हालै भारतीय विचारक आचार्य प्रशान्तले आफ्नो न्युजलेटरमा ‘वर्ष २०४४ः एक भविष्यवाणी?’ शीर्षकको छोटो सामग्री पठाए। त्यसमा उनले आगामी २० वर्षमा संसार कसरी बदलिनेछ भनेर देखाउन प्रकाश र ज्योति नामक दुई पात्रबीचको काल्पनिक संवाद राखेका छन्।
आँधी आएपछिको बाढीमा आधा डुबेको घरको छतमा अड्केका उनीहरूमध्ये प्रकाशलाई यो अवस्था कसरी आयो भन्ने अत्तोपत्तो छैन। ऊ धनी पृष्ठभूमिको मानिस। उसले यो विपत्ति अगाडि कहिल्यै पानीको अभाव देखेन, पानीको मूल्य बढेको मात्रै देख्यो। उसले घरमा कहिल्यै बढी गर्मी वा जाडो भएको महसुस गरेन। एसी थपिएको र तिनले गर्ने बिजुलीको खपत बढेको मात्र देख्यो।
उसलाई यो विपत्ति अवस्था कसरी आयो भन्ने व्याख्या गर्दै ज्योति भन्छिन् — समुद्रको सतह बढिरह्यो तर हामीले मुढतापूर्वक पर्खाल लगाइरह्यौं। त्यसको कारणप्रति आँखा चिम्लियौं। अर्थात हामीले समस्याको पहिचान गरेर उपचार खोजेनौं, चोरबाटो मात्रै खोज्यौं।
यो सब भइरहँदा धनीहरूको नजरभन्दा बाहिर रहने मानिसहरूको अवस्थाबारे ज्योति भन्छिन् — ऊबेलै दसौं लाख मरिसकेका थिए। पछिल्लो महिना मात्रै पानीको सतह बढेसँगै अरू दसौं लाख बेघरबार भएर लखेटिए।
अनि त्यो सब चलिरहँदा क्रिकेट, फुटबल, अनलाइन गेम र भर्चुअल रियालिटीमा भुलेको प्रकाश सोध्छ — अहो, मानिसहरूले हावापानी फेरियो त भन्थे। के धेरैले भन्ने गरेको जलवायु परिवर्तन यही हो त?
आचार्य प्रशान्तले परिकल्पना गरेको त्यो भविष्यमा प्रकाशजस्ता मानिसहरूको यस्तो अनभिज्ञताले प्रकृतिको विनाशलीला रोकिएको छैन। गंगा र यमुना नदी सुकिसकेका छन्। चीनको मेकोंग पनि सुकिसकेको छ। हिमालहरूबाट हिउँ सधैंका लागि बिदा भएको छ। पानीका लागि चारैतिर गृहयुद्धहरू चलेका छन्।
तर डुब्दै गरेको घरको छतमा आश्रय लिइरहेका प्रकाशजस्ता करोडौं मानिसका लागि यी सब कुरा नौला छन्, किनकि समय छँदै उनीहरूले यसबारे जान्न कुनै प्रयास गरेनन्।
विपत्ति दैलोबाट छिरेर चुलोसम्म पुग्दा पनि त्यसको पत्तो नपाउने मानिसहरूको यस्तो चित्रण मेरा लागि नौलो थिएन।
मेरो किताब 'नुन-तेल' आएयता मैले केही लेख, धेरै भिडिओहरू र दर्जनौं सार्वजनिक मञ्चहरूबाट भनेको छु — नेपालमा वायु प्रदूषणले प्रत्येक १२ मिनेटमा एक जनाको ज्यान लिन्छ। प्रत्येक घन्टा एक पाँच वर्षमुनिको बच्चाको ज्यान लिन्छ। त्यसैले यसलाई कम गर्न हरसम्भव प्रयास गरौं।
मैले बारम्बार भनेको र लेखेको छु — गाउँलेहरूले जंगलमा आगो लगाउन छाडौं। सहरियाहरूले झारपात र प्लास्टिक लगायत फोहोर जलाउन ठ्याम्मै बन्द गरौं। आगोप्रतिको हाम्रो आत्मघाती मोह त्यागौं। यति मात्रै गर्दा पनि नेपालीको आयु उल्लेख्य रूपमा बढ्छ।
