जलवायु अभियन्ता बिल म्याक्किबेन आफ्नो पुस्तक 'द इन्ड अफ नेचर' मा लेख्छन् — अमेरिकाको मोहावी मरूभूमिमा क्रियोसोट नामक बिरूवाको एउटा झाडी छ जसको आयु वैज्ञानिकहरूले ११ हजार ७ सय वर्ष हिसाब गरेका छन्। त्यो झाडी सुरू हुनुअगाडि मानिस आम रूपमा शिकार र कन्दमुलको भरमा बाँच्ने डुलुवा प्राणी थियो। त्यसपछि ऊ मूलतः कृषिमा निर्भर रैथाने प्राणीमा बदलियो र मानव सभ्यता सुरू भयो।
कृषि युग सुरू हुने बेला विश्वमा मानव जनसंख्या दस लाखदेखि डेढ करोडसम्म रहेको अनुमान छ। त्यसयता म्याक्किबेनको हिसाबमा ३३० देखि ४०० सम्म पुस्ताका मानिसहरू बाँचेका छन्।
तीमध्ये इसा युग सुरू हुने बेला २० करोड हाराहारी पुगेको मानव जनसंख्या एक अर्ब पुग्न अरू १८ सय वर्ष लाग्यो। तर त्यसयताका सवा दुई शताब्दीमा जनसंख्या बढेर आठ अर्ब कटिसकेको छ।
अनि मरूभूमिको 'किङ क्लोन' भनिने उल्लिखित झाडीले पृथ्वीमा उसको जन्मकालमा रहेको एक व्यक्ति बढेर ८०० जना बनेको तमासा हेरेर बसिरहेको छ।
एउटा वनस्पतिको दिर्घायु यस्तो हुन सक्छ जुन पशु जगतको कुनै पनि प्रजातिका लागि सम्भव छैन!
अहिलेको दुर्भाग्य के भने, पृथ्वीको वनस्पति जगत अभूतपूर्व गतिमा नाश भइरहेको छ। केही वर्षसम्म लगातार लागेका डढेलोहरूले करोडौं वर्ष लगाएर विकास भएका, सयौं वर्ष पुराना वनस्पतिलाई खरानी बनाइरहेका छन्। कुनै बेला अद्वितीय जैविक विविधता बोकेका जंगलहरू रातारात मरूभूमि बनेका छन्।
नेचर इकोलोजी एन्ड इभोलुसन जर्नलमा सन् २०१९ मा प्रकाशित आलेखका अनुसार सन् १७५० यता कम्तीमा ५७१ ज्ञात जंगली वनस्पतिहरू लोप भएर गएका छन्। डढेलोमा मासिने अज्ञात प्रजातिका वनस्पतिको त कुनै हिसाब नै छैन।
लन्डनस्थित रोयल बोटानिकल गार्डेनको रिपोर्टले सन् २०१६ मा निकालेको स्टेट अफ द वर्ल्ड्स प्लान्ट एन्ड फंगाइ रिपोर्टमा २० प्रतिशत वनस्पति र फंगसहरू लोप हुने जोखिममा रहेको बताएको थियो। उसैको सन् २०२० को रिपोर्टले ३९.४ प्रतिशत वनस्पति र फंगस लोप हुने जोखिम रहेको उल्लेख गरेको छ।
अर्थात् पृथ्वीको पर्यावरण अहिलेकै रफ्तारमा बिग्रिने हो भने छिट्टै अहिलेका दसमध्ये चार प्रजातिका वनस्पति अस्तित्वमा रहने छैनन्। तिनमा निर्भर रहने पशु प्रजातिहरू सम्भवतः त्यसअगाडि नै लोप भएर गइसकेका हुनेछन्। ती पशुमध्ये मानव नामको पशु पनि हुन सक्नेछ।
अब हेरौं वनस्पतिहरूको यस्तो विनाशको भौगोलिक वितरण कस्तो छ भनेर।
