उता आर्थिक वर्ष सकिँदै थियो, यता मन्त्रालयबाट चीनमा हुने एउटा सेमिनारको लागि मनोनयन भएछ।
जागिरका चौध वर्षमा तेस्रोपटक विदेश भ्रमणको अवसर पाउँदाको खुसी बेग्लै। पासपोर्ट नवीकरण गर्नु छ। आयोजकलाई दिने मायाको चिनो किन्नु छ। पर्यटन बोर्डबाट उत्पादित नेपालको पर्यटन प्रवर्द्धन गर्ने सामग्रीहरू लिनु छ। आफ्नो किनमेल गर्ने र अलिकति चिनियाँ 'करेन्सी' साट्ने हतारो बेग्लै। कार्यालयको काम असार २३ गतेसम्म सकेर त्यही राति उड्नुपर्ने अर्को चटारो। जेनतेन सबै सिद्ध्याएर समयमै एयरपोर्ट पुगियो।
विभिन्न निकायका चार कर्मचारी हामी। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट म। सहरी विकास मन्त्रालयबाट हिरा। अर्थ मन्त्रालयबाट बृहत। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट अमर।
एयरलाइन्सले पहिल्यै थाहा पाए जसरी यसअघि विदेश गइसकेका हिरा र मलाई एक ठाउँमा, नगएका बृहत र अमरलाई एक ठाउँमा सिट छुट्ट्याएको रहेछ। सबै बस्दै गएपछि प्लेन भरियो।
त्रिभुवन विमानस्थलको रनवे छोडेर ग्वान्झाउ उड्नै आँटेको चाइना साउदर्नको प्लेन एक साथ गुञ्जायमान भयो। युवाहरू ठूलै जित हात परेझैं गरी चिच्याए।
थाहा छैन, त्यो चिच्याई देश छोड्न पाएको खुसियाली हो वा हल्का 'एड्भेन्चरस फिल' आएर? देशमा हुने हैरानी र बेरोजगारीबाट मुक्ति पाएकोमा हो वा उता भविष्य उज्ज्वल हुने ग्यारेन्टी भएर गरिएको 'प्रि-सेलेब्रेसन'?
घडीले राती बाह्रको सुई हान्नै लाग्दाको गुञ्जनले एकछिन सबैको ध्यान तान्यो, निन्द्रा उडायो।
बिदेसिने युवासँग देशप्रतिको दिक्दारीका एक भारी कथा हुँदा हुन्।
यतै कतै रोजगारी नपाएको। पाएको ठाउँमा श्रम शोषण भएको। महिनौ कुर्दा पनि ड्राइभिङ लाइसेन्स छापिएर नआएको। पठाओले पनि एयरपोर्ट हो भाइ भन्दै, त्यसमाथि रातिको समय देखाउँदै आफैले 'एसेप्ट' गरेभन्दा बढी पैसा मागेको। अध्यागमनको लामो लाइन एक घन्टा खडे खडे छिचोलेको। यस्ता लाइन अन्त पनि बेहोरेको। सुरक्षा जाँचका बेला एयरपोर्टमै जुत्ता, मोजा, बेल्ट, क्याप जम्मै खोल्न लगाएर ठम्ठम्ती हिँडाएको। यस्ता दिक्दारी अब बेहोर्नु पर्दैन भनेर पनि हुन सक्छ चिच्याएका।
तर जिन्दगी त सोचेझैं उता पनि छैन।
युवाहरू अधिकांश विद्यार्थी बनेर जाँदै थिए सायद। कोही रोजगारीमा पनि जाँदै थिए होलान्। कसैको निधारको रातो टीका, कसैको सेतो टीकाले बिदेसिनेहरूको बहुल जातीयता झल्काइरहेको थियो। बिदेसिनेको लर्कोमा पुरूषभन्दा महिलाको संख्या आज मात्रै बढी हो वा सधैं? अध्यागमनको तथ्यांक नहेरी भन्न नसकिएला।