तर अहिलेसम्म निर्जीव पहरालाई यो कुरा सुनाएजस्तो भइरहेको छ। मानिस घरमै दमको बिरामी बच्चा र क्यान्सरग्रस्त वयस्क मानिस हुँदा समेत निर्धक्क झारपात र फोहोर जलाएर घर र टोलभरि धुवाँको कुहिरीमण्डल लगाइरहेका छन्। तुवाँलोले छिमेकीको घर नदेखिने भइसक्दा पनि घर छेउका पाखा र जंगलमा आगो लगाइरहेका छन्।
त्यसैले जलवायु संकटका विषयमा संवाद गर्न खोज्दा मानिसहरूले देखाउने बेवास्ता अनि आफ्नो र अरूको जीवनप्रतिको संवेदनशून्यता मेरा लागि नौलो कुरा होइन। तर आचार्य प्रशान्तले उक्त इमेलमा लेखेको एउटा वाक्यले भने मेरो ध्यान तान्यो।
उनी लेख्छन् — पृथ्वीको औसत तापक्रम (सन् २०४४ मा) ५ डिग्री सेल्सियसले बढिसकेको हुनेछ।
झट्ट हेर्दा यो अनावश्यक रूपमा मानिस तर्साउन खोजेको परिदृश्य जस्तो देखिन्छ। किनकि, सन् २०२३ को अन्त्यसम्म पृथ्वीको तापक्रम वृद्धि १.४८ डिग्रीको हाराहारी छ। धेरै जसो वैज्ञानिक प्रक्षेपणहरूले अहिलेकै हिसाबले पृथ्वी तात्ने हो भने सन् २१०० मा पुग्दा त्यस्तो तापक्रम वृद्धि ३ देखि ४ डिग्रीको बीचमा रहने भन्दै आएका छन्, कम्तीमा अहिलेसम्म।
भन्न त विश्वका विभिन्न देशका सरकारहरूले अझै पनि तापक्रम वृद्धिलाई २ डिग्रीमा रोक्ने भन्न छाडेका छैनन्।
उसो भए जलवायुको मुद्दामा दुरूस्त अपडेट रहने आचार्य प्रशान्तले २०४४ कै लागि किन ५ डिग्रीको तताइ कल्पना गरे?
उनीसित यो प्रश्न राख्ने कुनै माध्यम मसित छैन। तर यही वर्ष निस्केका दुई महत्वपूर्ण वैज्ञानिक आलेखहरूमा त्यो प्रश्नको जबाफ भेट्न सकिन्छ जस्तो मलाई लाग्छ।
यो वर्षको जुन महिनामा नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित आलेखका अनुसार पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा दोब्बर हुँदा पृथ्वीको औसत तापक्रम ७ देखि १४ डिग्री सेल्सियससम्म बढ्छ। जबकि यसअघि त्यो आँकडा १.५ देखि ४.५ डिग्रीसम्म भएको मानिन्थ्यो (स्रोतः अमेरिकाको आधिकारिक सरकारी संस्था नेसनल ओसनिक एन्ड एट्मस्फेरिक एड्मिनिस्ट्रेसन, नोआ)।
संयुक्त राष्ट्र संघको आइपिसिसीले अहिलेसम्म यस्तै पुराना आँकडाको भरमा भविष्यबारे प्रक्षेपण गर्दै आएको छ।
औद्योगिक युगभन्दा अगाडि वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा २८० पिपिएम थियो। अहिले त्यो ४२५ पिपिएमभन्दा माथि लागिसकेको छ। अर्थात डेढ गुणाभन्दा धेरैले बढिसकेको छ। नोआको सन् २०१४ को एउटा सामग्री अनुसार ५० वर्षपछि, अर्थात सन् २०६४ तिर त्यो आँकडा दोब्बर, अर्थात ५६० पिपिएम पुग्नेछ। त्यसपछिका वर्षहरूका आँकडा अनुसार सन् २०६० तिरै वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा दोब्बर हुने प्रक्षेपण गरिएको छ।