समुद्रबाहेक पृथ्वीको पूरा गोलाइ समेट्ने जंगलका दुई प्रमुख पेटीहरू छन् — भूमध्यरेखा वरिपरिको रेनफरेस्ट र उत्तरी गोलार्द्धको ६० डिग्री अक्षांशको सेरोफेरोमा रहेको बोरियल जंगल।
पृथ्वीको वायुमण्डलको न्यूनचापीय हिस्सामा रहेका यी ठाउँमा प्रचुर वर्षाले यी जंगलहरूलाई जन्म दिएको हो।
दशकौंदेखि यी दुवै जंगलमा फँडानीको कहर त थियो नै, अब खास गरी बोरियल जंगलमा आगलागीले अभूतपूर्व क्षति पुर्याइरहेको छ। यसै पनि तापक्रम बढ्दै गएसँगै यो जंगल आफैमा उत्तरतिर धकेलिँदै थियो र उत्तरी सीमामा मूलतः समुद्र रहेकाले खुम्चिँदै थियो।
ग्लोबल फरेस्ट वाचका अनुसार सन् २०११ र २०२१ बीचको दशकमा डढेलोबाट ८ करोड हेक्टर बोरियल जंगल नास भएको छ, जुन यो अवधिमा भएको विश्वव्यापी जंगल नासको ७० प्रतिशत हो।
यी दुवै जंगलका पेटीहरूको बीचमा ३० डिग्री अक्षांशको आसपास रहेको वायुमण्डलको उच्च चापीय हिस्साको मुनि एसिया र अफ्रिकामा विशाल मरूभूमिहरूको शृंखला छ जुन पश्चिममा सहारा मरूभूमिबाट सुरू भएर अरब उपमहाद्वीप ढाकेको विशाल मरूभूमि हुँदै भारतको थार मरूभूमिसम्म आएर टुंगिन्छ।
अक्षांशका हिसाबले त्यो मरूभूमि पूर्वतिर बढ्दै आएर नेपालको पूरै भूभागमा पनि सहारा मरूभूमिजस्तै हावापानी हुनुपर्ने हो। तर हिमालयको उपस्थितिका कारण यहाँ वर्षभरि हिउँ पग्लेर बग्ने नदी छन्, उर्वर माटो छ र मरूभूमि छैन। र, हामीकहाँ जंगल छ जहाँ अनेक प्रजातिका रैथाने रूखहरू छन्।
त्यसैले जलवायु परिवर्तन भएर पृथ्वी तातेसँगै मूलतः सल्लो प्रजातिका रूख रहेको बोरियल जंगल सकिँदै गए पनि नेपालका रैथाने जंगल अहिले जस्तै रहने छन्। हिउँदमा आगलागी भए पनि त्यसले पातपत्कर र ससाना बेर्ना मात्रै मार्नेछ। रूखहरूले जंगल जीवितै राख्नेछन्।
एक महिना अगाडिसम्म मलाई यस्तै लाग्थ्यो।
तर हालै मैले गरेको महाभारत शृंखलाको मध्य भागमा रहेको हाम्रो गाउँको भ्रमणपछि म छाँगाबाट खसेजस्तै भएको छु।
कारण बुझ्न भिडिओ हेर्नुहोस् —
यो भूभागमा मानिसहरूले थाहा पाएदेखि पहिलोपल्ट रूखसहित सिंगो जंगल सखाप भएको छ। यसअगाडि डढेलोले भुइँका पत्कर र बेर्नाहरू मात्रै जलाउँथ्यो। बर्खा लाग्नासाथ घना, हरियो जंगल फर्किन्थ्यो।
तर गत वर्ष हिउँदे वर्षा नभएकाले अस्वाभाविक रूपमा लम्बिएको डढेलोको सिजनमा रूखहरू नै जले र बर्खा लागेपछि पनि तिनले नयाँ पात हालेनन्।
अब यो ठाउँमा पहिले जस्तो जंगल हुर्किन असम्भवप्रायः छ।
