नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निरंकुश सरकारलाई ठेगान लगाउने अन्तिम तयारी भइरहेको बताएका छन्।
चितवनको माडीमा वाइसिएलको नगर भेलालाई सम्बोधन गर्दै प्रचण्डले आइतबार साँझ हुने राजनीतिक दलको बैठकले नयाँ सरकार निर्माणका लागि महत्वपूर्ण निर्णय गर्ने दाबी गरे।
‘आज म मेरो निर्वाचन क्षेत्रका युवाहरुले दिएको उर्जा बोकेर काठमाडौंमा राजनीतिक दलहरुको महत्वपूर्ण बैठकमा सहभागि हुँदैछु। यसले महत्वपूर्ण निर्णय गर्नेछ,’ प्रचण्डले भने, ‘तपाईहरुले छिट्टै खुसीको खबर सुन्नुहुनेछ। केही दिनमै केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा हामी नयाँ सरकार बनाउनेछौं।’
उनले संसद पूनर्थापना भएसँगै आफूहरुले व्याटल जितिसकेको बताए। ‘निरङ्कुश सरकारको पतन भएर जनपक्षीय सरकार निर्माण हुँदैछ। यसले मात्रै जनताको पक्षमा काम गर्न सक्छ,’ उनले भने, ‘कर्णालीका साथीहरुले देखाइदिइसके। अब केन्द्रमा पनि कायापलट हुँदैछ, हुनैपर्छ।’
उनले आफूले सपना देखेजस्तो एकता र परिवर्तन हुन नसकेको बताए। आफूले बामपन्थीहरुका बीचमा दह्रो एकता चाहे पनि केपी शर्मा ओलीले उल्टाइदिएको दाबी गरे। ‘प्रचण्ड नसकिँदासम्म हाम्रो भविष्य छैन भन्ने छ उनीहरुलाई तर म अहिले सकिनेवाला छैन,’ उनले भने, ‘एक चोटी फेरि जनताको घर दैलोमा पुगेर नयाँ शक्तिसहित दलालहरु माथि धावा बोल्नेछु।’
प्रचण्डले अबको क्रान्ति हतियार उठाएर नभई मुठी उठाएर हुने बताए। परिवर्तनको अगुवा भएका नाताले यसको रक्षाका लागि जस्तोसुकै आँधीबेहरी तयार रहेको भन्दै उनले भने, ‘जनताले त मलाई परिवर्तनको रक्षाका लागि मर्न र मार्न पनि तयार छौं भनेका छन्। म जता पुग्दा पनि जनताको ठूलो उपस्थितिले हौसाएको छ।’
उनले नयाँ सरकार बनेपछि चितवनमा विकासका कामले तीब्रता पाउने दाबी गरे। माडीलाई मणि बनाउने आफ्नो संकल्प पनि नयाँ सरकारले पुरा गर्ने दाबी उनले गरे। निकुञ्ज ऐन संशोधनगरी माडी आउने सडकमलाई कालोपत्रे गर्ने, खोलाहरुमा तटबन्धन गर्ने, सुकुम्बासीका समस्या समाधान गर्नेलगायतका सबै कामहरु प्रकृयामा रहेपनि अहिलेको सरकारको असहयोगका कारण पुरा नभएको भन्दै उनले नयाँ सरकारले यी सबै काम सम्पन्न गर्ने दाबी गरे।
प्रचण्डले आइतबार नै माडीको आयोध्यापुरीमा बन्दै गरेको राम, सीताको मन्दिर अवलोकन गर्दै कम्युनिष्टहरु धर्म विरोधी नरहेको बताएका थिए। उनले तथ्य र अनुसन्धानले प्रमाणित गरे अयोध्याधाम निर्माणका लागि मुठी फुकाएर सहयोग गर्ने बताएका थिए।