लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन जाने भएका छन्।
आगामी कार्तिक २६ गतेदेखि २८ गतेसम्म चीनको सिचुआन प्रान्तमा समन्वय र विकासका विषयमा छलफल गर्न अन्तराष्ट्रिय सम्मेलन हुँदैछ।
उक्त सम्मेलनमा भाग लिन मुख्यमन्त्री आचार्य चीन जान लागेको प्रदेश सरकारका प्रवक्तासमेत रहेका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए।
उनकाअनुसार मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यमन्त्री आचार्यको चीन भ्रमण प्रस्ताव स्वीकृत गरेको छ।
मुख्यमन्त्री आचार्यसहित प्रदेशका ७ सदस्यीय टोली चीन जाने छन्।
टोलीमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थलगायत रहने छन्।
२०७६ सालमा प्रदेश सरकार र सिचुआन प्रान्तबीच भगिनी सम्वन्ध कायम भएको थियो।
तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलले भगिनी सम्बन्ध कायम गरी कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तबीच सहयोग आदानप्रदान गर्ने समझदारी गरेका थिए।
अहिले मुख्यमन्त्री आचार्यसहतको भ्रमणले लुम्बिनी सरकार र चीनको सिचुआन प्रान्तबीच पारिस्परिक सहयोग र सद्भाव अभिवृद्धि गर्ने विश्वास लिइएको सरकारका प्रवक्ता पन्थीले बताए।