राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले नयाँ पार्टीको रूपमा चुकेको बताउँदै माफी मागेका छन्।
शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले नेकपा एमालेले कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई कारबाही गरेकोमा स्वागत गरेका छन्। त्यससँगै रास्वपा नयाँ पार्टीका रूपमा, नयाँ नेताका रूपमा चुकेको बताएका हुन्।
'नयाँ पार्टीकारूपमा, नयाँ नेताकारूपमा, नयाँ पार्टी र नेताले बनाउनु पर्ने नयाँ छवि, हुर्काउनु पर्ने नयाँ प्रवृति र देखाउनु पर्ने पारदर्शी चरित्रकारूपमा हामी चुकेका छौं। मेरो भागमा पर्ने गल्ती, मौनताका लागि सार्वजनिकरूपमा माफी माग्छु,' उनले लेखेका छन्।
यस्तै कार्कीले लिलाबल्लभ अधिकारीलाई पार्टीले कारबाही गरेको भएपनि अगाडि हुने कारबाहीको निष्पक्षताबारे पनि हेरिरहने बताएका हुन्।
'जापानले मन्त्रीसहित सबैलाई फिर्ता गराएको भन्ने सार्वजनिक भएपछि कोशी प्रदेशका मन्त्री तथा एमाले नेता लिलाबल्लभ अधिकारीलाई एमालेले पार्टीबाट निलम्बन गरेको छ। उनीमाथि छानविनका लागि अनुरोध गरेको छ,' उनले लेखेका छन्, 'यतिसम्म भए पनि एमालेले गरेको कुरा सह्राननीय छ। अगाडिको कारबाही निष्पक्ष हुन्छ कि हुन्न हामी हेरिरहेका छौं।'
कोशी प्रदेश सांसद लिलाबल्लभ अधिकारी काठमाडौंबाट कात्तिक ११ गते काठमाडौंबाट जापानका लागि उडेका थिए। उनीसँगै तीन जना व्यक्तिहरू पनि जापान पुगेका थिए।
तीन जनासँग मन्त्रालय र गाउँपालिकाको नक्कली परिचयपत्र भेटिएको थियो। जापानको अध्यागमनले चारै जनालाई डिपोर्ट गरेको थियो।
कात्तिक १४ गते काठमाडौं फर्किएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई पक्राउ गरेको थियो। उनीहरूमाथि सोधपुछ गरेपछि १० देखि १३ लाखसम्म रकम बुझाएर गएको बताएपछि थप ३ जनालाई पक्राउ गरेको थियो।
अहिले जिल्ला प्रहरी परिसर काठमाडौंले ६ जनालाई हिरासतमा राखेर किर्ते कसुरमा अनुसन्धान गरिरहेको छ।