हामी भने पन्ध्रौं दिनमा फर्किने गरी सांघाई जाँदै थियौं। ट्रान्जिट ग्वान्झाउ। ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ अन्तर्गत विद्युतीय पोर्मा आधारित आपूर्ति शृंखला, कनेक्टिभिटी र व्यापार सहजीकरण विषयक सेमिनारमा सहभागी हुन। चाइना एड अन्तर्गत चीन सरकारको वाणिज्य मन्त्रालयले आयोजना गरेको थियो सेमिनार।
रोचक कुरा, एयरलाइन्स चाइना साउदर्न, उड्न थाल्यो पूर्वतिर। मरूभूमि या तराई भएका केही देश घुम्ने अवसर मिलेकै हो यसअघि। तर पहाडहरू भएको मुलुक घुम्ने अवसर यसपालि मिलेकाले कौतूहलता थियो मनमा। त्यसमाथि विश्वलाई चकित पार्ने आफ्नै शैलीको विकास र आधुनिकीकरण गर्न सफल उत्तरी छिमेकी गणतन्त्र चीनको यात्रा। विश्व शक्ति बन्दै गइरहेको चीनलाई चियाउने चाहना पूरा हुँदै थियो।
जमिनबाट हजारौं फिटमाथि चकमन्न आकाशमा विमान उडिरह्यो। मन प्लेनभन्दा चाँडो चीन पुग्न आतुर भएर दौडिरह्यो। तातो-चिसो पानी, कफी, चाइनिज वाइन, डिनरको व्यवस्थापन र वाशरूमतिर यात्रु ओहोरदोहोरले विमानमा चहलपहल चलिरह्यो। नेपालबाट उड्ने अधिकांश साँघुरा बजेटका एयरलाइन्सहरू त्यति आरामदायी नलाग्ने भएर होला, निदाउन नसक्नेहरूको छटपटी बढिरह्यो।
चार घन्टा हुनै लागेको थियो काठमाडौंबाट उडेको। चीनको आकाशमा विचरण गरिरहेका थियौं। बाहिर प्लेनको पखेटाको बत्ती ब्लिंक ब्लिंक गर्दै झिसमिसेलाई स्वागत गरिरह्यो। सूर्यले पनि मानौं राति चन्द्रमालाई दिएको ज्योति 'फिर्ता' लैजाँदै थियो। बिस्तारै क्षितिज पहेँलो र हल्का रातो पार्दै सूर्य उक्लिँदै गयो। झ्यालबाट चीनको भूगोल, बस्ती र आधुनिक विकास देखिँदै गयो।
भूगोल उस्तै होला। अलि घटीबढी हुन सक्छ पहाडको उचाइ, गोलाइमा। आकाशको बादल त्यही हो। चल्ने हावा उस्तै। यद्यपि यहाँ समुद्री आँधी आउँछ, नेपालमा आउँदैन। तर चीनको विकास विल्कुल अलग्गै देखिँदै थियो आकाशबाट चियाउँदा। जमिनबाट हेर्न र अनुभव गर्न त बाँकी नै थियो।
प्लेन नेपालमा मात्रै होला निकै उचाइमा उड्ने। अग्ला अग्ला पहाड छिचोल्नुपर्ने भएर। यहाँ त तल तल तल तल उडिरहेको छ। मानव निर्मित संरचना सबै झ्यालबाटै देखिने गरी। सडक देखिन्छन् पहाडमै तर फनफनी घुमेका सात घुम्तीवाल होइनन्। खोलामा पुल छन्, साँघुरा एक दुई लेनका होइनन्। पहाडको कुनै कुनै बिन्दुमा हराउने बाटो भित्तो छेडेर फुत्त अर्कोपट्टि निस्किन्छ। यात्रा सहज र छिटो होस् भनेर सडक सिधा राख्न पहाड छेडेर सुरूङ बनाइएका छन्। बस्ती खोज्दै बाटो हिँडेजस्तो लाग्दैन, बाटो खोज्दै बस्ती आएजस्तो देखिन्छ।
थुम्का थुम्कामा विन्ड मिल चलिरहेछन् हावाबाट। समुद्रमा पनि उस्तै पंखाहरू जोडिएका छन्। हुन त विन्ड इनर्जी प्रयोगमा विश्वमा सबैलाई उछिनिसकेको छ चीनले। सबभन्दा ठूलो विन्ड एनर्जी टर्वाइन पनि चीनमै स्थापना भएझैं लाग्छ। थ्री गर्जेज कर्पोरेसनले बनाएको सोह्र मेगावाट क्षमताको टर्बाइन। नेपालमा मैले देखेको एक मात्र अछाम कमलबजारको जीर्ण विन्ड मिललाई सम्झिएँ चीनकै आकाशबाट।