त्यसैले पृथ्वीको जलवायुबारे आइपिसिसीले गर्ने प्रक्षेपणभन्दा भविष्यमा पुथ्वी तात्ने र विपत्ति आउने दर धेरै बढी हुने सम्भावना छ। अर्थात जुन प्रक्षेपण सर्वाधिक खराब सम्भावनामा आधारित भए र मानिसलाई अनावश्यक रूपमा अत्याए भनेर अहिलेसम्म आलोचना हुन्थ्यो, अन्ततः यथार्थ ती प्रक्षेपणभन्दा पनि धेरै खराब हुने देखिन्छ।
यसैबीच साइन्स पत्रिकामा यही सेप्टेम्बर २० मा प्रकाशित अर्को जर्नल आलेखले विगत ४८.५ करोड वर्षमा पृथ्वीको सतहमा कायम तापक्रमको विश्लेषण गरेको छ। सो आलेखका अनुसार यो अवधिमा पृथ्वीमा वायुमण्डलको औसत तापक्रम ३६ डिग्री सेल्सियससम्म पुगेको छ। तुलनाका लागि — अहिले पृथ्वीको सर्वाधिक तातो भाग अर्थात सहारा मरूभूमिको बीचको भागको वार्षिक औसत तापक्रम जम्मा २९ डिग्री सेल्सियस छ।
यो अवधिमध्ये सवा ६ करोड वर्ष मात्रै पृथ्वी अहिलेको जस्तो सापेक्षतः चिसो अवस्थामा थियो। बाँकी पौने ४४ करोड वर्षको अवधिभर पृथ्वीको औसत तापक्रम २२ डिग्री सेल्सियस छ। जबकि, अहिले औद्योगिक क्रान्तिका कारण तापक्रम १३.८ बाट बढेर १५ डिग्री पुग्दैखेरि पृथ्वीमा जीवित प्राणीहरूबीच ‘तबाह’ मच्चिइसकेको छ।
यी दुवै अध्ययनले के देखाउँछन् भने, सन् २१०० सम्म पृथ्वीमा तापक्रम वृद्धि २ वा ३ डिग्रीमा रोक्ने भन्ने सरकार वा वैज्ञानिकहरूका दाबी वा प्रक्षेपण अब बिस्तारै असम्भव प्रमाणित हुँदैछन्। जसरी सन् २०१६ मा पेरिस जलवायु सहमति हुँदा सन् २१०० सम्म पृथ्वीको औसत तापक्रम १.५ डिग्रीभन्दा तल राख्ने भन्ने प्रण गरिएकोमा त्यति तापक्रम बढ्ने मिति ७५ वर्षले अघि सरिसकेको छ।
उल्लेखनीय के पनि छ भने, आइपिसिसीका प्रक्षेपणहरू धेरै नरम वा ‘कन्जर्भेटिभ’ भए भनेर तिनमा प्रश्न उठाउने यी दुई अध्ययन मात्रै होइनन्। द न्यूयोर्क टाइम्सका पत्रकार डेभिड वालेस-वेल्सको सन् २०१९ मा प्रकाशित किताब ‘द अनइन्ह्याबिटेबल अर्थः लाइफ आफ्टर वार्मिङ’ र सन् २०२२ मा प्रकाशित बेलायती वैज्ञानिक बिल म्याकगायरको किताब ‘हटहाउस अर्थः अन इन्ह्याबिटेन्ट्स गाइड’ मा पृथ्वीमा मानिस जाति कस्तो भविष्यतिर जाँदैछ भन्ने विषयमा विस्तृत र आङै सिरिंग बनाउने चर्चा छ।
त्यसैले भलै सन् २०४४ मै आचार्य प्रशान्तले लेखेझैं ५ डिग्रीले पृथ्वीको तापक्रम नबढी सक्ला, तर मानव समाज गइरहेको दिशाबारे उनको प्रक्षेपण सारभूत रूपमा सही ठहरिने सम्भावना छ।
मानिलिऔं, आगामी २० वर्षमा तापक्रम ५ नभई ३ डिग्रीले बढ्यो!