कारण — डढेलोको सिजन आउने वर्षहरूमा थप लम्बिँदै जानेछ। केही वर्षहरूमा हिउँदे वर्षा भएर डढेलो कम भए पनि रूख हुर्किन त्यो काफी हुने छैन र अर्को वर्षको डढेलोले ती वनस्पतिका बेर्ना फेरि मार्नेछ।
पर्वतको कुस्मा वरिपरिका डाँडाहरूदेखि सुरू गरेर बागलुङको हाँडीकोटसम्मको यात्रामा मैले यस्ता दृश्यहरू यत्रतत्र देखेँ। वर्षभरि ओसिलो रहने पहाडको उत्तरी मोहडाका जंगलको समेत यसखाले विनाश भएको मैले देखेँ। नेपालका लागि यो कति भयावह र विनाशकारी कुरा हो भन्ने कल्पना गर्दा मेरो आङ सिरिंग हुन्छ।
पृथ्वीमा विकसित जीवनलाई एउटा मन्दिरसित तुलना गर्ने हो भने बाघ वा गैंडा लोप हुनु भनेको त्यसको गजुर भाँचिएर जानु जस्तै हो। माछाको कुनै प्रजाति वा मानिसले भोजनका रूपमा प्रयोग गर्ने अन्य जनावर लोप हुनु भनेको त्यसको गारोका केही इँटा गायब हुनु जस्तो हो। तर वनस्पति लोप भएर जानु भनेको मन्दिरको जगबाट ढुंगा उखेलेर फालिनुजस्तै हो।
त्यसको प्रभाव तत्काल नदेखिन सक्छ तर कालान्तरमा त्यसले सिंगो संरचनालाई गर्ल्यामगर्लुम्म बनाउन सक्छ। खाद्य शृंखलामा प्रत्यक्ष जोडिएका वनस्पति लोप हुनु भनेको अनिवार्य रूपमा त्यसमाथि अडिएका पशुहरू लोप हुनु हो।
पछिल्ला केही वर्षका डढेलोहरूले नेपालबाट वनस्पतिहरूलाई लोप बनाइसके भन्ने मेरो जिकिर होइन। त्यो सम्भव छ तर त्यसका लागि व्यापक अध्ययन चाहिन्छ।
के चाहिँ निश्चित हो भने, वन व्यवस्थापनमा सिंगो समाजका रूपमा हामी जता जाँदैछौं, त्यो दिशा कहाली लाग्दो छ। त्यस्तो डरका तीन आयाम छन्।
पहिलो, स्वास्थ्यका हिसाबले हामी निद्रैनिद्रामा भीरबाट हाम फालिरहेको समाज बन्दैछौं।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले नै नेपालमा हरेक वर्ष वायु प्रदूषणका कारण ४२,१०० मानिसको अकाल मृत्यु हुन्छ। त्यो भनेको प्रत्येक दिन ११५ र प्रत्येक घन्टा झन्डै पाँच जना हुन आउँछ। हरेक १२ मिनेटमा अर्थात् तपाईंले यो लेख पढिसक्न लाग्ने समयमा, एक जनाको (ढिलो पढ्नुहुन्छ भने दुई जनाको) नेपालमा वायु प्रदूषणका कारण अकाल मृत्यु भइसक्ने छ।
अघिल्लो वर्षमा बाढी, पहिरो र चट्याङबाट १०४ जनाको मृत्यु हुँदा तिनबारे हामीले महिनौं समाचारहरू सुन्यौं, पढ्यौं र चर्चा गर्यौं। विपद व्यवस्थापन राम्रो नगरेको भनेर सरकारलाई गाली पनि गर्यौं।
तर त्यसभन्दा बढी मानिस प्रत्येक दिन वायु प्रदूषणका कारण मरिरहेका छन्। त्यसमा पनि क्यान्सर भएर मृत्यु हुनेहरूको पीडा वर्णन गरिनसक्नु छ। प्याथोलोजिस्ट भएको नाताले दैनिकजसो फोक्सो र अरू भागमा क्यान्सर भएको भनेर रिपोर्टहरू दिन म अभिशप्त छु, त्यो पनि लाऊँ लाऊँ, खाऊँ खाऊँ भन्ने उमेरका युवायुवती र बालबालिकालाई समेत।
