कर्म कल्चर
यस्तो माहोल बनेको छ काठमाडौंमा, जहाँ एउटा भारतीय चलचित्र प्रदर्शन हुन लागेको छ, जसका निर्देशक अनुराग कश्यप हुन् र अभिनेता नवाजुद्दिन सिद्दिकी।
उनीहरूलाई त्रिभुवन विमानस्थलमा ओर्लेको दिनदेखि हरेक राति होटल कोठाभित्र नफर्केसम्म नयाँ चलचित्र प्रवर्द्धन गर्न भ्याइनभ्याइ छ। अन्तर्वार्ताका लागि आतुर पत्रकार कति, युट्युब, पोडकास्टका च्यानल कति, फूलका बुके र खादा कति, भेटघाट र भलाकुसारी कति!
सेलेब्रेटी भनेपछि मुग्ध हुने समाज हो नै, अहिले त भाइरल हुने कार्यक्रम गर्ने मात्र होइन, आफू भाइरल हुन सेलेब्रेटी खोज्ने मौका आएको छ। त्यसो गरेपछि आफू पनि सेलेब्रेटी सजिलै बनिने छ। आखिर भ्युज, लाइक्स र सबस्क्राइब मार्फत् जीविका चल्ने जमाना भएपछि चान्समा डान्स मारो भाइ!
हराएका त मीनबहादुर भाम हुन्, जसले एउटा उम्दा कृति बनाएर संसारका राम्रा महोत्सवमा पुर्याए पनि आज देशभित्र देखाउने क्रममा निर्देशक कश्यपका सहायकजस्ता देखिन पुगेका छन्। अभिनेत्री थिन्ले ल्हामो, अभिनेता सोनाम तोप्देन, तेन्जिन दल्ह, कर्म वाङ्याल गुरूङ गायब हुन पुगेका छन्, जसले महिनौं चार हजार मिटरभन्दा उच्च डोल्पोका गाउँ लेक बसेर अभिनय गरे। थिन्लेले त लोकार्नो फिल्म फेस्टिभलमा श्रेष्ठ अभिनय पुरस्कार नै हात पारिन्।
यी निर्देशक, कलाकार र उत्तम छायांकनका लागि कहलिएका सिनेमाटोग्राफरलाई देख्ने, सुन्ने र 'शाम्बाला' हेर्न भनेर प्रिमियर शोमा गएको; ताली बजाउन लगाइयो निम्त्याइएका चलचित्रकर्मीद्वयलाई।
अतिथिहरूले के गरून्?
नवाजुद्दिनले भनिदिए, 'बर्लिन फिल्म फेस्टिभलमा हेर्न पाएको थिइनँ, त्यही भएर यहाँ आएको।'
कश्यपले पनि आतिथ्यका लागि आभार प्रकट गर्नु थियो।
भने, 'विकासको चक्करमा संसारका धेरै देश बिग्रेजस्तो भएको रहेनछ, नेपालले सुन्दरता र प्रकृति साँचेको रहेछ।'
दुवै जना पहिलोपल्ट आएका, दुवैले फेरि आउँछौं भने। हामी खुसी भयौं, फेरि ताली पिट्यौं।
ताली पुगेन भनेर सञ्चालकले के भने हामी फेरि खुसी भयौं।
अतिथि देवो भव: भएकाले हामीले खातिरदारीमा चुक हुन दिनुभएन।
उनीहरूलाई दैनिक व्यस्त राखेर प्रचारको माहोल यस्तो बन्दा फाइदा पुग्ने मुम्बई फिल्म उद्योगलाई नै त होइन होला?
त्यहीँ तल मुम्बईबाट आएकालाई मंगल ग्रहबाट झरेजस्तो हामीले किन गरेको होला भन्ने प्रश्न मैले गर्न खोजेको होइन।
के हामी हाम्रा चलचित्र पनि राम्रा छन् भनाउन चाहन्छौं? के हामीलाई हाम्रा कामबारे बाह्य अनुमोदनको अभाव भएको हो? के हाम्रा दर्शकलाई यस्ता चलचित्र हेर्नुपर्छ भनेर भन्न बाह्य ब्रान्ड एम्बेसडरको खाँचो परेको हो?
चर्चित भारतीय चलचित्रकर्मीहरूलाई पाएर हामी दंग पर्नुले यो चलचित्र चल्न पक्कै मद्दत गर्ला। चलचित्र चलाउन नजाने चलचित्र बनाउनुको अर्थ पनि हुँदैन। यो आफैमा महँगो उत्पादन हो। यसको पछाडि संघर्ष निकै भएको हुनुपर्छ।
भामको पहिलो 'कालो पोथी' ले झैं यसले पनि बाह्य चर्चा पाउँदै छ, अझ बढी पाइसकेको छ। पाउने गरी बनेको पनि छ। युरोपमा फिल्म अध्ययन गरेका, आफै पनि फिल्म बनाएका र क्युएफएक्स हलहरूका एक सञ्चालक भाष्कर ढुंगानाका शब्दमा, 'शाम्बाला' बलिउड मसलाभन्दा विपरीत छ, तर यसको मसला युरोपेली दर्शकका लागि छ!
