२०७४ सालको निर्वाचनमा सुदूरपश्चिम प्रदेश सभाका सदस्य भएका ३ जना अहिले प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका छन्।
नेपाली कांग्रेसले एक र नेकपा एमालेले २ जना पूर्व-प्रदेश सांसदलाई मंसिर ४ को चुनावका लागि प्रतिनिधिसभा सदस्य पदका लागि सुदूरपश्चिमबाट उम्मेदवार बनाएको हो।
२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट प्रदेश सभामा निर्वाचित भएका डिल्लीराज पन्तलाई अहिले सत्ता गठबन्धनले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा उम्मेदवार बनाएको छ।
अघिल्लो चुनाव जितेर प्रदेशको आर्थिक मामिला मन्त्री समेत भएका तारालामा तामाङलाई एमालेले कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा उम्मेदवार बनाएको छ। उनी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी बिना मगरसँग चुनाव लड्दै छिन्।
प्रदेशको आर्थिक मामिला मन्त्री भइसकेका झपटबहादुर बोहरालाई एमालेले अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको लागि उम्मेदवार बनाएको छ।
अरू १४ जना सासंदले पनि प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। यसअघि मन्त्री समेत भइसकेका अधिकांश सांसदहरू पुन: प्रदेश सभामा दोहोरिन उम्मेदवार बनेका हुन्।
५३ जना सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा ३२ जना प्रत्यक्ष र २१ जना समानुपातिक सांसद रहने व्यवस्था छ।
२०७४ सालमा एमालेबाट प्रदेश सभामा निर्वाचित भएर भौतिक पूर्वाधार विकास मन्त्री भएका पठानसिंह बोहराले डडेल्धुरा निर्वाचन क्षेत्र १ को (क) बाट उम्मेदवारी दिएका छन्। बाजुरा १ को प्रदेश (क) बाट जितेका बलदेव रेग्मीले पनि पुन: सांसद हुन उम्मेदवारी दर्ता गराएका छन्। सभामा विद्यायन तथा प्रदेश मामिला समितिका सभापति रहिसकेका नेपालु चौधरी एमालेबाटै कैलाली ५ को (ख) मा पुन: उम्मेदवार बनेका छन्।
एमालेको संसदीय दलको प्रमुख सचेतक समेत बनिसकेका लिलाधर भट्टले बैतडी क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा उम्मेदवारी दर्ता गराएका छन्। एमालेमै रहँदा कैलाली क्षेत्र ४ को (क) बाट चुनाव जितेर मन्त्री समेत भएका एकीकृत समाजवादी पार्टीका इन्चार्ज दीर्घबहादुर सोडारी पुन: उम्मेदवार बनेका छन्। उनी एमाले फुटेपछि एकीकृत समाजवादीमा गए र अहिले पनि उनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री छन्।
पूर्व सामाजिक विकास मन्त्री समेत रहेका लालबहादुर खड्काले पनि एकीकृत समाजवादी पार्टीबाट कञ्चनपुर १ को (ख) बाट उम्मेदवारी दर्ता गराएका छन्। नेकपा एमालेबाट चुनाव जितेका रतन थापा अहिले नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेर कैलाली २ (क) बाट उम्मेदवार बनेका छन्।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका नेपाली कांग्रेसका रणबहादुर रावलले पनि पुन: कैलाली १ को (ख) बाट प्रदेश सभामा उम्मेदवारी दर्ता गराएका छन्। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका नेकपा माओवादी केन्द्रका मानबहादुर धामीले दार्चुला १ को प्रदेश सभा (ख) बाट पुन: प्रदेशकै लागि लड्दै छन्।
सामाजिक विकास राज्य मन्त्री गोविन्दराज बोहराले डडेल्धुरा १ को (ख) आर्थिक मामिला राज्यमन्त्री प्रकाश रावलले कञ्चनपुर ३ को (क), पूर्व आर्थिक मामिला राज्यमन्त्री अमर बहादुर साउद कैलाली ३ को (ख) बाट उम्मेदवार बनेका छन्।
माओवादी केन्द्रका अक्कलबहादुर रावल अछाम २ को (क) बाट चुनाव लड्दै छन्। लोकतान्त्रिक समाजवादी पार्टीका कृष्णबहादुर चौधरीले पनि पुन: प्रदेश सभा सदस्य पदमा दोहोरिन कैलाली १ को (क) मा उम्मेदवारी दर्ता गराएका छन्।
२०७४ प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्ष विजयी भएर पाँच वर्षे कार्यकाल सकिएका ३२ सांसदमध्ये १४ जनालाई पुन: प्रदेश सभाकै लागि दलहरूले उम्मेदवार दोहोर्याएका छन्।
अघिल्लो चुनाव जितेर सुदूरपश्चिम प्रदेश सांसद भएका तर आगामी मंसिर ४ गते हुने निर्वाचनका लागी टिकट पाउन नसकेका नेताहरू पनि धेरै छन्।
डोटी प्रदेशसभा (ख) बाट विजयी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बनेका त्रिलोचन भट्टले यसपटक टिकट पाएनन्।
सुदूरपश्चिम प्रदेशका सभामुख बनेका अर्जुनबहादुर थापा, उपसभामुख भइसकेकी निर्मला बडाल जोशी, सामाजिक विकास मन्त्री बनेका कृष्णराज सुवेदीले पनि यस पटक उम्मेदवार बन्न पाएनन्।
उता बाजुराबाट चुनाव जितेर सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री बनेका प्रकाश शाह पनि टिकटविहीन भए।
अघिल्लो चुनावमा माओवादीका समानुपातिक कोटाबाट सांसद बनेकी प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बनेकी विनीता चौधरी यसपटक माओवादीको समानुपातिक सूचीमा समेत अटाइनन्।
सुदूरपश्चिम प्रदेश सरकारको पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास राज्यमन्त्री बनेका टेकबहादुर रैका, भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी, आर्थिक मामिला तथा योजना राज्यमन्त्री माया तामाङ बोहरा र आर्थिक मामिला तथा योजना राज्यमन्त्री बनेकी अर्चना गहतराजले पनि टिकट पाएनन्।
त्यसैगरी सामाजिक विकास राज्यमन्त्री बनेकी मनाकुमारी साउँद, भौतिक पूर्वाधार मन्त्री बनेकी सुशीला बुढाथोकी र आर्थिक मामिला तथा योजना राज्यमन्त्री बनेका बदलेव सोडारीले पनि टिकट पाउन सकेनन्।