प्रधानमन्त्री केपी शर्मा ओलीले संसारकै धनी व्यक्ति इलन मस्कसँग कुराकानी गरेका छन्।
शुक्रबार आफूले मस्कसँग भिडिओ कुराकानी गरेको भन्दै ओलीले सामाजिक सञ्जालमा तस्बिर राखेर जानकारी दिएका हुन्।
उनीहरूबीच के विषयमा कुराकानी भयो भन्नेबारे चाहिँ ओलीले खुलाएका छैनन्।
यसअघि मस्कको कम्पनी स्टारलिंकले नेपालमा स्याटलाइटबाट इन्टरनेट सेवा प्रदान गर्ने विषयमा चासो देखाएको जनाइएको थियो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङलाई केही समय अघि भेटेर कम्पनीकी निर्देशक रेबेका हन्टरले 'नेपालमा काम गर्न इच्छुक रहेको' बताएकी थिइन्।
‘नेपालका लागि अमेरिकी राजदूत र स्टारलिंकको निर्देशक भदौमा मलाई मन्त्रालयमै भेट्न आउनुभएको थियो,’ मन्त्री गुरूङले सेतोपाटीसँग भनेका थिए, 'हामी नेपालमा काम गर्न चाहन्छौं भन्नुभयो। मैले हामी छलफल गर्छौं र निर्णय भयो बोलाउँला भनेको थिएँ।'
स्टारलिंकले विश्वका धेरै मुलुकहरूमा स्याटलाइटबाट इन्टरनेट उपलब्ध गराउँदै आएको छ। त्यसका लागि स्टारलिंकले पृथ्वीको बाहिरी कक्षमा ५ हजार भन्दा बढी स-साना स्याटलाइट राखेको छ। पृथ्वीबाट ४ सय किलोमिटरमाथि रहेका ती स्याटलाइटले पठाएका रेडियो फ्रिक्वेन्सी साना 'डिस' मार्फत प्रयोगकर्ताले प्राप्त गर्छन्। जसबाट इन्टरनेट चलाउन सकिन्छ।