पहाडका भित्तामा पहाडैजत्रा घर देखिन्छन्। आकाशबाट हेर्दा जस्ता टल्किने एउटा घर यो डाँडामा अर्को त्यो डाँडामा छैनन्। बस्तीहरू छितरिएका छैनन्, मल्टीस्टोरी बिल्डिङहरूको व्यवस्थित लहर देखिन्छ। मानिसहरू आधारभूत सबै सुविधा भएका तिनै बिल्डिङमा बस्दा होलान्।
प्लेन यता ढल्किन्छ, उता ढल्किन्छ। मेरा आँखा चिम्नी खोज्न थाल्छन्। उद्योगबाट पुत्ताइरहेको धुँवा हेर्न। न चाइनिज इँटाका चिम्नी पो देखिन्छन् कि काठमाडौं उपत्यकामा जस्तै। कतै देखिएनन्।
बरू देखिए कुरूप नहुने गरी कोतरिएका पहाड। मानौं, आफैलाई कोतरेको ती पहाडले चालै पाएका छैनन्। त्यसैले होला न पहिरो गएको दाग देखिन्छ, न कुरूपता। नदीहरू धर्तीको छातीमा स्वच्छन्द बगेका छन्। तिनको स्वरूप बिगार्ने कुरै भएन। बरू ठाउँठाउँमा दुवै किनारतिर रूख रोपेर, ड्यामहरू बनाएर, तिनीहरूमाथि कलात्मक पुलहरू ठड्याएर सौन्दर्यीकरण गरिएका छन्। तिनीहरूबाट आसपास सबैतिर सिञ्चन गर्न सक्ने गरी नहर निकालिएका छन्। खेतीयोग्य जमिन दुरूपयोगको कुनै संकेत देखिएन। सबै जग्गा सरकारको नाममा हुने भएर पनि होला, सरकारले आफूले चाहेझैं जमिनको प्रयोग गरिरहेकफ छ।
ग्वान्झाउ एयरपोर्टमा पुग्यो प्लेन। पूरा नाम ग्वान्झाउ वायुन इन्टरनेसनल एयरपोर्ट भए पनि 'वायुनपोर्ट' भनेर ब्रान्डिङ गरिएको छ। सर्वाधिक यात्रु आवागमन हुने चिनियाँ एयरपोर्ट। वरदेखि परसम्म चाइना साउदर्न एयरलाइन्सका प्लेनले ढाकेको एयरपोर्ट। एक, अर्को, अर्को। प्लेन अवतरण भएर गुडेको कति भइसक्यो, सकिँदैन प्लेनको लर्को। मुलुकभित्र एक्काइस र मुलुकबाहिर बाउन्न सहरमा सेल्स-अफिस रहेको चीनकै ठूलो चाइना साउदर्न एयरलाइन्सको मुख्यालय ग्वान्झाउमै रहेछ। पैंतालीस वर्षदेखि सेवा दिइरहेको ऊसँग यात्रुवाहक र कार्गो गरी नौ सयभन्दा बढी विमान रहेछन्। नेपालमा कुनै यातायात कम्पनीसँग बस छैनन् त्यति।
प्लेनमा एकाध बाहेक सबै नेपाली देखिन्थे। अस्ट्रेलिया र जापान जानेहरू अत्यधिक। केही ग्वान्झाउमै झर्ने। केही अन्य सहर जाने। सबै आ-आफ्नो गन्तव्यको लागि निस्किए। कोही त्यही निस्किए। कोही डोमेस्टिक अराइभलतर्फ लागे। कोही इन्टरनेसनल ट्रान्सफरतिर।
ग्वान्झाउबाट सांघाई जानुपर्ने। डोमेस्टिक ट्रान्सफरतिर गएर अराइभल छाप लगाउन डेस्कमा पुगेपछि थाहा भयो फाराम भर्नुपर्ने रहेछ विदेशीले। लाइन बसेर काउन्टरमा पुगेको व्यर्थै भयो। प्रायः चाइनिजमा लेखिएको छ, भाषागत समस्या यहीँबाट सुरू हुने संकेत देखियो। न सेक्युरिटीले कुरो बुझ्छन्, न इमिग्रेसन अफिसरले। सर्वसाधारणले त झनै के बुझ्थे?
फर्म भर्ने ठाउँमा गएको म्यानुअल्ली भर्नुपर्ने रहेछ। किन होला?