मलाई लाग्छ मानिसको कार्बन उत्सर्जनका कारण मात्रै त्यति चाँडो तापक्रम वृद्धि ३ डिग्री पुग्ने छैन। तर यसअघि नै हामीले प्रकृतिमा जति असन्तुलन निम्त्याएका छौं, त्यसका कारण जमिन र पानीमा संग्रहित ठूलो मात्राको कार्बनडाइअक्साइड र मिथेन निस्किने रफ्तार तीव्र भयो भने सन् २०४४ मा ३ डिग्रीको तताइ सम्भव छ।
व्यवहारमा ३ डिग्रीको तताइले पृथ्वीमा कस्तो परिवर्तन ल्याउँछ भन्ने बुझ्न अब यो तस्वीर हेरौंः
पछिल्लो पटक पृथ्वीलाई ३ डिग्री तात्न १० हजार वर्ष लागेको थियो। तर त्यति तातिसक्दा समुद्रको सतह १२० मिटरले बढेको थियो। हो, १२० सेन्टिमिटर होइन, मिटर!
अब यसको अर्थ बुझौं। आगामी केही दशकमा पृथ्वी जति तात्ने निश्चित भइसकेको छ। त्यसका कारण अन्ततः नेपालको तराइको ठूलो हिस्सा (उचाइः समुद्र सतहदेखि ६० देखि ३०० मिटरसम्म) समेत समुद्रमुनि पुग्नेछ। बंगलादेश, पाकिस्तान र भारतमा पर्ने सिन्धु, गंगा र ब्रह्मपुत्रका फाँटहरू, जहाँ डेढ अर्ब चानचुन मानिसहरू बस्छन्, ती स्वतः समुद्रमुनि पुग्नेछन्।
त्यसरी समुद्रको सतह बीसौं मिटरले बढ्दै गए पनि महादेश नै खुम्चिन पक्कै अरू हजारौं वर्ष लाग्नेछ। तर त्यसको सुरूआती चरणमै आचार्य प्रशान्तले इमेलमा कल्पना गरेजस्ता विपत्तिहरूले मानिसलाई मुम्बईजस्ता तटवर्ती सहरहरूबाट लखेटिसकेका हुनेछन्। र, ती सहरमा मुर्दाशान्ति कायम हुनेछ। समुद्री सतहमा एकाध मिटरको चढावले नै दर्जनौं टापू देशहरूको अस्तित्व सदाका लागि मेटिइनेछ। करोडौं मानिसलाई विस्थापित गरिदिनेछ।
सन् २०१६ मा साइन्स अफ द टोटल इन्भाइरोंमेन्ट पत्रिकामा प्रकाशित एक आलेखका अनुसार सन् २१०० सम्म माथि सर्दो समुद्रको नुनिलो पानीका कारण धानको उत्पादन तल्लो तटीय फाँटहरूमा आधासम्मले घट्नेछ।
मैले बुझेसम्म यस्ता विपत्तिहरूतर्फ उन्मुख मानव समाजलाई जगाउने प्रयासस्वरूप आचार्य प्रशान्तले सन् २०४४ का लागि त्यस्तो परिदृश्य कल्पना गरेका हुन्। तर भविष्यबारे तपाईं हामीले बुझ्न, मन्थन गर्न र चिन्ता गर्नुपर्ने कुराहरू धेरै छन्।
व्यक्तिगत रूपमा मलाई के लाग्छ भने पृथ्वीमा यस्ता उथलपुथलकारी परिवर्तन भइरहँदा ती परिवर्तनलाई मानिसले कसरी सामना गर्छन् भन्नेमा धेरै कुराहरू निर्भर रहनेछन्। यसबारे थप बुझ्न जलवायुसँगै बदलिंदो मानवीय मनोविज्ञानबारे मैले बनाएको यो भिडिओ हेरौंः
अन्त्यमा, सन् २०४४ का लागि अहिले गरिने प्रक्षेपणहरू कति अर्थपूर्ण होलान् भनेर जान्न आजभन्दा दस वा बीस वर्षअगाडि हामीले आजका बारेमा कस्तो प्रक्षेपण गर्थ्यौं होला भनेर मन्थन गर्नु उपयोगी हुन्छ।
प्रस्तुत छ मैले त्यहीँबाट सुरू गरेर अनि जलवायु संकटबारे मेरो आफ्नै, आचार्य प्रशान्तको र अभियन्ता बिल म्याक्किबेनका प्रक्षेपणहरू समेटेर तयार पारेको यो भिडिओः
ट्विटरः @jiwan_kshetry
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)