भरतपुर अस्पतालको फार्मेसी स्टोरमा नियमविपरीत वर्षौंदेखि चल्दै आएको अहेबको हालीमुहालीको अन्त्य भएको छ।
सोमबार अस्पताल प्रशासनले सातौं तहका फार्मेसी अधिकृत भोला अधिकारीलाई फार्मेसी स्टोर प्रमुखको जिम्मेवारी प्रदान गरेसँगै उक्त शाखामा अहेबको हालीमुहाली सकिएको हो।
फार्मेसी पढेका दक्ष जनशक्ति आवश्यक पर्ने उक्त शाखाको प्रमुखका रूपमा यसअघि राजनीतिक प्रभावको आधारमा अहेबले काम गर्दै आएका थिए।
औषधी ऐन २०३५, राष्ट्रिय औषधी नीति, औषधी बिक्री-वितरण संहिता २०७१, राष्ट्रिय स्वास्थ्य नीति २०७१ र अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ मा अस्पतालमा औषधीको अनुमान, खरिद र वितरण प्रक्रियामा दक्ष फर्मासिस्ट जनशक्तिको अनिवार्य व्यवस्था हुनुपर्ने उल्लेख छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको कार्य विवरणमा पनि अस्पतालको भौतिक एंव अन्य जिन्सी सामानलगायत औषधीको जिन्सी अभिलेख राख्ने, सामानको सुरक्षाको प्रबन्ध मिलाउने, आवश्यकताअनुसार अस्पताल सञ्चालनका लागि जिन्सी सामान उपलब्ध गराउने काम फार्मेसी सुपरभाइजरको रहेको उल्लेख छ। साथै बिरामीको स्वास्थ्य परीक्षणका क्रममा औषधीको व्यवस्था मिलाउने, औषधी उपकरणको चाँजोपाँजो मिलाउने तथा स्वास्थ्य परीक्षण गराउने शाखा तथा फाँटमा औषधी उपलब्ध गराउने जिम्मेवारी पनि फार्मेसी सुपरभाइजरकै भएको कार्य विवरणमा उल्लेख छ।
यिनै कामको व्यवस्थापन गर्न भनेर मन्त्रालयले २०७७ कात्तिकमा भरतपुर अस्पतालमा स्थायी दरबन्दीमा एक जना स्थायी फर्मासिस्टलाई फार्मेसी सुपरभाइजरको जिम्मेवारी दिएर पठाएको थियो। तर अस्पतालले केन्द्रले पठाएको पाचौं तहका फार्मेसी सुपरभाइजर सविनराज लामिछानेलाई फार्मेसी विभागको प्रमुख बनाए पनि सोही विभागअन्तर्गत रहने स्टोर शाखामा आफूअनुकूलका अदक्ष कर्मचारीलाई जिम्मेवारी दिँदै आएको थियो। स्टोर प्रमुखले विभागका प्रमुखसँग समन्वय नगरी मनपरी काम गर्ने गरेका थिए।
फार्मेसी विभागको सबैभन्दा महत्वपूर्ण जिम्मेवारी रहने उक्त शाखामा राजनीतिक तथा आर्थिक पहुँचका आधारमा अदक्ष कर्मचारीलाई राखिएको भन्दै अस्पतालका कर्मचारीहरूले प्रशासनको चर्को विरोध गर्दै आएका थिए। नेपाल फार्मेसी संघले पनि सो कार्यको विरोध गर्दै आएको थियो।
फर्मासिस्टहरूले ऐन, नीति, संहिता र निर्देशिकाअनुसार ‘उचित व्यक्तिलाई, उचित स्थानमा जिम्मेवारी दिनुपर्ने’ माग गर्दै धर्नालगायतका संघर्षका कार्यक्रम गर्दै आएका थिए।
सेतोपाटीले गत वैशाख ३१ गते ‘ऐनविपरीत चल्दैछ भरतपुर अस्पतालको फार्मेसी स्टोर, फर्मासिस्टलाई थन्काएर अहेबको हालीमुहाली’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। चौतर्फी दबाब पछि अस्पतालले जेठ ३१ गते पाचौं तहका फार्मेसी सुपरभाइजर सविनराज लामिछानेलाई फार्मेसी विभागको प्रमुख र सातौं तहका फार्मेसी अधिकृत भोला अधिकारीलाई फार्मेसी स्टोरको जिम्मेवारीको पत्र दिएको हो।
योसँगै फर्मासिस्टहरूले आफ्ना माग सम्बोधन भएको उल्लेख गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर रोशन न्यौपानेलाई मेडिकल सुपरिटेन्डेन्ट(मेसु) बनाएर पठाएपछि उनले यो विषयमा चासो राखेका थिए। जेठ १९ गते औषधी व्यवस्था विभागले भरतपुर अस्पताललाई पत्र लेख्दै औषधी ऐन र अस्पताल फार्मेसी सेवा निर्देशिकाले व्यवस्था गरेअनुरूपका कर्मचारीलाई जिम्मेवारी नदिइएको गुनासो आएको भन्दै तत्काल ऐन र निर्देशिकाअनुरूप व्यवस्था गरी जानकारी गराउन भनेको थियो। सोही पत्रलाई टेकेर डाक्टर न्यौपानेले फार्मेसी विभागको महत्वपूर्ण स्थानमा फर्मासिस्टलाई जिम्मेवारी दिएका हुन्।
न्यौपानेअघि मेसु रहेकाहरूले चर्को आलोचनाका बीच पनि फर्मासिस्टको मागको विषयमा बेवास्ता गर्दै आएका थिए। अहेब रामहरि ढकाल तीन वर्षदेखि यस अस्पतालको फार्मेसी स्टोर शाखाको प्रमुख रहेर काम गर्दै आएका थिए। उनी नेकपा एमाले निकटको स्वास्थ्यकर्मी संगठनका नेता हुन्।
अस्पतालले नयाँ फार्मेसी स्टोर प्रमुखको जिम्मेवारी अधिकारीलाई तोक्दै यसअघिका प्रमुख रहेका अहेब ढकाललाई फार्मेसीसम्बन्धी नगदी, जिन्सी सामग्री तथा अन्य कागजातको अभिलेख तयार गरी हस्तान्तरण गर्न भनेको छ। फार्मेसी प्रमुखलाई विभागका सम्पूर्ण कामको जिम्मेवारी लिने गरी तोकिएको छ।
फार्मेसी प्रमुख लामिछानेले अस्पताल नियमसंगत ढंगले चल्नुपर्छ भन्ने मान्यता फर्मासिस्टहरूको रहेको भन्दै सोमबारको निर्णयसँगै आफूहरूको माग पूरा भएको बताए। उनले केन्द्रीय अस्पतालका रूपमा रहेको अस्पतालले नीति, संहिता, निर्देशिकाले तोकेको व्यवस्था र मन्त्रालयले तोकेको कार्यविवरणलाई अटेरी गर्दा नकारात्मक असर बिरामीलाई परेको भन्दै नियमसंगत ढंगले चल्दा बिरामीले राहत पाउने दाबी गरे।
लामिछानेले दक्ष कर्मचारीले जिम्मेवारी पाएसँगै धेरै कुरा परिवर्तन हुने बताए।
‘उचित जिम्मेवारी नपाउँदा हामीले चाहेर पनि राम्रो काम गर्न सकेका थिएनौं,’ उनले भने, ‘आफ्नो सीप प्रयोग गर्न पाएपछि काम गरेर देखाउँछौं।’
भरतपुर अस्पतालमा स्थायी, अस्थायी र करारकागरी २१ जना फर्मासिस्ट छन्।