तर पनि यो न सार्वजनिक विमर्शको विषय बनेको छ, न नीति निर्माताहरूको चासोको विषय।
सडकहरूमा निरन्तर निस्किने धुवाँ र धूलोमा अब सहरहरूमा वर्षभर फोहोर जलाउँदा निस्किने विषाक्त धुवाँ र झन्डै आधा वर्षसम्म चल्ने जंगलको डढेलोबाट निस्किने धुवाँ वायु प्रदूषणको मुख्य कारणका रूपमा थपिएको छ। दुरदराजका गाउँबस्ती, जुन कुनै बेला सफा हावापानीका पर्याय थिए, अहिले त्यहीँ महिनौंसम्म विश्वकै उच्च वायु प्रदूषण हुन थालेको छ।
तर हामी अझै संकोचै नमानी 'स्वर्गजस्तो गाउँ' भन्ने कविता लेखेरै बसिरहेका छौं।
दोस्रो, पछिल्ला ३-४ दशकमा नेपाल धेरै सुचकांकहरूमा पछि धकेलिँदै गइरहेको छ। हाम्रो शिक्षा बर्बाद छ, स्वास्थ्य क्षेत्र अस्तव्यस्त। निर्यात शिथिल भएकाले व्यापार घाटा अकासिँदो छ। जलस्रोतको धनी देशले दैनिक एक अर्ब रूपैयाँसम्मको पेट्रोलियम आयात गरेर जलाइरहेको छ। खाद्यान्नमा परनिर्भरता चरम छ, कोदोका लागि समेत हामी आयातमा निर्भर छौं। राज्यले दिने सबै सुविधाहरू खस्किँदै छन्। थोरैतिनो सामाजिक सुरक्षाको भार धान्न समेत राज्यलाई हम्मे परिरहेको छ।
यस्तो अन्धकारबीच हामीकहाँ केही सीमित सम्भावनाका बाटोहरू खुलै थिए। पर्यटन अपेक्षित रूपमा नबढे पनि त्यो क्षेत्रले राम्रै प्रगति गर्दै थियो। सानातिना उतारचढावहरू आए पनि विप्रेषणले हाम्रो अर्थतन्त्रको ठूलो हिस्सा धानेको थियो। सामुदायिक वनको सफलतापछि गाउँका बाँझिँदा खेतबारीसँगै पहाडहरूको हरियाली बढ्दै थियो।
भविष्यका लागि जमिनमा प्रतिस्पर्धी कृषि विकास गर्न नसके पनि नेपालको बढ्दो वन क्षेत्रले कुनै न कुनै दिन अन्तर्राष्ट्रिय कार्बन व्यापारमार्फत राम्रो आम्दानी गर्न सक्ला भन्ने एउटा आशा बाँकी थियो। पछिल्ला केही दशकमा कार्बन व्यापारको अन्तर्राष्ट्रिय अभ्यास धेरै प्रभावकारी नरहे पनि विभिन्न देशभित्र यसका सफल प्रयोगहरू भएका छन्।
न्युजिल्यान्डजस्ता देशका जमिनदार किसानहरूलाई त्यो जमिनमा पशुपालन गर्नुभन्दा त्यहाँ रूख हुर्काएर त्यसबापत औद्योगिक कार्बन उत्सर्जन गर्न पाउने कम्पनीहरूले दिने करोडौं डलरको सम्पत्ति धेरै हुन थालेको छ। र, तिनीहरू मालामाल कृषि छाडेर झनै मालामाल कार्बन व्यापारमा लागेका छन्। भविष्यमा कुनै न कुनै रूपमा त्यस खाले व्यापारको अन्तर्राष्ट्रिय रूप व्यापक हुने देखिन्छ।