नेपालमा त अनलाइन भर्न मिल्छ, यत्रो प्रविधि विकास गरेको चीनले यसो गर्नुको कारण बुझ्न सकिएन। अलिकति अलमलपछि अराइभल लिएर गेट नम्बर २७१ तिर हानियौं।
एयरबस-३३० पो। वाइडबडी। पूरै खुला खुला। अग्लो पनि उस्तै। डेढ-दुई सय क्षमताका प्लेनहरू त होचा देखिने। फर्स्ट क्लास, बिजनेस क्लास, प्रिमियम इकोनोमी र इकोनोमी गरी चार क्लासका दुई सय ७५ सिट क्षमता। हामी साठीऔं लहरमा थियौं, करिब करिब पुछारमा।
साढे दुई घन्टा सुविधायुक्त एयरबसको आनन्द लिँदै पुगियो समुद्र सतहबाट जम्माजम्मी उन्नाइस फिट उचाइमा बसेको गज्जबको सांघाई पुदोङ एयरपोर्टमा। लगेज लिने ठाउँसम्म पुग्न अन्डरग्राउन्ड सटल सुविधा लिइयो।
चीनको सबभन्दा बढी मानिस बस्ने सहर सांघाई। सांघाईबाट एउटै कुरा सिके पनि मुलुक बन्छ होला, त्यो हो समय। सबै कुरा ठ्याक्कै समयमै हुने। डेजी हामीलाई लिन समयमै एयरपोर्ट आइसकेकी थिइन्। स्वागत गरिन्। होटलमा लगिन्। लन्चको समय सकिइसकेकाले रेस्टुरेन्ट समयमै बन्द भइसकेको थियो। हामीलाई लन्च प्याक राखिएको रहेछ। एक एक प्याकेट बोकेर लाग्यौं रूमतिर।
भोलिपल्ट पौने आठ बजे सांघाई युनिभर्सिटी अफ स्पोर्ट्स सेन्टरबाट सांघाई बिजनेस स्कुल लैजान पन्ध्र मिनेट पहिल्यै पुगिसकेकी थिइन् डेजी। केही सहभागीले तीन मिनेट ढिलो गर्दा समयको महत्त्व बुझ्न समयमै भन्दै थिइन्।
होटलबाट कार्यक्रम स्थलको यात्रा एक घन्टाको थियो। पुग्नासाथ लबीमै तयारी अवस्थामा छ क्यामरा, सबैको फोटो खिच्न। ढिलो गर्नै पाइएन। सेमिनार हल चौधौं तलामा। उक्लियौं, हिँडेको थाहै नपाइने लिफ्टबाट। उक्लिरहँदा दिनमा कम्तीमा एकपटक चढ्ने गरेको सामान्य प्रशासन मन्त्रालयको लिफ्ट सम्झिएँ। तेस्रो तलामा जान त्यसको पर्खाइ, 'मुभमेन्ट' र कहिलेकाहीँ चल्नै नमान्ने खराब बानी। धन्न! त्यही भए पनि छ।
सेमिनारको औपचारिक उद्घाटन अघि माओत्से तुङको तस्बिर अंकित एक खाम रेन्मिन्बी दिए। स्वास्थ्य परीक्षण गरे। ६ देशका पाँच महिलासहित बीस सहभागी। अफगानिस्तान, कम्बोडिया, मोरक्को, नेपाल, पनामा र जिम्बाब्वे। मोरक्कोका निजी क्षेत्रका सहभागी, बाँकीका सरकारी क्षेत्रका। सबैलाई नेमप्लेट सहित तोकिएको सिट। सिटमा छातासहित डायरी, कलम, नोटहरू, सांघाईको नक्सा, मेट्रो रेलको रूटसहितको म्याप भएको झोला। झोलाछेउ मिनरल वाटरको फुच्चे बोतल। तीन सय अठ्चालीस मिलिलिटर पानी भएको। अठ्चालीस चाहिँ किन होला? अहिलेसम्म थाहा छैन।
आयोजक र अतिथि ड्यासमा बसे। कुनै तामझाम छैन। न माला, खादा। न लम्बे भाषण। उनीहरूले चिनियाँ भाषामा बोले, अनुवादकर्ताले अंग्रेजीमा। स्वागत गरे, केही जानकारी दिए। समयमै सुरू भएको उद्घाटन सत्र सकियो पनि समयमै। सांघाईको समय त हेरियो, अब चामत्कारिक विकास हेर्नु छ बाँकी दिनमा। तर त्योभन्दा पहिले चपस्टिकले खान सिक्नु छ!
(लेखक गोकर्णप्रसाद उपाध्याय नेपाल सरकारका उपसचिव हुन्।)
(गोकर्णप्रसाद उपाध्यायका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)