आइतबार आयोजित सत्ता गठबन्धनको प्रदेश प्रशिक्षण भेलामा सहभागी हुन आएका प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरू धनगढीको ओम पार्टी प्यालेसको एक हलमा थिए।
'घुमन्ते मगन्ते भूमिहीन वादी अधिकार संघर्ष समिति'का वादी महिलाहरूको एक समूह त्यही भेलामा प्रधानमन्त्रीलाई भेट्न भन्दै सडक छेउमा पुग्यो।
कैलालीको गोदावरी नगरपालिका–३ का वादी महिलाहरू तिहार लक्षित देउसी-भैलो कार्यक्रम लिएर सभा हुने पार्टी प्यालेसको गेटमा पुगे।
प्रधानमन्त्री र शीर्ष नेताहरूसँग भेट गर्ने र आफ्ना समस्या सुनाउने भन्दै गेटमा गार्डहरूसँग झगडा गरी उनीहरूको टिमले भित्र प्रवेश गर्यो।
उनीहरूलाई भेला आयोजना भएको पार्टी प्यालेसको गेटभित्र प्रवेश गर्न दिए पनि हलभित्र भने सुरक्षाकर्मीहरूले जान दिएनन्।
समुदायका केही महिलाहरूले हलभित्र गएर प्रधानमन्त्रीलाई भेट्ने ढिपी गरिरहे।
उनीहरूको कुरा ढोकामा उभिएका सुरक्षाकर्मी सुने तर कुनै पनि हालतमा जान दिएनन्।
पार्टी प्यालेसको चौरको एक सानो रूखिमुनि देउसी भैलो कार्यक्रम लेखेको ब्यानर जमिनमा ओछ्याएर उनीहरू प्रधानमन्त्रीलाई भेट्ने भन्दै बाहिर बसिरहे। उनीहरूमध्ये एक जना महिलाको हातमा फूल, अक्षता र रुपैयाँ, फलफूलले भरिएको थाल थियो।
एक सानो प्लाष्टिकमा आधा केजी चामल थियो। करिब १० जनाको उनीहरूको टिमका महिलाहरू ठूलो ठूलो स्वरले कराइरहेका थिए।
‘हामी प्रधानमन्त्रीलाई भेट्ने हो, हामीले हाम्रो समस्या सम्बोधन गर्न धेरै पटक ज्ञापनपत्र सुनायौं, तर सुनुवाइ भएन, आज हामी भेटेरै प्रधानमन्त्रीकै अगाडि कुरा गर्ने, उहाँकै अगाडि हामी देउसी भैलो पनि खेल्छौं' हाम्रो कुरा कोही त सुनिदेऊ भन्दै कराउँदै थिए उनीहरू।
उनीहरूले बोलेको कुरा भेलामा सहभागी हलबाहिरका धेरै मान्छे सुन्दै कोही गम्भीर थिए भने अधिकांश मान्छेहरू हाँस्दै खिल्ली उडाउँदै थिए।
संघर्ष समितिकी मिठु वादीले प्रधानमन्त्री धनगढी आएको खबरले आफूहरूले दौडिदै भेट्न आएको बताइन्।
‘प्रधानमन्त्री धनगढी आएको खबरले हामीहरू देउसी भैलो कार्यक्रम नै ल्याएर प्रधानमन्त्रीलाई भेट्न आयौं, यहाँ त हामीलाई हलभित्र जान नै दिइएन,’ उनले सेतोपाटीसँग गुनासो पोखिन्।
मिठुले वर्षाैंदेखि सरकारले आफूहरूको व्यवस्थापनका लागि गरेका सम्झौता पूरा नगरेको र सयौं पटक ज्ञापन पत्र बुझाए पनि पूरा नभएकोले प्रधानमन्त्रीलाई भेट्ने उनीहरूको इच्छा रहेछ।