एउटै डढेलोले मरूभूमिमा परिणत गर्ने बोरियल जंगलको हालत नेपालका जंगलमा पनि दोहोरियो भने अबका वर्षहरूमा कार्बन भण्डारण गरेबापत पाउन सक्ने अर्बौं डलरको सम्भावित सम्पत्तिबाट नेपालले हात धुनेछ। बसी बसी, प्रकृतिको दोहन समेत नगरी आउन सक्ने ठूलो धन अहिले हाम्रै आँखाअगाडि खरानी बन्दैछ।
महाभारत शृंखलाभरि लाग्ने यस्तो आगोबाट निस्किने धुवाँका कणहरूले हाम्रा हिमालहरूबाट हिउँ पग्लिने क्रम तीव्र पारेका छन्। यसै पनि दीर्घकालमा हिमालको हिउँमा आधारित हाम्रो कृषि, पर्यटन र जलविद्युतको भविष्य घनघोर अनिश्चयले भरिएको छ। वर्षका आठ महिना अहिलेकै जस्तो विषाक्त हावा हुने हो भने त नेपालले अब पर्यटनबाट हात धुन हिमालको हिउँ पग्लुन्जेल समेत पर्खिनुपर्ने छैन।
यसरी हामी अहिले त दरिद्र भयौं भयौं, बीसौं वर्षपछि अर्को पुस्ता आइसक्दा उसले समृद्धि हासिल गर्ने बाटोहरू समेत हाम्रै पालामा धमाधम अवरूद्ध गरिरहेका छौं। अनि कुनै चमत्कारी नेता आएर रातारात हामीलाई सम्पन्न बनाइदिने दिवास्वप्न देख्न र बाँड्न पनि हामी पछि परिरहेका छैनौं।
तेस्रो र सबभन्दा चिन्ताजनक कुरा, हामीकहाँ वन विनाश विनाशकै लागि मात्रै हुँदैछ।
भारतले नल पराल जलाएर दक्षिण एसिया ढाक्ने गरी धुवाँ त छाड्छ, तर त्यही खेतमा बनेको अन्नले भारतीयहरूको पेट भरिन्छ र निर्यातको डलर कमिन्छ। चीनले कोइला बालेर वस्तुहरू उत्पादन गर्छ, तर त्यही बेचेर धनी र शक्तिशाली पनि बन्छ।
नेपालमा भने हामी दक्षिण र उत्तरका सामान पनि किन्छौं, प्रदूषण पनि किन्छौं। हामीसित बेचेर आम्दानी गर्न केही छैन। उल्टै दक्षिण र उत्तरबाट आएर महिनौं आकाशै अँध्यारो बनाउने धुवाँ र धूलोमा आफ्नो जंगल जलाएर धुवाँ थप्छौं। कहिल्यै नसकिने गरी सडक जथाभावी खनेर धूलो थप्छौं। सहरमा घरघरमा हिउँदभर फोहोर जलाएर क्यान्सर गराउने रसायनहरू आफ्नै फोक्सो र रगतसम्म पठाउँछौं।
चीनले ठूलो औद्योगिक मूल्य चुकाएर, आर्थिक क्षति सहेर पनि कोइलाका भट्टीहरू स्थानान्तरण गरेर सांघाई र बेइजिङजस्ता सहरको हावाको गुणस्तरमा उल्लेख्य सुधार ल्याएको छ। जबकि कुनै बेला ती सहरहरू वर्षैपिच्छे वायु प्रदूषणको विश्व राजधानी बन्थे। हामी नेपालीहरू चाहिँ अहिले गाउँदेखि सहरसम्म, शासकदेखि रैतीसम्म, घर जलाएर खरानी बेच्ने अचम्मको धन्दामा छौं।
यसपटकको गाउँ यात्रामा मैले सोधेँ — आखिर किन लगाउँछन् त गाउँलेहरूले जंगलमा आगो?
