प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले अर्को चुनाव नभएसम्म यही गठबन्धनको सरकार रहने बताएका छन्।
मंगलबार नेपाल उद्योग परिसंघको २१ औं वार्षिकोत्सवमा बोल्दै प्रचण्डले उक्त कुरा बताएका हुन्।
'अर्को चुनाव नभएसम्म यही सरकार रहन्छ,' उनले भने, 'मिडियामा आएका समाचारलाई गम्भीर रूपमा लिन आवश्यक छैन।'
प्रधानमन्त्री प्रचण्डले आफूले तीन पटक विश्वासको मत लिँदा पनि आफू नै प्रधानमन्त्री रहिरहेको बताए।
'मैले तीन पटक विश्वासको मत लिए पनि प्रधानमन्त्री मै छु,' प्रचण्डले भने।
यस्तै प्रचण्डले मन्त्रीहरू फेरबदल हुँदा त्यसलाई अस्थिरताको रूपमा लिन नहुने बताए।
अहिले पाँच दलीय गठबन्धन सरकारमा नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी र जनता समाजवादी रहेका छन्।