नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीबाट प्रधानमन्त्री केपी शर्माको हारको सुरुआत भएको दाबी गरेका छन्।
सर्वोच्च अदालतले संसदको पुनर्स्थापना गर्दा पनि ओलीले हार स्वीकार नगरेको भन्दै प्रचण्डले कर्णाली प्रदेश सरकार गिराउने प्रयास असफल भएसँगै औपचारिकरुपमा हारको सुरुआत भएको दाबी गरे।
चितवनमा माडी नगरपालिका कार्यालयको भवन उद्घाटन गर्दै प्रचण्डले भने, ‘अब गण्डकी र लुम्बिनी प्रदेशमा पनि हार व्योहोर्दै छन्। ती प्रदेशमा भन्दा पहिले संघमा हार्न पनि सक्छन्,’ उनले भने, ‘प्रतिगमन धेरै दिन टिक्दैन।’
पार्टी एकता, बाम गठबन्धन र केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने क्रममा आफूनै प्रस्तावक रहेता पनि ओलीले धोका दिएको भन्दै प्रचण्डले ओली नेतृत्वको सरकार धेरै नटिक्ने बताए। ‘राजनीतिक तुवाँलो धेरै समय रहँदैन अब तुवाँलो फाटेर उज्यालो सुरु हुन्छ,’ उनले भने।
पूर्वप्रधानमन्त्री प्रचण्डले प्रचण्डलाई सडकमा पु¥याएँ भनेर धेरै खुसी हुनु आवश्यक नरहेको भन्दै बाजी आफूहरुले जितिसकेको बताए।
कम्युनिष्टले धर्म मान्दैनन् भन्ने प्रचार गलत हो
चितवनको माडी आइपुगेका प्रचण्डले आइतबार नै यहाँको अयोध्यापुरीमा बन्दै गरेको राम, सीताको मन्दिरको पनि अवलोकन गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा बन्दै गरेको अयोध्याधाम क्षेत्रमा पुगेर प्रचण्डले कम्युनिष्टले धर्म मान्दैनन् भनेर गरिएको प्रचार गलत भएको बताए।
‘हामी कम्युनिष्टहरु जनताको धार्मिक आस्था माथि सम्मान गर्छौं, झुटो प्रचार गरिएको भन्ने धेरैले थाहा पाइसके,’ उनले भने, धार्मिक पर्यटनमार्फत जनताको जीवनस्तरलाई समृद्ध बनाउने कुरामा हामी कम्युनिष्टहरु नै सबैभन्दा संवेदनशील र जिम्मेवार हुन्छौं।’
माडीमा रामजन्मभूमिलाई आधिकारिकरुपमा ल्याउन सक्ने हो भने सबैका लागि खुसीको कुरा हुने उनले बताए।
अयोध्याधामको विषय गम्भीर विषय रहेको भन्दै उनले संबेदनशील कुरामा कसैले पनि सस्तो लोकप्रियता हासिल गर्ने उद्देश्य राख्न नहुने बताए।
‘ऐतिहासिक, पौराणिक, परम्परासँग सम्बन्धित निकै संवेदनशील विषय भएको हुनाले यस्ता विषयमा राजनीति गर्ने, यस्ता विषयमा सस्तो लोकप्रियता हासिल गर्ने मात्रै आकांक्षा राख्ने काम कसैले गर्न हुँदैन,’ उनले भने, ‘अध्ययन अनुसन्धानमा गम्भीर भएर लाग्नुपर्ने हुन्छ।’
तथ्य, प्रमाण भेटिए मुठी खोलेर सहयोग गर्न तयार रहेको उनले बताए। ‘यहाँको जनप्रतिनिधि हुनुको नाताले यसलाई प्रमाणित गर्न पाउँदा सबैभन्दा बढी खुसी म नै हुन्छु। सरकारको नेतृत्व गर्न पाउँदा धेरै रकम मै खर्च गर्छु, पुरातत्वविद्हरुलाई राखेर वास्तविकता पत्ता लगाउन लगाउँछु,’ उनले भने, ‘पहिले प्रमाण खोज्न लाग्नुपर्यो। कसैले भ्रममा पार्न खोजेको हुनसक्छ नपर्नुहोला।’
प्रचण्डले राष्ट्रिय निकुञ्ज ऐन माडीको विकासमा बाधक रहेको भन्दै ऐन संशोधन गर्न प्रयास गरिरहेको दाबी पनि गरे।
प्रयास चल्ला चल्दै पार्टी फुटेर राजनीतिक गतिरोध पैदा भएको भन्दै उनले ऐनलाई जतिसक्दो चाँडो संशोधन गर्नुपर्छ भन्ने पक्षमा रहेको बताए।
साथै, खहरेहरुमा तटबन्धन गर्ने, सकुम्बासीलाई जग्गा उपलब्ध गराउने विषयमा पनि आफूले काम गरिरहेको दाबी उनले गरे।