जबाफहरू यस्ता थिए — पाखामा घाँस पलायो, काट्न भ्याइएन। हिउँदमा घाँस सुक्यो। अब त्यसलाई जलाएपछि नयाँ घाँस पलाउँछ जुन अर्को वर्ष काट्न पनि सकिन्छ, जलाउन पनि।
खरबारीबाट जंगलतिर सरेको आगो कति महिना बल्छ, कतिवटा डाँडाका रूखबिरूवा सखाप पार्छ, कति सरीसृप, चराचुरूंगी र अरू जीवहरूको वंशनाश गरिदिन्छ, अनि कति अर्बको सम्भावित सम्पत्ति नास गर्छ, त्यसको कसैलाई मतलब छैन। डढेलोको पछिल्लो सिजनमा पोखरा नजिकै बारीबाट पाखोमा फैलिएको आगो बस्तीमा छिरेर दर्जनौं घर जलाइदियो। पोखराबाट पर्यटकहरू नै निसास्सिएर भाग्ने अवस्था आयो। रूकुम पश्चिममा एक महिलाको मृत्यु नै भयो। देशभर सयौं घर जले, झन्डै तीन सय चौपायाको ज्यान गयो।
तर प्रज्वलनशील कुरा देख्यो कि आगो लगाइदिइहाल्ने नेपालीहरूको आत्मघाती बानी अझै उस्ताको उस्तै छ।
गाउँमा एक जना शिक्षकले भने — सासै फेर्न गाह्रो भइसक्यो। जंगलमा आगो नलगाइदेऊ न भन्दा गाउँलेहरू आगो लगाए कम से कम बाँदर वा चितुवा आए भने परैबाट देख्न सकिन्छ, सुरक्षित हुन सकिन्छ भन्छन्।
यो जबाफ सुनेपछि मभित्र तीव्र मानवद्वेषी भावना जागेर आयो — सम्भवतः हामी नेपालीहरूले पनि प्रत्येक १२ मिनेटमा एक जनाको दरले तड्पी तड्पी ज्यान गुमाउने छौं। जुन समाजको मानिस प्रकृतिप्रति यति निष्ठुर र संवेदनहीन हुन्छ, बिरामी हुन सक्ने छिमेकीप्रति यति संवेदनहीन हुन्छ, अरू जीवित प्राणीहरूको पीडा अनुभूत गर्न सक्दैन, जहाँ मानिसले आफैले फेर्नुपर्ने सासमा आफै जानी जानी विष भर्छ, त्यो समाजमा मानिसको भलो कसरी होला?
हामी सानो छँदा गाउँमा सुँगुरहरू असाध्यै फोहोर तरिकाले पालिन्थे। तिनले जहाँ खान्थे, त्यहीँ दिसा गर्थे। मानिसका केटाकेटीको दिसा वा अरू कुनै पनि जैविक फोहोर देख्यो कि ल्याप्पै खाइदिन्थे। ती हेर्दै फोहोर र घिनलाग्दा हुन्थे। अब नेपालमा सुँगुर पालनमा धेरै सरसफाइ आइसक्यो, तर हामी मानिस हावाको सरसफाइका हिसाबले ती सुँगुरभन्दा पनि खत्तम भयौं।
अबको बाटो
वायुमण्डललाई बिस्तारै विषाक्त ग्यास च्याम्बर बनाउने हो भने एउटा कुरा, होन भने आजैका दिनदेखि सहरदेखि गाउँसम्मका सबै नेपाली जागेर हाम्रो प्रकृतिप्रतिको रवैयामा आधारभूत परिवर्तन ल्याउन र हावाको गुणस्तर सुधार्न युद्धस्तरमा लाग्नुको विकल्प छैन।
यति ठूलो संख्यामा अकालमै मानिसको ज्यान लिने अरू कुनै अवस्थामा राज्यले आपतकाल घोषणा गर्ने निश्चित हुन्थ्यो। नागरिक र राज्यले आपतकाल मानेरै समाधान नखोजेसम्म यो समस्या झन् बल्झिँदै जाने निश्चित छ।