चुनावको समस्या धनगढी छिरेका प्रधानमन्त्रीलाई आफ्ना समस्या आफूहरूले बुझाएका ज्ञापनपत्र कहाँ फालिए? किन सुनुवाइ भएन? भन्ने यस्तायस्तै प्रश्न गर्ने उनीहरूको चाहना रहेको मिठुले सुनाइन्।
‘भोट माग्ने समयमा हाम्रो समस्या सुन्न तयार हुन्छन् कि भनेर हामी यो कार्यक्रम आएका थियौं, तर हामीले भित्र जानै दिएन,’ गीता वादीले भनिन्।
‘हामीले कहिलेसम्म मागेर खानुपर्ने हो’ चौरको छेउमा बसेका वादी महिलाहरूको प्रधानमन्त्रीलाई प्रश्न थियो।
‘हामीले किन भेट्न नपाउने? उहाँ प्रधानमन्त्री पनि हाम्रै ठाउँकै त हुन् नि म पनि डडेल्धुराकै हुँ, अस्ति बालुवाटारमा त उहाँको पत्नी डडेल्धुराको मान्छे हुँ भनेपछि त्यहाँ छिर्न पाइन्छ भन्नुभएको थियो, यहाँ त आफ्नै ठाउँमा आएका बेला नै भेट्न पाएनौं, उहाँ अमेरिकबाट त आउन भएको हैन, हाम्रो भाषा बुझ्नुहुन्न भन्ने पनि थिएन, एकछिन पाँच मिनेट समय मिलाइदिए के नै हुन्थ्यो र? ,’ जानकी वादीले भनिन्।
सभा सञ्चालन अवधिभर उनीहरू चौरमा बोल्दै कराउँदै प्रधानमन्त्री भेट्ने आशामा बसिरहेका थिए।
‘हामीहरूको काठमाडौं गएर प्रधानमन्त्रीलाई भेट्ने औकात पनि छैन, आज नमागे भोलि के खाने भन्ने समस्या छ, नमागे हामी भोकै बस्छौं,’ निर्मला वादीले भनिन्।
उनले आफ्नो समुदायबाट प्रदेश सभामा एक पटक सासंद भइसकेकी उमा वादीलाई चुनाव लड्न किन टिकट दिइएन भन्ने कुरा पनि गर्दै थिए।
‘हाम्रो मुद्दा, समस्या उमा जी त भोगेको हुनाले केही सुन्नु हुन्थ्यो, तर, पार्टीले उहाँलाई अगाडि बढाउनु भएन, वादी भएकै कारण उहाँलाई हेपेको हो,’ मिठु वादीले आरोप लगाइन्।
अन्य समुदाय जसरी राजनीतिमा आबद्ध भएकाहरूलाई सासंद, मन्त्री पद दिलाउनुपर्ने उनीहरूको माग छ।
आफ्नो समुदायबाट कोही नेतृत्व तहमा पुगे समस्या सम्बोधन हुन्थ्यो कि भन्ने वादी महिलाहरूको भनाइ छ।
करिब दुई घण्टापछि सत्ता गठबन्धनको पार्टी प्रशिक्षण भेला सम्पन्न भयो। हलभित्र बसेका प्रधानमन्त्री, नेता गाडीमा आ-आफ्नो बाटो लागे। हल भित्रका अन्य प्रतिनिधिहरू पनि बाहिर निस्किए। छेउमा बसेका वादी महिलाहरूले चौरमा देउसी-भैलो खेल्न थाले। भेलाका सहभागी केहीले उनीहरूलाई देउसी-भैलो खेलेबापत् दक्षिणा दिए हिँडे।
तर, केहीहरू भने उनीहरूलाई खिल्ली उडाइरहेका थिए।
सुदूरपश्चिम प्रदेशमा करिब १२ हजारको हाराहारीमा वादी समुदाय छन्। उनीहरूमध्ये केही अझै गाँस, बासको समस्यामा रूमलिएका छन्। उनीहरूले सरकारसमक्ष घरवास व्यवस्थापन गर्नुपर्ने माग गर्दै आइरहेका छन्।