७० प्रतिशत सहभागीले कर्जा सदुपयोग नहुनु, १५ प्रतिशतले ओभर फाइनान्सिङ हुनु, १२ प्रतिशतले तीव्र तथा अस्वस्थ प्रतिस्पर्धा हुनु र बाँकी ३ प्रतिशतले देश र ऋणीको आर्थिक अवस्था शिथिल हुनु लघुवित्तका मुख्य समस्या भएको बताए।
लघुवित्तका १०० जना शाखा प्रबन्धकहरूसँग लघुवित्तविरूद्धको आन्दोलनको समस्या समाधान सम्बन्धी रायबारे अर्को सानो सर्भे गरिएको थियो। ती शाखा प्रबन्धकमध्ये ३५ प्रतिशतले 'हामी आफू सुध्रिन जरूरी छ', ३३ प्रतिशतले 'वार्ता गरेर समाधान गर्नुपर्छ', २४ प्रतिशतले 'केही नगर्ने वा के गर्ने थाहा छैन' र बाँकी ८ प्रतिशतले 'प्रतिकार वा कारबाहीमा उत्रिने' भन्ने राय व्यक्त गरे।
अहिले निर्वाहमुखी खेतीपाती र व्यवसाय, तीव्र दरको बसाइसराइ, वैदेशिक रोजगारीको बढ्दो निर्भरता नेपालको सामाजिक र आर्थिक प्रवृत्तिजस्तो भएको छ। पछिल्लो समय आफ्नो क्षमताभन्दा बढी ऋण लिने र नतिर्ने प्रवृत्ति समेत बढ्दो छ।
लोभलालच र दबाबमा परेर अरूलाई सापटी दिने, ज्ञान, सीप तथा क्षमता नभएको विषयमा हात हाल्ने र अस्वाभाविक जोखिम लिने गतिविधिहरूले लघुवित्तका ऋणीहरूको लगानी डुबेको समेत पाइन्छ। कर्जाको सदुपयोग नहुँदा र बाह्य कारणले लगानी डुब्दा पनि लघुवित्त संस्थालाई नै दोष लगाउने प्रवृति पनि बढेको देखिन्छ।
अहिले लघुवित्तको सतहमा देखिएका समस्याहरू लक्षण मात्र हुन्। समस्याको जड आर्थिक, सामाजिक र राजनैतिकसहितका बहुआयामिक छन्। समस्याको मूल कारणमा उपचार खोजे मात्र समाधान र न्याय प्राप्त हुन्छ।
(लेखक पौडेल वित्तीय क्षेत्रका विश्लेषक तथा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट हुन्।)