यो बर्खाअघिसम्म जति वनका वयस्क रूखहरू विनाश भए, ती वन कसरी फर्किन सक्छन् भन्ने बाटो मैले अहिलेसम्म देखेको छैन।
तर हाम्रो जति जंगल बचेको छ, त्यसलाई बचाउने हो र बर्बाद भइसकेको हाम्रो हावाको शुद्धता थप हराउन नदिने हो भने, सहरमा फोहोर जलाउन निषेध गर्नु र गाउँमा वनको डढेलो सुरू गर्नबाट मान्छेलाई रोक्नुको विकल्प छैन।
त्यसका लागि सेना-पुलिस वा अन्य कुनै बल प्रयोग गरेर नतिजा निकाल्न सम्भव छैन। निरन्तर प्रयास गरेर जनचेतना जगाउन सक्ने हो र मानिसहरूलाई तिनका साविकका गतिविधिहरू कसरी आत्मघाती छन् भनेर बुझाउन सक्ने हो भने धेरै फरक पार्न सक्छ। त्यसमा स्थानीय सरकारहरूको ठूलो भूमिका हुन सक्छ।
सास फेर्न हावा चाहिन्छ भन्ने आधारभूत विज्ञान मानिसहरूलाई बुझाएर जंगलमा डढेलोको क्षेत्र र सहरमा जल्ने फोहोर उल्लेख्य मात्रामा घटाउने हो भने, त्यसले एकै वर्षको हिउँदमा वायुमण्डलमा विषाक्त कण र रसायनको मात्रा स्वाट्टै घटाउन सक्छ। हाम्रो महाभारत शृंखलाभरि बचेका पर्यातन्त्रहरूलाई त्राण दिन सक्छ। अस्पतालमा स्वासप्रश्वासका बिरामीहरूको चाप घटाउन सक्छ। वर्षौं यस्तो सुधार गरिरहने हो भने शरीरको विभिन्न भागका क्यान्सरहरूको चाप पनि घट्दै जान्छ।
साथै यस्तो चेतनाले भविष्यमा अर्बौं डलर सम्पत्ति कमाउन सक्ने वन सम्पदा पनि हाम्रै र भावी पुस्ताका लागि जोगाइदिन सक्छ।
त्यसो नहुने हो भने, यहाँको आत्मघाती परिपाटीसित चित्त नबुझ्नेका लागि यहाँको ग्यास च्याम्बरबाट ज्यान बचाउन मात्रै भए पनि नेपाल र एसिया छाड्नुको विकल्प हुने छैन।
गाउँबाट फर्केपछि मैले निरन्तर देश छाडेर भागेका सपनाहरू देखिरहेको छु।
अक्सर म कसरी विदेश पुग्छु भन्ने थाहा हुँदैन। तर म त्यहाँको स्वच्छ हावामा सास भने फेरिरहेको हुन्छु।
तर दुर्भाग्य, 'नेपाल गयो कपाल सँगै, बर्मा गयो कर्म सँगै' भनेझैं हाम्रो युगका यी समस्याले देशबाट पलायन भइसकेपछि समेत हाम्रो पिछा छाड्ने छैनन्।
वैज्ञानिकहरू भन्छन् — जलवायु संकट गहिरिँदै गएसँगै निरपेक्ष रूपमा सबभन्दा पीडित हुनेमा अफ्रिका र एसियाका मानिसहरू हुनेछन्। तर सापेक्षिक जीवनस्तरको ह्रास भने युरोप र अस्ट्रेलियाजस्ता महादेशका मानिसहरूको जीवनमा सबैभन्दा बढी आउनेछ।
प्रस्तुत छ हाम्रो समाज निद्रैनिद्रामा लम्किरहेको आसन्न भविष्यको रूपबारे मैले महिनाभर लगाएर बनाएको यो भिडिओः
ट्विटरः @jiwan_kshetry
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)