दुर्गम हिमाली गाउँको बहुपति प्रथा, जसकी पत्नीले गर्भमा हुर्काइरहेको सन्तान कतै परिवार बाहिरको हो कि भन्ने गाइँगुइँबीच ल्हासा व्यापार गरी फिर्ती यात्रामा जेठो पति समाजको लाजले नफर्केको र भिक्षु पतिले गुम्बाबाहिर निस्केर यात्रामा सघाएको कथा विदेशीका लागि पनि रूचिपूर्ण छ नै। आजको उपभोक्ता व्यवस्थाबाहिर प्रकृतिसँग जोडिएको परम्परागत उत्पादन व्यवस्थाको समाजको वर्णनले पश्चिमा दर्शकलाई तान्छ नै, जसभित्र महायान दर्शन, आध्यात्मिक र दार्शनिक चेतसहितका संवाद, पशुपन्छीसँगको सम्बन्ध, खोजी र रहस्यका बिम्ब र विषय आकर्षक लाग्नेछन्।
लोकलाज कति खतरा पक्ष छ, त्यति शान्त र धार्मिक समाजमा पनि मायालु लोग्नेले मायाको खातिर 'मेरै बच्चा हो भने पनि गर्भ फालिदेऊ' भन्छ।
कथामा कति सुन्दर जबाफ छ, जब भिक्षु पतिले भन्छ, 'मलाई कसको बच्चा हो भन्दा पनि महान त बच्चा जन्माउने प्रक्रिया हो भन्ने लाग्छ।'
रहस्यमय उत्कर्षतर्फ पुगेर कथाले बच्चा कसको भन्ने प्रश्नमाथि कलात्मक हस्तक्षेप गर्छ।
हिमालपारि, हिमाली गाउँको रोचक चित्रण गर्ने अढाइ घन्टा लामो यो चलचित्रले एरिक भालीको 'क्याराभान' को झझल्को दिन्छ। त्यही भूगोल, त्यही समाज, त्यही समय जस्तो भएर क्याराभानकै अर्को रूपजस्तो लाग्छ। अघिल्लोमा बाबु मुख्य थिए, जसमा स्थानीय थिन्ले ल्होन्दुपले आफू बाँचेकै कथामा अभिनय गरेका थिए। पछिल्लोमा आमा बन्न लागेकी थिन्ले ल्हामोको जीवन्त अभिनय छ, जो काठमाडौंमा तिब्बती ओपेरा कलाकार हुन्। दुवैमा भञ्ज्याङतर्फ यात्रा छ, दुवैमा माहिला छोरा भिक्षु बनेर कथालाई दार्शनिक पुट दिने गर्छन्।
यी कथाहरू हामीलाई सोचमग्न तुल्याउन समर्थ छन्। गाउँ होस्, सानो होस्, पिछडिएको होस्, टाढाको होस्, परम्परागत होस्, मानवीय संवेदनासँग जोडिएको छ भने त्यसले राजनीतिक सिमाना तोडेर सधैं विश्व दर्शकसँग जोडिन खोज्छ। यसमा पनि कथाको समय छैन।
बालक सपना, विद्यालय, बजारका खादा जस्ता सामग्रीले परिवेशलाई पुरानो होइन भन्ने सम्झाउँछन्। तर यसमा संक्रमणको वा आधुनिकतातर्फको वा बाह्य जगतमा जारी परिवर्तनको कुनै दखलको पक्ष छैन। त्यसैले त्यसबारे यसका प्रश्न पनि छैनन्। ती प्रश्न भएको भए हामीले हाम्रा सोचाइहरू अझ विस्तार गर्न पाउने थियौं!
ठाउँ र ठेगाना कथामा छैनन्, छनक मात्र छन्। आख्यान भएकाले हामीलाई यथार्थ ठम्याउने दरकार पर्दैन। तर त्यस्तो भूगोलको आजको सवाल के हो, मुद्दा के हो, संघर्ष के हो भन्ने कतै सन्दर्भ, केही सूचक भएको भए दर्शक अवश्य थप लाभान्वित हुने थिए।
छ हजार मिटर उचाइसम्म पुगेर, त्यसमुनिका समाजसँग भिजेर कस्तो छायांकन गरिएको छ भने चलचित्रले दर्शकलाई आफूसँगै रोमाञ्चक यात्रामा बाँधेर लैजान्छ। र, हिउँको खोँचमा अड्किएर दर्शकले आफूलाई सोच्ने, आफ्नै पनि जीवनका कठिनाइहरू सामना गर्न प्रेरणा पाउन सक्छन्। त्यसैले यो एउटा आन्तरिक यात्राको अनुभूति पनि हुनेछ।
यस्तो छायांकनकै लागि पनि यो चलचित्रको लामो समय सम्झना हुनेछ। वाचाल निर्देशक कश्यपले कुनै बेला बलिउडको व्यंग्यमा भनेका थिए, 'हाम्रा चलचित्रहरू कि स्टुडियोमा खिचिन्छन्, कि स्विट्जरल्यान्ड, लन्डन वा अमेरिका, सफा ठाउँहरूमा। भारतमा खिचिँदैनन्।'
यस्ता विषयमा छलफल गर्न भने हामी तयार छैनौं। हाम्रा प्रश्नहरू यस्ता छन् — के हामी राम्रा छैनौं? के हाम्रो देश सुन्दर छैन? के तपाईं नेपाली फिल्म नखेल्ने?
तपाईंले सुन्नुभएन? एउटा लोकप्रिय टिभी अन्तर्वार्ताको प्रोमो। अनि, एउटा लोकप्रिय पोडकास्टको पहिलो प्रश्न थियो, तपाईंलाई नेपाल मन पर्यो कि परेन?
खास हामीलाई हाम्रै लघुताबोधबाट निस्केर कुनै आत्मसम्मानको शाम्बालातिर पहिले जानुपर्ने छ!
***
नारायण वाग्लेका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।
ट्विटरः @narayanwagle